निरंकुश राजतन्त्र, पंचायती शासन र हामीले भोगेको अनुभव

बलिभद्र शर्मा
राजाको प्रत्यक्ष शासनकाल अथवा निरंकुश पंचायती व्यवस्था नेपालमा करिव ३० वर्षसम्म (२०१७ देखि २०४६ सम्म) चल्यो । त्यस समयमा राजा, राजपरिवार र उसले ल्याएको पंचायती व्यवस्थाको हुबहु समर्थन गर्नु, गुणगान गाउनु, जयजयकार मनाउनु बाहेक अरु राजनीतिक गतिविधि गर्न, विरोध गर्न, चित्त नबुझेको कुरा समयमा बोल्न पूर्ण प्रतिबन्ध थियो । राजा, राजपरिवारको विरोधको त कुरा छाडौं, पंचायती व्यवस्थाको विरोधमा समेत केही बोल्यो भने उस सिधै जेल जानु पर्दथ्यो । यस विषयमा कतिले ज्यान गुमाए त कतिले लामो जेल जीवन बिताउन प¥यो । यसको एउटा मैले भोगेको अनुभव मैले प्रस्तुत गर्दछु ।
२०३१ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) गठन भएपछि बागलुङ लगायत विभिन्न जिल्लामा संगठन विस्तार हुँदै गएको थियो । २०३४ सालको आषाढ ७ गतेको दिन नेकपा (चौम) को केन्द्रीय कमिटिले एउटा निर्णय गरेको रहेछ कि निरंकुश राजतन्त्र र भारतीय विस्तारवादको दलाली गरेर नेपालमा भूमिगत रुपमा राजनीतिक गतिविधि गर्दै आएको नेपाली कांग्रेसको विरोध गर्दै देशव्यापी पर्चा छरिएको थियो । त्यो पर्चा छर्ने र गल्कोटबाट पर्चा बोकेर बागलुङ बजारसम्म पु¥याउने काम म र एक जना गाउँकै साथी समेत दुई जनाले गरेका थियौं। तर त्यो पर्चा घरको भित्तामा टाँसिएको र बागलुङसम्म पु¥याएको सुइको सम्बन्धित व्यक्ति बाहेक कसैलाई पत्तो थिएन । २०३४ साल आषाढ ७ गते राती पर्चा टाँसियो । ९ गतेबाट प्रहरीले धरपकड गर्न शुरु ग¥यो । पहिले बागलुङ बजारमा दुई जना भाईहरु (नाम अहिले भुलिसके) लाई समातेर प्रहरी ठानामा लग्यो । त्यसपछि बागलुङ बजारमै भएका साथीहरु काजीगाउँले श्रेष्ठ, ऋषिराम सापकोटा, म्याग्दीबाट सोमबहादुर बोगटी लगायतलाई समातेर ल्याई यातना दिन शुरु भयो । त्यसपछि बिहुँबाट गंगाप्रसाद कंडेललाई समातेर ल्याई यातना दिन शुरु भयो ।

गल्कोटबाट रामसिंह श्रीस, निलप्रसाद श्रेष्ठ, पूर्ण भद्र गौतम र म समेतलाई ल्याएर सिधै थुनामा राख्यो । अरु कतिपयलाई भने ल्याएर साधारण सोधपुछ गरी छाडिदियो । थुनामा राखिएका हामीहरु मध्ये क–कसलाई कति यातना दियो सबै त बताउन सक्दिन । तर काजी गाउँले रामसिंह श्रीस, पूर्णभद्र गौतम र म हामी चार जनालाईृ दिएको यातनाको भने मलाई प्रष्ट जानकारी छ । त्यति बेला प्रहरीको एसपीको कमाण्डमा बागलुङमा अञ्चल प्रहरी कार्यालय थियो । पुलिसले पालैपालो हामीलाई एसपीको अगाडि लगेर सोधपुछ गथ्र्यो र उसले हामीलाई सोधपुछ गर्दा प्रयोग गर्ने शब्दहरु यति असभ्य र घिनलाग्दा हुन्थे कि अहिले वर्णन गर्नको त के कुरा एक शब्द उच्चारण गर्न पनि सकिंदैन । साविती बयान नदिएपछि धुलोमा सुताएर पलाष्टीकको रसीले दुवै खुट्टा बाँधेर खुट्टा भुईबाट केही माथि उठाई दुईवटा पुलिसले खुट्टा बाँधेको रसी समाउने र अर्कोलाई काँडासितको लौराले खुट्टाको पैतालामा राम्रोसँग हानेर अचेत हुनेगरी पिट्ने गरेर २१÷२२ दिनसम्म यातना दिएको सम्झना यो दिमागमा फनफनी घुमेको छ । काजीगाउँले श्रेष्ठ त्यतिबेला बागलुङ बजारको विद्यामन्दिरमा पढाउनुहुन्थ्यो । भने रामसिंह श्रीस लेखानीमा । म बालविकासमा थिएँ भने पूर्णभद्र गौतम देवकोटा स्कूलमा अध्यापन कार्यमा थियौं । निलप्रसाद श्रेष्ठलाई गल्कोटमै नबस्ने शर्तमा छाडिएको थियो भने उहाँ त्यस समयदेखि पोखरातिर बस्न थाल्नुभयो । काजी गाउँले र ऋषिराम सापकोटालाई शिक्षकबाट बर्खास्त गर्दै राजकाज मुद्दामा जेल चलान गरियो । रामसिंह श्रीस, पूर्णभद्र गौतम र म बलिभद्र शर्मालाई खोजेको समयमा उपस्थित हुने गराउने गरी हाजिरी जमानीमा छोडियो र त्यो बेलादेखि शिक्षक सेवा आयोग र शिक्षाशाखालाई दबाब दिएर दुर्गमतिर सरुवा गर्ने र नगए अटेर गरेको, आदेश नमानेको भनेर सेवाबाट नै खारेजी गर्ने कार्यहरु भए । जो हामीले भोगेर आएका छौं । त्यस्तो निरंकुश व्यवस्थाको आधारमा अहिलेको बहुदलीय व्यवस्था केही सीमित अधिकार भएको र बोल्न लेख्न र विरोध गर्न सम्म पाइने भए पनि यो नोकरशाही, दलाल पुँजीपतिवर्गको भलो गर्ने व्यवस्था हो । हामीले यो व्यवस्था राम्रो भएन भनेर फेरि राजतन्त्र फर्काउने तर्फ गयौं भने ठूलो गल्ती हुन जानेछ र यसैमा अल्झिएर बस्नु पनि गल्ती हुनेछ । हाम्रो लक्ष्य यो भन्दा प्रगतिशील जनवादी व्यवस्था हो र त्यसको लक्ष्य लिएर सम्पूर्ण मजदुर, किसान राष्ट्रप्रेमी जनसमुदायलाई गोलबन्द गरौं । यसैमा हाम्रो भलाई छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित