कथा : राति बास्ने कुखुरो

काओ यापाओ ••

ठूलो साँझ टरिसकेको अँध्यारो झन्झन बाक्लिंदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा, एक हुल खेतालाहरू मेलाबाट घरतिर फर्किरहेका थिए । यिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिन्दार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए ।

“साहै्र थाकियो हौँ, दाइ ।” एउटा खेतालाले थकित स्वरमा भन्यो ।

“थाक्न पनि किन नथाक्नु त कान्छा ! आँखा यसो झिमिक्क गर्न पनि पाको हुँदैन कुखुरो बास्न थालिहान्छ ‘झट्ट उठ ए मोरो हो, कुखुरो बासिसक्यो कति मरिरहन्छौँ ओछ्यानमा, हैन यै चालले त कैले उठाइसक्नु ए गाँठे, मेरा त्यत्रा पैसा ! ल ल उठिहाल र जाओ मेलामा काम गर्न, ल… ल… ।’ ल त भनेर आँखा मिच्दै धर्‍याङ गर्दै खेत पुग्यो र काम गर्न थाल्यो उज्यालो त हुँदै हुँदैन ! कतिबेर काम गरिसकेपछि पो बल्ल उज्यालो हुने सुर गर्छ । हन के भाको यस्तो उदेक । अर्को खेतालाले आफ्नो मर्म पोख्यो ।

“कुखुरो पनि त्यै धनीमानीको पच्छे लाग्छ, के गर्नु बजियाको भाग्यै ठूलो र छ, जत्ता धेर उतै हेर भनेको यै त होला नि ।”

“भाग्गेसाग्गेको कुरा नगर है म सँग” अर्को किसानले जङ्गिदै भन्यो, “अघि सधै ठीक बेला बास्ने कुुखुरो ऐले चै किन मध्यरातमै बास्न थाल्छ हँ ? विचार गर है सपैले । अब यी स्यालका छाकहरूलाई एक एक गरेर ननिमोठी भो र ! मरीमरी काम गरेर एक झल्को पनि सुत्नु नपाउनु ए गाँठे !

त्यस भेगका खेतालाहरू सधै यस्तै कुराकानी गर्दै मेलाबाट आआफ्ना घरतिर फर्कन्थे, मिठोनमिठो एक आधा पेट खान्थे र निन्द्रा पुर्‍याएर सुत्ने विचारले हतार हतार ओछ्यानतिर लम्कन्थे ।

केही दिनेदेखि काओ यु–पाओलाई पखाला लागेको थियो । त्यस रात पनि ओछ्यानमा पल्टेको केही छिनपछि नै उसलाई दिशा जान पर्‍यो । ऊ उठ्यो र विस्तारै बाहिर निस्क्यो । दिसा बसिसकेपछि फर्कने बेलामा गोरुलाई भुस्सा छ कि छैन भनेर हेर्न काओ यसो टाट्नोतिर गयो । तर त्यै बेलामा उसले एउटा कालो छायाँ अलि पर कुखुराको खोर निर चाल मारेर लमक्क लम्केको देख्यो । त्यस्को हातमा लामो लठ्ठी थियो । मान्छेको आकृति भएको त्यस छायाँलाई उसले ठम्याउन खोज्यो तर अहँ ठम्याउन सकेन । अँध्यारो थियो, चन्द्रमा उदाइसकेको थिएन ।

“आज चै यसलाई नसमाति हुँदैन । बाँधेर लडाउनै पर्‍यो । एक्लैले सकिन भने चिच्याएर सबैलाई उठार भा’पनि यस कुखुरा चोरलाई समातेरै छाड्छु ।”उसले सोच्यो तर उसको अर्को मनले यो पनि सोच्न थाल्यो । बिचरा कुनै गरीब मान्छे होला नि । यसका जहान छोराछोरीहरू कति दिनदेखि भोकै होलान् वा विरामी भएर लडिराका होलान् । नभएरै त चोर्न आयो होला नि बरा ! जहान बच्चा भोकै मर्न लागेपछि के गरोस् त अरू । भो म यसलाई समात्दिन् । हद्द चोर त्यै दुई चार कुखुरा त चोर्छ होला नि यसले, आ… चोरोस् स्यालका आहाराहरूलाई लगे एक निन्द्रा सुखले त सुत्न पाइन्छ ।

यसैबेला छायाँले गर्धन तनक्क तान्यो र हातले नाक छोप्यो । उसले हाच्छिउँ गर्न लागेको जस्तो लागेर काओ यु–पाओ आत्तियो र मनमनै सोच्यो ‘ला, यस्ले हाच्छिउँ गर्‍यो र सबै उठे भने यस्को कुन दुर्दशा हुन्छ होला नि ¤ अझ त्यो जमिन्दार मोरो जीउले यो कुरा चाल पायो भने त यसको छाला काढेरै छोड्छ ।’ तर केही पनि भएन । काओले बिस्तारै गएर गोरुलाई भुस्सा राने भाँडा यसो छोएर हेर्‍यो, रातभरलाई मनग्गे पुग्ने भुस्सा रहेछ । त्यसपछि उस्ले सुत्न जाने विचार गर्‍यो तर आफू हलचल गरे चोर भाग्ने र उसले केही पनि लान नपाउने कुराले ऊ सतर्क भयो । चोर कै भलाइको लागि काओ पनि भुइँमा थपक्क बस्यो । त्यो को रहेछ भनेर चिन्ने रहर उसलाई निकै लागिरहेको थियो ।

धेरैबेर चुप लागेर बसेपछि एक्कासी कुखुरा बासेको नक्कली आवाज निकालेर छायाँ करायो । काओ त्यसको चाल देखेर जिल्ल पर्‍यो । त्यो आफूतिरै आउन लागेको देखेर काओपछि हट्यो र परालको थुप्रोमा लुक्यो । गोरु भएको ठाउँमा आइपुगेपछि त्यस्ले सलाई कोर्‍यो र भुस्सा भए नभएको यसो हेर्‍यो । सलाईको उज्यालोमा काओले त्यो मान्छेको अनुहार देख्यो र तीन छक्क पर्‍यो । त्यो त अत्याचारी जमिन्दार जोउ नै पो रहेछ ।

‘ए ! उसो भए आधारातमा बास्ने कुखुरो तैं बजिया पो रहिछस् !’ काओले मनमनै भन्यो ।

जमिन्दारले बासेको आवाज सुनेर एकछिनपछि खोरका कुखुराहरूले पनि बासेरै जबाफ दिए । त्यसपछि त गाउँभरिका सारा कुखुराहरू नै बास्न थाले । काओलाई भयङ्कर रिस उठ्यो । तर त्यसबेला उसले चुप लागेर बस्नु र त्यस्को अगाडि नपर्नु नै उचित ठहर्‍यायो ।

एकै छिनपछि जमिन्दार जोउ हल्ला गर्दै घरघर गएर कराउन थाल्यो “ए… उठ है…. हिंड मेलामा काम गर्न … कुखुरा बासिसके… अर्काको ऋण खाएर पनि कस्तरी सुत्न सकेका, भाते बजियाहरू । ल… ल उठी हाल र ज्यावल बोकेर हिंडी हाल खेततिर ।” किसानहरू अधुरो निन्द्रामा धङधङाउँदै उठ्न थाले र रिसाउँदै बरबराउँदै औजारहरू समातेर खेततिर हिंड्ने सुरसार गर्न थाले । जमिन्दार जोउ एकछिनपछि घरतिर हिंड्यो ।

“कस्तो अचम्म ए ! न चाँडो न ढिलो, ओछ्यानमा यसो ढल्यो, बास्न थालि पो हाल्छ । कस्ता कुखुरा हुन यी ? मलसाप्राको मुख ।”

“के भन्छौँ त कान्छा, एउटाले बासे मात्र पनि केही भयो भन्नु, गाउँभरिकाले नै बास्न थालेपछि के भन्ने त ।” लिउ नाम गरेको किसानले पनि आश्चर्य व्यक्त गरे ।

“सुन भाइ हो बिगार चैं पक्कै क्यै भा’को छः छ । यस्तै किसिमले दिनभरि काम गर्नु, त्यस्तै खान्की खाएर रातभरि पनि सुत्न नपाउनु हो भने अब चाँडै मरिन्छ है, होस गर ।”

“हैन म त भर्खर पल्टेको मात्र पो थिएँ, बास्न थालिहाल्यो पड्के…” “काँको ! मेरो त भात खाएपछिको एक चिलिम तमाखु पनि सकिएको थिएन ।”

रिसले रन्कँदै उनीहरूले गरेको कुराकानीहरू सुनेर काओले मनमनै भन्यो यो सप्पै त्यै लोभी जमिन्दारको जाल हो भन्ने तिमीहरूलाई के थाहा ।

मेरी आम्मै ! के देखें नि आज ¤ धन्न उम्कें नि म ¤ कालो भुत … अँध्यारोमा …” किसानहरूको अगाडि आएर आश्चर्य र डर मिसिएको स्वरमा काओ भन्न थाल्यो । “हेर्नोस त मैले लुगा पनि फुकालको छुइन । कस्तो अचम्मको कुरा छ बुझ्नु भयो !”

“कस्तो भुत ? काँ ?” किसानहरूले आत्तिएर सोधे ।

“पख्नोस्… म भन्छु, तर अलि पर बाटोमा पुगेपछि ।” काओले सबैको मनमा खुल्दुली मच्चाउँदै भन्यो कुरा सुन्ने आत्तुरीले, पर बाटोमा निस्किसकेपछि किसानहरूले हतारिंदै काओलाई सोध “ल भन्न त अचम्मको कुरा के हो ¤ चाँडो ।”

काओ हाँस्न थाल्यो, उस्का आँखा चम्किरहेका थिए ।

“काका हो ! अबदेखि चाँडो कुखुरा बास्यो भनेर कुखुरालाई गाली नगर्नु । कुबेलामा बासेकोमा बिचरा कुखुराहरूको केही विराम छैन तर यसको जरोमा एउटा मानिस छ है ।” काओले रातिका कुरा जम्मै बेलिविस्तार लगायो । सबै कुरा सुनी सकेपछि लिउ रिसले आगो भयो । करायो ।

“अब खेतमा पुगेर केही काम गरिंदैन, डाँडामा मज्जाले सुतिन्छ, त्यत्ति हो ।”

लिउको कुरामा सबै सहमत भए । खेतमा पुग्दा आकासतिर तारा छरिएका थिए । एक एक चिलिम तमाखु खाएर किसानहरू लम्पसार परेर सुते । मस्त निन्द्राले गर्दा सितले लुगा लुफ्रक्क भिजेको पनि कसैले चाल पाएनन् ।

अत्याचारी जमिन्दार जोउको खलकले यस्तै नाना भाँतीका जाल झेल गरेर किसानहरूलाई ठग्दै प्रशस्त श्रीसम्पत्ति जोरेको थियो । अनेक बित्पातै जुक्तिहरू जोउले उसका बाबु बराजेहरूबाटै सिकेर आएको थियो । जालझेल त उस्को पुख्यौँली सम्पत्ति नै भने पनि हुन्छ । निन्द्राले चुर भएर किसानहरू काम गर्दागर्दै खेतमा ढल्थे । यस्तो हुँदा पनि उ चै यसौट अरू फाइदा निकाल्ने जुक्ति निकालथ्यो । ‘अल्छे, ठग, बेइमान, निमेकहराम’ भन्दै ऊ किसानहरूलाई पूरा काम नसिध्याएको भनेर एक पैसा पनि ज्याला दिंदैनथ्यो ।

मस्त निन्द्रामा सुतिरहेका किसानहरू एक्कासी कहालिएर कराए, “ऐस्या ।” दुष्ट जमिन्दार जोउ ठूलो स्वरमा गर्जिदै किसानहरूलाई बुटले निर्मम तरिकाले कुटिरहेको थियो । निन्द्राबाट आत्तिएर किसानहरू जर्‍याकजुरुक उभिए । जोउ आँखा तर्दै किसानहरूलाई हकारिरहेको थियो, “मेरो नुनपानी खाएर मलाई ठग्ने तेरीमा निमेकहरामी चोर हो । हेर त ! सबै मस्तले सुतिरहेका नकच्चराहरू । त्यत्रो काम बेमाख पारेर ! अहिले बाह्र बजेसम्म यति सबै काम नसक्त ! म के गर्दो रै छु तिमीहरूलाई ? एक थोपा पानी र एक गेडा अन्न दिन्न बुझ्यौँ ।” खाने कुरा लिएर आएको मान्छेतिर फर्केर जोउ करायो “खानेकुरा फर्काएर लैजा ।” जोउ सधै झैं आज पनि बिहान सबेरै उठेको थियो । बिहानको खाना खान सधैझैं किसानहरू बेलामा नआइपुगेकोले आज ऊ छक्क पर्‍यो । किसान आउँदा जाँदा धेरै समय लाग्ने र काममा निकै हानी हुने सोचेर खानेकुरा आफैसँग खेतमा लिएर जाने उसले निर्णय गर्‍यो । त्यसैले उसकहाँ बस्ने बुढा गोठालालाई खानेकुरा बोकाएर जिमिन्दार खेततिर हिंड्यो । उहाँ पुगेर हेर्छ त सबै खेताला मस्तसित सुतिरहेका, रिसले उसको जिउ नै सल्केको जस्तो भयो, सुतिरहेका खेतालाहरूलाई लठ्ठीले जथाभावी हिर्काएर उसले उठायो । त्यसपछि मारसँग गाली गर्दै खानेकुरा फर्काउन लगाउँदै अत्याचारी जोउ खेताट हिंड्यो ।

जोउ त्यहाँबाट हिंडेपछि रिसले मुर्मुरिएका किसानहरू एकआपसमा कुरा गर्न थाले । कसैले तुरुन्त काम छोडेर हिंड्ने विचार गरे, कसैले आजसम्म काम गरेको ज्यालाको हरहिसाब माग्ने कुरा गरे, कसैले चै निराश भएर त्यसै घर फर्कने विचार प्रकट गरे । अन्तमा सबैको कुरा र विचारहरू सुनेर बसिरहेको काओले मुसुमुसु हाँस्दै उनीहरूलाई भन्यो “काका हो ! मेरो पनि एउटा सानो कुरो छ, तपाइँहरूले त्यसलाई राम्ररी ध्यान दिएर सुनिदिनु हुन्छ कि भन्ने मेरो अनुरोधपछि छ ।” सबैले उसको कुरो सुन्न उत्सुकता देखाएपछि काओले भन्न थाल्यो, “मैले एउटा सानो योजना बनाएको छु, मेरो योजनालाई राम्ररी सुनेर त्यसबमोजिम चल्ने हो भने त्यस पाजीसँग अहिलेको रिस पोख्न र त्यसलाई निकै मजाले मर्मत गर्न पनि सक्छौँ ।”

 “हैन, के भन्छ यो केटो ?” एकजना किसानले छक्क पर्दै भने उसँग धन छ, तागत छ, यस इलाकाको त्यो सानो तिनो राजै हो, कस्तो नराम्रो कुरा गरेको तैंले !” अरूहरूले पनि आफ्नो कुरामा त्यति ध्यान नदिएको देखेर काओले आफ्नो कुरालाई अझ जोड दिंदै भन्यो, “काका हो ! मैले नराम्रो कुरा गरेको हैन । त्यसलाई ठीक गर्ने जुक्ति निकालेको मात्रै हो । हाम्रो सन्तान दर सन्तानलाई सधै यसरी सताउने र मार्ने काम गरिरहन्छ भने अहिले मौका पाएको बेलामा हामीले पनि कि छाड्ने हँ । काका चाउ ते चुनले भन्नु भएको कुरा पनि हामीले बिर्सन हुन्न नि –“जसले शत्रुलाई पहिलो मुक्का हान्न सक्छ त्यै नै बहादुर हुन सक्छ ।”

 किसानहरूले काओको योजनालाई ध्यान दिएर सुने र दिल खोलेर हाँसे ।

“साहै्र बेस, साह्रै मनासिब, हामीले यसै गर्नुपर्छ ।” काओको योजनालाई सबैले एकै मुखले समर्थन गरे ।

दिउँसोको खाना खान सबै किसानहरू जिमिन्दार जोउको घरमा गए । जोउ अझै पनि उनीहरूलाई गाली गर्दै सरापिरहेको थियो, तर उनीहरू कसैले पनि त्यसको वास्ता गरेनन् ।

दुई तीन दिनपछि किसानहरूले लामालामा लौराहरू तयार गरे र एकदिन सधै झैं राति खानेकुराहरू खाइसकेपछि उनीहरूले बत्ति निभाए । काओलाई चेवा स्न उनीहरूले आँगनमा पठाएका थिए । एक घण्टा बितेपछि जिमिन्दार जोउ चाल मारेर कुखुरको खोरतिर लम्कँदै गरेको काओले देख्यो । जोउ कुखुराको खोरनिर पुगेको मात्र के थियो, काओले न्वारानदेखिको बल झिकेर चिच्यायो “चोर…., चोर ।” किसानहरू हत्त र पत्त कोठा कोठाबाट निस्केर आए र जोउलाई लखेटेर आ–आफ्ना लौराहरूले मारसँग चुट्न थाले ।

“पर्ख पर्ख, ए… म हुँ” जोउले आत्तिएर करायो ।

“हो, हो तैं त होस् नि तेरिमा कुखुरा चोर, आज चै तँलाई ठीक नपारी काँ छोड्छौँ र ।” किसानहरूले दनादन दनक दिन थाले ।

काओ चिच्चाउँदै आँगनतिर दौडियो र करायो, “जिमिन्दार जोउ, झट्ट बाहिर निक्लनु होस् तर, हामीले चोर समातेका छौँ… कुखुरा चोर… ।” बाहिरको डरलाग्दो खैलाबैलाले जिमिन्दारको घरमा बस्ने जापानी अफिसरको निन्द्रा टुट्यो र दुई जना आठपहरियालाई अघिपछि लाएर हातमा पिस्तोल लिंदै बेछाँटले हतारिंदै आँगनतिर कुद्यो ।

जापानी अफिसर करायो, “ठोक् ठोक बजियालाई, कुखुराचोरलाई पनि जिउँदै छोड्ने हुकुम छैन । कुटीकुटी मारी देओ ।”

उता जिमिन्दारको घरमा चै भने स्वास्नी छोरीहरू आत्तिएर कोकोहोलो मच्चाउन थाले ।

“ए तिन्लाई नकुट भनेको !” जिमिन्दारनीले न्वारानदेखिको बल निकालेर चिच्याई तर जापानीले हानेको दुई फायर पिस्तोलको आवाजमा उसको स्वर कता हरायो कता ।

“मार्‍यो बाबा… गुहार… गुहार… ए म हुँ भनेको ।” अत्याचारी जोउले आत्तिएर टाउको कुखुराको खोरतिर घुसार्‍यो ।

दुई फायर आकाशमा हानेपछि जापानी अफिसरले पिस्तोल कुखुराको खोरतिर ताक्यो । आफ्नो लोग्नेको ज्यानै जान लागेको देखेपछि सुरुवाल मात्र लाएकी, नाङ्गी, भुतुङ्गी, बहुलाई झैं जोउकी स्वास्नी कुद्दैकुद्दै त्यही आइपुगी र भएभरको तागत निकालेर चिच्याई, “ए यिनी त इलाकाका जिमिन्दार पो हुन् ।” अफिसरको हात टक्क रोकियो र छक्क पर्दै भन्यो “हँ ¤ किन ? किन ? के ? के ? अघि अघि त यसरी मध्यरातमा कतै बाहिर निस्किनु हुन्नथ्यो, आज चै किन कुखुराको खोरतिर आउनु भयो हँ ? ए… चाँडो बत्ति ल्याओ ।”

“ए ! जिमिन्दार साप पो हुनुहुँदोरैछ । हरे ! हामीले के गर्‍यौँ नि मालिकलाई !” किसानहरूले अचम्म मान्दै पछुतो गरेको अभिनय गरी टोपले ।

जिमिन्दारको छोराले आफ्नो सुत्नेकोठाबाट लालटिन लिएर दौडिंदै आयो र लालटिनको उज्यालोमा त्यहाँको दृश्य छर्लङ्ग भयो । जोउको जाँघबाट रगतको धारो छुटिरहेको थियो । किसानहरूको मारबाट जोगाउन उसले टाउको चै कुखुराको खोरभित्र घुसारेको रहेछ । किसानहरूले जोउलाई झल्टाङ झुल्टुङ पारेर बाहिर निकाले र भुइँमा पल्टाई दिए । जोउको मुख कुखुराको सुलीले घिनलाग्दो र हाँसो उठ्दो भएको थियो । ऊ जाँघ मुसारी मुसारी कराइरहेको थियो । किसानहरू चै भित्रभित्रै खुशी भएका थिए र उनीहरूको शिर ठाडो थियो ।

 “मालिकलाई पनि के सुर चलेको त यस्तै मध्यरातमा कुखुराको खोरतिर आउन । कुखुरा चोर नै ठानेर पो हामीले पनि यस्तो सारो कुट्यौँ” किसान लिउले दुःखी भए जस्तो गरेर अफसोस प्रकट गरे ।

 “ऐया… ओह… म त …. ओछ्यानमा … सुतेको… थिएँ …ऐया… कुन्नि कुन चैं … भूत प्रेतले … तानेर… मलाई यहाँ ल्यायो … मलाई थाहा … छैन…. ऐया… ।” जिमिन्दार जोउले पिंडाले रुंदै कराउँदै कुखुराको खोरमा पुगेको आफ्नो स्पष्टीकरण दियो ।

“ए ! उसो भए त हजुरले झन् विचार पो गर्नु पर्ने भयो । घरमा भूतप्रेत रहेछन् । मौकैमा होस नपुर्‍याए झन ठूलो बिगार पर्न पनि बेर छैन है मालिक ।” किसानहरूले बडो गम्भीर भए जस्तो गरेर अत्याचारी जोउलाई सम्झाए ।

जोउलाई बोकेर कोठामा पुर्‍याइदिएपछि जापानी अफिसरले डाक्टरलाई लिन पठायो । जिमिन्दारको दुवै जाँघको मूल हड्डी नै भाँचिएका रहेछन् । भित्रभित्रै रिसले मुर्मुरिए तापनि दुष्ट जिमिन्दार जोउले बाहिर चै भन्न सकेन ।

त्यस घटनापछि अत्याचारी दुष्ट जिमिन्दार जोउ कुखुराको खोर नजिक जानै नसक्ने भयो । खेतमा चियो चर्चा गर्न गर्न जान पनि ऊ असमर्थ भयो र गाउँमा मध्यराततिर कुखुराहरू पनि बास्न छाडे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित