मनु विक ••
कामरेडको रातो झोला फाट्यो
रातो झोला फाटेसङ्गै कामरेडले बोक्न थाले
अनेक रङ्गका झोलाहरू
अनेक रङ्गका विदेशी झोला बोकेर गाउँ छिरे कामरेड
विदेशी झोलामा के बोके ? भनेर अचम्म परे गाउँलेहरू
गाउँलेहरू मात्रै हैन कामरेडलाई पालेका, लुकाएका
दुश्मन बाट बचाएका जनताहरू,
आत्मीय साथीहरूले मन मनले बोले
कामरेडको रातो झोला किन फाट्यो ?
कामरेडले देखाए विदेशी झोला
कतिले झोलामा के छ भनेर खोजे
कतिले झोला आफ्नै ठानी बोके
कतिले झोलामा ल्याएको कुरा चाखे
कति झोला भित्रको स्वादमा लठ्ठ परे
त कतिले झोला छुन सम्म पनि छोएनन
विदेशी देखेर विदेशी भनेर किनकि
कामरेडको झोलामा विदेशी डलर थियो
आफ्नै आमाको लुछाचुँडी हुने प्रस्ताव थियो
त्यो मात्र हैन गरिबमारा नीति थियो
विदेशीले फिँजाएको गरिबमारा जाली थियो
देशको प्राकृतिक साधन स्रोतलाई
विदेशीलाई सुम्पने सम्झौता थियो ।
सोझा सीधा जनताले कामरेडलाई सोधे
कामरेड तपाई फेरिएको हो ?
कामरेड तपाईले आस्था छोडेको हो?
कामरेडले उत्तर दिए – तपाइँले के भन्न खोज्नु भयो ?
नफेरिए त यो मेरो राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध कसरी हुन सक्छ ?
नफेरिए त गनिता मनिता कहाँ हुन्छ ?
म धेरै त फेरिएको हैन,
तर अलि अलि त नफेरिए त हुँदैन
हेर फेरिए पछि त मेरो शान छ
अहिले मैले बोक्ने झोला कति राम्रो छ ।
पहिला मैले बोक्ने झोला कति ठाउँमा टालेको थियो
कति मैला र अँध्यारो थियो
भनौँ भने कति धुस्रे र फुस्रे थियो ?
तपाईलाई नै याद छ नि!
प्रश्नकर्ताले कामरेडको बोली सुने पछि केही बोलेनन्
मात्र भने –तर त्यो झोला निकै मूल्यवान थियो नि कामरेड!
तपाइँले रातो झोलाको मूल्य नै भुल्नु भएछ कामरेड
म त रातो झोला बिर्सेको छैन ।

