अदृश्य पीडा

कुमार ••
पल्लाघरको रामेले साउदी गएर साहुको ऋण तिरेर, छोराछोरीहरूको पढाई खर्च चलाएरै सानो परिवारलाई हातमुख जोर्ने व्यवस्था गरेको छ । तल्लाघरे छबेले कोरीया गएर काठमाडौँँमा घरवार जोडेको छ । गाउँघरतिरका धेरैजसो मान्छेहरूले विदेश गएर धन कमाएर घर चलाएका छन । हुने विरुवाको चिल्लो पात भने झैं डाँडाको प्रकाशले देशमै जागिर गरेर उसका वावुले गरेको भन्दा धेरै राम्रो गरेको छ । धन कमाउन विदेशै जानु पर्छ भन्नेहरूलाई देशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएको छ ।

दोबाटे अरुणको सन्तान समाजमा डर, धाक र धम्की देखाएर कमाएको सम्पत्तिले उन्मत्त भएर अरुहरू साउदी, मलेसिया, कोरिया गएर कति नै सम्पत्ति जोड्छन र ? भन्ने धाक लगाउँदै म त जापान जाने हो भन्ने जापानको धाक लगाउँदै काठमाडौँँ बस्दै गर्दा भएको चल, धन सिध्याई सक्यो । जापानको भिसा लगाउन भनेर गैरीको राम्रो पाटो बेचेर दलाललाई रुपैंयाँ बुझाएको पनि ६, ७ महिना भइसक्यो । जापान उड्ने कहिले हो केहि अत्तोपत्तो समेत छैन । कसैले सोध्यो भने अर्को हप्ताको फ्लाइट छ भन्दै समय बढाउँदै गर्छ । दलाललाई बुझाएको बिसौँलाख रुपैंयाँले देशमै बसेर केही व्यवसाय गरेकै भए पनि जीवन निर्वाह त हुन्थ्यो नि !

कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेको पनि शायद यस्तै भएर नै होला । सबैको एउटै बुद्धि, एउटै मन हुँदो हो त सबै मिलेर काम गर्दा देश आजको जस्तो गरिबीमा हुने थिएन । देशको मुहार फेरिएको भए हाम्रो मुहार त्यसै पनि उज्यालिने थियो । तर यहाँ त काम गर्ने भनेपछि टाढा भाग्ने र सेवा, सुविधा र अवसर लिने भनेपछि टाढा भए पनि नजिकिनेहरूको वाहुल्यता भएकाले देशले छिमेकीहरूको जसरी दवाव, पीडा र असहृय वेदनाबाट आहत भएर छटपटिनु परेको छ ठीक त्यसरी नै हामी नागरिकहरू पनि तिनै अवसरवादीहरूका कारणले मर्ने न मोटाउने दोसाँधको अवस्थामा पुग्नुु परेको छ ।

इतिहासको गर्भमा अझै पूर्वमा टिष्टा र पश्चिममा काँगडा सम्म फैलिएको यो देश शासकहरूका सनक, कुण्ठा, अतृप्त अभिलाषा, अदूरदर्शिता जस्ता कमजोरीका कारण खुम्चिएको भूगोलमा आज पनि राष्ट्रियताको बीउ कमजोर भएको आभास हुनु लज्जाको विषय हो । एमसिसी जस्तो विषय संसद बाहिर वर्षौं छलफलको विषय बन्दछ । तर प्रभुसत्ता सम्पन्न भनिएको संसदले छलफल विनै अनायसै एमसिसी सम्झौता पारित गर्छ । प्रत्येक पटकका राजनैतिक आन्दोलन पश्चात विदेशी नागरिकहरूलाई नागरिकता दिन राजनैतिक दलहरूले आधार वर्ष बढाउँदै जान्छन । सरकार नागरिकहरूको सुखदुखको साथी बन्न सक्दैन केवल कर उठाएर उपस्थिति जनाउनु बाहेक । सरकार कहाँ छ सिमान्त नागरिक जान्दैन, सिमान्त नागरिक कहाँ छ सरकार खोज्दैन । केही आरक्षित कोटाहरूमा पदपूर्ति गर्नुपर्‍यो भने कङ्गारुको झोलीबाट बच्चा निकाले जस्तै गरी उसको खोकिलाबाट निकाल्नु बाहेक । तर मेरो देश यस्तो महान देश हो जहाँ गृह प्रशासनको सामान्य जानकारी पनि नराख्ने कर्मचारीको टोली गाउँ गाउँ खटाएर भल्टमा राखिएको बैङ्कको नगद भन्दा होसियारीपूर्वक सम्बन्धित निकायले छानविन पश्चात प्रदान गरिनु पर्ने नागरिकता वितरण गर्छ सरकार । तर बिडम्बना यहि देशमा सबैभन्दा ठूलो समस्या नागरिक र अनागरिक पहिचानमा नै हुन्छ !

बिसौँ लाखको लगानी र लामो समयको प्रतिक्षा पश्चात वरुणको जापानको भिसा आयो भनेर भुईंमा खुट्टो छैन । ऊ शुक्रबारको फ्लाइट छ भनेर गाउँमा आफ्ना दौँतरीहरूलाई जानकारी गराउँदै हिंडेको छ । उसका बाबु, आमा र श्रीमति जुना आफन्तलाई सोमबार वरुणको बिदाइमा आउन भनेर खबर गर्नमा व्यस्त छन । बच्चाहरू विशेष र सन्ध्या सानै भएकाले त्यति उत्साहित छैनन । वरुणको यतिबेलाको समय घडीको सियो भन्दा छिट्टै कुदिरहेको छ ।

आज हप्ताको दोश्रो दिन सोमबार वरुणको विदाइ भोजको दिन । गाउँका हुनेखाने मध्येको उसले आफूले चाहे अनुसारका साथीहरूलाई निमन्त्रणा गरेको छ । नाता सम्बन्धका मानिसहरू छुट्ने झन कुरै भएन । उसको घरमा आज विवाह घर जस्तै तामझाम छ । दिनको ४ बजेको छ, सबै इष्टमित्र र साथीभाइहरू जम्मा भएका छन । उत्सवको लागि सौगात स्वरूप ल्याइएको केक काट्नु पूर्व वत्ति निभाएर केक काट्छ वरुण । काटेको केक आफूले खाँदै वावुआमा, बच्चाहरू विशेष र सन्ध्या अनि श्रीमति जुनालाई खुवाएर बाँकी रहेका अन्य आमन्त्रित गन्यमान्य, आफन्त र साथीभाइहरूलाई पनि दिन्छ । यसरी शुरु भएको विदाइ टिकाटालो, खादा र मालामा पुगेर टुङ्गिन्छ । वरुणलाई बधाई दिने काम सकेर उसको घरमा पाकेका परिकारहरू खाँदै गर्दा समय निकै लम्बिए पछि खास मान्छेहरू बाहेक अरुहरू विदा भएर विस्तारै निस्कंँदै जान्छन ।

सबैजना शुभ–कामना दिएर निस्केपछि वरुणको परिवार अवेरसम्म बसेर भोलि बिहान सबेरैको साइतमा काठमाडौँँतर्फ लाग्ने गरी आ–आफ्नो कोठातिर लाग्छन । कोठामा पुगेपछि श्रीमती जुनाले आफू पनि सङ्गै काठमाडौँ जाने र उतै बस्ने अड्डी कस्न थालिन । वरुणले – “काठमाडौँँ सङ्गै गए पनि तिमी फर्किनु पर्छ । अहिल्यै काठमाडौँँ गएर बस्दा घर व्यवहार बिग्रन्छ, खर्चले धान्न सकिंदैन । चल सम्पत्तिले नपुगेर त्यस्तो राम्रो गैरीपाटो बेच्नु पर्‍यो । बाबाआमा र समाजले पनि यो कुरालाई सहज रुपमा लिन्न । जापान गएर मैले नियमित रुपमा मेरो आफ्नो र घरपरिवारको खर्च चलाउन सक्ने भएपछि सल्लाह गरेर जाने” भन्छ ।

जुनाले “तपाईं नभए पछि सासु, ससुराले मलाई हेला गर्छन, धेरै काम लगाउँछन, बच्चाहरूले पनि राम्रोसँग पढ्न पाउँदैनन । खाडीमा जानेका श्रीमती र बच्चाहरू त शहरमा गएर बसेका छन भने झन तपाईं त जापान जाँदै हुनुहुन्छ, म किन गाउँमा बस्ने” भन्छिन ।

भोलि छिटै हिंड्नु पर्ने र आज पनि समय निकै अबेर भैसकेकाले वरुणले कुराको बिट मार्न “छ महिनासम्म तिमी बच्चा र बाबाआमाको रेखदेख गरेर यतै बस्नु, उक्त समयसम्म मेरो पनि आम्दानीको श्रोत नियमित होला त्यसपछि तिमी बच्चाहरू लिएर काठमाडौँँमा बस्ने” भने पछि दुवै बीचमा सहमति हुन्छ दुवैजना आराम गर्छन ।

बिहान सबेरै उठेर तयारी गरी बाबुआमालाई ढोग्दै वरुणले भन्छ – “बाबाआमा मैले राम्रो काम गरेर धेरै धन आर्जन गर्न प्रयास गर्छु । अहिले बाबुनानी हजुरहरू सङ्गै बसुन, जुना मलाई पुर्‍याएर फर्किन्छु भनेकी छन । अब हजुरहरूले पनि धेरै दुख गर्नु पर्दैन । म जापानबाट फर्केपछि सबैजना काठमाडौँँ तिरै बस्ने व्यवस्था गरौँला । ” बाबुआमाले आँखामा आँशु पार्दै “एउटा छोरो नपुग्दो केही थिएन, देशमै बसेर केही गरेको भए पनि हुन्थ्यो । नमाने पछि कसको के लाग्छ र ? विदेशको ठाउँ आफ्नो भन्ने कोही छैन । अरु त अरु भाषासम्म पनि आफ्नो भन्ने हुँदैन, ख्याल गरेर जानु पुगे पछि खबर गर्नु । आफ्नो अर्काको नभनेर ध्यानपूर्वक काम गर्नु । बुढेसकालमा हामी बाबुआमा, यी साना साना नानीहरू र यौवनवयकी बुहारी सबैको ख्याल गर्नु । सुविधा सम्पन्न ठाउँमा बसेर रहर त के पुग्ला र ? तर आफ्नो जिम्मेवारी सम्झेर छिटै घर आउनु बाबु वरुण । हामी बुढेसकालका बाबुआमाकातर्फबाट तिमीलाई यहि आशिर्वाद छ” भनेर आँखाका आँशु लुकाउँदै विदाइ गरेर बच्चाहरू विशेष र सन्ध्यालाई काखमा लिन्छन ।

वरुण र जुनाको मन चङ्गा जस्तै भएको थियो मानौँ उडेरै काठमाडौँँ पुगिन्छ । छिनमै उनीहरू फलेवास, पर्वतबाट काठमाडौँँको लागि गाडी चढ्छन । गाडी १० बजेतिर पोखरा पुग्छ, त्यहाँ केही यात्रुहरूलाई ओरालेर गाडी आफ्नै रफ्तारमा काठमाडौँतर्फ अगाडि बढ्छ । १२.३० बजेतिर एक्लेफाँटबाट खाना खाएर गुडेको गाडी चालिसेमा पुगेर केही समय खाजाको लागि रोकिन्छ । वरुण र जुनाले पनि केही खाजाहरू खान्छन । गाडीमा उनीहरूले चिनेका अथवा उनीहरूलाई चिन्ने कोही मान्छे नभएका र लामो समयको विछोडको कल्पनामा वरुण र जुना केही प्रेमिल बन्दै गइरहेका देखिन्छन् । वरुण केही अगाडि बढेर जिस्किन खोज्दा जुनाले नारीसुलभ व्यवहार देखाएर उसलाई रोक्न खोज्छिन । यस्तैमा गाडीले हर्न बजाए पछि उनीहरू पनि आफ्नो सिटमा गएर बस्छन । सहचालकले सङ्केत गरे पछि गाडी आफ्नो रफ्तारमा अगाडि बढ्दै जान्छ । नौबिसे पुगे पछि गाडीको रफ्तार बिस्तारै कम हुन थाल्छ । नागढुङ्गा पुग्दा गर्मी र थकाईले उनीहरू आलसतालस बनिसकेका हुन्छन । गाडी नागढुङ्गामा इन्ट्री गरेर अगाडि बढ्दै गर्दा अबको यात्रा जोखिम रहित र सहज हुने अनुमानका कारण अहिलेसम्मको थकाइ बिर्सेर काठमाडौँँको कल्पनामा डुब्छन दुवैजना । गाडी कतिबेला पुग्ने हो तर उनीहरूको मन भने गाडी भन्दा धेरै पहिल्यै पुगिसकेको थियो ।

साँझ करिब ७.१५ बजेतिर गाडी कलङ्की पुगेर नयाँ बसपार्कतिर मोडिए पछि वरुण र जुना गाडीबाट झरेर आफ्ना सामानहरू निकाल्छन । कहाँ जाने दाइ टेक्सी चाहिन्छ भन्ने आवाजतर्फ उनीहरूको ध्यान आकर्षित हुन्छ । एउटा टेक्सीलाई सुन्धारा जाने भनेपछि चालकले सामानहरू गाडीमा राख्छ, उनीहरू गाडी चढ्छन र सुन्धारा पुगेर लज बुकिङ गर्छन । सामानहरू कोठामा राखेर केही समय घुमघाम गरी फर्केर खाना खाएर आफ्नो कोठा नं. ३०२ मा जान्छन । सुन्दर भविष्यका तानावानाहरू बुन्दै गर्दा लामो समय देखिको प्रतिक्षा, केही दिनदेखिको धपेडी र बच्चाहरू साथमा नभएको खिन्नता बीच उनीहरू छिटै मस्त निद्रामा पर्छन । वरुण जापानको एअरपोर्ट पुगेको हुन्छ । एअरपोर्टमा केही मानिसहरू उसको स्वागतका लागि खादा र माला लिएर बसेका हुन्छन । एकजनाले खादा र माला लगाइदिंदै भन्छ –“यहाँलाई जापानमा स्वागत छ, यहाँको जापान बसाई सुखद बनोस !” उनीहरूले वरुणलाई एअरपोर्टबाट बस्ने ठाउँमा पुर्‍याए । केही समय बसेपछि पुन: काम गर्ने ठाउँमा पुर्‍याएर काम र पारिश्रमिकका सम्बन्धमा सामान्य जानकारी गराए । खुशीले गदगद वरुण झसË भएर व्यूझँदा सुन्धाराको गेष्ट हाउसको कोठा नं. ३०२ को बेडमा थियो ।

दुई दिनको तयारी पश्चात तेश्रो दिन शुक्रबार रातको ११ बजे उसको उडान थियो । सम्पूर्ण तयारी सकेर ८ बजे बरुण श्रीमति जुना सहित सुन्धाराबाट सिनामङ्गलतिर लाग्यो । निर्धारित समयमा एअरपोर्टमा प्रवेश गरेर त्यहाँको सूचना बोर्डबाट प्लेन निर्धारित समय भन्दा आधा घण्टा डिले भएको जानकारी पायो । उसले सबै प्रक्रिया पुरा गरेर बोर्डिङपासको लागि इन्ट्री गर्दै गर्दा “श्रीमति जुनालाई आलिङगन गरेर छोडेर गयो भनेर नआत्तिनु, मैले राम्रो काम गरेर छिटै तिमीहरूलाई काठमाडौँँ बस्ने व्यवस्था गर्छु” भन्यो । जुनाले पनि “आँखाबाट बलिन्द्र आँशु झार्दै मेरो तपाई बाहेक को छ र ? जापान पुग्दा साथ खबर गर्नु र हामीलाई सदा सम्झिरहनु” भनेर बिदाइका हात हल्लाइन ।

जापान पुगेपछि वरुणलाई काम र माम कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले पिरोल्न थाल्यो । घरमा खासै काम गरेको अनुभव नभएको उसलाई शुरुका दिन, हप्ता र महिना कष्टसाध्य भयो । तै पनि आजभोलि गर्दै केही बानी पर्ने र केही काम गर्ने बानीको विकास गर्‍यो उसले । शुरुका अवस्थामा दिनभरिको कामको बोझले रातमा सारा शरीर दुखेर सुत्न नसक्ने हुँदा पेनकिलर उसको साथी बन्यो । तैपनि सुन्दर भविष्यको सपना र कल्पनामा डुब्दै र उत्रदै उसले सकिनसकी कामको रफ्तार कायम गरिरह्यो । हप्ताभरि गरेको कामको आम्दानी हेर्दा उसको सपना पुरा गर्न धेरै समय त्यसरी नै काम गर्नु पर्ने अवस्था उसले अनुमान गर्‍यो ।

वरुण जापान पुगेको केही समयदेखि नै श्रीमति जुनाले विभिन्न वहानामा उसलाई तनाव दिन थालिन । कहिले फोन गर्न ढिला गरेको आरोप, कहिले बाबुआमाले हेला गरेकाले सङ्गै बस्न नसक्ने बेतुकका कुरा, कहिले बच्चाहरूको स्कूल र पढाईका कुराका साथै बिदेश जानेहरूका श्रीमति शहरमा बसेर मोज गरेका तर आफू भने गाउँमा गोठाली बन्न परेका गुनासोहरू गर्दै रहिन । वरुणले आफ्ना वेदनाहरू नपोखिकनै समय अनुसार सबै कुराहरू व्यवस्थापन हुने आश्वासन दिएर सम्झाउँदै गर्‍यो ।

वरुणले दुखजिलो गरी लामो समयसम्म काम गर्दा आर्जन गरेका केही रुपैंयाँहरू आफ्नो खर्चका लागि छुट्टाएर हुण्डी मार्फत केही रुपैंयाँ घरमा पठाउने ठेगान गर्‍यो । उसले बाबु अरुणलाई “फोन मार्फत दुईलाख रुपैंयाँ पठाएको जानकारी गराउँदै भन्यो वुवा जापान हामीले सोचे जस्तो सहज रहेन्छ । घरबाट आएको पनि लामो समय भयो, साथीभाइसङ्ग सरसापट गरी केही रुपैंयाँ पठाएको छु । त्यो रकमलाई व्यवस्थापन गर्न मलाई केही समय लाग्नेछ । नआत्तिनु होला, परिवारलाई राम्रोसङ्ग सम्झाउनु होला, बेला बेला म फोन गर्दै गरुंला” । वुवा अरुणले यता सबै ठिकै छ, प्रदेशको ठाउँ, आफ्नो ज्यानको ख्याल गर्नु” भने । उसले श्रीमती जुनालाई पनि “तिम्रो लागि एकलाख रुपैंयाँ पठाएको छु । नानीहरूलाई राम्रोसँग पढाउनु, बाबाआमाको पनि राम्रो सङ्ग हेरचार गर्नु । एउटा बैनी विनिता विवाह गरेर आफ्नै घरमा छ । बाबाआमाको पनि हामी बाहेक को नै छ र ?” सम्झाउँदै भन्यो ।

शायद पैसा पाउने सन्देशले पनि होला आज जुना पनि खुशी नै छ । प्रतिउत्तरमा वरुणलाई “नानाीबाबुहरूले राम्रैसँग पढ्दैछन, खाली बाबा कहिले आउनु हुन्छ भनेर हैरान गरिरहन्छन । मैले जति नै गरेपनि तपाईका बाआमा खुशी हुँदैनन । मलाई के भन्नु हुन्छ, उनीहरूलाई भन्नु । ”

वरुणले पनि राम्रो आम्दानी गर्न थालेकाले पनि होला बाहिरबाट हेर्दा घर परिवारमा खासै ठूलो वैमनस्यको अवस्था सिर्जना भए जस्तो देखिदैन तर घरभित्र भने घरको सम्पूर्ण जग हल्लिने गरी भूकम्प गएको छ । भुसको आगो जस्तै भित्रभित्रै सल्किएरै विष्फोट हुन लागेको जस्तो अवस्था भएको छ । वरुणको आम्दानीको मात लागेको हो कि बुहारी जुना सासुससुराको नजीक पर्नै मन गर्दिन र उनीहरूले भनेको सुनेको नसुनै गरी उडाइ दिन्छे । घरको काम छाडेर विभिन्न बहाना बनाएर को को सङ्ग घुम्न हिंड्छे । गाउँलेले हुँदा नहुँदा कुरा काट्दा नसुने झै गरी कान थुनेर हिंड्नु बुढाबुढीको दैनिकी बनेको छ ।

वरुणले जापानमा बसेर राम्रै कमाई गरेपछि घर किन्ने सोचाइ बनायो । घर कहाँ किन्ने भन्ने सामान्य घर सल्लाह र सोचाइ पछि पोखरा उपयुक्त स्थान हो भन्ने पनि यकिन गरे । परिवारमा घर किन्ने कुराले जति हर्ष र उल्लास ल्याएको थियो कसका नाममा किन्ने भन्ने कुराले पून: द्विविधा उत्पन्न गरायो । अन्तत: वरुणले वुवालाई सम्झाई बुझाई गरेर जुनाका नाममा घर किन्न सहमत गरायो । वरुणको आम्दानीको श्रोतको बृद्धिसङ्गै जुनाको बदलिएको बानी, व्यवहारबाट सासुससुरा राम्रै परिचित भएपनि बरुण लामो समय देखि जापानमा रहेकाले श्रीमति जुनाको पछिल्ला दिनको आनीबानी बारे अनविज्ञ भएकोले जुनालाई खुशी बनाउने ध्येयले जुनाका नाममा हेम्जामा घर किन्ने निर्णय लियो ।

वरुणले बावुआमाको असहमतिमा नै जुनाको नाममा घर किन्न आफूले आर्जन गरेको धन लगायत केही अन्य ऋण समेत खोजेर जुनाका नाममा घर पास गर्ने व्यवस्था मिलायो । जुनाले आफ्ना नाममा घरपास गरे देखि त झनै सासुससुरालाई सामान्य मर्यादा दिन पनि छोडी, छोराछोरीहरूको पढाई लेखाईमा पनि उसको ध्यान जान छोड्यो । सुदूर गाउँबाट हेम्जा आएर बस्न थालेपछि घरयासी कामधन्दाहरू गर्नु नपर्ने भएर त झन ऊ स्वतन्त्र प्राणीको रुपमा घुमेरै दिन बिताउन थाली । बाबुआमाका सामान्य गुनासा र छरछिमेकका कटाक्षहरूलाई सहन नसकेर वरुणले कहिलेकाहीं श्रीमतिलाई “जुना घर किने पनि अहिल्यै बाबाआमालाई छोडेर नआउनु पर्ने, घरमा पनि त काम गर्ने कोही छैन, बाबाआमा बुढाबुढी भइसक्नु भयो । तिमीलाई त्यही बस्नु छ भने बाबाआमालाई पनि सङ्गै ल्याएर राख” भनेर सम्झाउँदा चिढिन थाली । अब त वावुआमाका मात्र कुरा सुनेको निहुँमा वरुणको फोन समेत हमेशा उठाउन छाडी ।

वरुण आज बाबुआमाका गुनासा, छरछिकेक र साथी दौँतरीहरूका कटाक्षहरू समेतको आँकलन, अनुमान र विश्लेषणका आधारमा कतै जुनाको मन बिग्रेको त हैन ? भन्ने शङ्का गर्ने ठाउँमा पुगेको छ । यो अवस्थामा म जापान बसिराख्नु भन्दा घरमै गएर यो सबै समस्याको निकास निकाल्नु उपयुक्त हुन्छ भन्ने उसलाई लाग्छ । त्यसैले उसले बाबुआमा र जुना समेतलाई खवर नगरी सुटुक्क घर जाने निर्णयमा पुग्छ । जापान गएको सात वर्ष पछि नेपाल फर्कदा कस्तो होला उसले अनुमान गर्न थाल्यो । पैसा घर किन्ने बेला सबै पठाएकाले धेरै रुपैंयाँ उसङ्ग थिएन । तैपनि जापानबाट लामो समय पछि घर फर्कने विदेशीले लाज ढाक्न पनि केहि मालमत्ताहरू लिएर जानु पर्ने त हुन्थ्यो नै ।

उसले छोरा बिशेष र छोरी सन्ध्याको सामान्य प्रकारले अनुमान गरेर केही लुगाफाटोहरू, बाबुआमालाई एकसरो कपडाहरू र जुनाको लागि अलि बढी सरसामानहरू किनेपछि दुईवटा मोवाइल फोनहरू नेपाल लैजान पाइने भएकाले दुईवटा मोबाइल फोनहरू किन्यो । केही खाने कुराहरूको पनि जोहो गर्‍यो । टिकटको व्यवस्था भइसकेकोले अवको उसको लक्ष्य छिटै घरमा पुगेर परिवारसङ्ग आफ्ना दुखसुखका क्षणहरू साट्ने र विविध आयामहरूका कारण कुडिएका परिवारको मन समालेर एकत्रित बनाउने रहृयो ।

वरुण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिता अरुहरूका आफन्तहरू जसरी फूलमाला लिएर बसेका थिए नेपालमा आउँदा नेपालीको भिड देख्नु बाहेक उसको आफ्नै भन्ने कोही थिएन । ऊ जापान जाने बेला साथ दिन गएकी प्यारी श्रीमति जुना पनि थिइन आज । ऊ आफैलाई केही गल्ती गरे जस्तो भान भयो । अलपत्र परेको ऊ एउटा टेक्सीको सहारा लिएर सुन्धारा तिरै लाग्छ । जापान जाने बेलाको स्मरण गर्दै एउटा गेष्ट हाउसमा पुगेर कोठा बुक गर्छ । उसलाई आज जापानबाट आएको खुशीयाली भन्दा पनि सामान्य प्रकारले रात बिताएर भोलि बिहान सबेरै हिंड्नु थियो । आफू जस्तै विदेश जान होटेल बुक गरेर बसेकाहरूलाई नियाल्दै भोलि फर्कने बेला को को के कसरी फर्कने हुन ? भन्ने सम्झेर दिक्क हुँदै आफ्नो कोठामा गएर आराम गर्छ ।

बिहान ३ बजे देखि नै गाडीको घ्यारघुर आवाज आउन थालेकाले उठेर तयार भई कलङ्कीतर्फ लाग्यो । कलङ्की पुग्दा साथै कहाँ जाने दाइ ? भन्ने भीडले पिछा ग्यो । ऊ मौन भएर हेर्दै गर्दा बागलुङ२ भन्दै एउटा माइक्रोबस आइपुग्यो ।

“सिट छ” भन्ने बरुणको प्रतिउत्तरमा “कहाँ जाने दाइ” भन्ने प्रतिप्रश्न आयो ।

वरुणले संक्षिप्तमा “हेम्जा” को उत्तर दिए पछि “छ दाइ बस्नोस, गइहाल्ने हो” भनेकाले वरुणले सामान छतमा राख्न सहयोग गरेर गाडी चढ्यो । वरुण गाडी चढेको केही समयमा नै गाडीले आफ्नो रफ्तार लियो । नागढुङ्गामा बागलुङ भनेर इन्ट्री गराएर गाडी बिस्तारै ओरालो झर्न लाग्यो । सङ्गीतको धुनमा जसै गाडीको गति तीव्र हुँदै थियो यात्रीहरू आ–आफ्ना धुनमा मस्त र व्यस्त हुँदै थिए । गाडीको गति शायद ७०-८० को तिव्रता साथ अगाडी बढ्दै थियो होला तर वरुणको तीव्रता त्यो भन्दा शायद द्विगुना थियो । नौबिसेमा खाजा खाएर अगाडि बढेको गाडी दमौलीमा पुगेर खाना खान रोकियो । मध्यान्हको खाना पछि केही समय निद्रा पछि ब्यूझँदा गाडी कोत्रे पुगिसकेको थियो । करिब १२.४५ बजेतिर पृथ्वीचोक पुगेर केही यात्रु झारेर अगाडि बढेको गाडीले बागलुङ बसपार्क पुगेर दुइजना यात्रु चढाएर हेम्जा पुग्दा १.३० बजिसकेको थियो ।

वरुण पहिलो पटक हेम्जा झरेकाले ऊ कता जाने भन्ने द्विविधामा पर्‍यो । नपरोस पनि किन ? चौडा सडक, गुजमुज्ज घरहरू, कहाँ जाने दाइ भनेर पछि लाग्ने टेक्सीहरू । ऊ एउटा चिया पसलमा केही समय बसेर चिया पिउँदै पसलवालालाई आफ्नो मोवाइल खोलेर भाइवरमा रहेको एउटा चिटिक्कको घरको फोटो देखाएर सोध्छ “दाजु यो घर यहाँ कतातिर पर्छ होला ?” पसलेले कतै देखेको घर भएकाले “किन” भनेर सोध्छ । बरुणले संक्षिप्तमा बेलिबिस्तार लगाए पछि पसलेको सङ्केत अनुसार अगाडि बढ्छ । हेर्दै जाने क्रममा उसले आफ्नो मोवालको भाइवरमा रहेको घरको फोटोसङ्ग मिल्ने घर देखेपछि घर यही हो भन्ने यकिन गरी घरमा पुगेर घण्टी बजाउँछ । ढिलो गरी एउटी सुन्दर महिला आएर घरको ढोका खोल्छिन । दुवैजनाले एकअर्कालाई नियालेर हेर्छन तर दुवैले केही बोल्न सक्दैनन् । लामो मौनता पश्चात् महिलाले अलि च्याठ्ठिएर त्यति टाढाबाट आउने मान्छेले बाबुआमाको लहैलहैमा मलाई केही जानकारी नगराई म माथि अनावश्यक शङ्का गरेर यसरी अकस्मात आउने भनेर झर्किन्छिन । दुवैजना घर भित्र पस्छन ।

घरभित्र पसेपछि पनि यति लामो समय पछि घरमा आएको श्रीमानलाई आदर सत्कार गरेर उसका मनमा भएका शङ्का उपशङ्कामा मल्हम पट्टि गरेर घाउमा खाटा बसाल्नुको सट्टा जुनाले खबर नगरी आएको कुरालाई निहुँ बनाएर रडाको मच्याई रहन्छिन । यही रडाको बीचमा बच्चाहरू लिन स्कूल जाने वहाना बनाई जुना घरबाट बाहिर निस्किन्छिन । जुना निस्केको केही समय पछि नै बच्चाहरू घरमा आइपुग्छन । आमालाई नदेखे पछि अलमल्लमा परेका विशेष र सन्ध्यालाई बाबु वरुणले बोलाएर म तिमीहरूको बाबा हो जापानबाट आएको भनेर उनीहरूको लागि ल्याइदिएका खानेकुरा र कपडाहरू दिन्छ । बच्चाहरू केही समय त्यसैमा भुल्छन । अनि मात्र खोजी हुन्छ जुनाको जो निस्केको पनि लामै समय भइसकेको थियो । सन्ध्या र विशेषले मामु स्कूल नगएको कुरा बताउँछन । बरुणले मामुलाई फोन गर भनेर बच्चालाई मोवाईल दिन्छ । जुनाको मोवाइल स्वीच अफ भएको जानकारी पाउँछन । केही समय प्रयत्न गर्दा मोवाइल नखुल्ने र साँझ समेत परेकाले विभिन्न आशङ्का गर्दै उक्त रात अनिद्रामा नै बिताउँछन तीनैजनाले एकैसाथ हर्ष र विस्मातमा ।

भोलिपल्ट वरुणले बाबुआमालाई फोन गरी आफू घरमा आएको र जुना विवाद गरेर घरबाट निस्केको जानकारी गराउँछ । विशेष र सन्ध्या पनि हर्ष र विस्मातका बीच स्कूल जान नसकेका र बरुणको दैनिकी पनि प्रहरी चौकी र संचार माध्यमका कार्यालय चाहार्दैमा बित्ने गरेको छ । वरुणले सन्ध्या र विशेषलाई आफूुसङ्गै प्रहरी कार्यालयमा लगेर जुुनाको हुुलिया खुुलाएर जाहेरी दरखास्त दिन्छ । केही संचार माध्यमहरूमा पनि खोजीको लागि फोटो सहित अनुुरोध गर्छ । केही दिनको बसाईमा कतैबाट पनि कुुनै सकारात्मक जबाफ प्राप्त नभए पछि यो मनोदशामा धेरै दिन बस्न नसक्ने ठहर गरेर बच्चाहरूलाई साथै लिएर आफ्नो जन्मस्थानतर्फ लाग्ने सोचाइ बनाउँछ वरुणले ।

वरुणले बिगत नियालेर हेर्छ अनि बाबुआमाको असहमतिमै जापानमा कमाएका रुपैंयाँले खरीद गर्न लागेको घर बाबुको नाममा पास नगरेर श्रीमति जुनालाई खुशी राख्न उसको नाममा खरीद गर्नु के गल्ती भएकै हो ? उसले निधार खुम्च्याएर सोच्छ म जापान जानु र फर्कनुका बीचमा समयको अन्तराल धेरै भैसकेको छ । काली गण्डकीमा वर्षाको गडगडाहट र हिउँदको मनमोहक शालिनता निरन्तर रुपमा प्रवाहमान छ । चाहे जो सुकैले जेसुकै सोचेर अौँला उठाएको होस त्यो निरन्तरको प्रवाहमा धराशायी बन्नै पर्नेछ । बरुण स्वयंले गरेको सानो गल्तीको परिणाम र क्षति कति भयङ्कर रुपमा विष्फोट हुन पुग्यो उसको आफ्नै जीवनमा । आज उसले अतितलाई नियालेर हेर्छ तर भेद खुट्टाउन झन भन्दा झन कठिन हुन्छ ।

वरुणले सोच्छ सरकार हामी जस्ता नागरिकलाई देशमा रोजगारीको व्यवस्था नगरी सात समुुद्र पारी मुुग्लान पस्न बाध्य बनाउँछ र त्यही हामीले आर्जन गर्ने रकमलाई रेमिटेन्सको नाममा ठालुुहरूलाई अनिवार्य आवश्यकता परेका विलासिताका सामग्री खरीद गर्नमा वैदेशिक मुुद्राको रुपमा उपयोग गर्दछ । जसले पसिना मात्र होइन कि रगत बगाएर भित्राएका वैदेशिक मुुद्राको मुुल्य बराबर पनि ती आर्जन गर्ने नागरीकहरूको मूुल्य छैन सरकारलाई । राजनैतिक नेतृत्वले वैदेशिक रोजगारीमा रहेका केही ठालुुहरूलाई आफ्नो पेशालाई सुुरक्षित राख्ने गरी राजनैतिक अधिकार बाहेक सम्पूर्ण अधिकारहरूको निर्वाध प्रयोगको अधिकार सुुम्पँदै दोहोरो नागरिकताको व्यवस्था गर्दछ तर दक्षिण कोरीया, मलेसिया लगायत खाडी राष्ट्रहरूमा ज्यान गुुमाउनेहरूको अन्त्येष्टीका लागि मृत शरीर देशमा भित्राउने व्यवस्थासम्म गर्न सरकार उत्तरदायी बन्न सक्दैन । हरेक स्थानहरूमा यो दोहोरो मापदण्ड कहिलेसम्म सहेर बस्ने हामी निमुुखाहरूले ? सरकार संचालन गर्नेहरूले भ्रष्टाचार गरी अकुुत सम्पत्ति आर्जन गरी बैदेशिक बैङ्कहरूमा लगेर थुुपार्ने प्रवृत्तिले देशमा विकासको ढोका सदाकालका लागि बन्द हुुँदा म जस्ता लाखौँ निर्दोष मान्छेहरूको घर उजाडिएको छ सात समुुद्र पारीको धनको मोहमा । यदि सरकारले सामान्य जीवनयापनको लागि देशमै रोजगारीको व्यवस्था गरीदिएको भए म र म जस्ता लाखौँ नेपाली नागरीकहरूको श्रम देशमै खर्चिंदा हाम्रो मात्र होइन देशकै मुुहार पनि उज्यालिने थियो भने परिवारसङ्गै बसेर पसिना बगाउँदा त्यसले दिने सन्देशले परिवारमा टुटफुुट पनि रोक्न सक्दथ्यो ।

वरुणको यो अदृश्य पीडालाई समाजले कसरी बुझ्छ, राज्यले कसरी सम्बोधन गर्छ त्यो फरक पाटो हो तर वरुण स्वयङ्को जीवनमा घटेको यस्तो खाले दुर्घटनाको क्षतिपूर्ती भौतिक बस्तुको आपूर्तीबाट संभब हुँदैन । वरुणको गाउँले परिवेशको हिसाबले सम्पन्न परिवार वैदेशिक रोजगारीको नशाको कारणले आज तहसनहस बन्न पुुग्यो । वरुण आपूm जस्तै वैदेशिक रोजगारीमा जानेहरूलाई नियालेर हेर्न थाल्छ । अनि वैदेशिक रोजगारीमा नगएर देशमै बसेर केही गरौँ भन्नेहरूको पनि समस्या जोखेर हेर्न खोज्छ । यसरी हेर्न थाल्दा यो समस्या आफ्नो मात्र समस्या नभएर आफूु जस्ता धेरै मान्छेहरूको समस्या भएको निष्कर्षमा पुुग्छ । सरकारले हामी जस्ता युुवाहरूलाई देश विकासको लागि काम लगाउने भन्दा विदेश पठाएर तिनीहरूले पठाएको रकममा रमाउने प्रवृत्ति रहेसम्म त्यसको निकासका लागि युुवाशक्ति यसरी भागेर होइन त्यसका विरुद्ध सङ्गठीत रुपमा लडाई लडेर मात्र निकास निकाल्न सकिन्छ भन्ने बुझ्छ ।

वरुणको आजभोलिको फेरिएको बुुझाईमा यो सबै कुुरा सरकारमा बस्ने मान्छेहरूले नबुुझेका कारणले उत्पन्न भएको समस्या नभएर हामी जस्ता युुवाहरू देशमा भएमा उनीहरूको स्वर्गमा धावा बोल्न सक्छन भन्ने ज्ञान र डरका कारणले नियतवश सिर्जना गरेका समस्याहरू हुुन । अब हामीले आफ्ना देशका नागरिकहरूहरूलाई विदेशी नागरिकका रुपमा रुपान्तरण गरेर बिक्री गर्ने र खाली स्थानहरूमा विदेशीहरूलाई नागरीकता वितरण गर्ने सरकारी रवैया प्रति चनाखो दृष्टि पुुर्‍याउनुु जरुरी हुुन्छ । लाखौँ लाख युुवाहरूलाई सङ्गठित गरेर सरकार र त्यसका आसेपासेहरूका स्वर्गमा धावा बोल्नको लागि सङ्गठित विद्रोहको तयारी स्वरूप सचेत साङ्गठनिक तयारी आजको युुगिन आवश्यकता हो । हाम्रो आजको अवस्था देशमा संचालित व्यवस्थाका कारणले सिर्जना गरेकाले यो व्यवस्थाको विकल्पमा सङ्गठित सङ्घर्ष गर्नुु आजको अनिवार्य आवश्यकता हो भन्ने निष्कर्षमा पुुग्छ ।

जडीबुटी, कोटेश्वर, २०८०÷०९÷०८

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित