– मनु वि.क.
कार्तिक सकिएर मंसिर लाग्ने बित्तिकै जाडो महिनाले छोप्यो । जाडो हरक्कै बढ्यो । हिराबहादुरको छोराको नाम मनबहादुर हो हिराबहादुरले मनबहादुरको विवाह यहि मंसिरमा गरिदने भन्ने सोचाई बनाए । मनबहादुर पनि विवाह भनेपछि अलिकता खुशी भयो । हुनत उसको पढाई लेखाई त्यसै छ ,बल्ल ११ सकेको छ । तर घरमा काम गर्ने मान्छे चाहिएकोले हिराबहादुरले आफ्नो छोराको विवाह गर्ने सोचाई बनाएका ।गाउँमा पनि मनबहादुरको विवाह हुँदैछ भन्ने कुरा गाइँगुइँ सुनिन थाल्यो । एक दिन बाउ छोरा भएर केटी हेर्न गए ।
केटी हेर्न एक दिनको बाटो लाग्नेमा मनबहादुरको आफ्नै फुपु , हिराबहादुरको दिदीको घरतिरै गए । त्यहाँ जुनमाया नाम गरेकी केटी भर्खर १९ पुगेर २० वर्ष लागेकी रहिछन् । घर पनि ठीक ठीकै उमेरपनि मिल्दो नै । सबै हिसाबले हेर्दा ठीकै होला भनेर आफ्नो भदै र भाईलाई बोलाएकी थिईन् दिदीले । फेरी आफ्नै गाउँकी चेली भएमा आफूलाई पनि सजिलो हुने थियो भन्ने उनमा थियो ।
बिहानै केटीका घरमा हिराबहादुर र मनबहादुर र फुपु पनि पुगे । आँगनमा पुगेर केटीका आमालाई बोलाए । आमाले गुन्द्री लिएर बाहिर आईन तर केटीका बाले भित्र नै बस्नु पर्छ भन्दै भित्र बोलाए ।
सबैजना भित्र पसे । भित्र पस्दा जुनमाया घाँस काट्न गएको कुरा जुनमायाकी आमाले सुनाईन् र भनिन् आउने बेला भएको छ ।,रुख घाँस झारेर आउने भनेकी छ । हिराबहादुर र केटीका बाउका बीचमा कुरा चल्यो “हामी त हजुरकी छोरी माग्न आएको ,उमेर पुगेका केटाकेटीका बीचमा सम्बन्ध गाँस्न पाए राम्रै हुने थियो ।” भन्दै हिराबहादुरले कुरा खोले केटीका बा केही नबोली अँ मात्र भनेर रोकिए। हिराबहादुरकी दिदीले आमासंग फेरी कुरा गरिन् “मलाई त माईतको खबर यताउता गर्न पनि हुने ,के हुन्छ खै कर्मको खेला” यत्तिकैमा भैंसी बेस्सरी करायो ड्याम्म गरेर घाँसको भारी बिसाईयो ।आमाले जुनमाया आएको कुरा गर्दै बाहिर हेर्न निस्किईन् । अरु भित्र नै बसिरहे । जुनमायाको आमाले जुनमायालाई माग्न आएको कुरा गोठमा नै गएर जुनमायालाई सुनाईन् । जुनमायाको मुटुले ठाउँ छोड्यो । जुनमाया अब रुनेकी हाँस्ने भईन् । तर नाम्लोले बिग्रेको कपाल हाते सम्याउँदै आमाको पछि जुनमाया आईन र नाम्लो र हँसिया स्याहारिन् । जुनमाया भन्दा पहिले जुनमायाकी आमा भित्र पसिन् । आमाको पछि पछि जुनमाया लागिन् । भित्र पसेर जुनमायाले सबैलाई नमस्कार गरिन् । सबैले नमस्कार फर्काए । जुनमायाको बाले बोले छोरी तिमीलाई हेर्न माग्न आउनु भएको छ ,तिमीलाई मन पर्छकी पर्दैन ?जीवन तिम्रो हो म के भनौं ?
जुनमाया केही नबोलेर भुँइमा मात्र हेरिरहिन् । हिराबहादुरकी दिदीले लौ हामीले त कुरा मिलोस भन्ने सोचेको भनिन् । फेरी पनि जुनमाया केही बोलिनन् । अब त्यहाँ अर्कै माहोल बन्यो अब केटाकेटीको मन मिल्ला जस्तो छ ।,हामीले ढिला गर्नुहुन्न हिराबहादुर बोले । हेर्न आएको दिनमा नै विवाहको दिन पक्का भयो । हिराबहादुर र उनको छोरा खुशी हुँदै फर्किए । हिराबहादुरको दिदी पनि खुशी हुँदै घर गईन् ।गर्दा गर्दै विवाहको दिन आयो । विवाहमा तामझाम भएन । केटापक्ष केटी लिन केही कोशेली बोकेर गए । केटी पक्षले पनि खासै केही तामाझाम देखाएन ।
विवाहको दिन जुनामाया साँच्चिकै राम्री थिई । राम्रा राम्रा चप्पल नङ पालिस अलि अलि मेकअप गरेर विवाह मन्डपमा बसी जन्तीहरु धेरै थिएनन् । घर पट्टिका पनि थोरै नै । खास खास मान्छेहरुको उपस्थितिमा विवाह भयो । माईतबाट विदा हुने बेलामा जुनमाया अलि रोईन् । रोए पनि हिँडीन । दुलाहाको मामाले बोक्न खोजेका थिए । तर बोक्न गाह्रो हुने हुनाले बोक्न मानिनन् जुनमायाले ।
दुलहीलाई हिँडाएर घरमा ल्याईयो । भित्र्याईयो विवाह कर्म सकियो जलपान भयो । निम्ताहारहरुले खानपान गरेर आ –आफ्नो घरमा लागे । हिराबहादुरले एउटा जिम्मेवारी उम्काएको भन्दै खुशी हुँदै थिए । छोराले बुहारी ल्याएको भन्दै हिराबहादुरकी श्रीमती पनि खुशी नहुने कुरै छैन ,खुशी भईन् । दिन एकदिन दुईदिन गर्दै बढ्दै गयो ।
मनबहादुर पढाईलाई अगाडि बढाउँदै गयो । जुनमाया घरमा काम गर्न ल्याएकी बुहारी थिई । मनबहादुर १२कक्षामा भर्ना भयो । आफ्नो श्रीमतीलाई मेलामा,काममा छोडेर उ स्कुल पढ्न जान्थ्यो । उसले अलिकता जिम्मेवारी बढेको जस्तो पनि महशुस गरेको थियो । जुनमाया काम, मेलापात, घाँस, दाउरा सबैमा लाग्न प¥यो । पढाई मनबहादुरको भयो । मनबहादुरले पढाईलाई छोड्न चाहेन । जुनमाया पढाईको विषयमा बोल्न सक्ने कुरा भएन । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ चालचलन काम गर्दा पनि बिग्रन्छकि भन्ने डर, नगर्दा झनै के हुने हो? भन्ने पीर । जे भएपनि कामको जिम्मा आफ्नो नै थियो । मनबहादुर कापी, कलम लिएर स्कुल जुनमाया हँसिया, नाम्लो लिएर वन जंगल ,घाँस दाउरा हुन थाल्यो । उसको पढाई पाखाबारी हुन थाल्यो जंगल हुन थाल्यो । जुनमायाले केही बोल्न सक्ने कुरा भएन । मनमनमा मेरै श्रीमान त हुन् ।उनी जान्ने भए त मेरो लागि पनि राम्रो नै कुरा हो भन्दै सोच्ने गर्नथिईन । गाई ,भैसी ,बाख्रा पाखाबारी घरमा सबैको सेवामा जुनमायाको दिनहरु बित्न थाल्यो । काम गर्दा गर्दा राती मात्र ओछ्यानमा पुग्दथिईन् , ओछ्यानमा जाँदा मनबहादुर किताब मै हुन्थ्यो । मन बहादुरले जुनमाया प्रति खासै ध्यान दिन नखोजेजस्तो गर्दथ्यो । जुनमाया दिनदिनै द्ुब्लाउँदै जान थालीन् । जुनमायाले खानामा पनि रुचि दिन सकिनन् ।ओछ्यानमा पल्टिएर मात्रै बस्न चाहिन् । तर ओछ्यानमा मात्रै पल्टिन पाउने कुरा भएन । हँसिया, नाम्लो लिएर घाँस काट्न खोलातिर गईन । घाँस काट्दा काट्दै वाक्क वाक्क भयो । आँखा रिँगायो । त्यही भिरबाट लडौंला जस्तो भयो । त्यो बेला जुनमायाले आमा सम्झीन बा सम्झीन ,भाई सम्झीन, माईती गाउँ सम्झीन तर जान पाउने होईन के गर्ने ? घाँस काट्दा काट्दै हात खुट्टा फतक्क भएर आयो । उनी छिटो छिटो भारी बोकेर हिड्न खोजिन । तर पेट खाली छ । खाएको पनि पेटमा केही बसेको छैन । आज निकै अबेर भैसकेको छ । तर भारीले आफैलाई थिचेर पल्टायो । भुँईमा भुर्लुक्क लडिन् । जुनमाया । साह्रै गाह्रो भयो भनेर खोलाको किनारमा रहेको ढुंगामा यसो पल्टिएकी थिईन् जुनमाया । माथिबाट मनबहादुर चिच्याउँदै आयो ।“तल्लाई ,के गरेर बसेकी छस? कसलाई कुरेर बसेकी छस? बस्ने मन छैन भने हिँडिहाल” भन्दै जुनमायाको कपालमा झम्टिन थाल्यो । केटाको बलमा केटीको बलको के लाग्छर ?त्यसमा पनि कति दिन देखि खाएको पेटमा केही अडिएको छैन ।लगातार वान्ता भईरहेको छ ।
त्यस अवस्थामा जुनमायाले मनबहादुरको चाहेर पनि प्रतिकार गर्न सक्ने कुरा भएन ।मनबहादुरले जुनमायाको कालो लामो कपालमा समातेर जुनमाया पल्टिएको ढुंगामा टाउको बजारिदियो । ढाडमा लात्ता लात्ताले हानी दियो । छाती छातीमा लात्ताले हानी दियो । ढुंगामा पल्टाएर पेटमा कुल्चिदियो । जुनमाया बेहोस भईन् । जुनमाया बेहोस भएपछि पनि मनबहादुरले खोलामा अलिकता बाटो लता¥यो । जुनमाया बेहोसमा बोल्न सक्ने कुरा भएन । आधा घण्टा जतिमा जुनामाया बिउँझिईन् । त्यति बेला उनको योनीबाट भल भल रगत बगेको थियो । जुनमाया कहालिईन् “लौ मारिस ! ”भनिन् तर धेरै बोलिनन् । जुनमायाको तीन महिना देखिको गर्भ एकै छिनमा खसेर गयो ।जुनमाया उठेर घाँसको भारी बोक्न सकिनन् । अझै मनबहादुरको रीस मरेको छैन ।जानु कहाँ होेर ? जुनमाया मनबहादुर कै घरमा आइन् । तीन चार दिन सम्म रगत बगिरहयो । दिनहरु बित्दै जाँदा निको पनि भयो । मनबहादुरको शंकालु मन अझै फेरिएको छैन । तर जुनमाया भने त्यही घरकै काममा सकी नसकी हिड्नु नै परयो । आफ्ना सासु ससुराले केही कुरा थाहा नपाए जस्तै गरिरहे । जुनमायाले यिनीहरुलाई सुनाउने कुरा नै पाईनन् । जुनमाया मनभरी पीडा लिएर काममा नै लाग्नु प¥यो । जाने कहाँ र छोरीले? जुनमाया थरथर काम्दै मनबहादुरकै घरमा आईन् । तीन चार दिन सम्म रगतकै धारा लाग्यो पछि विस्तारै निको भयो । मनबहादुरको शंकालु मन अझै फेरिएको जस्तो जुनमायाले पाएकी छैनन् । तर जुनमाया भने त्यही घरकै काममा सकिनसकी लतारिरहेकी छन् । आफ्ना सासु ससुराले थाहा नपाउन जस्तै गरिरहे । उनले भन्ने कुरा नै पाएनन् । मनभरि अँध्यारो बोकेर सकी नसकी काममा लागिरहिन् ।

