टङ्कराज ढकाल तितेपाती ••
छन्द–अलोला
गण म स म भ गु गु यति ७ मा
जात्रा लाग्छ यहाँ के नेपाली धन खायो
कात्रो माग भयो रे पालोमा ऋण खायो
डालोमा सटही भै ढोकामा गुँड लायो
भाडाका भरिया छन् आफै लाज लजायो । १
टाढाका जन ढोग्दै धामा गर्न लगायो
आˆना यी जन ढाँट्दै भारी बोक्न लगायो
आमाको मन भाँड्दै चोरी गर्न लगायो
मुर्दावाद फलाक्दै आफै लाज लजायो । २
सत्ताको मद लाग्दा कस्तो मात चढायो
भुत्ते सांसद भुक्दा पैसा मात्र बढायो
झोलेले पद किन्दै कस्तो नीति बनायो
गुण्डाले घर धान्ने यस्तो चाल चलायो । ३
लुच्चा लोफर टोले जम्मा गर्न लगायो
ठेक्कामा कर लायो थैलो भर्न सघायो
मान्छे तस्कर आˆना जोगायो र लुकायो
खै संस्कार यहाँको भाषा खान लगायो । ४
साँच्चै पत्कर जुटदा खानी बेच्न पठायो
भ्रष्टाचार समेट्दै छापा हान्न लगायो
पापाचार बटुल्दै खापा छेक्न पठायो
आलो रक्त हसुर्दै धर्ती शून्य बनायो । ५
बोरामा सुन आयो उल्टो जाँच गरायो
जुम्ला नून बिनाको भोको बाघ जनायो
सस्तो हुन्छ रडाको पोको पार्न लुकायो
भेंडा थुन्न नसक्ने डोको बुन्न लगायो । ६

