सरकार नै दलाल सरकारको रुपमा परिणत भएको छ

–रामप्रसाद सापकोटा, सेक्रेटरी, नेकपा (मशाल) जिल्ला समिति नवलपुर

० राजनीति र संगठनप्रति तपाईं कसरी आकर्षित हुनुभयो ?
– बाग्लुङ जिल्ला साविक दमेक गाविस वडा नम्बर १ बिराउने (हाल जैमिनी नगरपालिका वडा नम्बर २) मा २०३० सालमा मेरो जन्म भएको थियो । जनप्रिय निम्न माध्यमिक विद्यालयमा नि.मा.बि. तहमा पढदै गर्दा अखिल छैठौंले अन्याय अत्याचार जाली फटाहाहरूको विरोध गर्दछ र गर्नुपर्दछ भन्ने धारणाको विकास गरेको थियो । दमेक गाविस बाग्लुङ जिल्लाकै नेपाली कांग्रेसको गढ मानिन्थ्यो । तत्कालीन समयमा त्यो गाविसमा निश्चित सङ्ख्यामा मात्र कम्युनिष्ट विचार राख्ने मानिस थिए । कांग्रेसहरूको गरिब किसान माथिको अन्याय अत्याचार हेपाहा प्रवृत्ति आदिको व्यापकता रहेको थियो । गाउँका शोषक, सामन्त, जाली फटाहाको अन्यायका विरुद्धमा सानैदेखि विरोध गर्ने र विद्रोह स्वभाव राख्ने भएकोले कक्षा ६ र ७ मा पढ्दा पढ्दै गर्दा को समयदेखि हामी अनेरास्ववियु (छैठौं) मा संगठित भयौं । अखिल हुनुपर्छ भन्ने केही शिक्षक र साथीहरूको प्रभाव प¥यो । तत्पश्चात विद्यालयका हेडमास्टर, विद्यालय सञ्चालक समिति र कांग्रेसका शिक्षकहरूबाट हुने अनियमितता शुल्क वृद्धि, शिक्षक नियुक्ति आदिका बारेमा आन्दोलन गर्दैजाँदा राजनीति र संगठनमा पनि विकासहुनुका साथै संगठनप्रति आकर्षण पनि बढ्दै गयो ।
० पञ्चायत कालको अन्त्यतिर बाग्लुङ जिल्लामा भैरव स्थान काण्ड भएको थियो । त्यो घटनामा तपाईं हिरासत वा जेल जानुभएको थियो । त्यो घटना किन र कसरी भएको थियो ?
– भैरव स्थान बागलुङ जिल्ला अमलाचौर गाविस (हाल बाग्लुङ नगरपालिका वडा नम्बर १४) मा पर्दछ । उक्त ठाउँमा दशैंको समयमा मेला लाग्ने गर्दछ । २०४४ सालको असोजमा दशैंको अघिल्लो दिन नवमी मेलाको अवसर पारेर अ.ने.रा.स्व.वि.यु.(छैठौँ) ले कार्यक्रमको आयोजना गरेको थियो । पञ्चायत काल रहेकोले कार्यक्रम गर्ने छुट थिएन तर संगठनले जसरी पनि कार्यक्रम गरी छाड्ने दृढताका साथ कार्यक्रम सुरु गरेका थिए । पुलिस प्रशासनले थाहा पाएछ र चारैतिरबाट घेरा हालिसकेपछि दोहोरो भिडन्त भयो । दोहोरो भिडन्तमा छैठौँका विद्यार्थीहरु र केही प्रहरी जवान पनि घाइते भए । त्यसको लगत्तै पञ्च र कांग्रेसहरूको मिलेमतोमा त्यस भेकका विभिन्न गाविसहरूका मसालका नेता कार्यकर्ता दबाउने उपयुक्त अवसर मिल्यो । सोही योजना अनुसार दमेक र कुस्मीसेराका तत्कालीन प्रधानपञ्च (जसले आफूलाई कांग्रेस भन्न रुचाउँछन्)ले मसालका नेता कार्यकर्ताको लिस्ट तयार पारी सिडिओ मार्फत वारेन्ट जारी गर्न लगाए । त्यसबेला मैले कुस्मी सेरा गाविसमा पर्ने शान्ति माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दथें । म विद्यार्थी राजनीतिमा सक्रिय रहेकोले र दमेक गाविसमा कांग्रेसको विरोध गर्ने भएकोले वारेन्टको लिस्टमा पर्नु स्वभाविक थियो । फलस्वरूप २०४४ साल कार्तिक महिनाको मध्यतिर बिहानको ३ बजे घरमा नै आई गिरफ्तार गरी कुश्मी सेरा चौकी, वलेवा नारायणस्थानको थाना गर्दै अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाग्लुंगमा राखी यातना कुटपिट र बाग्लुंगको काठेखोलाबाट जिल्ला प्रहरी कार्यालयसम्म ढुंगा बोकाई यातना दिइरह्यो । लगातार २५ दिनसम्म हिरासतमा राख्यो । गिरप्mतारीमा दमेकबाट रामप्रसाद सापकोट, मेखनाथ सापकोटा, चन्द्र सापकोटा र टिकाराम सापकोटा, त्यस्तै कुश्मी सेरा गाविसवाट हिरा देवी चापागाइ, बल बहादुर शाही, खिमा थापा, अमलाचौर बाट हेमराज अधिकारी, हिरादेवी शर्मा आदि लगाएतका विद्यार्थी नेताहरु रहेका थिए । त्यस्तै जैदी गाविसको बतासे डाडामा भएको प्रगतिशील विवाहमा सामेल भएको वहानामा जैदी, छिस्ती, अर्जेवा, विनामारे, सर्कुवा, रानखानीका सयौं नेता कार्यकर्ताहरुलाइ समेत गिरप्mतार गरि जिप्रका बाग्लुङमा राखि यातना दिइएको थियो । प्रहरीले धरौटी राखेर मुद्दा लड्ने कुरा गरिसकेपछि हामी निर्दोष मान्छेले धरौटी किन राख्ने हामी निर्दोष छौं । रकम बुझाउन सक्दैनौँ भनेपछि प्रमुख जिल्ला अधिकारीले तुरुन्तै जेल चलान गर्नु भन्ने पत्र काटेर हामीलाई बाग्लुङ जेल चलान गरियो ।
जेल चलान गरिसकेपछि पार्टीका जिम्मेवार साथीहरूसँग भेट हुन पनि सकेन । पञ्चायती काल रहेकोले पार्टीको जिम्मेवार मानिसले भेटघाट गर्न पनि सक्दैनथे । म उमेरले अलि कच्चै रहेकोले सबै परीपुर्याउन सक्ने अवस्था थिएन । करिब दुई महिनाको जेल बसाइपछि केही गाउँले अभिभावकहरूको सहयोगमा जेलबाट छुटेपनि सार्वजनिक मुद्दाको तारिख सुरु भयो । त्यतिबेलासम्म कक्षा ९ को अन्तिम परीक्षा आइसकेकोले एकातिर परीक्षाको तयारी र अर्कोतिर मासिक रुपमा जिल्ला प्रहरी कार्यालय बाग्लुंगमा धाउनुपथ्र्याे । तैपनि हरेस नखाइकन सबै कामको तयारी गरिरह्यांै । दुई वर्षसम्म सार्वजनिक मुद्दा चलेपछि हाम्रो बारेमा पक्षमा फैसला भयो र हामीले सफाई पायौं । मुद्दाको फैसला पनि हुने २०४६ सालको जनआन्दोलन पनि उत्कर्षमा पुगेकोले पञ्चायती व्यवस्थाको अन्त्य हुने अवस्था संगसँगै रह्यो ।
० विद्यार्थी कालमा चितवनको सप्तगण्डकी क्याम्पसमा सदस्य पदमा पनि निर्वाचित हुनुभएको थियो । त्यसबेलाका केही अनुभव छन् कि ?
– बागलुङ जिल्लाको कुस्मीसेरा बजारस्थित शान्ति मा.वि.बाट एस.एल.सी. परीक्षा पास भएपछि चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा साइन्स विषय लिएर आई.एस.सी पढ्न ०४८÷४९ को ब्याजमा भर्ना भयौं । त्यस क्याम्पसमा अ.ने.रा.स्व.वि.यु. (छैठौँ) को इकाइ अध्यक्ष भई जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो । ने.वि. सङ्घ र अखिल पाँचौंको बीचमा दह्रोखालको प्रतिस्पर्धा भएपनि वैचारिक रुपले अरु संगठन भन्दा हामी अलि सशक्त नै थियौँ । आइएस्सीको पढाइपछि बागलुङ कुस्मी सेरा बोर्डिङमा अध्यापन गर्न थालें । पछि शिवालय निमाबि दमेक कालापातलमा पनि एक वर्ष अध्यापन गरीसकेपछि पुन अध्ययनको लागि चितवनको सप्तगण्डकी क्याम्पसमा स्नातक तह शिक्षा शास्त्र संकाय बीएडमा भर्ना भएँ । ०५३÷५४ सालमा स्ववियु निर्वाचन परेकोले अखिलका संगठनहरूको बीचमा तालमेल गरी स्ववियु निर्वाचनमा भाग लिएका थियौँ । दुइवटा पदमा छैठौंको तर्फबाट सुरेन्द्र एम सी नवलपुर र रामप्रसाद सापकोटा बाग्लुंगले निर्वाचनमा सफलता प्राप्त भयो । त्यसपछि विद्यार्थी हक हित र अधिकारको लागि व्यवस्थित रूपले कार्य सञ्चालन गरेका थियौं । सोही समयमा म अनेरास्ववियु (छैठौं)को राष्ट्रिय परिषद् सदस्य र नारायणी क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा रहेको थिएँ ।
० प्रतिगमन कालमा बाग्लुंगमा तपाईं सहित केहीलाई माओवादीहरूले निर्घात कुटपिट गरेका थिए । त्यो घटनालाई के कसरी सम्झनुहुन्छ ?
– २०५२ साल फागुनबाट माओवादीहरूले जनयुद्धको नाममा उग्र “वामपन्थी” बाटो अपनाएका थिए । उग्र “वामपन्थी” भड्कावबाट प्रेरित भएर उक्तकार्य सुरुवात गरेका थिए । २०६०÷६१ सालतिर आइपुग्दा युद्ध अलि उत्कर्षमा पुगे जस्तो देखिन्थ्यो । तर त्यो अवस्थामा माओवादीहरूले दुश्मन र मित्रशक्तिहरूको आंकलन गर्न समेत छोडिसकेका थिए । नेकपा मसालको “न सुराकी न खुराकीको नीति अन्तर्गत आफ्ना कार्यक्रमहरु बढ्दै जाँदा बाग्लुंगको पश्चिम बुर्तिबाङ क्षेत्रका केही तत्कालीन मसालका नेताहरू धर्मकुंवर, तुलसीराम अर्याल, टेकबहादुर थापा, गौरीश्वर पाण्डेलाई अपहरण गरी लामो समयसम्म बेपत्ता पारेका थिए । त्यसको रिहाइकोलागि मागगर्दै बुर्तिबाङ बजारबाट २०६१ असोज महिनामा परि थापा, लीला थापा, फमलाल न्युरे बाबुराम नेपालीको नेतृत्वमा तीन चार सय जनाको जुलुस बुर्तिबाङ, खुङ्गा, अधिकारी चौर, बोबाङ हुँदै ढोरपाटन पुगेर विरोध सभा गर्ने कार्यक्रम रहेको थियो । हामी ढोरपाटनको लागि जाँदै गर्दा ढोरपाटन नजिकैको जंगलमा रोल्पा रुकुमबाट आएका माओवादी कार्यकर्ताले बाटोमाथिबाट ढुंगामुढा हवाई फायरिङ गरी धेरै साथीहरुलाई घाइते बनाए । खच्चडमा बुर्तिबाङ बजारबाट पठाएको रासनपानी लत्ता कपडा सबै लुटेर लगे । पछि टोली बुर्तिबाङ बजार फिर्ता भयो । त्यहाँ सन्चारको माध्यम थिएन । भीमगिठे पुगेर घटनाको बारेमा काठमाण्डौं पार्टी कार्यालय लगायत एफएम रेडियोहरुलाई जानकारी गराइयो । त्यसपछि घटनाको बारेमा व्यापक प्रचार भयो । त्यो समाचार सुनेपछि जिल्लाको दक्षिण भेकमा मसाल र माओवादी बीच भिडन्त र कुटपिट समेत चल्यो । घटनाक्रम बढ्दै जाँदा २०६१ मङ्सिर १४ गते राति १० बजेको समयमा करिब ५०÷६० जना हतियारधारी माओवादीले हाम्रो घर घेराहाली घर परिवारका सदस्यहरूलाई समेत कुटपिट गरे । मलाइ घरको उपल्लो तलामा सुतिरहेको ठाउँबाट अपहरण गरी नजिकैको पोखरीको बीचमा लगी कुटपिट गरेर दुवै हात र दुबै खुट्टा भाँचिदिए । कुट्ने बेलामा माओवादीको विरुद्धमा ढोरपाटन कार्यक्रममा जाने, माओवादीसँग लड्ने, खान बस्न र चन्दा नदिने, चन्दा दिने मानिसलाई चन्दा दिन हुँदैन भनेर सिकाउँदै हिंड्ने तलाई भौतिक सफाया गर्दैछौं भनेर भनेको याद आउँछ । कुटपिट गरिसकेपछि भोलिपल्ट उपचारको क्रममा गाउँलेहरुले बाग्लुङ अस्पताल पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि पोखरा अस्पताल पु¥याइयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाण्डौं टिचिङ हस्पिटलमा रिफर गरियो । कुटाइबाट मेरो दुबै मिर्गौलाले काम गर्न छोडेपछि डायलाइसिसको लागि वीर हस्पिटलमा रिफर गरियो । त्यसपछि मात्र मेरो भाँचिएको हातखुट्टाको उपचार सुरु भयो । काठमाडौको एक वर्षको उपचारपछि घरमा फर्केर पुनः संगठनको काममा सक्रिय रहेँ । यतिबेलासम्म माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो ।
० बाग्लुङबाट नवलपुर बसाई सराइ कहिले गर्नुभयो ?
– एसएलसी परीक्षाको पढाइ बाग्लुङबाट सिद्धाइसकेपछि म कलेज पढाइको क्रममा २०४८ सालदेखि नै चितवन र नवलपरासीका विभिन्न ठाउँमा बस्दै आइरहेको थिए । अध्ययनको क्रममा नवलपुर चितवनका विभिन्न जिम्मेवारी पूरा गर्दै आएको थिएँ । अध्ययनको क्रममा नै जिल्लामा रहेको पार्टी कमिटीको जिम्मेवारी नै नवलपुरमा परिवर्तन भएको थियो । यसरी लामो समयको अध्ययन अध्यापनका कार्यहरू बिताउँदै गर्दा २०६३ सालदेखि चिन र हङकङमा करिब आठ वर्षको प्रवास बसाईपछि २०७० सालमा स्वदेश फर्केर सपरिवार स्थायी रुपमा नवलपुरको गैडाकोटमा रहेका छौं ।

० तपाईको विदेशमा काम गरेको अनुभव पनि छ । हङकङ नेपाली एकता समाजमा के कसरी काम गर्नुभयो ?
– ०६२÷६३ को जनआन्दोलन पश्चात म बिजनेसको सिलसिलामा केही साथीहरूसँग चीन जाने निर्णय ग¥र्यौ । २०६३ सालको सुरुमा नै हामी त्यतातिर लाग्यौँ । चीनमा करिब एक वर्षको बसाईपछि हामी हङकङ गयौं । त्यहाँ रोजगारीको सिलसिला करिब आठ वर्ष रह्यो । त्यहाँ रहँदा भर्खर एकता केन्द्र र मसालको पार्टी एकतापछिको फुट भइसकेको धेरै जानकारी थिएन । एकताको प्रभाव र असर दुवै हङकङ नेपाली एकता समाजमा परेको थियो । पार्टीका साथीहरूसँग भेटघाट बैठक सामान्यतया प्रशिक्षण कार्यक्रम भर्खर सुरु हुँदै गर्दा पार्टीमा पुन विभाजनको जानकारी प्रष्ट भयो । त्यसको असर हङकङमा पनि प¥यो । तत्कालीन एकता केन्द्र मसाल तीन चिरामा विभाजन भयो । त्यसपछि त्यहाँका अधिकांश साथीहरू रामसिंह श्रीसले नेतृत्व गरेको एकीकृतमा समाहित हुनुभयो । पछि हामी केहि निश्चित मात्र साथीहरु नेकपा मसालसँग सम्पर्क गर्ने काम ग¥र्यौं । त्यहाँ पार्टी संगठनले गति लिन सकेन ।
० २०७२ सालमा नेकपा मसालमा देखिएकोे अन्तर्विरोधको बेला तपाइ नवलपुरमा पार्टीको नेतृत्वमा रहेर काम गर्दै हुनुहुन्थ्यो । अन्तरविरोधलाई रूपान्तरणमा वा समाधानमा लगेर पार्टी बढ्नुपर्ने थियो । तर अन्तरविरोध किन विभाजनमा परिणत भयो ?
– नेकपा मसालका कतिपय सिद्धान्त र व्यवहारबारे मेरो पहिलादेखि नै केही असहमतिहरु थिए । म हङकङबाट नेपाल फर्किएपछि नवलपुरको गैंडाकोटमा स्थायी बसोबास सुरु भयो । ७२ सालदेखि नै पार्टी सरकारमा सामेलहुने विषयमा मतभेद देखा परिसकेपछि पार्टीमा छलफल हुने अवसर हामीलाई पनि भयो । पटक पटकका विघटन र गठन पछि ०७४ सालमा नवलपुर जिल्ला पार्टी संगठनमा भएको पुनर्गठनमा नयाँ समितिको जिम्मेवारी हामीले पाएका थियौं । पार्टी सञ्चालनकै क्रममा पार्टीको आठौं महाधिवेशनको मिति तय भयो । महाधिवेशनको सिलसिलामा नेकपा मसालभित्र दुई लाइनको सङ्घर्ष तलसम्म छलफलका रूपमा चल्दै गर्दा तत्कालीन नेतृत्व दक्षिणपन्थी अवसरवादमा पतन हुँदै गएको, आर्थिक पारदर्शिता नभएका,े चुनावी कार्यक्रम मात्र पार्टीको कार्यक्रम बनाउने गरेकोले त्यसलाई सुधारका लागि अल्पमत पक्षले राखेका विचार सही र दीर्घकालीन रणनीतिक महत्वलाई सहयोग पुग्ने खालका थिए र छन् भन्ने लाग्यो । त्यो अवस्थामा मसाल नेतृत्वले आठौं महाधिवेशनमा भिन्न मतलाई द्वन्दात्मक रूपले विचारको समाधान गर्नुको सट्टा भिन्न मत राख्ने देशभरिका नेता कार्यकर्तालाई विभिन्न वहानामा निलम्बन, कारबाही, निष्कासन आदि नीति अपनायो । जसको चपेटामा नवलपुर जिल्ला समेत अछुतो रहेन ।
हामी नवलपुरको नेतृत्वमा आउँदा करिब १६ वर्ष नेतृत्व गरेको व्यक्तिले जिल्लाका माइनट बुकहरू हराउनु, जिल्लाको लामो समयसम्मको हिसाब किताब नहुनु, पार्टी सदस्यको रेकर्ड अस्त व्यस्त बनाउनु, पार्टी केन्द्रमा पुगेका तर साँस्कृतिक धरातल कमजोर रहेका र फिर्ता भएका व्यक्तिलाइ प्रोत्साहन गर्नु, पार्टी सन्चालन गर्न नसकेर जिल्ला समितिलाइ विघटन गरि संगठन समितिमा परिणत गर्न सिफारिस गर्नु आदि अस्तव्यस्त अवस्था थियो । यस्तो अवस्थामा रहेको जिल्लामा पार्टी संगठनलाइ व्यवस्थित गर्ने, जनवर्गीय संगठनहरूको भेला सम्मेलन गरी संगठनलाई व्यवस्थित गर्ने कार्य सामान्य थिएन । तै पनि कैयौँ साथिहरुको सहयोग र मेहनतमा व्यवस्थित बनाएका थिर्यौ ।
पार्टीलाई सही क्रान्तिकारी दिशामा अगाडि बढाउने र दक्षिणपन्थी अवसरवादका विरुद्धको विचारलाई महाधिवेशनमा सही व्यवस्थापन गर्ने विषय उठाएका थियौं । नवलपुर जिल्ला सही क्रान्तिकारी विचारको रक्षाको पक्षमा उभिएकोले गुटबन्दी गरेको कथित आरोपमा जिल्ला समिति विघटन गरियो । लाजमर्दो कुरा के रह्यो भने गुटबन्दी गरिएको भनेर जिल्ला विघटन गर्ने, गुटबन्दी गर्ने व्यक्तिहरुलाइ कार्यवाही गर्नुको सट्टा पुनर्गठित समितिको सचिवालयमा तत्कालीन सेक्रेटरी लगायत केही व्यक्तिहरुलाइ राख्ने कार्य गरियो । केन्द्रिय समितिले जिल्लामा आप्mनो बहुमत बनाउनको लागि आर्थिक हिनामिना गर्ने र स्तरहिन व्यक्तिहरुलाइ राखेर जिल्ला समिति बनाउने कुराले राजनीतिक दिवालियापनको झल्को राख्दथ्यो । क्रान्तिकारी विचार राखेका साथीहरूलाई एक वा अर्को बहानामा कारबाही गरियो । फलस्वरूप क्रान्तिकारी साथीहरू नेकपा मसाल समन्वय समितिको २०७८मा चितवनमा भएको राष्ट्रिय भेलामा सामेल भयौं । त्यसपछि त्यो भेलाले निर्णय गरेको नेकपा मसाल केन्द्रिय समन्वय समितिको विशेष महाधिवेशन हुँदै आज नेकपा (मशाल)को पार्टी संगठन विस्तार अभियानमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेका छौं ।
० संघीयता विरुद्धको आन्दोलनमा क्रियाशील हुनुभयो त्यसमा तपाईंको भूमिकाबारे बताउनु हुन्छ कि ?
– हाम्रो देश नेपाल भौगोलिक विविधता विभिन्न जातजाति भाषाभाषी रहेको एकात्मक राष्ट्र हो । जनसङ्ख्या र क्षेत्रफल सानो रहेको देशमा संघीयताको कुनै अर्थ छैन र आज यसले राष्ट्रमा पारेको असर, आर्थिक संकट लगायतका विषयहरूले पनि संघीयताको आवश्यकता नरहेको पुष्टि गरेको छ । संघीयताको विरुद्धमा पार्टी केन्द्रका कार्यक्रम र जिल्ला समितिले स्वयं बनाएका संघीयता विरोधी आन्दोलनको हाम्रो जिल्ला पार्टीले अग्रमोर्चामा रहेर नेतृत्व गरेको छ । त्यस अन्तर्गत नवलपुर जिल्लाका विभिन्न ठाउँहरूमा संयुक्त वा एकल कार्यक्रमहरू सञ्चालन भएका छन् । नवलपुरको भृकुटीचोक, भेडाबारी, हर्कपुर, अमरापुरी १६ नम्बर चोक, रजहर, कावासोती, डण्डा बजार, चोरमारा, दुम्कीबास, हुप्सेकोट र गाउँहरुमा हाम्रो पार्टीको पहलमा कोणसभा, अन्तरक्रिया, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने र ब्यानरमा संघीयता विरोधी हस्ताक्षर अभियान कार्यक्रमहरू सञ्चालन गर्दै आएका थियौंं । नवलपुर, चितवन र काठमाडौँमा भएका संघीयता विरोधी एकल वा संयुक्त आन्दोलनका कार्यक्रमहरूमा हामी र हाम्रो जिल्लाको उल्लेखनीय सहभागिता रहेको छ ।
० नवलपुरको कम्युनिष्ट आन्दोलनको इतिहासलाई संक्षिप्तमा कसरी सिंहावलोकन गर्नुहुन्छ ?
– नवलपरासीको जिल्ला टुक्रिएर बनेको वर्दघाट सुस्तापूर्व नवलपुर र वर्दघाट सुस्ता पश्चिम नवलपरासीले परिचित छ । नवलपुर देशको मध्यभागमा पर्ने भएकोले यसको छुट्टै राजनीतिक महत्व छ । नवलपुर जिल्लामा २०१७÷१८ सालतिर नै कम्युनिष्ट पार्टीको प्रभाव रहेको पाइन्छ । ०१९÷२० सालमा नवलपुरको डण्डा, त्रिभुवन नगर र तिनका आसपासका क्षेत्रहरूमा जिवराज आश्रित, मदनमोहन जोशी, केशरजंग रायमाझी, खम्बा सिंह कुँवर नेताहरुले संगठन विस्तार गरेको पाइन्छ । पछिल्लो समयमा पहाडी जिल्लाहरू बाग्लुङ, पर्वत, पाल्पा, गोर्खाबाट बसाई सराई गरी आउनेको चापले गर्दा पनि यो जिल्ला कम्युनिष्ट आन्दोलनमा अगाडि रहेको छ । २०२९ सालतिर मोहनविक्रम सिंह र खम्बा सिंह समेतले कम्युनिष्ट पार्टीको विकासमा योगदान गरेको पाइन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा जमिन्दार विरुद्धको आन्दोलन, सडक मजदुरहरूको सङ्घर्ष, भकारी फोर आन्दोलन आदि यहाँका मुख्य संघर्षका कार्यक्रमहरू रहेका छन् । पछिल्ला दिनहरूमा गणतन्त्र ल्याउनको लागि नवलपुर जिल्लाका जनतान्त्रिक र प्रगतिशील पक्षहरूले सहभागी भएर महत्वपूर्ण भूमिका खेलेका छन् भने संघीयता विरोधी आन्दोलनमा नवलपुरले अहम् भूमिका खेलेको छ । नवलपुर कम्युनिष्ट आन्दोलनको इतिहासको विषयलाइ लिएर हामीले २०७८ सालमा करिब ४५० पेजको इतिहास विशेषांक “विकल्प” पुस्तक समेत प्रकाशन गरेका छौं ।
० नवलपुर जिल्लाका समस्याहरू केके छन् । समस्या समाधानका लागि सरकारको, पार्टीहरू र जनताको भूमिका के हुनुपर्दछ ?
–नवलपुर जिल्ला भौगोलिक रूपले पहाड र भित्री मधेश दुई भागमा विभक्त भएको जिल्ला हो । यस जिल्लालाई पूर्व पश्चिम राजमार्गले बीचबाट सुविधा पुराएको छ । यस जिल्लामा चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका राजमार्गसंग जोडिएका छन् । बुलिङटार, वौदीकाली,े पहाडी बेल्टमा पर्दछन् । विनय त्रिवेणीको केहीभाग समथर र राजमार्गले छोइए पनि दुर्गम जस्तै छ । यस जिल्ला कालीगण्डकी करिडोर र पूर्वपश्चिम राजमार्गमा परेपनि विकासको किसिमले पहाडी एरिया अलि दुर्गम, खानेपानी, विद्यालय, स्वास्थ्य आदिको पहुँचभन्दा बाहिर नै रहेका छन् । यस जिल्लामा ठूलो खानी जस्तै धौवादी फलाम खानी राष्ट्रिय स्तरमा चर्चामा नै रहेको छ । तर अन्य खानीहरुवारे राज्यले कुनै वास्ता गरेको छैन । कालिगण्डकी र नारायणी नदीले अंगालो मारेको जिल्ला भएर पनि सिंचाइको समस्या रहेको छ । हुप्सेकोट गाउँपालिकामा पनि शिक्षा स्वास्थ्य बाटोघाटो आदिको असुविधा रहेको छ । नवलपुर जिल्लामा उद्योगहरुको स्थापना र सम्भावना भएर पनि सरकारले संरक्षण र विस्तार गर्न सकेको छैन । जनप्रतिनिधि र स्थानीय निकाय पनि जिम्मेवार देखिँदैनन् । विनय त्रिवेणीको सुस्ताको समस्या दीर्घकालीन समस्याको रूपमा रहेको छ । भारतीय विस्तारवादले त्यहाँको जमिन अधिग्रहण गर्ने र जनतामाथि अन्याय अत्याचार लुटपाट आदि निरन्तर गरिरहेको छ । नवलपुरका सार्वजनिक जमिन, बन जंगल, खोला नाला विभिन्न व्यक्तिहरुले कब्जा गरिरहेका छन् । यहाँका ठूला भनिने राजनीतिक पार्टीहरू राष्ट्रिय सिमाना वारेमा समेत बोल्न सक्दैनन् । तत्काल पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा विगत पाँच छ वर्षदेखि धुलाम्मै र हिलाम्मै बनाइएकोले राजमार्ग वरिपरिका बस्तीहरू धुलोले आक्रान्त रहेका छन् । त्यसकारण क्रान्तिकारी कम्युनिष्ट शक्तिहरू एकगठ हुँदै उपरोक्त समस्याहरुको समाधानकोलागि आवाज उठाउन संगठितहुन र जनताका अधिकार राष्ट्रिय स्वाधिनताकोलागि संघर्ष गर्न अगाडि बढ्नु पर्ने आवश्यकता छ ।
० नेपालमा कम्युनिष्ट आन्दोलनको एकता र धुर्वीकरणको चर्चा पनि भइरहेको छ, के धुर्वीकरण वा एकता सम्भव छ ?
– नेपालमा कम्युनिष्ट आन्दोलनको एकता र धुर्वीकरण अवश्य पनि सम्भव छ । कम्युनिस्ट आन्दोलनका अगुवाहरू राजनीतिक सैद्धान्तिक र वैचारिक रुपले राष्ट्र जनता र कम्युनिष्ट आन्दोलनप्रति इमान्दारिता प्रकट गर्न सक्नुपर्दछ । आज नेपालमा करिब ६५ प्रतिशत जनमत कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको छ । तर यहाँ अल्पमतमा रहेकाहरूले विस्तारवाद वा साम्राज्यवादको दलाली गरेर दलाल सरकारको नेतृत्व गरिरहेका छन् ।
आज कम्युनिस्ट शक्तिहरू विभिन्न स्वार्थ र विदेशीको इशारामा आफूलाई गोटी बनाइरहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वासघात गरिरहेको अवस्था छ । आफूलाई ठूला भनिने तर कम्युनिष्ट सिद्धान्त विचार मूल्य मान्यता बाट स्खलन भइसकेका नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्दैनन् । किनभने यिनीहरुको नेतृत्व विस्तारवाद र साम्राज्यवादी शक्तिहरूका इमान्दार र विश्वसनीय दलाल भइसकेका छन् । कम्युनिस्ट आन्दोलन स्थापनाको लामो समय बितिसक्दा पनि विभिन्न शक्ति केन्द्रहरूको भरोसामा बस्ने परजीवीहरु जस्तै बनेका छन् । अर्कोतिर कम्युनिष्ट आन्दोलनको जगमा अडिएका साना कम्युनिष्ट शक्तिहरूले जनताको विश्वास जित्न पनि सकेका छैनन् । त्यसैले अबको अवस्थामा कम्युनिष्ट आन्दोलनलाई अरु थप उचाइमा पुर्याउनका लागि सच्चा माक्र्सवादी लेनिनवादी कम्युनिष्ट शक्तिहरूको एकता हुन जरुरी छ । एकातिर, समाजवादको लागि समाजवादी केन्द्रको अवधारणा अगाडि आइरहेको छ, जसको नेतृत्व अवसरवादी र दक्षिणपन्थीहरूले गरिरहेका छन् भने अर्कोतिर, नयाँ जनवादी क्रान्तिको लागि सच्चा माक्र्सवादी लेनिनवादीहरुको विचमा पार्टी एकताको चर्चा पनि चलेको छ । नेपालमा नयाँ जनवादी क्रान्तिको लागि नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले आन्दोलनको नेतृत्व गरिरहेका छन् । यस प्रकारको अवस्थामा कम्युनिष्टहरुको एकता माक्र्सवादी सिद्धान्तमा आधारित भएर गर्नु पर्दछ । पार्टी एकतालाई टुंगोमा पु¥याउन आप्mना जडसुत्रवादी विचार र हठलाइ त्यागि धष्ल धष्ल को अवस्था अनुुसार यसलाई सफलताको दिशामा अगाडि बढाउनु अपरिहार्य छ ।
० अहिलेको नेपालको राजनीतिक परिस्थितिलाई कसरी हेर्नुहुन्छ ?
–अहिले नेपालको राजनीति अवस्था अत्यन्तै नाजुक घुमाउरो र तरल अवस्थाबाट गुज्रिरहेको छ । नेपालका राज्य सञ्चालनमा रहेका पार्टीहरू साम्राज्यवाद र विस्तारवादको इमान्दार भक्त बनिरहेका छन् । सरकारको नेतृत्वमा रहेका पार्टीहरू दलाल र माफियाको चंगुलमा फसीरहेका छन् र सरकार नै दलाल सरकारको रुपमा परिणत भएको छ, सत्ता र शक्तिमा रहेका पार्टीका नेता, मन्त्री तथा कार्यकर्ताहरु भ्रष्टाचार, कमिसन, लुटपाट र ठेक्कापट्टा आदिमा लिप्त रहेका छन् । किनभने आज चुनावदेखि सरकारसम्म हुने अपवित्र अस्वभाविक र अराजनीतिक गठबन्धन र तालमेल भैरहेको छ । सबै चुनाव परस्त पार्टीहरू मिलिजुली चुनाव लड्ने, सरकारमा जाने, लाभका पदहरूमा समावेश हुने, भ्रष्टाचार र कमिसन खोरी गरी अकुत सम्पत्ति जोड्न र चुनावी खर्चको जोहो गर्ने जस्ता आदि कारणले राष्ट्रिय स्वाधिनताको आन्दोलन पनि कमजोर बनिरहेको छ । जनप्रतिनिधिहरू जनता र राष्ट्रप्रति उत्तरदायी हुनुको सट्टा कमिसन र भ्रष्टाचारमा लिप्त हुन,े निरन्तरताको सरकार परिवर्तन र पालैपालो वाँडी चुडी मिलीजुनी खाने परम्परा जस्तै भएको छ । आज संघीयता, एमसीसी, एसपीपी, एमसीए जस्ता राष्ट्रविरोधि परियोजना र सम्झौताले देश विदेशी इशाराको नीति नियममा चल्ने पराधीन राष्ट्रको रुपमा चित्रित भइरहेको छ । आर्थिक संकट गहिरिदै गएको छ । त्यसकारण राष्ट्रियताको आन्दोलन, संघीयता विरोधी आन्दोलन र जनताका जनजीविकासंग जोडिएको आन्दोलनलाइ सशक्त बनाउनुपर्ने आवश्यकता छ । त्यसकोलागि सच्चा कम्युनिष्टहरुबाट नेतृत्व गर्ने र वामपंथी देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको संयुक्त आन्दोलन उठाउनु पर्ने आवश्यकता छ ।
० पार्टीेका आगामी कार्यक्रहरु के के छन् ?
– नेकपा(मशाल) सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी भएकोले राष्ट्रियता, जनतन्त्र, जनजिविका वारेमा आप्mना नीति र विचारहरुलाई नेपाली जनता सामु् लैजानु पर्दछ भन्ने मान्यता राख्दछ । जनताका जनजीविकासंग जोडिएका आन्दोलनको पक्षमा, चरम प्रकारको संस्थागत भ्रष्टाचार, वेथिती, अनियमितताका विरुद्ध आन्दोलनलाई उठाउन वामपन्थी देशभक्त, जनतान्त्रिक शत्तिहरुको संयुक्त मोर्चा कार्यगत एकता गर्ने निर्णयहरु भएका छन् । संघीयता विरोधी आन्दोलनलाई पनि सशक्त बनाइ टुंगोमा पु¥यााउनु पर्दछ । संगठनलाई बलियो र विस्तार गर्ने कामलाई पनि अगाडि बढाउने योजना बनेको छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै सहरीया विद्रोह मार्पmत समाजवाद र साम्यवादमा पुग्ने लक्ष रहेको पार्टीको निर्णयलाई हाम्रो जिल्लाले अगाडि बढाउने निर्णय गरेको छ ।
० हाँक साप्ताहिक मार्फत अरु केही भन्नु छ कि ?
–हाँक साप्ताहिक पत्रिकाले पञ्चायति कालारात्री कालदेखिनै राष्ट्रियता, नेपाली जनताको जनजीविकाको पक्षमा निरन्तर समाचार प्रवाह गर्देै आइरहेको हो । यसले देशमा भएका राष्ट्रघाती सन्धी सम्झौता, महंगी, संस्थागत भ्रष्टाचार, वेथिती, अनियमितताका विरुद्ध जनचेतना उठाउदै आएको छ । विभिन्न टुटफुट र विभाजन बाट बच्दै पनि आएको छ । यसलाई समाप्त गर्ने र पत्रिका वन्द गराउने पंचायती तानाशाहीहरुले प्रयत्न गरेका थिए । पछिल्ला दिनहरुमा नेकपा (मसाल)को दक्षिणपन्थी नेतृत्वले राजनैतिक पूर्वाग्रहका कारण बन्द गर्ने घोषणा गरेको थियो । यसले हाँकको नाममात्र पनि सुन्न नचाहने शक्तिहरुलाई वैचारिक रुपले दरिलो प्रहार गरेको छ । हाँक पत्रिकाको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गदै आप्mना विचारहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा हाँक व्यवस्थापन समितिलाइ हार्दिक धन्वाद दिन चाहन्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित