अबको समाजवादी वा जनवादी आन्दोलनले राष्ट्रिय स्वाधीनताको समस्या हल गर्नुपर्दछ

–पुस्कर गौतम
केन्द्रीय सचिवालय सदस्य, राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल

पुस्कर गौतम नेपालको वामपन्थी आन्दोलनमा क्रियाशील रहँदै आउनु भएका नेता र चिन्तक हुनुहुन्छ । गौतमको जन्म २०२९ साल वैशाख ३१ गते ओखलढुङगा जिल्लाको तत्कालीन पोकली गाउँ पञ्चायत वडा नं. २ लेती भन्ने गाउँ (हाल लिखु गाउँपालिका वडा न ९) मा भएको थियो । बुवा शेषराज गौतम र आमा सुलोचना गौतमको कोखबाट उहाँको जन्म भएको थियो । गौतम पाँच भाई मध्ये कान्छो हुनुहुन्छ उहाँका तीन दिदी र एक बहिनी हुनुहुन्छ ।
पोकलीको पूर्व प्राथमिक विद्यालयबाट अध्ययन सुुरु गरेका गौतमले ओखलढुङ्गाकै गाम्लाङगटार हाइस्कूलबाट एस .एल .सी उतीर्ण गर्नु भएको थियो । उहाँले पाटन संयुक्त क्याम्पसबाट आईए र त्रिचन्द्र कलेजबाट विए सम्मको अध्ययन गर्नु भएको छ ।विद्यार्थी जीवन बाटै वामपन्थी राजनीति प्रति आकर्षित गौतम २०४८ मा नेकपा (एकताकेन्द्र ) हुँदै नेकपा (माओवादी) को राजनीतिमा क्रियाशील हुनु भयो । २०४८ देख २०५८ सम्म् पाटीृको होलटाईमर रहेर काम गर्नु भयो। युद्धकालमा उहाँँले नेकपा (माओवादी) को पूर्वाञ्चल व्यूरो अन्र्तगत सोलु ओखलढुङगा उपक्षत्रीय व्यूरोको राजनीतिक कमिसार भई काम गर्नु भएको थियो । २०५८ मा माओवादी पार्टी छाडेपछि अध्ययन चिन्तनमा लाग्नु भयो । २०७१ वैशाख देखि ०७९ फागुनसम्म जेल जीवन बिताउनु भएका गौतमको सन्तानमा दुई छोरी छन् । अहिले उहाँ मिटरव्याज पीडित आन्दोलन सित जोडिनु भएको छ । उहाँले क्रान्तिकारी शक्तिहरुको एकता र ध्रुवीकरणमा जोड दिनु भएको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालमा निरन्तर क्रियाशील गौतम सित यसपाली हाँक साप्ताहिकले विविध विषयमा कुराकानी गरेको छ ।

० संविधान सभाबाट नयाँ संविधान निर्माण भएको ८ वर्ष भयो । यस बीचमा दुई वटा आमनिर्वाचन भए । पछिल्लो निर्वाचन भएको १५ महिनाका बीचमा एउटा प्रधानमन्त्री ले ३ पटक संसदबाट विश्वासको मत लिनु प¥यो । यति धेरै अविश्वास र अस्थिरताको स्थिति किन ? संसदीय व्यवस्थाकै नालायकी पन हो वा दल र नेताकै नालायकी पन हो ?
यो प्रश्नको उत्तरमा पुग्न हामीले नेपालको ऐतिहासिक पक्ष र यहाँको भूराजनीतिक अवस्था बुझ्नु पर्दछ । हाम्रा छिमेकी शासकहरुको स्वार्थका कारण नेपालको सत्ता संचालनमा अस्थिरता आउने गरेको ऐतिहासिक सन्दर्भ सित आजको स्थितिलाई जोडेर हेर्नु पर्दछ । भिमसेन थापाले टिपु सूल्तान, पञ्जावका रणजित सिंह जस्ता अन्य देशका शासकहरुसित मिलेर अंग्रेजका विरुद्ध एशियाली मोर्चा बनाउनु पर्दछ भन्दाखेरी उनले दर्दनाक मृत्यु बेहोर्नु प¥यो । एउटा खास उद्देश्यका लागि जंगबहादुर राणा सत्तामा आए । उनले अंग्रेज लाई खुशी पार्न आफै नेपाली फौज लिएर अंग्रेज विरुद्ध उठेको लखनउ विद्रोहलाई दमन गर्न पुगे । जंगबहादुर अंग्रेजको पाल्तु कुकुर भईकन पनि नेपालीहरुलाई अंग्रेजको गोर्खा भर्तीमा जान दिइरहेको थिएनन् । एउटा काण्ड गरेर वीर शमशेर सत्तामा आए । उनले अंग्रेज सेनामा नेपालीको भर्ना लाई खुला छुट दिए । हरेक राजनीतिक परिर्वतन संगै हाम्रो देशमाथि घात हुँदै आएका छन् । ०७,०१७,०४६,०६२÷६३को आन्दोलन वा माओवादी जनयुद्ध र मधेश आन्दोलन पछि देशले नोक्सानी बेहोर्नु परेको छ ।
एकदमै छोटकरीमा भन्दाखेरी नेपालको राजनीतिमा अस्थिरता हुने मूलतः दुई वटा कारण हो । एक नेपालको भूराजनीतिक अवस्थिति र विश्व पूँजीवादको नवउदारवादी अर्थव्यवस्था । विगतमा चीनियाँहरुको नेपालको सरकार फेरबदलमा निस्क्रिय भूमिका हुन्थ्यो । उनीहरुको विश्वव्यापी आर्थिक प्रभाव बढ्दै गए संगै अब सक्रिय भूमिकामा आउँदै छन् । भारत त अंग्रेज गएसंगै अंग्रेजको शैली कै भूमिकामा निरन्तर सक्रिय रहँदै आएको छ । र अहिले पश्चिमाहरु पनि उत्तिकै स्वार्थ बोकेर आईरहेको छन् । २०४६ को राजनीतिक परिर्वतन पछि नवउदारवादी अर्थ नीतिले नेपालमा आफ्नो प्रभाव बढायो । र ०६२ ६३ को जनआन्दोलन पछि तीव्र गतिमा यसले आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । नवउदारवाद (निओलिवररिज्म) ले आफ्नो स्वार्थ अनुकुलको सत्ता खोज्दछ । नवउदारवादले बैंक, अन्तर्राष्ट्रिय निगम, संघ, संस्था मार्फत आफ्ना काम अगाडि बढाएका हुन्छन् । राजनीतिक दलहरु तीनै अन्तर्राष्ट्रिय निगम, संघ संस्थालाई कसरी खुशी पार्न सकिन्छ भनेर लागि रहेका हुन्छन् । उनीहरुको स्वार्थमा अलिकति तलमाथि हुन खोज्यो भने उनीहरुले सरकार अदली बदली र सत्ता परिवर्तनका खेल चलाईरहन्छन् ।
० यसै सन्दर्भमा संसदमा बोल्ने क्रममा एमाले नेता केपीओलीले गठबन्धन बन्ने र विघटन हुने, सरकार परिवर्तन हुने कुरालाई यो वा त्यो भनेर अर्काको खेल भनेर अरुलाई दोष देखाउनु पर्र्दैन । यो त हाम्रै देश भित्रको कुरा हो । यहाँ बाह्य भूमिका छैन भन्ने कुरा गरे नि ?
–सामान्यतया नेपाली राजनीतिज्ञले सरकार फेरबदलको मामलामा हामी बाह्य प्रभावमा प¥यौं भनेर भन्न सक्ने कुरा हैन । राजनीति एउटा यस्तो खेल हो जहाँ जे भनिन्छ त्यो गरिँदैन र जे गरिन्छ त्यो भनिँदैन । तर राजनीतिक विश्लेषण गर्नेहरुले त्यसको गहिराईमा गएर बुझने गर्नु पर्दछ । राजनीतिमा प्रचार प्रसार (प्रोपोगाण्डा) को महत्व आफनो ठाउँमा हुन्छ तर वास्तविक व्यवहारमा के भइरहेको छ भन्ने कुरा हामीले हेर्नु पर्दछ । मैले अगाडि भनेँ कि नेपाल पुरै अरुको उपनिवेश नभएकाले यही देशको कुनै डमी पात्रहरु खडा गर्नु पर्ने हुन्छ । ओलीको भनाइ त्यसैको साधारण लक्षण हो । त्यसैले म के भन्छु भने हामीले नेपाली राजनीतिका आम प्रवृति २५० वर्ष पहिले देखिको नेपालमा सत्ताको अस्थिरता ,उतारचढाव आदिलाई हेर्नु पर्दछ । यदि त्यसरी हेर्ने हो भने सत्ता परिवर्तन र सरकार परिवर्तनमा विदेशी स्वार्थहरु जोडिएको हुन्छन् ।
० सत्तागठबन्धनबाट कांगे्रसको बहिर्गमन र एमालेको आगमनका सम्बन्धमा तीन किसिमको विचार देखियो । एक चाईनाको हात छ , एमाले र माओवादी केन्द्रलाई जोड्न खोजियो । दुई प्रचण्डमार्फत ओली भारतको नजिक हुन खोजे । तीन, एमसीसी वाला पश्चिमा शक्तिहरुले यो गठबन्धन बनाउनमा भूमिका खेले । यसबारे तपाइँ के भन्नु हुन्छ ?
–हामीले एउटा आधारभूत कुरा के बुझ्नु पर्दछ भने नेपालको विद्यमान राजनीतिक दलहरुले कुनै पनि शक्तिहरुको स्वार्थ सित संधै जुध्न सक्ने क्षमता राख्दैनन् अहिले अगाडि आएका एमसीसी ,भारतले २० करोड आफूखुशी खर्च गर्ने व्यवस्था, चीनको वि .आर .आइ कुनै सितप्रतिवाद गर्ने क्षमता ती राजनीतिक दलहरुले राख्दैनन् । त्यो क्षमता नराख्ने अर्थात साम्राज्यवादका विरुद्ध लड्न नसक्ने भएकैले उनीहरु सत्तामा पुगेका हुन् । सामान्यतया एक पटक नामका अगाडि कम्युनिष्ट लेखेको दललाई पश्चिमाहरुले त्यति मन पराउँदैनन् ।चीनियाँहरु अहिले बनेको गठबन्धन प्रति नरम हुन सक्छन् । कम्युनिष्ट नामधारी पार्टीबारे, झण्डा मिल्छ, कुरा गर्न सजिलो हुन्छ भन्ने चीनलाई लागेको होला । तर माओत्सेतुङको पालादेखि नै चीनियाँहरुले नेपाललाई भारत सित राम्रो सम्बन्ध बनाउनुस् भन्दै आएका हुन् र आजपनि त्यसै भन्दैछन् । अहिले चीनियाँहरुको आर्थिक वृद्धि भएकाले र भूमण्डलीय राजनीतिक स्वार्थ बढेकाले नेपालसितको सम्बन्धमा केही हेराफेरी गरेका होलान् । तर भारतसित लिने फाईदामा नोक्सान हुने गरी उनीहरुले नेपालसित सम्बन्ध बढाउँदैनन् । अहिले कालापानी क्षेत्रमा सडक बन्दैछ । त्यो भारतीय र चिनियाँको व्यापारिक स्वार्थ पूरा गर्न सडक बनिरहेको छ र चीनियाँहरु त्यसमा मौन बसिरहेका छन् । चीनले नेपालबाट लिने भनेको भूराजनीतिक फाइदा र तिब्बतको सुरक्षामात्र हो । चीनको चरित्र पनि आधारभूत रुपमा पूँजीवादी चरित्र हो । चीन विजनेस एम्पायर (व्यापारिक साम्राज्य)मा जाने उसको चरित्र हो । ठूला ठूला कम्पनी ठूला ठूला, प्रोजेक्ट मार्फत संसार भरिको पूँजीको संकलन गर्ने प्रतिस्पर्धामा चीन लागिरहेको छ । कतै चीनको त्यो स्वार्थमा धक्का लाग्ने भयो भने र त्यसमा उनीहरुलाई नेपालको आवश्यकता पर्ने भयो भने उनीहरुले नेपालसित सरोकार राख्ने हुन् । यस स्थितिमा नेपालका ठूला ४÷५ वटा पार्टीलाई समग्रमा यो चीन विरोधी, यो भारत विरोधी, यो अमेरिका विरोधी भन्न सक्ने अवस्था छैन । निश्चित स्तरमा सम्बन्ध तलमाथि हुन सक्छन तर यो यही नै हो भनेर भन्न सकिन्न ।
० प्रचण्ड आफैले पनि भनेका थिए कांग्रेस र माओवादी सहितको सरकार भारतका लागि कम्फरटेवल( सुविधायुक्त ) हुन सक्दछ । एमसीसी वालाका लागि पनि त कांग्रेस सरकारमा रहनु कम्फरटेवल हुन्थ्यो होलानि ?
–मैले बुझेको अहिलेको माओवदी केन्द्र एमाले को सत्ता गठबन्धनको मूल कारण टि. आर. सी. विल नै हो । हुन त नेपाली कांग्रेस भारत र एमसीसी वालाहरुसित त्यसैपनि कम्फरटेवल थियो र छ । टि .आर.सी. विल (सत्य तथा न्यायनिरुपण र मेलमिलाप) पारित गर्ने कुरामा कांग्रेसको त्यति धेरै विरोध छैन । कांग्रेस पनि युद्धबाटै आएको पार्टी हो तर एमालेले टि.आर.सी. विधेयकमा पहिलेदेखि निहुँ खोजिरहेको छ । एमाले को सहयोगमा टि .आर. सी. विल संसदबाट पारित गर्न पाएमा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएको ठहरिने थियो भन्ने प्रचण्डलाई लागेको छ । यदि यो कुरा अधुरै रहेमा जे कम्बोडियामा भयो वा वंगलादेशमा हुँदैछ , त्यो चीज आफूले भोग्नु पर्ने हो कि भन्ने त्रास प्रचण्डमा छ । त्यसकारण प्रचण्डले एमालेको सहयोगमा टि .आर. सी .विल संसद बाट पारित गर्न चाहन्छन् ।
० त्यसो भए यो सरकार टिआरसी विल लाई संसदबाट पारित गर्न सफल होला त ?
–सम्भव छ । तर निश्चित भन्न सकिन्न । सम्भव र असम्भवलाई ५०÷५० प्रतिशतमा राख्नु पर्ला ।किनभने मानवअधिकार संगठनहरु र पश्चिमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले यसलाई त्यति राम्रो मानेका छैनन् । उनीहरु कसरी आउँछन् ? उनीहरुको भूमिकाले पनि त्यो विल पारित हुने नहुने कुरामा भूमिका खेल्न सक्दछ । प्रचण्डलाई एमालेको सहयोगमा जसोतसो यो काम सम्पन्न गर्छु भन्ने विश्वास लागेको हुन सक्दछ । तर यही कारणले गर्दा वर्तमान सरकारको गठबन्धनको जग भत्किन पनि सक्दछ ।
० ७५ वर्षको नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देशभक्तिका कुरा उठाएकाले कम्युनिष्टहरुको नेपालमा जनमत बढेको विभिन्न कारणमध्ये एउटा कारण त्यो पनि हो तर आफूलाई कम्युनिष्ट भन्नेहरु सत्तामा सरकारमा जान थालेपछि देशभक्ति वा राष्ट्रिय स्वाधीनताको अडान कमजोर हुँदै गयो, हैन?
–देशभक्तिको प्रश्नमा केही सैद्धान्तिक अलमल पनि रहने गरेका छन् । माक्र्स र एङगेल्सले कम्युनिष्ट घोषणा पत्रमा संसारका मजदुर एक होऔं भनेको हो । जर्मनको वा फ्रान्सको मजदुर मात्र एक होऔं भनेको त हैन । संसार भरिकै मजदुरलाई भनेका थिए । प्रथम र द्वितीय विश्वयुद्धपछि देशभक्तिको कुरा आयो । खास गरी द्वितीय विश्वयुद्धमा सोसलिष्ट देशभक्तिको धारणा विकास गरियो । त्यो नाराले पितृभूमिको रक्षा गर्ने नारा आयो । त्यो नाराले सोभियत संघको राष्ट्रिय स्वाधीनता जोगाउन मद्दत ग¥यो र त्यसपछि संसारभरीका कम्युनिष्टहरु देशभक्त हुन्छन् भन्ने मान्यता पनि स्थापित भयो । त्यसबाट दोस्रो विश्व युद्धमा फासिवादलाई पराजय गर्न सम्भव भयो । नेपालमा कम्युनिष्ट पार्टीले शुरु देखि नै देशभक्ति र लोकतन्त्रलाई सँगसँगै उठाएको हो । तर कालान्तरमा व्यवहारमा के दखियो भने लोकतन्त्रको विषयलाई बढाउँदै जाने र देशभक्तिको कुरा छोड्दै जाने काम भयो । नेपालमा २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली समाजमा नव उदारवादले स्थान लिँदै गयो र बजार अर्थतन्त्रले व्यापकता प्राप्त गर्दै गयो । यसका लागि निरंकुश हैन , उदार लोकतन्त्र आवश्यकता पर्दथ्यो र त्यस्तै भयो पनि । गाउँ गाउँमा परम्परागत पोशाक, खाना विस्थापित हुँदै गए । बहुराष्ट्रिय कम्पनीका कोकाकोला, रक्सी, वियर, चाउ चाउ गाउँ गाउँमा पुगे । परम्परागत सौन्दर्यता गुम्दै गए ।
यसको मतलव हामीले पहिलेका राणा पञ्चायती व्यवस्था ठीक थिए भन्नु हुँदैन । पुँजीवादी विकासको अनिवार्यता थियो । तर हामी कहाँ आएको पुँजीवाद राष्ट्रिय चरित्रको बोकेको औद्योगिक पँजीवाद हैन । जुन कुरा युरोप र चीनमा भए । हामीकहाँ आएको पूँजीवाद नवउदारवादमा आधारित हो । जसलाई नेपालको चलन चल्तीको भाषामा दलालपूँजीवाद भन्ने गरिएको छ । जसले उद्योग खोल्दैन ।स्थानीय उद्योगहरुलाई ध्वस्त पार्दछ संसारभरिका सामाग्री ल्याएर यहाँ व्यापार गर्दछ । हाम्रा उद्योगहरु बन्द भए । यहाँका राष्ट्रिय उद्योगपति, पूँजीपति वा उद्योगीहरुले सबै विदेशका सामान बेच्ने व्यापारी बने । यसलाई नियो मर्कन्टाइल पनि भन्न सकिन्छ ।
शास्त्रीय औद्योगिक पूँजीवाद (क्लासिकल इन्डस्ट्रियल क्यापिटलिज्म), अहिले चीनमा भइरहेको पूँजीवाद , अहिले स्कान्डेभियन देशहरुमा भएको पूँजीवाद भन्दा नेपालको पूँजीवाद फरक हो । यहाँसम्म कि नेपालको पूँजीवाद र भारतको पुँजीवादमा फरक छ । भारतमा नियम कानुनहरुले निश्चित तहसम्म पश्चिमा निगमहरुलाई नियन्त्रण गर्दछ । तपाईले भारतमा पश्चिमा निगमका सामानहरु सुपरमार्केटमा पाउनु हुन्छ तर आम रुपमा बजारमा पाउनु हुन्न । तर नेपालमा आम रुपमा बजारमा र गाउँ गाउँसम्म पनि पाउनु हुन्छ त्यसरी भारतको भन्दा नेपालको आर्थिक नीति ज्यादा उदार छ । त्यसकारण यो पूँजीवादका विरुद्ध राष्ट्रिय पूँजीवादको विकासको लागि हामीले काम गर्नु पर्दछ । देशको पक्षमा हाम्रा नियम कानुन बलियो बनाउनु पर्ने र समान सन्धि सम्झौता खारेज गर्नु पर्ने जरुरी छ । २०६२ ÷६३ को जनआन्दोलनले विश्व पुँजीवाद (ग्लोबल क्यापिटलिज्म) सित सम्झौता गरेर नेपालको सामन्तवादलाई अन्त्य गरेको हो । तर हाम्रो राष्ट्रियता देशभक्तिसित सम्बन्धित समस्या यो आन्दोलनले कुनै पनि हल गर्न सकेको छैन । १९५०लगायतको असमान सन्धि, गोरखा भर्ति लगायत कुनै पनि खारेज गर्न सकेको छैन । ती त छँदैछन् । त्यसमा अझ थप नेपालले आफूलाई आर्थिक रुपले पराधीन हुने गरी डब्लु. टि.ओ .को सदस्य बन्ने ,विश्व बैकको शर्तहरु मान्ने काम भइरहेको छ । अबको समाजवादी वा जनवादी आन्दोलनले राष्ट्रिय स्वाधीनताका समस्या हल गर्नेतिर अभिमुख हुनु पर्दछ ।
० नेपालको कम्युनिष्ट आन्दोलन आज कुन अवस्थामा छ , समीक्षा गर्नुपर्दा ?
–पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएदेखि केही समय सम्म नेपाली कम्युनिष्ट आन्दोलन मूलतः माक्र्सवादले भनेकै बाटोमा हिड्यो । तर पछि मुखले माक्र्सवाद भने पनि व्यवहारमा प्राग्माटिज्म आयो । प्राग्माटिज्म नेपाली शब्द जस्ताको तस्तै छैन । सामान्यतयाः यसलाई व्यवहारवाद वा उपयोगितावाद भनिन्छ । अमेरिकामा राजनीति शास्त्रले प्राग्माटिज्मको सिद्धान्त विकास गरेको हो । यस सिद्धान्तले लर्निङ एण्ड डुईङ भन्छ । अर्थात सिकेर व्यवहार गर्ने भन्छ । यसले कुनै पनि कुरा सही हो वा गलत त्यसलाई वास्ता नगर जे भनेर फाईदा हुन्छ त्यही गर भन्छ । जस्तो कि २०२८ सालको झापा विद्रोह माक्र्सवादको अध्ययन गरेर साँगोपाँगो राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन गरेर गरिएको विद्रोह थिएन । त्यो एउटा प्राग्मटिज्म थियो । माओवादी विद्रोह पनि अर्को प्राग्माटिज्म नै थियो । माओवादी केन्द्र अहिले सत्तामा दुईटा कारणले बस्न सम्भव भएको छ एक उसले राष्ट्रिय स्वाधीनताको सम्पूर्ण अडान त्यागेर भारतका सामु आत्मसमर्पण ग¥यो । जातीय संर्कीणता, युरोपीयन र अमेरिकनको लागि रुचिको विषय हो । ए , यिनीहरुले हाम्रै मुद्दा बोकेका छन् भन्ने ठाने । तर यही कुरा पेरुमा हुन सकेन ।
० अबको नेपली कम्युनिष्ट आन्दोलनको बाटो के हुन सक्छ?
– नेपालको कम्युनिष्ट आन्दोलनको बाटो के हुन सक्छ भन्ने कुरा तय गर्न एकातर्फ सोभियत संघको विघटन किन भयो र चीनमा किन पूँजीवादको पुनःस्थापना भयो ? यो कुरा को विहङ्गम छलफल र व्याख्या हुनु पर्दछ । दोस्रो, कुरा नेपालको कम्युनिष्ट आन्दोलमा भएका विद्रोहहरु किन सम्झौतामा गएर टुङ्गिए वा असफलतामा गएर टुङ्गिए भन्ने कुराको निरुपण हुनु पर्दछ ।१८७२ को पेरिस विद्रोह किन असफल भयो ? भनेर माक्र्स र एङ्गेल्सले अध्ययन गरे । पेरिस विद्रोहका लागि वस्तुगत परिस्थिति तैयार छैन भन्ने माक्र्सको भनाई थियो । तर विद्रोह भईसकेपछि र पेरिस कम्युनको स्थापना भएपछि माक्र्स त्यसको पक्षमा उभिए। त्यो माक्र्सवादीहरुको विद्रोह थिएन त्यो समाजवादी अराजकतावादीहरुको विद्रोह थियो । माक्र्स र एङगेल्सले पेरिस कम्युनको असफलता पछि लामा लामा पम्प्लेट लेखे । माक्र्सले दुई ओटा कुरा गरे । पेरिस कम्युन असफल हुनुका कारण एक त्यो विद्रोह पेरिसमा मात्र नभएर कम्तीमा पनि मेड्रिड , वर्लिन जस्ता अन्य शहरहरुमा पनि एकै चोटी हुनु पर्दथ्यो । दुई त्यो विद्रोह सफल भएपछि सर्वहारा वर्गको अधिनायकत्व लागू गरिनु पर्दथ्यो । पछि लेनिनले पहिलो ग्लोवल रिभुलुशनको कुरा छाडे र दोस्रो सर्वहारा अधिनायकत्वलाई आत्मसाथ गरे । पेरिस कम्यूनको असफलताको कारण खोजे जस्तै सोभियत समाजवादको असफलताको कारण खोज्नु पर्दछ । चीनमा पूँजीवादको पुनःस्थापनाको कारण खोज्नु पर्दछ । अध्ययनको शुरुवात (पोइन्ट अफ डिपाचर) त्यसलाई बनाईनु पर्दछ ।
० सोभियत समाजवाद किन विघटन भयो ? चीनमा किन पूँजीवाद पुनःस्थापना भयो भन्ने बारेमा त आ– आफ्ना दृष्टिकोण अनुसार व्याख्या भएकै छन् । निश्कर्षहरु निस्किएकै छन् त ?
–रसियामा दुईओटा धारणा छ । ट्राटस्कीवादीहरुले रुसमा लेनिन मरे पछि त्यहाँको समाजवाद नोकरशाही पूँजीवादमा बदलिँयो भन्ने विचार राखेका छन् । नेपालमा के भनिन्छ भने स्टालिन मरेपछि ख्रुश्चेवले पूँजीवाद ल्यायो भन्ने गरिन्छ । हामीले गोर्वाचोव बदमास थियो । त्यसले समाजवादलाई उल्टाईदियो भन्छौं । ल ठीकै छ । यीनै कारणहरु रहेछन् । लेनिनले मर्ने वित्तिकै पूँजीवाद आउने कस्तो समाजवाद बनाईयो ? स्टालिन मर्ने वित्तिकै पूरै समाजको संरचना नै पूँजीवादमा फेरिने कस्तो समाजवाद बनाएका रहेछन् ? चीनमा माओको मृत्यु हुने बित्तिकै वा देङ आउँदा वित्तिकै कसरी पूजीवाद आयो ? माक्र्सवादका अनुसार त आधारले उपरी संरचना निर्धारण गर्ने हो । तर समाजवादी आधार (उत्पादन प्रणाली) कायम भइसकेको थियो भने त उपरी संरचना अर्थात राज्य प्रणाली त्यति सजिलै परिवर्तन नहुनु पर्ने ? केन्द्रीय समितिमा वा महाधिवेशनमा जुन मानिसले स्टालिनको पक्षमा ताली पिट्दथ्यो र स्टालिनको मृत्युपछि किन त्यही व्यक्ति ले खु्रश्चेवको पक्षमा ताली पिट्यो ? देङग शाओ पिङलाई पूँजीवादी भन्नेहरुले किन उसलाई हटाउन सकेनन् ? यसको मतलव निर्माण गरिएका सांगठनिक संरचना वा राज्य संरचनामा कहीँ न कही कमजोरी थिए । पूँजीवादको विकास नै नगरिकन पनि समाजवादमा जान सकिन्छ भन्ने लेनिनको विश्वास थियो । तर काउत्स्की र प्लेखानोवहरुले लेनिनको त्यो विश्वासलाई गलत मान्दथे त्यसमा पहिले माक्र्स र एङगेल्सको पनि त्यस्तै विश्वास थियो । कम्तीमा यूरोप देशमा मात्र समाजवाद नआईकन रुसमा समाजवाद थेग्न सकिन्न भन्ने ट्राटस्कीको भनाई थियो । स्टालीन त्यो कुरा मान्दैनथे । १०वर्षसम्म त्यो झगडा स्तालिन र ट्राटसकीको बीचमा थियो । भित्री रुपमा पावर कम्पीटिसन थियो होला । यदि एउटा देशमा समाजवाद आउँदेन भन्ने सही रहेछ भने लेनिन गलत भए । चीनको सन्दर्भमा कुरा गर्दा नयाँ जनवादी क्रान्ति माओको आफनै आविस्कार होईन । चीनको क्रान्तिका सम्बन्धमा रुसमा छलफल चलिरहेको थियो । रुसको भन्दा अलि फरक जनवादी प्रकारको क्रान्ति चीनमा हुन्छ भनेर १९२० देख २७ तिर छलफल चलिरहेको थियो ।
० त्यसलाई माओले नयाँ जनवादी क्रान्ति भन्नु भो । चीनमा १९११ मा नै पूँजीवादी क्रान्ति भईसकेको थियो । किन १९४९ मा अर्को पूँजीवादी क्रान्ति गर्नु परेको हो ?
–सिधै समाजवादमा गए हुन्थ्यो भन्ने एउटा धारणा छ । चीनमा १९५६ मा ग्रेट लिप फरवार्ड (महान फड्को ) मा जान हतारो थियो । भन्ने पनि चर्चा छ । सांस्कृतिक क्रान्ति शूरु गर्नु झन हतारो थियो भन्ने पनि भनाई छ । महान फड्को र सर्वहारा साँस्कृतिक क्रान्ति माओका कमजोरी हुन् भनेर माओको आलोचना गरिन्छ । यी कुराहरुको वैज्ञानिक विश्लेषण हामीले गरेका छैनौं । यी सबै कुराको विहङगम व्याख्या गरेर मात्र अर्को क्रान्तिको परिकल्पना गर्न गाह्रो हुन्छ । नेपालको अबको क्रान्ति पूँजीवादी कि समाजवादी भन्ने विवाद छ । यस बारेमा के भन्छु भने १९ १७ मा रुसी क्रान्ति हुँदा ८० प्रतिशत किसानहरु र झण्डै १५ प्रतिशत मजदूर थिए । १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति हुँदा करिव करिव रुसमा क्रान्तिका बेला कै जस्तो सामाजिक अवस्था थियो । चीनमा करिब ८० प्रतिशत किसान थिए । करिव १३ प्रतिशत मजदुर थिए । तर चीनलाई पूँजीवादी जनवादी क्रान्ति भनियों । भनेपछि क्रान्ति हुँदा रुस र चीनको सामाजिक आर्थिक अवस्था उस्तै उस्तै रहेछ । रोचक कुरा के छ भने । रुसमा सन १९१७मा समाजवादी क्रान्ति भनियो । तर १९३६ मा मात्र गएर समाजवादी संविधान लेखियो । त्यो बीस वर्षलाई तपाइँ के भन्नु हुन्छ ? त्यहाँ वार कम्युनिज्म (युद्ध साम्यवाद) थियो । त्यही बीचमा न्यू इकोनोमिक पोलिसी (नयाँ आर्थिक योजना ) लागु गरिएको थियो ।
वार कम्युनिज्ममा समाजवादको गुन्जायस थिएन । न्यू इकोनोमी पोलिसी पूँजीवादको पुनःस्थापना थियो । त्यसलाई अहिले तपाइँ समाजवाद नै भन्नु हुन्छ त? त्यो खास अर्थमा समाजवाद थिएन । मेरो विचारमा पिछडिएको रुसमा समाजवाद नाम दिए पनि त्यो पूँजीवाद थियो । कतिपयले १९३६पछि पनि समाजवाद थिएन भन्छन्् । राजकीय पूँजीवाद थियो पनि भन्छन् । यसलाई जनमुखी प्रकारको राज्य पूँजीवाद पनि भन्ने गरिन्छ । सुरुमा पूँजीवादको विकास नगरी समाजवादमा जान सकिन्न भन्ने माओको भनाइ थियो । नेपालमा नयाँ जनवादी क्रान्ति भने पनि समाजवाद कै आधार तयार पार्न होला । समाजवादी क्रान्ति भनेपनि पूँजीवादले गर्नु पर्ने औद्योगिक कार्य र राष्ट्रिय आत्मनिभर्र अर्थतन्त्रको विकास गर्नु पर्ला । त्यसकारण नेपालको क्रान्ति पूँजीवादी कि समाजवादी भनेर माथा पच्छी गर्न पर्छ जस्तो लाग्दैन ।
० समाजवादी क्रान्तिका कुरा गर्दा पनि नेपालमा दुई प्रकारका छन् । एक यही संसदीय व्यवस्थाबाट जान सकिन्छ भन्ने । एमाले माके खालका पार्टीको विचार र दुई बल प्रयोगबाट समाजवादमा जानु पर्दछ भन्ने विचार ?
–मेरो सरोकारको कुरा गर्नुहुन्छ भने दोस्रो प्रकारको विचारसँग हो । पहिलो खालको विचारसंग मलाई विश्वास छैन । संसदीय व्यवस्थाबाट समाजवाद आउँछ भन्ने कुरामा मलाई विश्वास छैन । शान्तिपूर्ण तरिकाबाट जाने सबै बाटाहरु बन्द भएपछि बल प्रयोग र हिंसातमक तरिकाले सत्ता विरुद्ध जानु इतिहास सिद्ध कुरा हो । जतिसुकै शान्तिपूर्ण भनिएपनि भारतको स्वतन्त्रता आन्दोलन हिंसात्मक नै भएको थियो । अमेरिकी स्वतन्त्रता संग्राममा हिंसातमक संघर्ष भयो । आन्दोलन हिंसात्मक हुन्छ भन्नेका कुरा त छाडिदिनु । शान्तिपूर्ण आन्दोलन भनिएपनि हिंसात्मक सघर्ष बिना ठूला परिवर्तन इतिहासमा भएका छैनन् । संसदीय व्यवस्थाबाट समाजवाद ल्याउन सकिन्छ भन्ने कुरा काउत्स्की, वर्नस्टीन आदिको कुरा भन्दापनि १९९०को सोभियत संघविघटन पछि बङ्ग्याईएको कुरा हो ।
यहाँ एउटा सन्दर्भ उल्ल्ेख गर्नु सान्दर्भिक नै हुनेछ । एङ्गेलसले १८९५ मा लेखेको फ्रान्समा वर्ग संघर्ष (क्लास स्ट्रगल इन फ्रान्स) मा के भनेका छन् भने युद्धको समय सकियो । हाम्रा मानिसहरु संसदमा जान सक्छन् , नगरपालिकामा जान सक्छन् । त्यहँबाट हाम्रा मान्छेले धेरै राम्रा काम गर्न सक्छन् । त्यो कुरालाई वर्नस्टीन , र काउत्स्कीले समाए ।यहाँ नेपालमा त्यो सन्दर्भ बारे छलफल भएको देखिन्न । कट्टर लेनिनवादीहरुले १८९०देखि एङगेल्स पनि संशोधनवादी हुन भनेर आरोप लगाउँछन् । तर लेनिनले त्यो कुरा प्रतिस्पर्धात्मक पूँजीवादमा सम्भव हुन सक्दछ तर एकाधिकार पूँजीवादको समयमा यो कुरा सम्भव छैन भनेका छन् । अब नेपालको सन्दर्भमा शान्तिपूर्ण रुपान्तरण सम्भव छ त? अब हाम्रो नेपालको अनुभवले पनि हामीलाई बताउँदछ कि शान्तिपूर्ण रुपान्तरण सम्भव छैन । ००७ ,२०४६ , ०६२ ÷६३ को आन्दोलन र जुनसुकै आन्दोलन पनि शान्तिपूर्ण वा हिंसात्मक जे भएपनि हिंसात्मक भएकै थिए । अहिले सम्मका जतिपनि आन्दोलन भए सामन्तवादका विरुद्ध भए । तर अहिले सम्म पूँजीवादको विरुद्ध संघर्ष भएको छैन ।अहिलेको संविधान साँचो अर्थमा नव उदारवादको दस्तावेज हो ।
० संविधानमा त समाजवाद उन्मुख राज्य भनिएको छ ?
–नवउदारवादी आर्थिक नीतिबाट समाजवादमा जान सकिन्छ भन्ने कुरा कलकत्ता जान कुतीको बाटो हिंडेजस्तो हो । व्यवहारतः उद्योगलाई निजीजकरण गर्ने, विदेशी पूँजीपतहरुलाई मार्केट स्वतन्त्र छोडिदिने, विश्वव्यापी निगमहरुलाई जुनसुकै मूल्यमा पनि आमन्त्रण गर्ने, वैदेशिक लगानीलाई स्वीकार्ने तर भन्दाखेरी समाजवादमा जाने भन्ने कुरा साधारण मानिसले पनि पत्याउने कुरा हैन ।
० औद्योगिक पूँजीवादलाई सेवा पूँजीवादले निकै तल पारिसक्यो । औधोगिक पूँजीवादबाट राष्ट्रिय पूँजीवादको विकास हुन्छ भन्ने कुरा गलत हो भन्ने भनाई पनि छ यसबारे तपाइँको विचार ?
–यो निकै अध्ययन गर्नु पर्ने विषय हो । उद्योगिक विकास नभई सेवा पूँजीवाद अगाडि बढ्न सक्दैन । मान्छेलाई सबभन्दा पहिले खान लाउन पर्छ । त्यो काम कुनै बेला प्रकृतिले गर्दथ्यो भने अहिले त्यो काम उद्योगले गर्दछ । सेवा उद्योगको राम्रो उदाहरण होटेल व्यवसाय र पर्यटन हो । होटेल र पर्यटनलाई संचालन गर्न उत्पादन चाहिन्छ । पञ्चायतले राजकीय पूँजीवादको विकास गर्न खोजेको हो । ग्लोवल क्यापिटलिज्म (विश्व पूँजीवाद ) ले पञ्चायतलाई फ्याँक्यो र त्यसले मार्केट इकोनोमी (बजार अर्थतन्त्र) को नयाँ रुप लिएर आयो ।
आधारभूत कुरामा कम्तीमा आतमनिर्भर बनौं भन्छु म । नेपालमा अहिले जहाज , फ्रिज, ठूला संशाधनका उद्योगहरु खोल्न सक्दैनौं । तर कृषिउद्योग त खोल्न सकिन्छ । कपडा,चामल, सिमेण्ट लगायत त चल्न सक्छन् । खाडी मुलुकमा संकट आयो भने वा मलेशिया ,युरोप ,अमेरिकामा संकट आयो भने नेपाली फर्किए भने, यहाँ पनि संकटलाई आए जहाज चढाएर पठाउन नसकिएला तर कम्तीमा खाना बिना मर्न नपर्ने स्थिति यहाँ हुनु पर्दछ ।
० तपाइँ आवद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाललाई तपाइँहरुले कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
– प्रतिगमन विरोधी र साम्राज्यवाद विरोधीहरु यसमा अटाउँछन् । देशभक्त हुँ भनेर राजावादी अटाउन सक्दैनन् । कम्युनिष्ट हुँ भन्ने तर राजाको शासन ठीक थियो भन्ने यहाँ अटाउँदैनन् । माओवादी हुँ वा लोकतन्त्र वादी हुँ भन्ने तर एमसीसीलाई मतदान गर्ने पनि यहाँ अटाउँदैनन् । ती बाहेक सबै अटाउन सक्छन् ।
यी बाहेक सबै एक ठाउँमा आएपछि कस्तो खालको शासन व्यवस्थाको परिकल्पना गर्दछन्् भन्ने कुरा अवधारणा पत्रको नयाँ संशोधनमा आउँदैछ । देशभक्ति, लोकतन्त्र, न्याय (वर्ग) को कुरा गर्नको लागि यो संस्था निर्माण भएको हो । तपाई हामीले भनेको नयाँ जनवादी क्रान्ति अर्थात सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरुको सत्ताको रुपरेखा कस्तो हुनेछ त्यसकालागि काम गर्ने दीर्घकालीन सैद्धान्तिक उद्देश्य यसले बोकेको छ । विस्तारै तर सुनिश्चितताका साथ अगाडि बढ्दै छौं ।

० तपाई २०७९ मा लामो जेल जीवन बिताएर बाहिर आउँदा तपाईलाई त्यतिबेला पत्रकारहरुले सोधेका रहेछन् । एमाले, माके अव तपाईको पार्टी कुन हुनेछ भनेर सोधेका रहेछन् । आज त्यसबारेमा तपाई के भन्नुहुन्छ ?
–म स्पष्ट छु । एउटा वैकल्पिक वामपन्थी क्रान्तिकारी पार्टीको निर्माण हुनुपर्दछ भन्ने धारणा छ । त्यो पार्टी अहिलेकै पार्टी मध्ये पनि हुनसक्छ । ती पार्टीहरु मिलेर अर्को पार्टी पनि हुन सक्दछ । संसदीय व्यवस्थालाई नमान्ने, बलप्रयोगको सिद्धान्तलाई मान्ने , नयाँ जनवाद, समाजवादको कुरा गर्ने, सामन्तवाद, साम्राज्यवाद र प्रतिगमन विरुद्ध अडान राख्ने पार्टी नै मेरो पार्टी हुनेछ ।
० मिटर व्याज पीडितहरुको आन्दोलनमा लागिरहनु भएको छ । अहिले दोस्रो पटक सम्झौता भयो । आखिर माग त पूरा भएनन् ?
–सर्वहारावर्गको स्थिति कहाँ छ ? मेरो अध्ययनको विषय हो । बुर्जुवा गणतन्त्रमा जनताका माग पूरा नभए पनि धेरै कम गर्न सकियो भने सरकारले कुरा सुन्न बाध्य हुँदोरहेछ भन्ने पनि अनुभव भयो । मिटर व्याज पीडितको आन्दोलन एउटा सम्झौतामा जानै पर्ने नै थियो अहिले ।
० वर्ण व्यवस्थाबारे तपाईको धारणा ?
–वर्ण व्यवस्थाको उत्पत्तिबारे दुईवटा धारणा छन् ः एक श्रम विभाजनबाट वर्ण व्यवस्था उत्पत्ति भयो र अर्को रंगभेदबाट वर्ण व्यवस्था उत्पत्ति भयो । मेरो विचारमा रंगभेदबाट वर्णव्यवस्था उत्पत्ति भएको हो । यसका विर्हगमन विश्लेषण गर्न सम्भव छैन ।
० ओखलढु्ंगामा कम्युनिष्ट पार्टीको सुरुवात कसरी भयो ?
–२००७ सालदेखि नै ओखलढुंगामा कम्युनिष्ट पार्टीको प्रभाव आयो । वनारस र कलकत्ता पढ््न गएकाहरुले पुष्पलालसित सम्पर्क गरेर कम्युनिस्ट बनेर गए । १२÷१३ सालतिरको मधेशमा चलेको किसान आन्दोलनको प्रभाव ओखलढुंगामा भयो । पछि पनि किसान आन्दोलन चल्यो ।

० हाँक साप्ताहिक मार्फत् थप केही छ कि ?
–हाँक साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित