मेरो बाटो

दोर्णप्रसाद आचार्य

आज साँझ, ऊ माथि पहाडको छातिमा
दनदनी आगो दन्किदा
मैले सम्झे मेरो चिता त्यहाँ जल्दैछ
तर हेरेर आफूलाई
नियालेर मुुटुको धुकधुकीलाई
फेरेर हेरें लामो सास
अनि मैले बुझें
मेरो होइन तर त्यहाँ अरु नै कसेको चिता जल्दैछ
मेरो आँखा जसमा पारख छैन
कसरी भन्न सके मैले कि
त्यहाँ चिता नै जल्दैछ
तर मृत्युको गाउँतिर पुगेर
अस्ति फर्कंदा त्यस्तै राप निस्केको थियो त्यहाँबाट
यसैले कल्पनासम्म गर्छु त्यहाँ पक्का चिता जल्दैछ
तर कसको चिता डाँडामा जल्दछ ?
जब कि आजसम्म मैले चिता
केवल उँधै लगेर पोलेको छु
म झसङ्ग तर्सन्छु कि
थोत्रो परम्परा त मैले फालेको छु
के तिमी चाहँदैनौँ आफूलाई समाहित गर्न कि
हाम्रो लक्ष्य एउटै छ ?
केवल कोर्छौ कालो पाटीमा सीमित अक्षर
जसरी की जादुगरले कोर्छ
हो म पनि चाहन्छु जे तिमी चाहन्छौ
तर आत्मसमर्पण गर्न नसकेको देखेर तिमीलाई
यहाँ नयाँ जिन्दगीको होड छ
म हिंड्दैछु एउटा नयाँ बाटो टेकेर
तिम्रो को यहाँ पिचरोडको
छेवै छेऊ हृदय नै हृदयको प्लस्तर लगाई
एउटा मनभरिको बाटोमा यस बाटोमा हेर,
दुर्घटनाग्रस्त अङ्गभङ्ग म छैन
तिम्रो बाटोमा झैं रगतका टाटा यहाँ छैनन्
अदालतको समन बोकेर यहाँ कोही हिंड्दैनन्
जिन्दगीको बोझ उठाउन नसकी
यहाँ कोही लड्दैनन्
जसरी कि तिम्रो सडकको वरिपरि
लाखौँ भिखारी खेल्दछन् लडीबडी
जीप हाँकेर आउने तिमीलाई सलाम गरी
तर उफ । सडकभरि पोखिएको रगत छ्यापेर
चल्छन् तिम्रो मोटरका पाङ्ग्रा ।
हेर….. ऊ त्यहाँ । एउटा तलाउ भैसकेको छ रगतको
भत्केको छ तिम्रो बाटो
त्यहाँदेखि शुरु छ मेरो बाटो
एउटा सरल रेखामा
एउटा रक्ताम्मे पोखरीले छुट्याएको ।
अतितको, अब तिमी केवल कल्पना गर्न सक्छौ
फर्केर नआउने वास्तविकता
इतिहास मात्र छ (जसलाई म इतिहास ठान्दिन)
हो इतिहास मात्र छ ।
हेर…. तिम्रो बाटोभरि केवल तिम्रै कङ्काल छ
यहाँ हेर मेरो बाटोभरि
कति नयाँ जिन्दगी छ प्रत्येकको धड्कनभरि
एउटै आस र प्यास छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित