‘कचहरी’ कथासङ्ग्रह माथिको कचहरी

–ऋषिराम सापकोटा ‘अविरल’
कल्पना पौडेल “जिज्ञासु”को पाँचौँ कृतिको रुपमा प्रकाशित कथासङ्ग्रह कचहरी भर्खरै नेपालगञ्जको महेन्द्र पुस्तकालयमा विमोचित भएको छ । नेपाली भाषा साहित्यको विकास र समाजको दर्पणको रुपमा निरन्तर कलम चलाउँदै समाजको रुपान्तरको लागि साहित्य सिर्जना गर्ने सर्जकलाई साधुवाद छ ।

कल्पना पौडेल ‘जिज्ञासु’ले २०६९ सालमा पहिलो कृति भावनाका भेलहरू गजलसङ्ग्रह प्रकाशन गरेर आˆनो साहित्यिक यात्रा प्रारम्भ गरेको पाईन्छ । २०७१ सालमा दोस्रो कृति जून हराएको रात गजलसङ्ग्रह, २०७७ सालमा तेस्रो कृति विद्रोहका तरङ्ग मुक्तक सङ्ग्रह विधाबाट समाजका विकृति, विसङ्गति, अन्याय, अत्याचार, माया प्रेम र महिलाका पीडाहरूलाई आˆनो कलमको माध्यमबाट उजागर गर्दै समाज सुधारका पाटापक्षहरूलाई समेत काव्यात्मक शैलीमा व्यक्त गर्न सफल ‘जिज्ञासु’ गजल र मुक्तक विधाको क्षेत्रमा स्थापित नाम हो ।

बहुविधामा कलम चलाउन रुचाउने ‘जिज्ञासु’ ले काव्य विधाबाट आख्यान विधातर्फ कलम चलाउन शुरु गरेर आख्यानतर्फको पहिलो नीतिकथा सË्रह ‘कल्पदीप’ को प्रकाशन २०७९ सालमा गर्नु भएको थियो । हाम्रो समाजमा हराउँदै गएको नैतिकतालाई जोगाइराख्नको लागि विद्यालयस्तरका वालवालिकाहरूले अत्यन्तै रुचाउने खालका सरल, सरस र सकारात्मक सन्देश दिने खालका नीतिकथाहरू यस सङ्ग्र्रहमा समेटिएको पाइन्छ ।

पछिल्लो समयमा आख्यान विधाबाट सामाजिक समस्याहरूलाई उजागर गर्दै समाज रुपान्तरणको लागि कलम चलाइरहेको क्रियाशील नारी स्रष्टा कल्पना पौडेल ‘जिज्ञासु’को पाँचौ कृतिको रुपमा कचहरी कथासंग्रह विद्या विकाश पब्लिकेशनले प्रकाशन गरी बजारमा ल्याएको छ । उक्त कृति त्रिभुवन विश्व विद्यालयका पूर्व नेपाली भाषा विभाग प्रमुख तथा लुम्विनी प्राविधिक विश्वविद्यालय विकाश आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे, वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, हिमालय टाइम्सका वरिष्ठ पत्रकार भरत दाहाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य शशिराम कार्की, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा साहित्यकार डा. इन्द्रबहादुर भण्डारी लगायतको विशेष उपस्थितिमा विमोचन भएको छ ।

सामाजिक विषयवस्तुलाई मुख्य आधार बनाएर लेखिएका पन्ध्र वटै कथाहरू समाजको यथार्थ चित्रण गर्न सफल भएको कुरा यस कथासङ्ग्र्रहलाई शुभकामनाका शब्दहरू कोरिदिने नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई, वरिष्ठ कथाकार सनत रेग्मी र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीहरूको भनाइबाट प्रष्ट हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई कृतिकारको बारेमा भन्नु हुन्छ – बहुविधामा कलम चलाउन सक्ने स्रष्टाका रुपमा आˆनो पहिचान बनाइ सक्नु भएकी कल्पना पौडेल “जिज्ञासु” को कचहरी कथा सङ्ग्र्रहमा समेटिएका पन्ध्र वटैै कथाहरू सामाजिक विषयवस्तुमा केन्द्रित रहेकोले पाठकका लागि रुचिकर हुने कुरामा विश्वस्त छु ।

वरिष्ठ कथाकार सनत रेग्मी कृतिकारको बारेमा भन्नु हुन्छ – ‘साहित्यमा क्रियाशील कल्पना पौडेल ‘जिज्ञासु’ प्रगतिशील विचारको जागरुक महिला हुनुहुन्छ । ’ उहाँको पाँचौ कृति कचहरी कथासË्रहमा किनाराकृत र गरिवीको रेखामुनी रहेका पात्रहरूका माध्यमबाट समाजको यथार्थ चित्रण गरेको पाईन्छ । उहाँको कथा लेखन शैलीमा सचेत प्रगतिशीलता छ । जिज्ञासुको भाषा मीठो र चोखो छ । उहाँले आयातित भन्दा झर्रो नेपाली शव्दहरूको सौन्दर्यात्मक तरिकाले यथेष्ट प्रयोग गर्नु भएको छ । यसले गर्दा उहाँको प्रचुर लेखन क्षमता छ भन्ने देखिन्छ । ”

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा इन्द्रवहादुर भण्डारीको कचहरी माथिको दृष्टिकोण यस्तो रहेको छ । ’साहित्यमा आˆनै प्रकारको विचार प्रवाह गर्न रुचाउने कल्पनाको यो पछिल्लो कृति कचहरीमा समावेश भएका कथाहरूले एकातिर मानवीय समवेदना बोकेका छन् भने अर्कोतिर वर्तमान समयको यथार्थलाई प्रस्तुत गरेका छन् । यसमा भएका कथाहरू सचेत पाठकको लागि पठनीय, समालोचकका लागि समालोच्य हुनाका साथै नयाँ पाठकका लागि रोचक र ज्ञानबद्र्र्धक छन् ।

कथाको पाण्डुलिपि पढेर प्राप्त भएका शुभकामना सहित कृति माथि गरिएको विश्लेषणलाई नियाल्दा ‘जिज्ञासु’को यो पछिल्लो कृतिमा समाजमा घटेका यथार्थ घटनाहरूमा केन्द्रित विषयवस्तुहरूलाई उठान गरिएकोले कथाहरू सचेत पाठकहरूको लागि रुचिकर, पठनीय, बोधगम्य भएको कुरालाई सहज अनुमान गर्न सकिन्छ ।

कचहरी कथासंग्रह विमोचित हुँदै गर्दा वक्ताहरूबाट कथाको खुलेर परिचर्चा गरिएको थियो । कचहरी माथि प्रकाश पार्ने प्रमुख वक्ता ज्ञानोदय पब्लिक क्याम्पस खजुरा बाँकेकी क्याम्पस प्रमुख तथा समालोचक चरित्रा शाहले यस कथासंग्रहभित्र रहेका पन्ध्र वटैै कथा माथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । चरित्रा शाहका अनुसार पहिलो कथा ‘वकसपत्र’ मा बृद्धवृद्धा भएका बाबुआमाहरू आफुले जन्माई हुर्काइ आˆनै खुट्टामा उभिन सक्ने बनाएका सन्तानहरूबाट उपेक्षित र उत्पीडित भई अशक्त अवस्थामा सेवा आश्रममा जानुपर्ने वाध्यात्मक अवस्थालाई कथाको विषयवस्तु बनाइएको छ । जून वर्तमान नेपाली समाजको विकृत स्वरूप उठान गरिएको छ । यो कथा पाठकहरूको मन छुन सफल छ ।

दोस्रो कथा ‘मनकुमारी’ देशमा रहेको गरिवी र वेरोजगारीका कारण महिलाहरू विदेशमा जान बाध्य भएको दलाल र ठगहरूबाट विदेशमा गएर ठगिएको, लुटिएको, उत्पीडनलाई मुखरित गरिएको छ । समस्याहरूलाई छिचोल्दै नेपाली महिलाहरू पीडाको पहाडलाई पन्छाएर दलाल र ठगहरूलाई कानुनी कठघरामा उभ्याएर नारी सशक्तलाई यो कथाले मुखरित गरेको छ ।

तेस्रो कथा ‘कचहरी’ यो शिर्षक कथा पनि हो । यस कथामा ऐतिहासिक न्याय प्रणाली र आधुनिक न्यायालय दुवैले गरिव निमुखा पहुँच र सोर्सफोर्स नभएकाहरू न्याय पाउन नसकेको, उतिबेलाको कचहरी बाट उत्पीडित उर्वशी दिदी र अहिलेको न्यायालयबाट मरेपछिपनि छिटो छरितो न्याय पाउन नसकेकी कोयल पात्रका माध्यमबाट न्यायालय विचौलियाबाट प्रभावित हुने गरेको तथ्यलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

‘प्रतिशोध’ चौथो कथामा नेपाली छोरी चेलीहरूलाई आफन्त र नेपाली दलालहरूको फन्दामा परेर विदेशमा बेचिनु परेको, भारतको कोठरीमा भोग्नुपरेको कारुणिक पीडाहरूलाई विषयवस्तु बनाएर लेखिएको यो कथा मिना पात्र पुन: आˆनो स्वदेश फर्किन सफल भएको र आफुलाई बेच्ने दलाललाई समाजको अगाडि उभ्याएर कानुनको जिम्मा लगाउन प्रतिशोध लिन सफल भएकोले यस कथामा अत्यमा नारीलाई सशक्त तुल्याइएको छ ।

पाँचौ कथा ‘अठोट’ मा गरिवी रोग र भोकले पिल्सिएकी महिलाले आˆना सन्तानको भोक मेटाउन सानो गल्तीको कारण कानुनी फन्दामा परेको, ठूला ठूला भ्रष्ट अपराधीहरूलाई कानुनले पनि छुन नसक्ने गरिव र निमुखाहरू मात्र कानुनको फन्दामा परेको नेपाली समाजको यथार्थ चित्रण यस कथाले गरेको छ ।

छैठौँ कथा ‘प्रतिकार’ मा वालिकाहरूलाई विभिन्न प्रभोलनमा पारेर फकाइफुल्याई यौन दुराचार गर्ने वेविचारी अपराधीहरू पनि हाम्रो गाउँ समाजमा रहेको कुरालाई विषयवस्तु बनाइएको छ । आमा बाबुको छोराछोरीलाई गरिने असल परामर्शका कारण छोरीहरू आफै त्यस्ता दुष्टहरूको फन्दाबाट प्रतिकार गर्न सक्ने कुरालाई समेत समेटिएकोले महिला तथा छोरीहरूलाई सशक्त बनाउन खोजिएको छ । एउटा व्यक्तिले दिएको अपराधले त्यसको परिवारलाई हुने पीडालाई समेत दर्शाएको छ ।

सातौँ कथा ‘जीवन आधार’ मा बालबालिकाले सानै उमेरमा बाबुआमा गुमाउनुपरेको पीडा, सानै उमेरमा हुने अनमेल विवाह, सन्तान उत्पादन, साहुको ऋणले थिचिएको परिवार त्यसमा पनि वैदेशिक रोजगारमा जाँदा श्रीमानको मृत्यु त्यसले परिवारले भोग्नुपरेको पीडा जस्ता सामाजिक परिघटनाहरूलाई समावेश गरिएको छ । समयमै बचत र सुरक्षाको लागि जीवन विमा उक्त परिवारको आधार बनेको कुरालाई समेत यो कथाले समेटेको छ ।

आठौँ कथा ‘अन्तरमनको संसार’ मा मानिसले गर्ने काल्पनिक संसार वा प्रेम र वास्तविक संसार वा प्रेममा भएको अन्तरलाई उल्लेख गरिएको छ । कल्पनाको संसार र वास्तविक संसारको तालमेल नमिल्दा पैदा हुने विधिप्तता र मनोदशालाई यस कथाले समेटेको छ ।

नवौँ कथा ‘पुनर्विवाह’ मा हाम्रो समाजमा रहेका सामन्ती ठूलावडाबाट कसरी एउटा परिवारलाई साँवा र व्याजबाट उठिवास लगाइन्छ । पहाडी समुदाय र मधिसे समुदायबीचको सद्भाव, भाइचारा सम्बन्ध, मधेशी समुदायकी वाल विधवाले घरपरिवार र समाजबाट खेप्नुपरेको सास्ती,पहाडी समुदायका अविवाहित पुरुषले घरको सल्लाहमा मधेसी विधुवा महिलासङ्ग गरेको पुनर्विवाहलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

दशौँ कथा ‘मातृत्व’ मा प्राकृतिक प्रकोप भूकम्प र कोरोना महामारीबाट आफ्ना श्रीमान र छोराछोरी गुमाएर विक्षिप्त भएकी नारीको पीडालाई कथा बनाइएको छ । आफ्नो मातृत्व रित्याउन नपाएपछिको पीडादायक अवस्था, पुनर्विवाहबाट पनि आमा बन्न नसक्दाको मनोदशा अनाथ छोरीलाई मातृत्व पोख्न पाउदा एक आमामा छचल्किएको खुशीलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

एघारौ कथा ‘रामजी’ मा रामजी पात्रको माध्ययमबाट स्वदेश बाट भारतमा गएर जुठा भाँडा माझेर भाइलाई पढाएको, विदेश पठाएको घरको गरिवी अभावबाट मुक्त गर्दा समेत पछि उसैलाई भाइ आमाबाट उपेक्षा गरेको पछि गएर जो हेला उसैको फेला भन्ने नेपाली उखानलाई चरितार्थ गराउन यो कथा सफल रहेको छ ।

बाह्रौँ कथा ‘रजनीको प्रेम’ यो कथासङ्ग्र्रहमा रहेका अधिकाश कथाहरू सामाजिक विषयवस्तुमा आधारित छन् । यो कथाले पनि समाजको यथार्थ चित्रण गर्न सफल छ । यसमा माया प्रेमसँग धन दौलतको तुलना हँुदैन भन्ने कुरालाई मुखरित गर्दै घरको ऋण तिर्न सन्तानलाई राम्रो शिक्षा दीक्षा दिने सपना बुनेर दुधे बालकलाई निदाएको बेलामा छोडेर भक्कानिँदै वैदेशिक यात्रामा जानु परेको नेपाली नारीको यथार्थ चित्र छ । वैदेशिक रोजगारमा खेप्नु परेका पीडा दुख कष्टकर काम गरेर पठाएको पैसाबाट पुरुषले गर्ने गरेको भोग विलास, आफु नेपाल आउँदा आफुलाई अति माया गर्ने श्रीमानले गरेको उपेक्षा, शङ्का र पुरुषले आफुले गरेको कुकृत्यको फल भोग्नुपरेको कुरालाई यथार्थ चित्रण गरिएको छ ।

तेह्रौ कथा ‘समाजलाई चुनौती’ मा माया प्रेम भनेको जवानीमा मात्र हुँदैन एकल पुरुषले मात्र दोस्रो विवाह होइन नातिनातिना भएको एकल महिलाले विदुर पुरुषसँग पुनर्विवाह गरेर महिला मात्र श्रीमानको घरमा जानुपर्छ भन्ने समाजको मान्यतालाई चिर्दै आˆनो घरमा पनि महिलाले आˆनो बाँकी जिन्दगीलाई सार्थक बनाएको कुरालाई कथाको विषयवस्तु बनाइएको छ ।

चौधौ कथा ‘मृत्युको पर्खाई ’मा सामाजिक परिघटनालाई चराचुरुङ्गीलाई प्रतिकात्मक बनाएर प्रस्तुत गरिएको छ । यस कथामा घरपरिवारलाई चारो जुटाउन आफ्नो भाले र वचेराहरूलाई समेत गुडमा छोडेर निकै टाढाको जङ्गलमा जान परेको,चारोको जोहो गरेर पठाउने गरेको आफु फर्केर आउदा भाले चरो अर्को पोथीसँग रमेको वचेराहरूको दिमाखमा पोथी प्रति बिष घोली दिएकोले कोमल मातृत्वमा आफुले औधि माया गर्ने भाले र वचेरा वचेरीबाट आधात पुगेको कुरालाई प्रतिकात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

पन्ध्रौ कथा ‘फातिमा’ कथा फातिमामा मधेशी मुस्लिम समुदायमा जमिन्दारहरूले समेत छोरीलाई घर धन्दा र चुलो चौकाको काम मात्र जिम्मा लगाउने गरेको सामाजिक यथार्थलाई चित्रण गरिएको छ । छोरीहरू पनि आफ्नै वलबुताले पढेर, व्यवसाय गरेर, अपाङ्ग लोग्ने र घरपरिवार र समाजको लागि केही गर्न सक्छन भन्ने कुरालाई यो कथामा प्रस्तुत गरिएको छ ।

म पनि त्यस कार्यक्रमको श्रोता भएको र कल्पना पौडेल ‘जिज्ञासुका कथाहरूको पाठक समेत भएकोले उनले प्रकाशन गरेको यो पाँचौ कृति कचहरी कथासË्रह एक उत्कृष्ट आख्यानविधाको रुपमा बजारमा आएको छ । कथाहरूले समाजको यथार्थ चित्रण गर्न सफल छन् । आˆनै सन्ततिबाट पाएको पीडाले सेवा आश्रमको आश्रय लिनुपर्ने कारुणिक यथार्थता, गरिवी र अभावका कारण महिलाहरू समेत वैदेशिक रोजगारमा जान बाध्य भएको त्यहाँ पनि उनीहरू लुटिएको, ठगिएको पीडाहरूलाई समेटिएको छ । नेपालको ऐतिहासिक न्यायप्रणाली कचहरी र वर्तमान न्यायप्रणाली न्यायालयको यथार्थ चित्रण गरिएको छ । नेपाली छोरी चेलीहरू आफ्नै गाउँघरका छरछिमेकहरूबाट झुटो प्रेमजालमा फसाएर विदेशमा बेचिन पुगेको बलात्कृत हुँन परेको कारुणिक कथाहरूलाई यसमा समेटिएको छ । सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ ।

बालबालिकाहरूले सानै उमेरमा बाबुआमा गुमाउनु परेको पीडा, समयमै गरिएको वचतबाट जीवनमा हुने आर्थिक र सामाजिक सुरक्षा, काल्पनिक प्रेम र वास्तविक प्रेममा हुने अन्तरलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । समाजमा रहेका सुदखोरहरूबाट परिवारहरूमा हुने विचल्ली, मधेसी र पहाडी समुदायको विचमा रहेको सद्भाव सासुबाट बुहारी प्रति गरिने दुव्र्यवहार जस्ता कुराहरूलाई कथाहरूमा समेटिएको छ ।

भूकम्प र कोरोना जस्ता महामारीले मानव जीवनमा पारेको बिचल्ली श्रीमान र सन्तान सर्वस्व गुमाएपछि एक महिलाको मनोदशा सप्रेम गरिने पुनर्विवाह, जो हेला उसैको फेला भन्ने नेपाली उखानलाई पुष्टि गर्ने कथाहरू कलात्मक ढङ्गबाट बुनिएको छ । नेपाली नारीले आफ्नो श्रीमान र सन्तानको लागि स्वदेश र विदेशमा गरेको सङ्घर्ष, आफ्नैंबाट भोग्नुपरेको धोका तिरस्कारहरूलाई समेत कथाका विषयवस्तुमा समेटिएको छ । हाम्रो समाजमा छोरा र छोरीमा गरिने विभेदको अन्त्य छोरी पढाउ अभियान, नारी शसक्तिकरण, अपराधीहरूलाई दण्डसजाय, असल पात्रको विजय र खराव पात्रको पराजयले कथाहरू प्रगतिवादी, यथार्थवादी र नारीवादी छन् । जसले समाज रुपान्तन्तरणको सन्देशलाई बोकेका छन् । भाषाशैलीमा रहेको आन्चलिकता र झर्रो नेपालीपनले गर्दा विषयवस्तु र भाषाशैली दुवै हिसाबले कथाहरू पठनीय र बोधगम्य भइ पाठकहरूको मन जित्न सक्ने कुरामा मेरो पनि ठम्याइरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित