– जितामित्र सुनार
तिमीले बुझ्ने बुझाई र
मैले बुझ्ने बुझाई
फरक हुन सक्छ ,
वस्तु उहीँ
दृष्टिकोण फरक
वस्तु निष्ट
दृष्टिकोण निर्माणमा
तिम्रो दर्शन के हो ?
यो चरा चर जगतलाई बुझ्ने
तिम्रो दर्शन के हो ?
हरेक वस्तुलाई बुझ्ने
सहि दर्शनले मात्र
सही विचारको प्रवाह गर्दछ
तर तिमी
एक विहान
मनोपरामर्शको भजन गाएर
सकारात्मक सोचको उर्दी लाउँछौ ?
मलाई थाहा छ !
समय र परिस्थिति अनुसार
वस्तुको अवस्थामा परिवर्तन आउन सक्छ
यो त गतिको नियम हो,
तिमीले गतिलाई रोक्न सक्छौ ?
हरेक हरेकको बुझाई
गतिलाई बुझ्ने नियम संगै हुन्छ
वस्तुलाई बुझ्ने दर्शन अनुरूप हुन्छ ।
हो मलाई यस्तो लाग्छ ,
तिम्रो विचार र मेरो विचार
मिल्नै पर्छ भन्ने छ र ?
हो मिल्नु पर्छ,
तर
तिम्रो बुझाईको आधार के हो ?
यो समाजको अन्तरविरोधलाई
हल गर्ने तिम्रो दृष्टिकोण के हो ?
विचार त्यही मिल्नु पर्छ
सोच त्यही मिल्नु पर्छ
अन्यथा नलिनुस् है महासय !
म तपाईंको खेतला होइन
तपाई जे भन्नू हुन्छ
मैले मान्नै पर्ने हुन्छ ?
म त विवेकशील मानव हु ।
मेरो आफ्नै सोच छ ,
दर्शन छ र विचार छ ।
(२०८० माघ १७)

