मनु वि.क. •• एकादेशमा दुई जना बुढा बुढी र उनीहरूको एक छोरा बस्दथे । बुढा बाहिरको काममा जाने गर्दथे । भने बुढीले घरमा हेर्ने गर्दथे । छोरा सानै उमेरको भएकाले खासै कामको जिम्मा थिएन । बुढा घरमा कहिलेकाहीँ मात्र बस्दथे । जहिलेपनि काममा जान्थे र राति अबेरमात्र घरमा फर्कन्थे ।
बुढा कामको थकानले घरमा आएपछि पनि खासै केही पनि नबोलेर खाने ,सुत्ने गर्दथे । बुढा थाकेर आएका होलान भनेर बुढीले पनि खासै केही नबोली नै आफ्ना कामहरू गर्दथिईन् । घरमा आएर बुढीले बनाएको जस्तो तस्तो खाना केही नबोली खाएर ओछ्यानमा पल्टिने गर्दथे । छोरा कहिले बाउ नआउँदै त कहिले आएपछि खाना खाएर सुत्ने गर्दथ्यो । छोरालाई बाउ कतिखेर आउने भन्ने खासै हुन्थेन । बाउ आएपछि छोराले कहिले बाउको काखमा बस्ने गर्दथ्यो भने कहिले कुनै वास्ता गर्दैनथ्यो । यस्तै दिनहरू बितिरहेका थिए ।
एक दिन बुढा कामको खोजीमा बिहानै गए । बुढी पनि घरको काममा लाग्नु पर्यो । बुढी काममा लागेको बेला छोरो उठेर खाजा खाएर वरपर खेल्न गयो । अरुदिन पनि त्यसरी नै छोरा खेल्न जाने गर्ने भएकाले बुढीले छोराको खासै पीर नमानेर बसेकी थिई । खेल्न गएको छोरा आउला भन्ने आसमा बुढी थिई । तर छोरा अबेर सम्म पनि आएन । छोरा नआएकोमा बुढी चिन्तित हुन थाली तर छोरा टुप्लुक्क घरमा आइपुग्यो । छोरा घर आएपछि बुढी खुशी भई ।तर बुढीको खुशी एकछिन पनि रहन पाएन । किनकि बुढीको छोराले छिमेकीको घरमा बदमासी गरेर आएको रहेछ । छिमेकीले बदमासीको सबै नालीबेली लिएर झगडा गर्न आईपुगे ।
कहिल्यै बदमासी नगरेको छोराले यसरी बदमासी गरेको देखेर बुढीलाई खपि नसक्नु रिस उठ्यो । बुढीले छोरालाई एक झापड छिमेकीकै अगाडि कसेर हानी । छिमेकीले छोरालाई सम्झाउ भन्दै आफनो घरतिर लागिन् ।बुढीलाई आफ्नो छोरा बिग्रने भयो भन्ने चिन्ताले नराम्ररी सतायो । दिन भरि नै मनमा अनेक कुरा खेल्यो । छोरा बिहानको खाना खाएर सुँक्क सुँक्क गर्दै रुँदै निदायो ।
साँझ पर्न थाल्दा पनि छोरा उठेन । जब झमक्क साँझ पर्यो बुढो अरु दिन भन्दा निराश भएर कोठा भित्र छिरे । कोठा भित्र छिर्दा बित्तिकै बुढीले दिउँसका सबै कहानी बुढालाई सुनाई ।“ हेर्नुस् तपाइँका छोराको गति आज दिनभरि घरमा बसेन । दिनभरि खेल्न हिँड्यो ,खेलेकोमात्रै भए त हुने नि ! छिमेकीको घरमा बदमासी गरेर मैले सबै कुरा सुन्नु पर्यो मलाई धेरै रिस उठेको छ । कहिल्यै पनि छिमेकीको कुरा सुन्नु नपरेको अहिले छिमेकी समेत कराउन आए ।आज दिनभरि मैले कम्ता पीरमा बस्नु परेको छैन ।” बुढीको कुरा सकिन नपाउँदै बुढा रिसले चुर भईुकेका थिए । यहि समयमा सुतिरहेको छोरा बिउँझियो । छोरा बिउँझिदा बित्तिकै बुढालाई अति रिस उठ्यो । रिस थाम्न नसकेर बुढाले छोरालाई नजिकै रहेको हँसियाले हान्यो । बुढी अक्क न बक्क परी छोरा यत्तिखेरै रगतै भएर भुइँममा ढल्न पुग्यो ।
यसबाट बुढा बुढी निकै चिन्तित हुन पुगे छोरा मर्ने भयो भनेर दुवै जना निकै रोए । साँझ परिसकेको थियो । वरपर छिमेकीलाई भन्न भनेर बुढा निस्किए । यहि बेला छोरा चल्मलायो अब छोरा बिउँझियो भनेर खुशी भए । खुशी भएका बुढा बुढीको खुशी फेरी रहेन किनकि छोरोको मृत्यु भएको थियो बुढाबुढीले एक आपसमा दोष दिँदै रोईरहे । बुढाले बुढीलाई“किन मलाई आउँदा बित्तिकै सुनाएको म काम गर्ने ठाउँमा के पीर परेको थियो । त्यो पीरमा म यहाँ आएको थिएँ । तइँले म आउने बित्तिकै छोराको बारेमा केके सुनाइस ्मैले रिसमा आँखाले देखिन आफ्नो छोरालाई हान्न पुगेँ । हाम्रो छोराको प्राण गयो अब हामी रोएर पनि हुँदैन । कराएर पनि आउँदैन । हामीले गल्ती गर्यौँ ।
तैले मलाई अलि पछि भनेको भए पनि हुने थियो नि । ”भन्दै बुढा रोई रहे । बुढा रोएको सुनेर अघि दिउँस आएकी छिमेकी के भयो भन्दै आईन् बुढीले सबै सुनाउदै रोईरहिन् । बुढाबुढी रोई रहे छोरा गुमिसक्यो ।अब आउने वाला थिएन । बेलामा होस पुरयाएको भए यो अवस्था आउने थिएन । बुढीले समय चिन्न नसक्दा यति ठूलो दुर्घटना घट्न पुग्यो । त्यसकारण बेला हेरेर मात्रै सबै कुरा गर्नु पर्छ होईन भने बेला न कुबेला कुरा गर्दा ठूलो क्षति व्यहोर्नु पर्छ ।

