मझधारको नाउ

प्रमोद धिताल ••
विशाल समुद्रको भीषण मझधारमा
असङ्ख्य छालहरूसँग
अनवरल सङ्घर्षरत त्यो प्यारो नाउ
अर्कोतिर आजादी र सिर्जनाका
संहारकहरूको निरन्तर कुटिल दाउ
अहो ÷ कसरी बाँचिरहेछ अहिले पनि त्यो
सहेर आफ्नै युगीन पीडाको
रक्तरञ्जित वेदनाको घाउ ।

इतिहासका भयावह विडम्बनाहरू
छातीभित्रै लुकाएर
विगतका वेदनाले उर्लेका आँशुहरू
नयनभित्रै सुकाएर
फेरि पनि जीवनकै अस्तित्त्वको खोजीमा
यात्रामा सरिक छ सुन्दर नाउ
अवसरका कुरूप मसिहाहरूले
दुर्घटना निम्त्याउनै खोजे पनि
जीवित छ विश्वासको पहाड बोक्नलाई
दृढ सङ्कल्पित छ बेमौसमको आँधी रोक्नलाई ।

संसार नै दूषित पारिरहेको
पश्चिमा निरङ्कुश आँधी
त्यसकै पोष्यपुत्र दक्षिणी घिनलाग्दो हावा
समुद्रै ढाकेर अस्तित्त्वमाथि धावा बोलिरहेछन्
तल्लीन छन् अनिष्टका नाइकेहरू
समयको अभेद्य प्रवाहमाथि
जङ्गी आदेशको असफल शासन चलाउन
नाउभित्र हामी छौँ
र छन् असङ्ख्य उर्बर सपनाहरू
सुन्दर क्षितिज बिहानीको रक्तिम लाली पोतेर
आँखाभरि उदाउन बाँकी छ अझै
त्यसैले त यन्त्रणामय अनुभूतिहरूको
जीवन्त साक्षी बन्दै
नाउसँगै पौडिन तयार छौँ यतिखेर
हर क्षण घृणा र मृत्युहरू नाचिरहेको
निरङ्कुश मौसमभित्र
असङ्ख्य भुमरीहरू पार गर्दै
मात्र न्यायको अन्तिम विजेता बन्न उत्सुक छौँ हामी ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित