–टङ्कराज ढकाल तितेपाती
छन्द फुल्लदाम
गण म त न स र र गु यति ५, १२ मा
खोयाबिर्केको दलबल हुलिया भ्रष्ट पार्छन् निशेष
स्वार्थी घातीले मुलुक सब निले सभ्य भाषा र भेष
दम्भी नौटङ्की दलन जहरको हुन्न आफ्नो विशेष
नाता पोस्दैछन् तडकभडकमा हुन्छ आधार शेष । १
नारा झाराका मनुज सडकमा झार्न पैसा फिटेका
ताली माग्दैछन् असुर गण जहाँ टन्न पारेर टेका
गाली बक्दैछन् कहर जहरका छेक्न गुण्डा खटेका
बामे सर्दैछन् खुरुखुरु हुलमा राष्ट्रद्रोही जुटेका । २
आसेपासे यी तनमन धनले बुध्दि उल्टो परेका
ऐरेगैह्रे जो लुटुपुटु तनका हीन मान्छे कुरेका
टोलेझोले छन् दिगमिग खलियो लाख गफ्फा चरेका
नन्दी भृङ्गीले सबतिर बलियो बार बार्ने गरेका । ३
नाफा घाटाको चलन अवनिमा चल्छ नापो छ काट्दै
बाटो घाटोमा कर दर कति भयो लुट्छ कोही लखेट्दै
बारी पाटोका फसल किन मरे भन्छ कोही लगत्तै
ढाडी जुम्राको रजगज छ अहिले टाउकोमा सिनित्तै । ४
टाँठाबाठाको हिमचिम सुखको चोर सत्ता छ लाली
सोझा निर्धामा अगणित करको चल्छ हालीमुहाली
बाबा आमाको सुललित धरणी बेच्न थाले दलाली
बाँधे दाम्लोमा जनहित करणी दोष भोग्दै छ माली । ५
नासो पुर्खाको खलबल र चिरा दुष्ट सङ्घीयतामा
काले भालेको मन खुश सपना पार्न कालो छ जामा
भ्रष्टाचारीको हलबल सजिलो जोड्न मस्ती छ मामा
कस्तो होला खै सुझबुझ खलको घात नेपाल आमा । ६

