भ्यू टावर

 मनु वि.क. ••
देशभरिका भिउ टावर
भिउ टावर बनेका देखेर
के हो ? भनेर हेरिरहेका छन्
टावर भन्दा अग्ला चुचुराहरू
चुचुराहरू टोलाईरहेका छन्
भिउ टावर हेरेर ।
दलितका छोराछोरी भोकै भएको
गरिबका छोराछोरी भोकै रहेको
कापी, कलम,झोला, किताब, ड्रेस  किन्न नसकेर
स्कुल नगएको
भ्युटावरबाट देख्यौ ?
गरिबकी छोरी, बुहारी गर्भवती हुँदा
पोषण नपाएर पहेलिएको अनुहार,
सुत्केरी हुन नसक्दा उपचार नपाएको
सुत्केरी हँु भन्न नपाएको महिला
भ्युटावरबाट देख्यौ ?
साहुको ऋण बढेको
मिटरव्याजले लखेटिएको
साहुले उठिबास गराएको
मिटरव्याज पीडित देख्यौ कि देखेनौ ?
स्कुलले शुल्क महङ्गाएको
अस्पतालले लुट मच्चाएको
भिउ टावरबाट देख्यौ कि देखेनौ ?
गरिबको छोराछोरी परदेशिएको
दलालले गरिबको पैसा अठ्याएको
दलालको ठगीले शहरका
चोक चोकमा भौँतारिएको जवान देख्यौकि देखेनौ ?
एक छाक खान
एक आङ
लाउन शरीर बेच्न बाध्य भएकी युवती देख्यौ ?
देश विदेशमा बेचिएकी चेलीको न्दन देख्यौ कि देखेनौ ?
कमाउन गएको सन्तान, श्रीमान
कफिनमा आउँदा
निधार ठोक्दै रोएकी
आमा र जहान देख्यौ कि देखेनौँ ?
भिउ टावर बाट
कलम बङ्ग्याने हात देख्यौ कि देखेनौ ?
दरबारमा बसेर घरबार उडाउने
देश खोक्रयाउने मुसा देखैकि देखेनौ ?
भिउ टावरबाट यी सबै
देखिँदैन भने
के काम देश भरिका
तिमीले बनाएका भिउ टावर ?
यहाँ भिउ टावर भन्दा अग्ला टावर चाहिएको छ
जसले समानता र मानवतालाई हेर्न सक्नेछ
संसारमा मानव जातिलाई एक बनाउने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित