प्रेम बहादुर चौधरी (गेदवा) ठेकेदार बनेको वर्ष

–नारायण याेगी
डुङ्गाको ठेक्काबाट सय रूपियाँ मध्ये करिब चालिस रूपियाँ लाभ हुने गर्दथ्यो । त्यसैले हाम्रो गाउँका भुपबहादुर बुढाथोकीले ठेक्का लिएपछि गाउँमा घाट बस्ने सबैमा एक प्रकारको असन्तुष्टि थियोे । हामीले श्रम गर्ने ठेकेदार बनेकोले बसि बसि खाने ? यो कुराले सबैलाई पिरोलिरहेको थियोे । यो कुरामा गाउँलेहरूलाई अलि बढि हौसाउने कामकम मलायाका लाहुरे टेकबहादुर चौधरी, हाम्रो पिताजी, फुलराम पनि थिए । पहिले पहिले त जिल्ला विकासले आफ्ना नजिकैका मानिसलाई ठेक्का दियो, पछि भुपबहादुर बुढाथोकीलाई दियो । जसका कारण गाउँलेहरूलाई के लाग्न थाल्यो भने भुपबहादुर पनि हाम्रो गाउँको हामी पनि यहीँको उनले ठेक्का लिन सक्छन् भने हामीले किन नसक्नु ? यो प्रतिस्पर्धाको भावनाका कारण र उनको सामन्ती प्रवृत्ति र हैकमवादी, हेपाहा बानीले गर्दा गाउँलेहरूमा एक प्रकारको रोष प्रकट भयो । पहिले पहिले अरू अरूका ससाना पसल थिए । पछि तिनीहरू कता कता गए पछि गेदवाले एउटा सानो चुरोट, बिडी, बिस्कुट, रक्सी खिचरी मिचरीको पसल चलाएका थिए । घाट बस्ने गाउँलेहरू प्रायः बलरामपुरका सबै त्यहीँ आउने र अर्नि, नास्ता खाएर घर फर्केर जाने गर्दथे । त्यो समयमा ठेक्काको कुरा पजि उठदथ्यो । गाउँलेहरू आफै नै मिलेर ठेक्का लिने सुरमा थिए । जस्तो कि प्रायः अधिकांश थारू गाउँमा रहेको एउटा प्रवृत्ति छ । त्यो के भने सामाजिक कार्यमा सकेसम्म नेतृत्व लिन हिच्किचाउने र लिईहाले पनि त्यसलाई महत्वका साथ पुरा गर्न गम्भीरतापूर्वक नलाग्ने । यदि नीजि लाभ देखिन्छ भने मरिमेटेर लाग्ने । यद्यपि निजी लाभांशको लागि मरिहत्ते गर्ने प्रवृत्ति थारू गैर थारू सबैमा समान रूपमा पाईन्छ र यो व्यक्ति वादी निम्न पुँजीवादी प्रवृत्ति हो । यसरी जहाँ थारू बहुल गाउँ बस्तीहरू छन् त्यहाँ थारू जनजातिहरूले नै नेतृत्व गर्नु पर्दछ र त्यो पनि निस्वार्थ भावनाले सामाजिक कार्यको नेतृत्व गर्नु पर्दछ । तब मात्रै समाज विकासको गतिमा सहि रूपमा अगाडि बढनेछ । यो डुङ्गाको ठेक्काको कुरा आजभन्दा करिब तीस वर्ष अगाडिको हो । त्यो बेला देशमा सीमित अधिकार सहितको दलीय व्यवस्था स्थापना भएको थियोे । २०४९ को संसदीय निर्वाचन सम्पन्न भैसकेको थियोे । नेपाली कांग्रेसले बहुमतको सरकार बनाईसकेको थियोे । डुङ्गाको ठेक्का पहिले जिल्ला विकासले लिने र उसैले प्रतिनिधि वा ठेकेदार तोक्ने गर्दथ्यो । तर २०४९मा स्थानीय निकायको निर्वाचन सम्पन्न भैसके पश्चात् यहाँको गाविसको अध्यक्ष मा पूर्व प्रधान पंच शिव कुमार शर्माका दाजु दामोदर शर्मा अध्यक्ष भैसके पछि त्यो ठेक्का गाउँ विकास समिति मातहतमा आयो ।

डुङ्गाको ठेक्का लिने कुरामा गेदवालाई ठेक्का बोल्न लगाउने कुरा भएको थियो । किनकि रक्सीको मातमा गेदवा जथाभावी बोल्ने मात्रै होईन लडाइँको लागि पनि पछि नपर्ने झोडि स्वभावको मानिस हुन् । गहुँ गोरो रंग, लाम्चो अनुहार, साना साना कपाल, मंगोलियन आकृतिको नाक, बोल्दा भकभकाएर बोल्ने र जोड जोडले बोल्ने । सानो सानो कुरामा घरमा आफ््नो श्रीमतीसँग कलह भैराख्ने, कहिलेकाहीँ त उनी अरूको घरमा गएर जोगिने गर्दथिन । कसैसँग नडराउने स्वभावलाई गाउँलेहरूले उपयोग गर्ने ठाने र गेदवालाइ पनि ठेकेदार बन्ने आकाक्षां पुरा गर्नु थियो । यसरी विशेषतः होटेलको सल्लाहमा सबै गाउँले एक भएर ठेक्का बोल्न गाउँ विकास समितिको कार्यालयमा गए । गाउँ विकास समिति त नेपाली कांग्रेसको थियो गाउँलेहरूलाई कांग्रेस प्रति कुनै भरोसा थिएन । तर के कस्तो जाल बुन्छन् भन्ने कुनै कल्पना र अनुमान थिएन । ठेक्का भर्ने फारम लिएर रकम कलम के कति राख्ने भन्ने सबैले सल्लाह गर्ने बेला अरूले अलि अलि कम रकम राख्नेछ भनेका थिए । तर ठेक्का जसरी पनि लिने सोंचाई बनाएका उनले ५२ हजार लेख्ने कुरा भयो । त्यहाँका सबै जना मुखा मुख गरे । गेदावनले भने–चाहे जा हुई जग्गा वेचक परिटे परि ठेक्का लेके नै छोरम–जे परे पर्ला, जग्गा बेच्न परे पनि पर्ला तर ठेक्का नलिई छोडदैन भने पछि ठेक्का ५२ हजारको लेख्ने कुरा भयो । यो कुरा सबैले गोप्यनै राखेका थिए । टेन्डर फारम भरेर सकेपछि गेदवा र बलिराम, हरिप्रसाद रक्सी खान होटलमा छिरे । गेदवाले बिहानैबाट रक्सी खाईसकेका थिए । त्यहाँ गएर फेरि खाए । आज बलराम पुरका डुङ्गा चलाउने गाउँलेहरूलाई एउटा ठूलो युद्ध मोर्चामा गएको समान भएको थियो । र त्यो लडाइँ जसरी पनि जितेर छाडनु थियो । जसरी गोर्खा रेजिमेन्टका फौजीहरूलाई युद्ध मोर्चामा जाँदा रक्सी खान दिने गर्दथे रे । आज बलरामपुरका जनता पनि पालैपालो होटेलमा रक्सी खान गै रहेका थिए । मानिसलाई रक्सीको नसाले उत्तेजना पैदा गर्दछ । जसका कारण उनीहरूमा बोल्ने शाहस पैदा हुन्छ । आजको डुङाको ठेक्कामा उनीहरू सबैले यसैको सहारा लिएका थिए ।
उता भुप बहादुर र उनको छोरा प्रेमबहादुर र लमहीका व्यापारी बन्सि पनि टेन्डर भर्ने र ठेक्का आफ्नो हातमा पार्ने खेलमा लागेका थिए । र गाउँपालिकाको संयन्त्र आफ्नो दलको भएकोले उनीहरू टेन्डर आफुलाई पर्ने कुरामा ढुक्क थिए ।
आज जसरी पनि यो लडाइँ जितेरै छाडने भन्नेमा सेमरहवा बलरामपुरको मोर्चा बन्दी थियो । किनकि भुप बहादुर र उनको परिवारले गरेका उत्पीडनबाट डुङ्गासँग सम्बन्धित कामबाट उन्मुक्ति चाहन्थे । मैले डुङ्गाको ठेक्का हटाउन पर्दछ । भनेर गाउँमा कहिले साना साना नाटक देखाउने कुराहरू गर्ने गर्दै आएपनि उनीहरूमा सरकारको विरुद्धमा उभिने कुनै शाहस भएन तर भित्र भित्र रहेको त्यो उकुसमुकुसलाई उनीहरूले टेन्डरबाट पूरा गर्ने सोंचे जो आर्थिक रूपले आत्मघाती नै थियो । तर आफ्नो आत्म सम्मानको कुराले सबैलाई ठेक्का लिन उत्प्रेरित ग¥यो । गेदवालाई पनि के भयो भने ठेकेदार पनि बनिने र पैसा त सबैले मिलेर तिर्ने हो नाफा भए सबैलाई घाटा भए पनि सबैलाई । उ त निमित्त पात्र भयो । यसले के बताउँछ भने मानिस आफ्नो आत्म सम्मानको लागि मौका आएमा जे जस्तो जोखिम उठाउन पछाडि हटदैन भन्ने कुरा देखाउँछ । आज त्यही आत्मसम्मानको लडाइँमा सामेल थिए सबै गाउँलेहरू । ठेक्काको कागज हातमा लिएर बलिराम चुपचाप पिपलको बोट तल बसेका थिए । उनीहरू बाबू छोरा र बन्सि र उनका आसेपासे उनी सँगसँगै गापाभित्र बाहिर गरिरहेका थिएँ । गाउँ विकास समिति अगाडिको वर पिपलको चौतारिमन मानिसहरू गिरम्म बसेका थिए । कोही होटल बागेस्वरीमा जान्थे, कोही फर्केर आउँथे । बेला बेला हल्ला चलिरहन्थ्यो । फलनाले यति हालेकोछ टेन्डर फलनाले यति हालेकोछ, वा यति नघटाई हाल्ने सल्लाह छ । तर यता भने ५२ हजार भरेको कागज लिएर बलिराम निर्धक्क छन् । गेदवाको अनुहारमा आज चमक अर्कै छ । किनकि आज उ जीवनमा पहिलो र अन्तिम पटक ठेकेदार बन्दैछ । उसको शान अर्कै छ । त्यहाँ उभिएका दुई तीन जनालाई बाख्खिददै भन्यो। के –––– के मिझनि नै खै–––––– लेहो जाउ होट्लेम खाई टे। – क कसले नास्ता पानी गरेको छैन होटलमा गएर नास्ता गरेर आउन त जोसिएर भन्दै थियो । यताको फुर्ति फार्ति देखेर उनीहरू यता हेर्दै खिसिटिउरी गरे झै हेरेर हाँस्दै गाउँ विकासको भवनको भित्र बाहिर सचिवसँग गरिरहेका थिए । यता लमहि बजारमा, कोलही, चैलाही, बलरामपुर, सेमरहवामा गेदवाको नाममा टेन्डर परेको कुराले चर्चा पाएको थियोे । बाहिर कसैलाई अनुमान र विश्वास पनि थिएन कि डुङ्गाको ठेक्का वास्तविक डुङ्गा चलाउनेले हात पार्न सक्छन् भनेर ।
उनीहरूको हिमचिम र पुरानो सम्बन्धका कारणले मनमा अलि अलि लघु शंका दूर गर्नका लागि टेकबहादुर लाहुरे कहाँ गएर गेदवाले सोधे – मामा मामा कहु य–––––– यइने बिगरना टे नै बिगरहि? मामा मामा कतै यिनीहरूले काम बिगार्ने त होईनन ? उनले ढाडस दिंदै भने हेर भान्जा हामी हिजोका दिनसम्म फुटेका थियौं । हातको पंजा देखाउंदै भने आज हामी एक भएर कानुनी लडाइँ लड्न आएका छौ । यी यसरी बलियो भए र । मुट्ठी बाँधेको कसिलो हात देखाउँदै भने । हेर इतिहासमा के के भयो जे जति कुरा मलाई थाहा छ । तिमीलाई थाहा छैन । उमेरमा पनि तिमी मेरो छोरा भन्दा पनि कम उमेरका छांै । हेर तिम्ले राम र रावणको लडाइँको कथा सुनेकैछौ त्यो लडाइँमा रावणले आफ्नो भाई विभिषणका कारणले हार्याे किनकि विभिषणले रावणको नाभिमा वाणले हाने पछि मात्रै रावणको मृत्यु हुन्छ भन्ने कुराको पोल खोलिदिएका कारणले रामले रावणलाई मारेर लडाइँ जितेका थिए । हाम्रो त त्यस्तो केहीले पोल खोलेको त छैन नि ? कि हामीले कतिको टेन्डर हालेका छौ भन्ने कुरा । उसले बाक्खिदै भन्यो । उ टे केउ नै कहलेहो मामा त्यो त कसैले भनेको छैन मामा । उनले भने त्यसो हो भने न डराएर मन ठूलो गराएर ढुक्कसँग बस । यो वर्षको ठेक्का हामीले पाउँछौ पाउँछौ । अनयासै उनले मुट्ठी जोडले उठाए ।
गाउँलेहरूलाई ढुक्क देखेर शरणको छोरालाई चियो गर्न पठाए तर उ निराश भएर फर्कियो । उ फर्कि सकेपछि कातंर नजरले यताउता हेरेर सचिव कहां गएर बाबु छोराले विन्ती गर्दछन । हजुर टेन्डर अन्यत्र कतै नजाओस् है । आ–––म छँदा छँदै तपाईंहरूले किन पीर गर्नु हुन्छ । ल ल ल निर्धक्क रहनुहोस। सचिवले ढाडस दिदै रवाफिलो पारामा भने । उनीहरूको अनुहार अलि अलि हँसिलो देखियो । गाउँपालिका अगाडिको भीड देखेर कौतुहुलता मेटाउन मानिसहरू एक छिन रोकिएर सोधपुछ गर्दथे र कुरा सुनेर कसैले ए लौ राम्रो गर्नु भयो जाल गर्लान् भनेर सचेत गराउँथे । कसैले तपाईंहरूलाई के पर्न देलान भनेर । निरास गराउँथें जेहोस् चर्चा चर्कै थियोे । उनीहरूले यता पट्टीको कुनै सुराक नपाएपछि टेन्डरको कागज लगेर बुझाए । समय पनि बित्दै गएकाले गाउँले हरूले पनि टेन्डर बुझाउन गए ।

टेन्डर बुझाउन गएका गाउँलेहरूतर्फ कटाक्ष गर्दै भुपबहादुरको जेठो छोराले भने अब त ठेकेदार बन्ने भईस हैन गेदवा । गेदवाले पनि निर्धक्क संग भने बनम नैटेका करम ओस्टे सोचलटो । नबनेर कहाँ छाडछु तिमीहरूले के खेलाची ठानेका छौं उनीहरूतर्फ औला ठड्याउँदै भने । सचिव मुसु मुसु हाँस्दै थिए । टेन्डर पर्ने समय सकिए पश्चात् त्यो खोल्ने बेला भयो तिनवटा टेन्डर परेकोमा सचिवले दुईवटा खोलेर रोकिएका के थिए,गेदवाले भने हमार टेन्डर काकरे नै खोलठुई । – हामीले हालेको टेन्डर किन खोल्नु हुदैन ? गेदवाको कुरामा सबैले समर्थन गर्दै भने हो हो खोल्न प¥योे । सचिवले हतपत गर्दै तेस्रो टेन्डर खोले त्यो टेन्डर ५२ हजारको रहेछ । सचिवले कहिले गेदवालाई कहिले बुढाथोकीका बाबू छोरालाई पालैपालो हेर्छन् र भन्छन् टेन्डर प्रेमबहादुर चौधरीको नाममा हुने भयो मैले केही बेरमा सुचना निकाल्छु तपाईहरू बाहिर जानुस भने । गाउँले सबै बाहिर आए गाउँलेहरूको अनुहारमा वर्षौं पछि एक नयाँ चमक थियोे । केही समय पछि सुचनापत्रमा सुचना टांस हुन्छ । अरू कागजी प्रकृया पुरा भएपश्चात् गाउँले घरतर्फ लाग्छन् । गेदवाको पसलमा बलिराम हरि प्रसाद,र अरू एक दुई जना नास्ता पानी खाँदै थिए । लमही तिरबाट एक बगाल पुलिस हतियार सहित यो गाउँ माओवादी को को छ केरकार गर्दै थिए गेदवाले बठ्याइँ गरेर आफ्नो जहानसंग एउटा सिगरेट माग्ने ग्राहक बनेर त्यहाँबाट मकैबारीमा कुदिहाल्यो । बलिराम र हरिप्रसादलाई बन्दुकको कुन्दाले हिर्काउँदै घाइते नै बनाएर गिरफतार गरेर लिएर गए । भोलि पल्ट गाउँका मानिसहरू गएर छुडाएर ल्याउने काम गरे । यो सबै योजना भुपबहादुर बुढाथोकिको जेठो छोराले गराएको हो भन्ने कुरा खुल्न आयो । यो खबरले गाउँमा निकै धेरै क्षोभ, आक्रोस, र घृणा फैलियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित