हाम्रो पार्टीको यो विश्लेषण रहँदै आएको छ कि आज देशमा क्रान्तिको लागि वस्तुगत आधार निर्माण भएको छ । तर पार्टीको आत्मगत अवस्था कमजोर रहेको छ । यसकारण वस्तुगत आधार तयार भएपनि आत्मगत अवस्था तयार नभएकाले क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सकेको छैन । आत्मागत अवस्था तयार नहुनुमा धेरै कुराहरुले काम गरेको छ । कम्युनिष्ट आन्दोलनमा बारम्बार अवसरवादको जन्म हुनु, क्रान्तिकारीहरु संकटमा पर्नु, लामो समयसम्म क्रान्तिकारी बाटोमा लागेकाहरु पनि संसदीय बाटो समात्नु, विभिन्न प्रकारका भ्रमहरूको पछि लाग्नु, सामन्तवाद तथा साम्राज्यवादका अगाडि आत्मसमर्पण गर्नु आदि रहेका छन्््् । हरेक क्रान्तिकारी कम्युनिस्ट घटकहरू भित्र “वामपन्थी” अवसरवाद र दक्षिणपन्थी अवसरवाद सम्बन्धी साना ठूला प्रवृत्तिहरू विद्यमान छन्् तर दक्षिणपन्थी संशोधनवाद कम्युनिस्ट आन्दोलनमा हावी भएका कारण वामपन्थी क्रान्तिकारीहरूका लागि कठिन परीक्षामा बस्नु परेको छ । तर एउटा सकारात्मक कुरा के छ भने विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेलामा पनि नेपालमा आज पनि कमजोर अवस्थामा भएपनि बामपन्थी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु तथा व्यक्ति वा समूहहरू क्रान्तिको पक्षमा अडान लिएर बसिरहेका छन्् र जनमत पनि क्रान्तिकारी परिवर्तनको पक्षमा छ । यो हाम्रो लागि सकारात्मक तथा आशा लाग्दो अवस्था हो ।
कैयौं मानिसहरू निराशाको शिकार भएका छन् । अब कम्युनिस्ट आन्दोलन अगाडि बढ्दैन भनेर चिन्ता पनि गरिरहेका छन् । कतिपयले अहिलेको अवस्था देखेर विचारबाट पलायन भएका छन् । माक्र्सवादी साहित्यको बिक्री कमहुदै गएको छ । किसान तथा मजदुर आन्दोलनले शिर उठाउन सकेको छैन । देशमा दलाल तथा निगम पुँजीको आयातले देशको अर्थतन्त्र मुठीभर विदेशी कर्पोरेट घरानाहरूको हातमा केन्द्रीकृत हुँदैछ । बेरोजगारीले गर्दा युवाहरूको विदेश पलायन कहाली लाग्दो छ । राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढिरहेको छ । कृषि उत्पादन घट्दो अवस्थामा छ । आवश्यक वस्तुका लागि विदेशको मुख ताक्नु परेको छ । निर्यातमा बृद्धि नहुने तर आयातमा बृद्धि भइरहने कारण शोधान्तर घाटा वर्षेनी बढेको छ । यसरी समग्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविको अवस्था संकटमा परेको छ । यो समस्याका लागि नेपालको सामन्त दलाल तथा नोकरशाही पुँजीपति वर्गको सत्ता नै जिम्मेवार छ । संसदवादी दलहरू यी समस्या हल गर्न सक्ने अवस्थामा छैनन् । त्यसकारण देशमा सर्वहारा वर्गको नेतृत्वमा जनताको जनवादी राज्य सत्ता कायम हुनुपर्छ ।
पार्टीको विशेष महाधिवेशनले जनवादी राज्य सत्ताका निम्ति बलियो पार्टी हुनुपर्छ भनेको छ । त्यसबारे भनिएको छः “ती पार्टीहरू दक्षिणपन्थी संशोधनवादी विचार राखे पनि त्यसबाट सम्बन्ध विच्छेद गरेका क्रान्तिकारी विचार राख्ने व्यक्ति वा समूहसित मोर्चा, सहकार्य, धुर्वीकरण, एकीकरण जे सम्भव छ, सबैसित मिलेर नेपालको जनवादी आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सशक्त भूमिका खेल्न सक्ने बलियो पार्टी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।” अगाडि पार्टी एकीकरण बारे दस्तावेजमा भनिएको छः “हाम्रो पार्टीको सिद्धान्त, विचार वा राजनीतिसित समानता राख्ने कैयौं पार्टी वा समूहहरू छन् । त्यस प्रकारका वामपन्थी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूसित हामी पार्टी एकीकरणका लागि पहल गर्नुपर्छ ।” अगाडि भनिएको छ, “यसो गर्दा प्रथमतः पार्टीहरूको नीति र विचार माक्र्सवादी लेनिनवादी सिद्धान्तमा आधारित छ कि छैन ? दोस्रो आधारभूत नीतिमा समानता छ कि छैन ? त्यसको अध्ययन गरेर मात्र एकीकरण प्रक्रियालाई अगाडि बढाउन सकिन्छ । विगतको एकता र फुटको इतिहासबाट शिक्षा लिँदै मतभेदहरूको उचित समाधान गर्दै ठोस र मजवुत प्रकारको एकीकरण तर्फ ध्यान दिनु पर्दछ ।” (राजनीतिक दस्तावेजहरू पेज १८–१९) पार्टीको पुनर्गठन पछि १० वर्षे माओवादी जनयुद्ध, जसलाइ हाम्रोपार्टीले उग्र “वामपंथी” गल्ती गरेको ठहर गरेको थियो, बाट शान्ति प्रकृयामा आएपछि प्रचण्ड पक्षले संशोधनवादी नीति लिए पनि तात्कालिन नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत मूलतः माक्र्सवादी लेनिनवादी पार्टीको रुपमा वामपंथी क्रान्तिकारी शक्ति भएकाले हाम्रो पाटले दुवै पार्टीसित पार्टी एकिकरणको लागि विचार आदान प्रदान गरेका थियौं ।
२०७९ कार्तिक २० मा पहिलो वार्ता सम्पन्न भएको थियो । त्यसपछि सात सदस्यीय वार्ता समिति बनाएर काम अगाडि बढाइएको थियो । ०७९ चैत्र २० को संयोजन समितिको बैठकसम्म विभिन्न सैद्धान्तिक, राजनैतिक प्रश्नहरूमा सहमति कायम भएको थियो । खास गरेर राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशा, कार्यनीति तथा रणनीति, महान सर्वहारा सांस्कृतिक क्रान्ति, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा, पार्टीको नाम, राजनीतिक शक्तिहरूको विश्लेषण, पार्टी संगठन र जनवादी केन्द्रीयताको सिद्धान्त आदि विषयमा मूल रूपमा सहमति भएको थियो र पथप्रदर्शक सिद्धान्तमा समान धारणा, तर पदावलीमा फरक मत, माओवादी जनयुद्धको समीक्षा तथा उत्पीडित जाति जनजातिको स्वतन्त्रता र स्वायत्तताको विषयमा फरक धारणा कायम रहेका छन् । माओवादी जनयुद्धको समिक्षाबारे एकता महाधिवेशनमा टुङ्गो लगाउने र माओवाद÷विचारधारा तथा संघीयता, जातिय आत्म निर्णयको अधिकार÷जातीय क्षेत्रीय स्वशासन बारेको मतभेद महाधिवेशन पछिसम्म चलाउने र कुनै उपयुक्त समयमा टुङ्गो लगाउने कुरा २०८० माघ पछि बसेका बैठकहरूबाट टुङ्ग्याइएको छ । यसरी मतभेदहरूको उचित र खुला छलफलबाट व्यवस्थापनको विधि टुंङ्गयाइएको छ ।
संशोधनवादका विरुद्ध क्रान्तिकारीहरूको एकता आजको वस्तुगत आवश्यकता बनेको छ । विसर्जनवाद तर्फ ओरालो लागेको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन, पुनरसंरक्षण र पुनः सुदृढीकरण गरेर शक्ति आर्जन गर्नुपर्ने आवश्यकता छ । यो हाम्रो व्यक्तिगत वा समूहगत इच्छाभन्दा पनि भौतिक परिस्थितिले सिर्जना गरेको अवस्था हो । भौतिक परिस्थिति हाम्रो नियन्त्रणमा रहँदैन । यदि त्यसलाई ठिक समयमा पक्रन सक्यौ भने हामी आन्दोलनलाई अगाडि बढाउँछौ नत्र भने परिस्थितिले हामीलाई अलपत्र छाडेर जान्छ र परिस्थितिले अर्काे मोड लिन थाल्छ । ने.क.पा. (मसाल) को दक्षिणपन्थी अवसरवादसित आत्मसमर्पण गरेर बसेको भए हामीले क्रान्तिकारी विचारको रक्षा गर्न सक्ने थिएनौँ । कैयौं कार्यकर्ताहरु पलायन हुनुपर्ने थियो । हामीले ठीक समयमा ठीक निर्णय गरेको हुनाले क्रान्तिकारी विचारको रक्षा गर्न सफल भएका छौं । अब देशमा छरिएर रहेका क्रान्तिकारीहरूसित एकीकरणको बेला आएको छ । एकीकरण गर्नु भनेको आत्मसमर्पण गर्नु वा विलय हुनु होइन । एकीकरण पछि पनि सही र गलत विचारको बीचमा द्वन्द्व कायम रहन्छ । अन्ततः सही विचारले मात्र शक्ति सञ्चय गर्न सक्छ र सही मार्गदर्शन गर्न सक्छ । त्यो सही विचार कुनै व्यक्तिले दिन सक्छ भन्ने सोच गलत हो । सही विचार वर्गसंघर्ष उत्पादनसँग सङ्घर्ष र वैज्ञानिक प्रयोगले मात्र आउन सक्छ । त्यसमा समूहको भूमिका प्रमुख हुन जान्छ ।
कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादसित सङ्घर्ष गरेपछि हाम्रो जिम्मेवारी पूरा भयो भन्ने सोच्नु हुँदैन । उग्र“वामपन्थी”, “मध्यपन्थी” अवसरवाद, जडसूत्रवाद, अधिभूतवाद, सारसंग्रहवाद जस्ता कतिपय चिन्तन पद्धतिले पनि कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याइरहेको हुन्छ । त्यस्ता चिन्तन पद्धतिलाई छलफल, आलोचना, संवादद्वारा हल गर्दै सबै खाले प्रतिक्रियावादका विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्छ । त्यसकारण प्रतिक्रियावादका विरुद्धका सबै शक्तिहरूसित, जोसँग–जति नजिक हुन सकिन्छ पार्टी एकता, मोर्चा, सहकार्य गरेर कम्युनिष्ट आन्दोलनलाई विकसित गर्नुपर्ने भएकाले हाम्रो पार्टीले सबै उपायहरु अवलम्बन गर्दै आएको छ । अझै बृहत्तर रुपमा प्रयत्न गर्न बाँकी छ ।
गत २०८० माघ २५ र २६ गते को केन्द्रीय समितिको बैठकले विभिन्न माक्र्सवादी लेनिनवादी पार्टीहरूसित पार्टी एकता गर्नका लागि ठोस मान्यता पारित गरेको छ । ती मान्यताहरू यसप्रकार थिए ः
१) क्रान्तिकारी पार्टीहरुबीच एकता आवश्यक छ । क्रान्तिकारी पार्टी हुँदैमा कुनै पार्टीका सबै नीति सही हुन्छन् भन्ने हुँदैन । उनीहरुमा उग्र “वामपन्थी”, दक्षिणपन्थी, मध्यपन्थी, राजनैतिक रुझानका अंशहरु हुन सक्छन् । एउटा क्रान्तिकारी पार्टीभित्र पनि निम्न पूजीवादी चिन्तनहरुले काम गरिरहेको हुन्छ । कतिपय अवस्थामा जातिवादी, क्षेत्रीयतावादी, राजावादी, सम्झौतावादी, व्यवहारवादी प्रवृतिका अंशहरु पनि हुन सक्छन् । तै पनि मूल रुपमा आधारभूत विषयमा माक्र्सवादी–लेनिनवादी विचारहरु छन् भने त्यसलाई आधार मानेर कतिपय कमजोरीहरुलाई छलफलद्वारा हल गर्न सकिन्छ । वैचारिक, सैद्धान्तिक प्रश्न छन् भने तिनलाई सार्वजनिक बहसमा पनि लैजान सकिन्छ । तर जुन विषयले तात्कालिक कार्यक्रमलाई असर पार्न सक्छ भन्ने लागेमा अन्तरपार्टी संघर्षद्वारा पनि हल गर्न सकिन्छ । कतिपयको सार्वजनिक बहसले पार्टीमा विभाजन ल्याउँछ भन्ने लाग्ने गरेको पाइन्छ । त्यो गलत हो । अनुशासित र व्यवस्थित बहसले पार्टीलाई झन बलियो र स्पष्ट बनाउँछ । पार्टीका नीतिहरु कुनै व्यक्तिका मस्तिष्कका उपज हुँदैनन् । ती नीतिहरु उत्पादनमा संघर्ष, वैचारिक संघर्ष र वैज्ञानिक प्रयोगबाट उत्पन्न हुन्छन् । सही नीतिहरु हजारौं जनताको व्यवहारिक अनुभवहरुको निचोड हो ।
२) हामीले हाम्रो पार्टीलाई माक्र्सवादी–लेनिनवादी पार्टी मानेका छौं । त्यो कुनै भावावेश र कल्पनाद्वारा भनिएको होइन । त्यसका सयौं तथ्यहरु छन्् । कुनै पार्टीलाई आधारभूत रुपमा माक्र्सवादी–लेनिनवादी मानिसकेपछि त्यो पार्टीका आंशिक रुपमा रहेका गैर–माक्र्सवादी चिन्तन र कार्यप्रणालीलाई पनि माक्र्सवादी लेनिनवादी मान्ने कुरा हुँदैन । विगतमा एकताकेन्द्रलाई आधारभूत रुपमा माक्र्सवादी–लेनिनवादी पार्टी मानेर पार्टी एकता गरेका थियौं । तर उनीहरुसित १६वटा विषयमा हाम्रा मतभेदहरु थिए । हामीले उनीहरुका गैर–माक्र्सवादी चिन्तन स्वीकार गरेनौं । ती मतभेदका विषयमा छलफल चलाउँदै एउटा प्रक्रियामा लगेर टु्ंग्याउने निर्णय गरेका थियौं । हामी मतभेद चलाउँदै अगाडि बढ्न खोज्यौं । तर उनीहरुले हामीसँग एकतालाई अगाडि बढाउन सकेनन् । उनीहरुमा आंशिक रुपमा रहेको सुधारवादले अन्ततः उनीहरुलाई दक्षिणपन्थी दिशामा लग्यो । मसाल क्रान्तिकारी पार्टी थियो । उनीहरुमा पनि आंशिक सुधारवाद तथा संसदवादी रुझान अंसहरु धेरै पहिले देखा परेको थियो । तर कालान्तरमा त्यो क्रान्तिकारी रहन सकेन । सुधारवादमा पतन भयो । हामीले कुनै पार्टीलाई हेर्दा द्वन्द्वात्मक रुपले हेर्नुपर्छ । कुनै पनि पार्टी आज जुन रुपमा छ, त्यो भोलि पनि त्यही अवस्थामा रहन्छ भन्ने कुनै निश्चित हुँदैन । त्यसकारण गलत प्रवृत्ति सित निरन्तर संघर्ष गरिरहनु पर्दछ ।
३) कुनै पार्टीलाई क्रान्तिकारी मानेपछि उसका सबै नीतिलाई अक्षरस ः स्वीकार गर्ने र आफ्ना क्रान्तिकारी नीतिलाई छाड्ने कुरा सही हुँदैन । अर्को कुरा कुनै पार्टीका आंशिक रुपमा देखिएका गैर माक्र्सवादी चिन्तनका कारणले आधारभूत रुपमा माक्र्सवादी–लेनिनवादी हुँदाहुँदै पनि उसलाई माक्र्सवादी –लेनिनवादी मान्न हुन्न भन्ने सोचाइ सही हुँदैन । हरेक चीजलाई द्वन्द्ववादी ढंगले हेर्नुपर्छ, अधिभूतवादी ढंगले होइन ।
४) देशमा थुप्रै क्रान्तिकारी समूहहरु, व्यक्तिहरु छन् । उनीहरुमा कैयौं गैर माक्र्सवादी कमजोरीहरु पनि छन् । ती सबैलाई एकीकरण र ध्रुवीकरणको प्रक्रियामा ल्याउने कुरामा हाम्रो पहलकदमी भैरहेको छ । कतिपय विषयमा उनी र हामीहरु बीच कैयौं विषयमा फरक विचार छन् । फरक विचारलाई आधार मानेर जाने हो भने कुनैसँग पनि एकीकरण ध्रुवीकरण हुँदैन । हामीले फरक विचारलाई आधार बनाएर टाढा जानेतिर होइन, आधारभूत विचारमा समानतालाइ हेर्नुपर्छ । आधारभूत माक्र्सवादी–लेनिनवादी विचारमा समानता भएका पार्टी, समूह र व्यक्तिसित एकता गर्नु छ भने आधारभूत समानताका आधारमा एकीकरण वा ध्रुवीकरणमा जानै पर्छ । तर साथै भिन्न विचारलाई छलफल र बहसमा लैजानुपर्छ । कसैले कसैका विचारलाई शतप्रतिशत स्वीकार गरेर पार्टी एकता वा ध्रुवीकरण हुन सक्दैन । त्यसकारण मतभेद सामान्य छन् भने एउटै पार्टीभित्र छलफल गर्नु पर्दछ । त्यो भै पनि रहँदै आएको छ । जटिल मतभेद छन् भने सार्वजनिक छलफलमा लैजानुपर्छ । त्यसमा कुनै पनि पार्टी डराउनु हुँदैन ।
माथिका मान्यताहरुलाई स्वीकार गरेर गयौं भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सित मात्र होइन, अन्य वामपन्थी क्रान्तिकारीहरुसित पनि एकता र ध्रुवीकरणलाई अगाडि बढाउन सकिन्छ । नेपाली जनताको मुक्तिलाई लक्ष्य बनाउने हो भने सबै क्रान्तिकारीहरु एक ठाउँमा उभिने विधि तयार गर्नुपर्छ । हामीले राम्रो भित्र नराम्रोलाई पनि देख्न सक्नुपर्छ । नराम्रो भित्र राम्रोलाई पनि देख्न सक्नुपर्छ । पार्टी एकता भनेको सिद्धान्त, विचार, राजनीतिमा एकता हो । जोसँग ती कुरा मिल्दैनन्, उनीहरुसित संयुक्त मोर्चा वा कार्यगत एकता गरेर जानुपर्छ ।
.
माथि उल्लेखित मान्यताहरूलाई आधार मानेर हामीले क्रान्तिकारी कम्युनिष्ट पाटीर्, नेपालसित वार्ता गरेपछि हामी दुई पार्टीबीच माओवाद र विचारधाराको बहसलाई एकता महाधिवेशनपछि पनि खुला बहसमा लैजान सकिने, हाललाई माओवाद÷विचारधारा लेख्ने संघीयता र जातीय क्षेत्रीय स्वशासनको विवादलाई पनि एकता महाधिवेशन पछि सम्म खुला बहसमा लैजान सकिने, हाललाई जातीय तथा क्षेत्रीय स्वशासन तथा स्थानिय स्वायत्तशासन अफिसियल नीति बनाउने र जनयुद्धको दौरानमा उग्र“वामपन्थी” गल्ती भएको कुरालाई एकता महाधिवेशनसम्म आ–आफ्नै धारणा लैजान सकिनेगरी खुला बहसमा पनि लैजान सकिने र महाधिवेशनमा निर्णय गर्ने सहमति भएको छ । यसरी हामी दुई पार्टीबीच भएका मतभेदलाई व्यवस्थापन गर्ने निर्णय भएको छ । त्यो कुरा विशेष महाधिवेशनको जनादेश अनुसार नै छ ।
कम्युनिस्ट आन्दोलनमा मतभेदहरू जन्मिन्छन् र छलफलद्वारा समाधान पनि हुँदै जान्छन् । कुनै मतभेद छिटो टुंगिन्छ भने कुनै मतभेद टुंगिनका लागि लामो समय लाग्ने गर्छ । एकपटक मतभेद भएपछि सधभैंरी रहिरहँदैन । समाधान हुँदै पनि जान्छन् । फेरि नयाँ मतभेदले जन्म लिन्छन् । पार्टी जीवनमा यो चलिरहने प्रक्रिया हो । स्वयं पार्टी नै विपरीत तत्वको एकता भएको हुनाले मतभेद अनिवार्य अवस्था हो । त्यसलाई अस्वीकार गर्न सकिँदैन । मतभेदबिनाको पार्टीको कामना गर्नु भनेको एकमनावाद हो । एकमनावादले मतभेद भएपछि फरक विचार सित एकै ठाउँ बस्न नमिल्ने सोचाई राख्दछ । विगतको कम्युनिष्ट आन्दोलनमा त्यही प्रवृत्तिले गर्दा पार्टीहरू अनावश्यक रुपमा विभाजन भएको, वारम्वार टुटफुट भएको तितो यथार्थता हाम्रो अगाडि छ । हामीले अब टुटफुटबाट छरिन पुगेका क्रान्तिकारीहरुलाइ एकताबद्ध बनाउने दिशामा जोड दिनु पर्छ माक्र्सवाद–लेनिनवादका आधारभूत नीतिमा नै मतभेद भएपछि कुनै पनि पार्टीमा फुट अनिवार्य बन्न जान्छ । जहिलेसम्म आधारभूत नीतिमा मतभेद हुँदैन । सानातिना मतभेदहरूलाई कायम राखेर पार्टीलाई एकताबद्ध गरेर जानुपर्छ । ने.क.पा. (मसाल) सित माक्र्सवाद लेनिनवादका आधारभूत नीतिमा नै मतभेद भएकाले मसालले क्रान्तिकारीहरुलाई निष्कासन गरेको थियो । फरक मत राख्नेहरु त्यहाँ मतभेद चलाएर बस्न खोजे पनि त्यो सम्भव भएन । त्यसकारण पार्टी पुनर्गठन गर्नुप¥र्यो । त्यसकारण फुट र एकतालाई द्वन्दवादी तरिकाले हेर्नुपर्छ, नीति र विचारको परिप्रेक्ष्यमा हेर्नुपर्छ, निरपेक्ष रुपमा हेर्नु अधिभूतवाद हुन जान्छ ।
पार्टीको यही दृष्टिकोणका आधारमा माक्र्सवादी–लेनिनवादी पार्टीहरूसित सम्बन्ध विकसित गर्ने काम भएको छ । कतिपय समूहसित वार्ता भएको छ । तर एकता हुन सकिरहेको छैन । कतिपय समूहसित वैचारिक छलफल गर्ने निर्णय भएर पनि त्यो छलफल आयोजना गर्न अनुकूल अवसर मिलेको छैन । यस क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसित भएका सैद्धान्तिक, वैचारिक तथा राजनैतिक छलफलद्वारा एकता गर्न दुवै पक्ष सहमत भएका छौं । दुई पार्टी बीचको एकतालाई सम्पन्न गर्ने सन्दर्भमा राष्ट्रिय भेलाको निर्णय आवश्यक हुने हाम्रो पार्टीको नीति भएको हुनाले यो एकता सम्बन्धी प्रस्ताव पारित गर्नका लागि केन्द्रीय समितिको तर्फबाट राष्ट्रिय भेलामा प्रस्तुत गरिएको छ ।

