–विमल निरौला, केन्द्रीय सदस्य तथा १६ नं. प्रदेश व्यूरो सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
० बिमलजी, तपाई विद्यार्थी जीवनबाटै राजनीति र संगठानिक कार्यमा जोडिनु भएको थियो । कहिले, कहाँदेखि कसरी संगठनमा लाग्नु भयो ?
–म झापा जिल्लाको विगतको कोरोवारी गाविस हालको गौरीगञ्ज गाउँपालिकामा हुर्केको हुँ । त्यो ठाउँ विगत भूमिगतकालमा कम्युनिष्टहरुको आधार इलाका नै हो । तत्कालीन नेकपा मालेका नेताहरु हाम्रो गाउँमा भूमिगत रुपले बस्नु हुन्थ्यो । उहाँहरु श्रमजीवी वर्गको मुक्ति कम्युनिष्टहरुले गर्छन भनेर बताउनु हुन्थ्यो । हाम्रो गाउँमा कम्युनिष्ट पार्टीमा लाग्नु भएका दाजु, दिदीहरु पनि इमान्दार हुनु हुनुहुन्थ्यो। कम्युनिष्ट हुनु नै सबैभन्दा राम्रो काम हो भनेर सिकाइन्थ्यो । यिनै कुराबाट प्रभावित भएर २०४५ सालदेखि नेकपा (माले)मा आवद्ध भएँ ।
० तत्कालीन नेकपा (माले) पछि एमाले हुदै दक्षिणपन्थी भड्काबमा भासियो भनिन्छ । माले र एमालेबाट क्रान्तिकारी कम्युनिष्टहरुले सिक्नु पर्ने कुरा पनि छन कि ?
–तत्कालिन नेकपा माले पछि एमाले हुदै दक्षिणपन्थी भड्काबमा भासिएकै हो । माले र एमालेबाट सिक्नु पर्ने मुख्य विषय भनेको संगठन निर्माण गर्ने कला नै मुख्य हो भन्ने लाग्छ ।
० माओवादीमा कहिलेदेखि र किन आवद्ध हुनु भएको थियो ?
माओवादीमा म वि.स २०५४ सालदेखि लागेको हो । म कम्युनिष्ट पार्टीमा पहिले देखि नै लागेको थिएँ । यही क्रममा मैले श्रमजीवी वर्गहरुले विभिन्न प्रकारले अन्याय भोगेको देखेको थिएँ भने म आफैले पनि विभिन्न क्षेत्रबाट विभिन्न प्रकारका अन्याय भोगिरहेको थिएँ । यी अन्यायहरुको विरुद्ध निरन्तर लडि रहेको थिएँ । यही क्रममा एमाले पार्टीले म र मेरा केही साथीहरुमाथि ठूलो अन्याय ग¥यो। त्यसपछि केही साथीहरु सहित हामीले विद्रोह गरियो । अब कसो गर्ने भनी साथीहरुसंग छलफल भयो । साथीहरुले अब चुपो लागेर पढेर बस्ने भन्नु भयो । मेरो मनले मानेन । अनि म नयाँ विकल्पको खोजीमा लागे । त्यसपछि म माओवाद र माओवादी पार्टीप्रति आकर्षित भए ।
०जनयुद्ध कालका केही स्मरणीय घटना छन कि ?
–थुप्रै छन । कतिपय घटना त कसरी त्यति धेरै पीडाहरु सहन सकियो र बाँच्यो जस्तो लाग्छ । ती कठोर पीडाहरु मैले यहाँ उल्लेख गरिन, सामान्य एउटा घटना उल्लेख गरौं जस्तो लाग्यो । म एउटा गाउँमा हिडिरहेको थिए । मैले ब्याग भिरेको थिए । ब्यागमा माओको रेडबुक, चे ग्वेभारको जीवनी , क्यूवा र प्यालिस्टानी युद्ध सम्बन्धी पुस्तक लगायत अन्य केही क्रान्तिकारी पुस्तकहरु थिए । म हिडिरहेको बाटोमा प्रहरीको गाडी आइपुग्यो । गाडीमा भएका प्रहरी अफिसरले मलाई उभिन लगाए अनि गाडिको पछाडि भएका प्रहरीलाई भने यो राडीको छोरा माओवादी हो । यसलाई यसकै साथीको चिहानमा लगेर जिउदै गाडनु पर्दछ । यसको झोलामा के के छ ? हेर भने । ती पछाडिका प्रहरीले मलाई झोला माथि फ्याल भने मैले फयाली दिए । उनले झोला हेरे र अफिसरलाई भने साहेव यहाँ त बोडिङका किताव मात्र छन । अफिसरले फेरि सोधे राम्रो संग हेरिस त ? उनले हेरे साहेव भने । अनि अफिसरले भने यो हुन चाहि माओवादी नै हो । तर अहिलेलाई छोडिदे । ती प्रहरीले मेरो झोला मलाई दिदै आँखाको इसाराले जानु भने म अगाडि बढे । अहिले पनि मलाई लागि रहन्छ आफ्नो ज्यान र जागिर दुवैलाई जोखिममा राखेर मलाई बचाउने त्यो प्रहरी को थियो होला ?
०माओवादीबाट विद्रोह गरेर नयाँ साँस्कृतिक समूहमा आबद्ध हुनु भयो । त्यस समूहको निर्माण र त्यसले गरेका कार्यहरु के के थिए ?
–मैले माओवादी पार्टीमा सम्पर्क गरेदेखि नै म माथि अनेकौ किसिमका जटिलता आए । म माथि विभिन्न किसिमका अन्याय भइनै रहे । पार्टीका साथीहरुले पनि विभिन्न तरिकाले अन्याय गरि नै राखे । मलाई चाहि वर्गीय मुक्तिको लागि भएपनि व्याक्तिगत अन्याय सहनु पर्छ भन्ने लागि रहयो । माओवादी आन्दोलनलाई अगाडि बढाउन आफु माथि भएको अन्याय सहेर पनि लागि रहे । तर जव रविन्द्र श्रेष्ठ र मणि थापाहरुले बाह्रबुदे सम्झौता धोका हो भनेर विद्रोह गर्नु भयो । मलाई पनि बाहबुद्धे सम्झौता धोका हो भनेर लागि रहेको थियो । यहि क्रममा मणि थापासंग भेट भयो । साथीहरु मिलेर नयाँ साँस्कृतिक क्रान्ति समूह खोलियौं । यस समुहले जनयुद्धको नेतृत्व गरेका प्रचण्डको वैचारिक विचलनको भण्डाफोर गरियो । दोस्रो क्रान्तिकारी पार्टी बनाउने केहि हदसम्म आधार तयार बनाइयो । यी काम त्यो बेला निकै जोखिम मोलेर गरिएको थियो ।
०अहिले तपाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा हुनुहुन्छ । यस भन्दा पहिले पनि कुनै बेला क्रान्तिकारी कम्युनिष्ट पार्टी बनेको थियो । त्यो बिघटन भयो ? त्यो किन बिघटन भयो ?
–माथि भनिएको नयाँ साँस्कृतिक क्रान्ति समूह कै जगमा २०६५ सालमा हामीले राष्ट्रिय भेलाबाट लेफ्ट वीङको गठन गरियो । लेफ्ट वीङलाई विघटन गरेर ०६७ सालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरियो । पार्टीको महासचिव मणि थापा बन्नु भयो । ०६७ सालमा नै १० माओवादी घटकहरु एकतामा गएपछि यो पार्टी विघटन भएको थियो । यो पार्टी विघटनको प्रकिया विचित्रको बनेको थियो । त्यो के भने यो पार्टी विघटन हुनु भन्दा केहि समय अगाडि चितवनमा केन्दीय समितिको बैठक बसेको थियो । त्यो बैठकले सर्वसहमत रुपमा मोहन बैद्यले नेतृत्व गरेको नेकपा– माओवादी संग एकता गर्ने निर्णय गरेको थियो । त्यसको केही समय पछि फेरि केन्दीय समितिको बैठक बोलाएर भनियो कि अव नेकपा–माओवादी संग एकता नहुने भयो । परिवेश फेरियो अनि प्रचण्डहरु सँग नै एकता हुने भयो । त्यो बैठकमा म सहित केही साथीहरुले भनियौं कि फेरी पनि वैद्य नेतृत्वको नेकपा–माओवादी संग नै एकताको लागि पहल गरौं । हुदैन भने पार्टी चलाई राखौं । यो कुरामा महासचिव मणि थापा सहमत हुनु भएन । त्यो घटना समीक्षा गर्दा यस्तो लाग्छ कि त्यो समय हामीले असाधारण साहास निर्माण गर्न सकेको भए पार्टीलाई विघटन गर्नबाट बचाएर अगाडि बढाउन सकिन्थ्यो । यसो गर्न सक्दा क्रान्तिकारी आन्दोलनलाई निकै फाइदा हुनेथियो ।
०नेकपा (क्रान्तिकारी माओवादीमा ) कहिले र कसरी आवद्ध हुनु भयो ?
–२०७३ साल जेठ ६ गते १० पार्टी बीचमा एकता भएर नेकपा( माओवादी केन्द्र) बन्यो । हामी पनि माओवादी केन्द्रमा नै आवद्ध भयौं । सो पार्टीलाई ०७५ सालमा प्रचण्डले एमालेमा विलय गराएपछि हामीले गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुनर्गठन ग¥यौं । २०७८ सम्म आइपुग्दा गोपाल किराती वैचारिक विचलनमा फस्नु भयो । त्यसपछि हामीले केही साथीहरु सहित पुर्न मिलन प्रक्रिया मार्फत नेकपा (क्रान्तिकारी माओवादी) मा आवद्ध भयौं ।
०१६ नम्बर ब्यूरोको कम्युनिष्ट आन्दोलनको इतिहासलाई संक्षिप्तमा सुनाउनु पर्दा के भन्नु हुन्छ ?
–१६ नम्बर ब्यूरोमा मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ पर्दछन । यो क्षेत्रमा क्रान्तिकारी आन्दोलनको निकै ठूलो इतिहास छ । मोरङको विराटनगरमा वि.स २००७ सालमा भएको मजदुर आन्दोलन, मोरङ र झापामा भएका किसान आन्दोलन । नेकपा माले ले गरेको त्याग र बलिदान । जनयुद्धमा भएका शहिदहरु लगायतले गरेको योगदान कम्युनिष्ट आन्दोलनका लागि सधै प्रेरणाको स्रोत भइरहने छन ।
० क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संचालन गरेको जनसम्बन्ध विस्तार अभियानलाई समीक्षा गर्नु पर्दा के भन्नु हुन्छ ?
–जनसम्बन्ध अभियानले सकारात्मक प्रभाव नै दियो । पार्टीको नामलाई केहि हद सम्म जनताको माझमा पु¥याउन सहयोग ग¥यो । पार्टी र नागरिक बीचको सम्बन्धलाई केहि नजिक बनायो । पार्टीको पूरै शक्ति परिचालन गर्न नसक्नु हाम्रो कमजोरी रहयो ।
० १६ नम्बर ब्यूरोमा जेन्जी आन्दोलनको प्रभाव कस्तो रहयो ।
–सुरुको दिन भाद्र २३ गते सामान्य नै थियो । सो दिन यस क्षेत्रका केही ठाउँहरुमा जुलुस निस्केका थिए । दोस्रो दिन २४ गते यस क्षेत्रका अधिकाश सरकारी कार्यालय र केही निजी घरहरु जलाइयो ।
० तपाई सचिव रहेको ब्यूरो नम्बर १६ को आगामी कार्यक्रम के के छन ?
–पार्टीलाई यस क्षेत्रका सर्वहारावर्गको मुक्ति अभियानमा जोडनको लागि पार्टी कमिटी र कार्यालयलाई व्यवस्थित बनाउने । यस क्षेत्रको मौलिकतामा ध्यान दिदै उत्पीडित वर्ग र समुदायका मुद्दाहरु उठाउने । पार्टीले निर्णय गरेको संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वय गर्ने । जसमा मसिर ७ गते साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौ । स्वाधीन संयुक्त सरकारको गठन गरौं भने मूल नारा सहित विराटनगरमा कार्यक्रम गर्ने । यो कार्यक्रमलाई ब्यूरोका विभिन ठाउँमा गर्ने लगायतका कार्यक्रम रहेका छन ।
०नेपालमा अहिले विभिन्न पार्टीहरुको बीचमा वाम धु्रबीकरण गर्ने लहर नै चलेको छ । यसबारे तपाईको धारणा के छ ?
–मलाई लाग्ने कुरा के हो भने अहिले विभिन्न पार्टीहरुमा जुन लहर चलेको छ । यो वाम ध्रुवीकरण नभइ दक्षिणपन्थीहरुको ध्रुविकरण हो । त्यसैले अव अर्को ध्रुबीकरणको लहर चलाउनु पर्दछ । त्यो भनेको देशभक्त, गणतन्त्रवादी क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्ति बीच सयुक्त मोर्चा निर्माण गरी स्वाधीन सयुक्त सरकारको पक्षमा संघर्ष उठाउनु पर्दछ ।
० नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धारलाई बलियो बनाएर अगाडि लाने उपायहरु के के हुन सक्छन भन्ने ठान्नु हुन्छ ?
–नेपालको कम्युनिष्ट आन्दोलनको अहिलेसम्म कै इतिहास हेर्दा आन्दोलनमा जति जति वेला निम्न पुँजीवादी चिन्तनको हावि भयो त्यति त्यतिवेला आन्दोलन धराशायी भएको छ । पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्दा नै अवसरवादीहरु पार्टी भित्र प्रवेश गरिसकेको देखिन्छ । ती अवसरवादीहरुको धार अहिले पनि कम्युनिष्ट आन्दोलनमा घुसेर बसेका छन । अहिलेको अवस्थामा कम्युनिष्ट आन्दोलन भित्र देखिएको निम्न पुँजीवादी चिन्तनसंग लडन सकियो भने कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धारलाई बलियो बनाउन सकिन्छ ।
० अन्त्यमा केही छ कि ?
–अहिले देशमा देखिएका समस्याहरु समधान गर्ने राजनीतिक कार्यदिशा भनेको नयाँ जनवादी क्रान्तिको खु्िडकलो पार गर्दै वैज्ञानिक समाजवादमा जानु नै हो । यसको लागि क्रान्तिकारी र अग्रगामी राजनीतिक शक्तिहरु एकजुट हुदै उत्पीडित वर्ग र उत्पीडित समुदायहरुलाई गोलबद्ध गर्दै अगाडि बढौं । नेपाल र नेपाली जनताको भविष्य अवश्य सुन्दर हुनेछ ।

