लगानी हरायो

टङ्कराज ढकाल तितेपाती
छन्द– भुजङ्गप्रयात
गण य य य य यति ६ मा
भयो स्वार्थ हावी म जान्ने बतायो
छ स्वार्थी छुरा जो लुकाएर आयो
उताको यता भो यताको कता यो
हुँदा भ्रष्ट चाला लगानी हरायो । १

छ व्यापार कस्तो खुराफात आयो
पुराना नयाँको सबैथोक खायो
दलाली उदायो र उल्का चलायो
हुँदा भ्रष्ट चाला लगानी गुमायो । २

धराधाम बेचे र माया हरायो
न बाँच्ने न मर्ने उदाशी बनायो
पराया कलोले हरामी पलायो
भयो भ्रष्ट पापी लगानी गुमायो । ३

सबै पार्छ कालो उज्यालो हरायो
यता अन्ध सस्तो गुलामी जनायो
छ सत्ता मलामी दुराचार छायो
हुँदा भ्रष्टचाला लगानी गुमायो । ४

कतै पेट खाली कचौरा हरायो
र मार्सी हसुर्दै घमेरा लगायो
न नाना र छाना रुवाएर खायो
छ जाली र झेली लगानी उडायो । ५

सदाचार के हो नजानेर आयो
भुवादार कालो बफादार आयो
सुराकी खुराकी सँगैसाथ आयो
उचालेर झण्डा बितण्डा चलायो । ६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित