रास्वपाको वैचारिकी

 

रामबहादुर बुढा

प्रारम्भ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना २०७९ असार ७ गते भएको थियो। स्थापना भएको १० दिनपछि असार १७ गते यस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिएको थियो। २०७९ को आम निर्वाचनमा यसले प्रतिनिधि सभाका लागि मात्र उम्मेदवारी दर्ता गरेको थियो भने प्रदेश सभाहरुमा उम्मेदवार दिएको थिएन । २०७९ को आम निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक तर्फ १३ गरी २१ सिट प्राप्त गरेको थियो। २०७९ पछि रास्वपा दुईपटक सरकारमा गयो । एक, २०७९ पुस ११ देखि २०७९ माघ २२ सम्म पहिलोपटक र दोस्रो पटक २०८० फागुन २३ देखि २०८१ असार २८ सम्म दोस्रो पटक । २०८२ साल भाद्रमा भएको जेन्जी ‘विद्रोह’ पछि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले २७५ मध्ये १८२ सिट लिन सफल भएको छ। यस पार्टीको पहिलो महाधिवेशन २०८३ असार ७ देखि ९ गते चितवनमा सम्पन्न भयो ।

एक, नेपालको परम्परागत संसदवादी राजनीतिक दलहरूप्रतिको अविश्वास, भ्रष्टाचार, बेरोजगारी, सुशासनको कमजोरी र राज्य संयन्त्रको अकर्मण्यताको विरोध गर्दै रास्वपाको उदय भएको हो । दुई, पुराना राजनीतिक दलहरूमा लाभ लिइरहेका र थप ठूलो लाभ लिन रास्वपामा जम्मा भएका , पुराना पार्टीमा लाभ लिनबाट बञ्चित भएका र नयाँ पुस्ता तथा परिवर्तनको अपेक्षा राख्ने मानिसहरुलाई आकर्षित गर्दै यो दल शक्तिमा आएको हो । तीन,विदेशी शक्ति केन्द्रले यो दल फस्टाउनमा योगदान गरे ।चार, असन्तुष्ट परम्परागत दलविरोधी समूहहरुलाई एकै ठाउँमा ल्याउन सफल भए। पाँच, आफ्नो पक्षमा सामाजिक संजाललाई प्रयोग गर्न सफल भए । रास्वपाको वैचारिकी भन्नाले त्यस पार्टीले अपनाएको दर्शन , सिद्धान्त, राजनीति, अर्थनीति लगायतलाई समष्टिगत रुपमा बुझ्नुपर्दछ ।

दर्शन

रास्वपा उत्तरआधुनिकतावादबाट धेरै प्रभावित पार्टी हो भन्न सकिन्छ । उत्तरआधुनिकतावादले स्थापित दर्शन ,सिद्धान्त र मूल्यमान्यतालाई स्वीकार गर्दैन । वर्गीय राजनीति जस्ता स्थापित वैचारिकमान्यता भन्दा ‘डेलिभरी’, सुशासन, भ्रष्टाचारविरोधी र परिणाममुखी राजनीतिको कुरा गर्दछ । रास्वपाको चितवनको प्रथम महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा लेखिएको छ, “हामी परम्परागत ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ होइनौं र जानीबुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित छैनौं । कुनैपनि कठोर वैचारिक घेरालाई होइन, हामी व्यवहारिक,विवेकसम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौं । पुराना वैचारिक ढाँचाहरुले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई हामी सम्मान गर्छौं । तर तिनलाई व्यवहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्छौं ।” उल्लेखित लेखोटबाट रास्वपालाई दर्शन,विचारपक्षको खासै मतलव छैन । केवल तत्कालीन व्यवहारिक लाभसित मात्र उनीहरुले मतलव राख्दछन् भन्ने बुझिन्छ । यो नै उत्तरआधुनिकतावादको प्रभाव हो ।

उत्तरआधुनिक राजनीतिक चिन्तनमा वर्ग मात्र होइन, लैङ्गिकता, जातीयता, क्षेत्र, पुस्ता, व्यक्तिगत पहिचान र जीवनशैलीजस्ता विविध मुद्दालाई महत्त्व दिइन्छ। रास्वपाको राजनीतिक प्रस्तुतिमा पनि परम्परागत वर्गीय संरचनाभन्दा विविध सामाजिक समूह र पुस्तालाई एउटै राजनीतिक छातामुनि समेट्ने प्रयास देखिन्छ।रास्वपाको उदय नै पुराना दल, पुरानो नेतृत्व, परम्परागत राजनीतिक संस्कृति र स्थापित राजनीतिक भाष्यप्रतिको असन्तुष्टिसँग जोडिएको छ ।उत्तरआधुनिक समाजमा राजनीतिक विचार निर्माणमा मिडिया, सामाजिक सञ्जालको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । रास्वपाको राजनीतिक विस्तारमा सामाजिक सञ्जाल र डिजिटल सञ्चारको प्रभावलाई पनि यसै कोणबाट अध्ययन गर्न सकिन्छ ।

रास्वपाले आफ्नो दर्शन उत्तरआधुनिकतावाद हो वा हामी उत्तरआधुनिकतावादबाट प्रभावित छौं भनेर कहीकतै लेखेको वा भनेको छैन । तर उसको समग्र चिन्तनशैली र व्यवहार हेर्दा समकालीन राजनीतिमा उत्तरआधुनिकतावादबाट अत्यधिक प्रभावित पार्टी रास्वपा नै हो । उत्तरआधुनिकतावाद विकृतिपूर्ण पूूँजीवादले जन्माएको अराजक दर्शन हो । समाजमा विद्यमान गम्भीर वर्गीय तथा समुदायगत समस्याहरुको हल यसले खोज्न सक्दैन ।

सिद्धान्त

यस पार्टीले पार्टी स्थापनाको प्रारम्भिक चरणमा ‘संवैधानिक समाजवाद’लाई आफ्नो सिद्धान्तका रूपमा अघि सारेको थियो। संविधानमा उल्लेखित “समाजवाद उन्मुख राज्य” प्रति प्रतिबद्ध हुने भन्दै आफ्नो सिद्धान्त “संवैधानिक समाजवाद” भनेको थियो । तर संविधान परिवर्तनशील हुने र आफैले पनि संविधान संशोधनको एजेण्डा सारेकोले यो सिद्धान्त ठीक नहुने भन्दै “सामाजिक लोकतन्त्र” लाई आफ्नो सिद्धान्त भनेको छ ।

पार्टीको प्रथम महाधिवेशनपछि ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो सिद्धान्तका रूपमा स्वीकार गरेको देखिन्छ । ‘सामाजिक लोकतन्त्र’ का विशेषता लोकतान्त्रिक राजनीतिक प्रणालीभित्र सामाजिक न्याय, समान अवसर, कल्याणकारी राज्य, सार्वजनिक सेवा र आर्थिक असमानता न्यूनीकरणलाई बताएको छ । “सामाजिक लोकतन्त्र” भनेर सिद्धान्तको नाम दिइए पनि त्यो नेपाली कांग्रेसले भन्ने गरेको “प्रजातान्त्रिक समाजवाद” नै हो भन्ने कुरा त्यसमा उल्लेखित विशेषताहरुबाट नै स्पष्ट हुन्छ । सैद्धान्तिकरुपले रास्वपा नेकाको उत्तराधिकारी “भाइ कांग्रेस” हो ।

राजनीति

रास्वपाले राजनीतिमा संसदीय प्रणालीलाई स्वीकार गरेको छ । राजनीतिक प्रतिवेदनमा लेखिएको छ–
“हामी पुराना राजनीतिक दलहरूको व्यथिति र विकृतिको भण्डाफोर गरेर यहाँ आइपुगेका हौं। तर इतिहासलाई मेटाउने विकृत गर्ने वा राजनीतिक स्वार्थका लागि अपमान गर्नलाई रास्वपामा कुनै ठाउँ हुने छैन । जेन्जी विद्रोहको चेतना र ऊर्जा समेत हाम्रो आगामी यात्राको मार्गदर्शक बन्नेछ ।”
रास्वपाले आफ्नो राजनीति लोकतन्त्र, सुशासन, पारदर्शिता र जवाफदेहितालाई बताएको छ । उसको व्याख्या हेर्दा यसले पनि पुरानै संसदवादी फोहोरी राजनीतिलाई अंगिकार गर्ने देखिन्छ ।

अर्थनीति
रास्वपाले अर्थनीतिमा निजी क्षेत्र, उद्यमशीलता, लगानी, प्रतिस्पर्धा, रोजगारी सिर्जना र आर्थिक स्वतन्त्रतालाई महत्त्व दिएको छ । आर्थिक वर्ष ०८३/०८४ को बजेट वक्तव्यमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री स्वर्णिम वाग्लेले भनेका थिए “हामी कम्युनिस्ट हैनौं, नवउदारवादी पनि हैनौं बरु हामी उदारवादी हौं ।” वास्तवमा रास्वपाले आफ्नो आर्थिक नीति जे जे भनेपनि यो दल नवउदारवादकै भरिया हो । विगतमा नेपाली कांग्रेसका महेश आचार्य र रामशरण महतले देशलाई नवउदारवादी बाटोमा हिंडाउँदा आज मुलुक अन्तर्राष्ट्रियस्तरमा भिखमंगा देश बनेको छ । अर्थमन्त्री हुँदा वित्तिकै कति विदेशी ऋण ल्याए ? यही एउटा उदाहरणबाट पनि रास्वपाको अर्थनीति नवउदारवाद हो भन्ने बुझिन्छ ।

कैयौं विश्लेषकहरुले विगतमा रामशरण महत यु.एन.डि.पि. को जागिर छोडेर साम्राज्यवादी एजेण्डा कार्यान्वयन गर्न नेपालमा सुरुमा मन्त्री परिषद्को सल्लाहकार र पछि अर्थमन्त्री बनेका थिए । ठीक त्यसैगरी वाग्लेपनि यहाँ सं.रा.सं. को जागिर छाडेर पहिले योजना आयोगको उपाध्यक्ष र अहिले अर्थमन्त्री भएका छन् । वाग्ले रामशरणहरुको सट्टा साम्राज्यवादीहरुबाट अगाडि सारिएका नयाँ पात्र हुन् भनेकाछन् । । आगामी दिनले विषयलाई अरु स्पष्ट गर्ने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित