-सूर्यबहादुर पुन
मेरो जन्म तत्कालीन पंचायती व्यवस्थाको बेला बागलुङ जिल्लाको राङखानी गाउँ पंचायत वडा नं. ९ किटेनी लामडाँडामा २०३१–९–१ मा भएको हो । अहिले जैमिनी नगरपालिका वडा नं. १० बागलुङमा पर्दछ । २०४६ सालको जनआन्दोलनपछि वडा नं. ८ मा युवक मोर्चाबाट मैले सांगठनिक कामको प्रारम्भ गरेको थिएँ । त्यहाँ धेरै समय काम गर्न सकिएन । भारततिर लागियो ।
पंचायती व्यवस्थाका बेला पुलिस प्रशासनले कम्युनिष्ट समर्थकलाई असाध्य सताउँथे । त्यति बेला बहुदल र निर्दलको बीचमा व्यापक संघर्षहरु भएका थिए । निर्दलहरु र पुलिस प्रशासनले बहुदल भन्नेहरुलाई व्यापक दमन गर्ने धरपकड गर्ने र यातना दिने काम धेरै हुने गर्दथे । हाम्रा साथी जीवन पुन, झलक पुन र होम व. पुन लगायतलाई पुलिसले घरमै आएरगिरफ्तार गरेको थियो । हामीहरुलाई त्यतिबेला सबैलाई समाउन सकेन र बाबाहरुलाई पूर्जी दिंदै बागलुङ अदालतमा लिएर आइजा भन्ने पुर्जी दियो । त्यसपछि बागलुङ अदालतमा उहाँहरुलाई छुटाउन गएको अलिकति याद आउँछ । त्यस कारणले पनि मलाई पंचायती व्यवस्थाको विरुद्धमा संगठित हुन यस्ता घटनाले प्रेरित ग¥यो ।
म १९९० को अन्त्यतिर हैदरावादमा आएको हुँ, त्यतिबेला सब्जी हिल्समा एरिया समितिको एउटा टोल समितिमा आबद्ध भएर अखिल भारत नेपाली एकता समाजमा आबद्ध भै एरिया अध्यक्ष हुँदै मध्य नगर समितिको दुई कार्यकाल अध्यक्ष भै काम गरियो । त्यसपछि क्षेत्र हुँदै केन्द्रीय समितिमा सदस्य र उपाध्यक्ष, अनि कार्यवाहक अध्यक्षसम्म भई काम गरियो । अहिले केन्द्रीय सदस्य र क्षेत्रीय समितिको सचिवालय सदस्यमा रहेर आफूले सक्दो काम गरिरहेको छु ।
२०४८ सालमा हालको बरेङ गा.पा. वडा नं. १ मा मजुवा टोड्केकी सुशिला थापामगर सँग मेरो विवाह भएको हो । पारिवारिक अवस्था मेरो अत्यन्तै चिन्ताजनक नै छ भन्नुपर्छ । श्रीमतीको एउटा किड्नी १९९४ मै फेल भएको हो, एउटा मात्र थियो, त्यो पनि २०१९ को कोभिडको बेला श्रावण महिनादेखि त्यो किड्नीले पनि काम गर्न सकेन र समस्या देखियो । अहिले दवाईको भरमा जीवन बिताउन बाध्य छिन् । एक छोरा, एक छोरी, बुहारी र नातिनी पनि छन् । छोरा, बुहारी यही हैदरावादमा छन् ।
प्रवासमा नेपालीहरुको धेरै समस्याहरु छन् । निजीकरणले गर्दा भारतमा नोकरी गर्न आउने नेपालीहरुको लागि राम्रो कम्पनी र सेन्ट्रल गोभरमेन्ट, स्टेट गोभमेन्टमा र प्राइभेट कम्पनीहरुमा पनि पहिला जस्तो नोकरी पाउन छोड्यो । सबै कन्ट्राट वेसिसका भरमा काम गर्नुपर्दछ । त्यसमा सुविधा केही हुँदैन । घरमा जाँदा १०–१५ दिनको तलव छोडेर जानुपर्दछ । त्यो पैसा दिंदैन । अनि अहिले होटल इन्डस्ट्रीहरु धेरै छन् र प्रायः नेपालीहरु युवा अवस्थाका भाई बैनीहरुले होटेलमै काम गर्नेहरुको धेरै संख्या छ । समयमा तलव नदिने र अस्थायी अवस्थाका उनीहरु कहिले कहाँ कहिले कहाँ गर्ने र संगठित हुन पनि गाह्रो मान्ने र समय पनि नहुने अवस्था छ र थोरै समय भयो भने सोशल मिडियामा समय विताउने भएकाले पनि मानिसहरुले संगठनलाई समय दिन गाहो मान्छन् । सबैको घरमा स्मार्ट फोन छन् । मनोरञ्जनका माध्यमहरु त्यही आउने भएकाले गर्दा पनि समय हुँदा त्यही हेरेर दिन बिताउने र समय निकाल्नु नसक्नु र संगठित भएर काम गर्न नसक्नुको कारण एउटा यो हो । नेपालीहरु कुलतमा लागेर मध्यपान, धुम्रपान जस्ता गतिविधिले गर्दा पनि एक आपसमा लडाई झगडा गर्छन्। नेपालीहरुले चोरी गर्ने घटनाहरु धेरै भएका छन्, आत्महत्यादेखि हत्यासम्म नै गर्ने गरेको छरप्रष्ट पाइन्छ । यस्तो हुनु अत्यन्तै दुखद र जटिल समस्याहरु हुन् ।
नेपालीहरुका समस्या समाधान गर्ने उपाय भनेको एउटा सच्चा देशभक्त, परिवर्तनशील, क्रान्तिकारी शक्ति र त्यसको राज्यव्यवस्था आयो भने गास, बासको सबै नेपालीहरुलाई ग्यारेन्टी ग¥यो भने सम्भव छ–अत्यथा सम्भव छैन । त्यो व्यवस्था ल्याउनको लागि जतिपनि आफूलाई क्रान्तिकारी हुँ भन्ने व्यक्ति र संगठनहरु वाद र विचारधाराको लडाई भन्दा पनि अहिलेको तत्कालको समस्या समाधान गर्दै दीर्घकालीन सोंच सहित तेरो र मेरो नभनिकन क्रान्तिकारी शक्तिहरु एक हुन जरुरी छ । त्यसो नभएसम्म नेपालीहरुको समस्या समाधान हुन सक्दैन र देश र जनताका समस्याहरु सर्वपरी रुपमा ठान्ने व्यक्ति समूह र पार्टीहरु एक भए भने समस्या समाधान सम्भव छ । अन्यथा सम्भव छैन ।
यो संगठनमा काम गर्ने दौरानमा राम्रा पनि गरियो नराम्रा पनि गरिए होला । त्यो सबै स्मरण गरेर साध्य छैन तर मलाई संगठनमा लागेर काम गर्न साथीहरुलाई छोड्न पर्दाको पीडा र फेरि एक ठाउँमा हुँदा खुशी हुने त भै हाल्यो ,अरु त्यस्तो किसिमका घटनाहरु केही खास छैनन् । जन्मेदेखि ठूलो भैयो र संगठनमा काम गर्ने क्रम जारी छ ।
अहिले भारतमा आधार कार्ड बनाउने क्रम अलि ढिला भएको छ । पहिला जस्तो तुरुन्तै र छिटोछरितो तरिकाबाट बन्दैन । आधारकार्ड बन्यो भने भोटर कार्ड पनि साथसाथै आउँछ । कसैकसैको, आधारकार्ड बन्यो भने भारतमा धेरै काम गर्दछ । स्कूल पढ्नदेखि लिएर ग्याँस, बैंक, एकाउन्ट, पि.एफ. काट्ने कम्पनीदेखि अफिससम्म आधारकार्ड, प्यानकार्ड, बैंक एकाउन्ट यी तीन कार्डलाई अनिवार्य नै गरेको छ । मोदी सरकारको पोलिसी के हो भन्ने मलाई लाग्छ भने बंगलादेशी नागरिक र रोहिङ्हगारुले भारतमा धेरैले आधारकार्ड बनाएको भन्ने न्यूज च्यानलहरुमा सुन्न र देख्न सकिन्छ । त्यसलाई नियन्त्रण गर्नको लागि पनि आधार कार्डलाई कडाई गरेको जस्तो लाग्छ । अहिले पनि कहीं कतै धेरै पैसा तिरेर आधार कार्डहरु बनाएका छन् । बरु सत्य के हो भने नेपालीहरुले नेपाली नागरिकता र भारतको आधार कार्ड एकै साथ राख्नु हुँदैन र भन्यो भने अरेस्ट गर्ने दुःख दिने काम भैरहेको छ । त्यस्तो किसिमको दुवै देशको पहिचान पत्र एक साथ राख्नु हुँदैन । सम्पूर्ण नेपालीहरुलाई जानकारी होस् । आधार कार्डको बारेमा भारतमा रहेका जिम्मेवार सामाजिक संगठनहरुले त्यस बारेमा ज्ञापनपत्र बुझाउने काम पनि भैरहेको छ । यसको न्यूनीकरण गर्नका लागि दुवै देशबीच वार्ता १९५० को सन्धि र १८१६ को सुगौली सन्धिबारे छलफल गरेर आवश्यक कुटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्दछ ।
नेपालमा जेनजी आन्दोलन त्यो प्रायोजित घटना नै हो र त्यसमा नेपालमा एनजीओ, आइएनजिओ चलाएर बसेकाहरुको मुख्य भूमिका हो । त्यो अवस्था आउनुका पछाडि मुख्यतः तीनवटा पार्टीहरु हुन्, एमाले, कांग्रेस र माओवादी । यिनीहरुको सत्ता लिप्सा र भ्रष्टाचारले नेपाललाई बर्बादै गरायो । देश र नेपाली जनताका समस्याका बारेमा चिन्तित भएको भए यस्तो अवस्था आउने थिएन । आफ्नो कार्यकर्ता र आफ्नो घर परिवारको लागि मात्र सरकार भएका कारणले पनि देशमा ठूलो दुर्घटना भयो । जेनजीको नाममा भएका उपलब्धीहरुलाई देशीविदेशी शक्तिकेन्द्रहरुले हाईज्याक गरेका छन्, अब देश यस्तै अवस्था रहने हो भने नेपाल देश नै नरहने स्थिति पनि आउन सक्छ । त्यसकारण अहिले देशमा संकट छ । यो संकटको घडीमा देशलाई उपनिवेशवाद र नवउपनिवेशतर्फ लैजाँदै गरेको अवस्थामा सबै सचेत नागरिकहरु एक भएर देशलाई सर्वोपरी मान्दै स्वाधिनताको खातिर सबै एक ठाउँमा आउनुपर्दछ । स्वाधिनताको लडाई लड्नु नै अहिलेको आवश्यकता हो । मान्छेको जीवन नै संघर्ष हो, संघर्ष विनाको जीवन मृत्यु तुल्य हुन्छ। त्यसकारण आई पर्ने समस्याहरुसँग संघर्ष गर्दै जानु पर्दछ। देशलाई आवश्यक परेमा कुनै न कुनै माध्यमबाट हामी प्रवाशमा बस्ने नेपालीहरुको तर्फबाट सहयोग रहने छ । अन्त्यमा हाँकलाई, उत्तरोत्तर प्रगतिको कामना गर्दछु । मेरो जीवन र मैले भोगेका तिठामिठा कुराहरु पत्रिकाको मार्फत् नेपालीहरु माझ राख्न पाएकोमा आभारी छु । धन्यवाद ।

