–हिराछबी श्रीशा
खोक्रा राष्ट्रवाद र मिठा भाषण देउ
म त्यसैको भोको छु
विरोधमा उत्रदा, छेउमा आसन देउ
म त्यसैको भोको छु ।
गाउँ बग्दा पहिरोमा, त्रीपाल चाउचाउ देउ
म त्यसैको भोको छु
भोट माग्दा बिकाशको, नयाँ हाउभाउ देउ
म त्यसैको भोको छु ।
रोजगारको अभावमा, हातमा पास्पोर्ट देउ
म त्यसैको भोको छु
डिग्रीका प्रमाणमा, अनेक खोट देउ
म त्यसैको भोको छु ।
न दबाइ न डाक्टर, अस्पताल चैं देउ
म त्यसैको भोको छु
भकारी रित्तो भो, ठूलो थाल चै देउ
म त्यसैको भोको छु ।
लुटिन्छन चेलिबेटी संस्कारलाई दोष देउ
म त्यसैको लायक छु
विभेदको मुद्दामा, अधिकार खोस देउ
म त्यसैको लायक छु ।
सिंगापुर देखाइ, सुडान घुमाइ देउ
म त्यसैको लायक छु
एम सि सि, संघीयता, देशै गुमाइदेउ
म त्यसैको लायक छु ।
छुवाछूत तीव्र्र बनाउ, गरिब मारी देउ
म त्यसैको लायक छु
राष्ट्रको अस्तित्व, सिमा पारी देउ
म त्यसैको लायक छु ।
झोले र आफन्तले, मण्डल भरि देउ
म त्यसैको लायक छु
देश सक्न अभाव÷ निहु, थरी थरी देउ
म त्यसैको लायक छु ।
घुस दिइ काम बन्ने, सुविधा चै देउ
म त्यसैको लायक छु
न मर्नु न बाँच्नु, दुविधा चै देउ
म त्यसैको लायक छु ।

