– बद्री चापागाई
जिल्ला सचिव ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रसुवा
० भाद्र १० गते भोटेकोशीमा बाढी आउँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
–म त्यस दिन काठमाडौँमै थिए।
० भोटेकोशीले बितण्डा मच्चाएको समाचार तपाईँले कहिले कोबाट थाहा पाउनुभयो ?
–क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रसुवाका जिल्ला सदस्य गौतमजीले केरुङबाट बाँध फुटेर बाढी आएको मलाई फोनबाट सुनाउनुभयो। त्यसपछि मैले आफूले चिने जानेका र थाहा पाएसम्म बेत्रावती, त्रिशुली, धादिङ सबैतिर फोन मार्फत सबै सतर्क रहन भनेर खबर पुर्याएँ । यसभन्दा पहिले जतिसुकै ठूलो बाढी आएपनि त्यहाँ पाँच क्युसेकसम्मको बहाव हुन्थ्यो भने यसपालि ४० क्युसेकसम्मको बहाव आयो।
० त्यसपछि तपाईँले के गर्नुभयो?
– भाद्र ११ गते रसुवा जान्छु भनेर हिँडे। तर जान सकिएन १२ गते बीचबाटोबाटै साथीहरु सित काठमाडौँ फर्किए। त्यस पछि १३ गते फेरि यता आएँ ।मेरो कान्छो बुवाको छोरा राजन चापागाई ( ४२ वर्ष ) गाडी चलाउँथ्यो । उसले मानसरोवर जाने पर्यटकहरुलाई लिएर जाँदै थियो । उसको गाडीमा चढेका तीनजना पर्यटकहरूको शव बेत्रावतीतिर फेला परेको भन्ने छ। मेरो भाइ राजन चापागाई ,उसको गाडी र अन्य यात्रुहरु सम्पर्कमा आएका छैनन् ।
० तपाईँ अहिले कहाँ हुनुहुन्छ ?
–अहिले म नुवाकोटको ढुङ्गेतिर छु। यहाँ त्रिशुलीमा मृतकहरू के कति हुन् ? घाइतेहरू के कति हुन् र कसको के कति क्षति भएको हो ? राहत वितरण गर्दा के कसरी राहत वितरण गर्न सकिन्छ ? यसको बारेमा साथीभाइहरूसित अध्ययन गर्ने छलफल गर्ने काम गरिँदैछ। यही काममा म लागिरहेको छु ।
० क्षति के कस्तो पाउनुभयो?
– यसपटकको बाढी पहिरोमा नेपालका धेरै जिल्लाका र विदेशका पनि धेरै ठाउँका मानिसहरु परेका छन्। गोसाईकुण्ड जाने पर्यटकहरू, मानसरोवर जाने पर्यटकहरू , पर्यटक लिएर हिँड्ने गाडीवालाहरु , भोटेकोशीम विभिन्न हाइड्रोपावरमा काम गर्ने कर्मचारी, मजदुर, इन्जिनियरहरु, निर्माणाधीन जलविद्युत परियोजनामा सुरुङमा काम गर्ने मजदुरहरु, व्यापारीहरू धेरै तह र तप्काका मान्छेहरु यो बाढी मा परेका छन्।
कल्पनै गर्न नसकिने क्षति भएको छ । बेत्रावती बजार वरपर मात्र ५० जनाभन्दा बढी मानिसहरु हराएको स्थानीयको रेकर्डमा छ । बाटो हिँड्ने यात्रामा गएका मानिसहरु कति हराए के कति क्षति भयो त्यसको त जानकारी आइसकेको छैन । कति सम्पत्ति ध्वस्त भयो भन्ने कुराको हिसाब किताब नै छैन।रसुवाको मेलुङ हाइड्रो पावरमा काम गर्ने हाम्रो पार्टीकी रसुवा जिल्ला सदस्य मेनुका पौडेल हिजो १३ गते मात्र सम्पर्कमा आउनुभएको छ । भाग्ना उहाँको हात र खुट्टामा चोट लागेको छ ।
० रसुवामा थप समस्या के छ ?
– रसुवा जिल्लामा विभिन्न हाइड्रोपावरमा काम गर्ने मान्छेहरु जो मजदुरहरू र प्राविधिकहरू टनेल भित्र काम गर्दै थिए। तिनीहरू सबैको उद्धार हुन सकिरहेको छैन। कति मानिसहरु सुरुङभित्र थिए र कति मान्छेलाई उद्धार गर्नुपर्ने हो भन्ने कुराको अझै टुङ्गो छैन । रसुवा र नुवाकोटका सबै घाइते विस्थापित लाई बिदुरमा राखिएको छ । माथितिर त्यहाँ कतै पनि उद्धार र राहत केन्द्र खोलिएको छैन किनभने त्यहाँ सडक छैन र जान सक्ने अवस्था नै छैन। जे जति घाइते र उद्धार गरिएका मानिसहरू छन् तिनीहरुलाई सेनाले हेलिकप्टरबाट सिधै नुवाकोटको बिदुरमा झार्ने र त्यहाँ होल्डिङ सेन्टरहरूमा राख्ने काम गरेको छ । भौगोलिक कारणले गर्दा पनि रसुवा जिल्लामा धेरै अप्ठ्यारो सिर्जना भएको छ। किनभने जे जति पनि यताबाट राहतहरु पुर्याउने काम गरिएको छ त्यो सबैलाई नुवाकोटको सदरमुकाम बिदुरमा सेनाले जम्मा गर्ने काम गरेको छ । जो वास्तविक पीडितहरु हुन्, उनीहरुले राहत पाउन सकेका छैनन् । वास्तविक पीडितहरूका राहत पुर्याउन जानका निम्ति सडक नै छैन । राहत नै पुर्याउनु परे पनि फेरि हेलिकप्टरबाट पुर्याउनुपर्ने हुन्छ । हेलिकप्टरबाट सेनाले पुर्याउने काम गरेको छैन । नुवाकोटको विदुरमा अहिले काठमाडौँको घोडेजात्रामा मेला लागे जस्तै स्थिति भएको छ। नेपालभरिका मान्छेहरु त्यहाँ आफन्त खोज्न पुगेका छन् । हेलिकप्टरबाट सेनाले उद्धार गरेर मान्छे ल्याउँछ कतै हाम्रो मान्छे आयो कि भनेर त्यहाँ हेर्न पुग्ने मान्छेहरूको घुइँचो लागिरहेको छ ।
० यस्तो विकराल अवस्थामा कसरी समस्याको समाधान गर्नुपर्छ भन्ने लाग्छ ?
–सबभन्दा पहिलो कुरा त राज्य नै जिम्मेवार हुनुपर्छ । मेरो मान्छे तेरो मान्छे नभनिकन सबैलाई समान व्यवहार गरेर वास्तविक पीडितहरुले राहत पाउनुपर्दछ । घरबार विहीन भएकाहरूलाई आवासको व्यवस्था गर्नु पर्छ । छोराछोरीले कहाँ पढ्छन्? कतिपय अभिभावकविहीन भएका छन् । विद्यार्थीहरुको अवस्था के छ ?उनीहरूलाई कहाँ पढाउनुपर्ने हो ? स्वास्थ्यको अवस्था के छ ? उनीहरुलाई कसरी उपचार गर्नुपर्ने हो ? ती सबै कुराको गहिरो अध्ययन गरेर पीडितहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने लाग्छ ।
अन्तरवार्ता मिति –२०८३ भाद्र १४ गते दिउँसो १ बजे

