– नारायण योगी
यसपाली काठमाण्डौको बसाइको बेला नेपाली साहित्य जगतका सुपरिचित साहित्यकार कृष्ण धराबासीको बहुचर्चित उपन्यास दोस्रो पटक पढ्ने मौका प¥यो । मैले यो उपन्यास पहिलोपटक २०५८ मा आध्योपान्त पढेको थिएँ । उतिबेला नै यसबारे लेख्ने सोंचाई बनाएको भएतापनि लेखिहाल्ने काममा विविध कारणले लाग्न सकिएको थिएन र यसपाली संयोग जु¥यो । शरणार्थी उपन्यासका बारेमा कृष्ण धराबासी लेख्छन् ः कामको खोजीमा जहाँ पुगेपनि नेपालीहरू आफ्नो भाषा, संस्कृति र परम्पराले अलग्गै छन् । सयौं वर्षदेखि विदेशमा रहेर पनि तिनको पहिचान मेटिएको छैन । आज शरणार्थीको रूपमा क्याम्पमा बसेका हुन् वा कुम्लो बोकेर भारतका विभिन्न प्रान्तहरूबाट बसाइँ गरी फर्किएका हुन्, तिनमा भाषाले, रङ्गले, पोसाकले, अनुहारले, केहीले पनि अनेपाली छैनन् । निश्चय पनि लेखकले यो कुरा जस्ताको तस्तै अझ भनांै किटानीका साथ दूधको दूध पानीको पानी बनाएर लेखेका छन् । शरणार्थी उपन्यासको सम्बन्धमा धराबासी थप लेख्छन् – यस पुस्तकमा प्रयोग भएका पू्र्व प्रकाशित कृति र पात्रहरू निम्न छन् । लिल बहादुर क्षेत्रीका –बसाइँ र ब्रहमपुत्रको छेउ छाउँ, गोबिन्दराज भट्टराई –मुग्लान, प्रकाश कोविद– नोयो शिवकुमार राई– डाक बङग् ला, रूपनारायण सिंह –भ्रमर, बिरबिक्रम थापा– टिस्टादेखि सतलज सम्म, लैनसिंह वाङदेल– मुलुक बाहिर, ठाकुर प्रसाद गुरागाई – गङ्गा, धुर्व चन्द्र गौतम र ध्रुव सापकोटा –ज्यागा, ईन्द्रबादुर राई आफु मात्र लिखापानि आईपुगी (कथा), पदम क्षेत्री तुराका नेपालीहरू (इतिहास), छत्र बहादुर बस्नेत विगतका स्मृतिहरू(स्मरण ) शिरिषको फुल (उपन्यास)का कैयौं पात्रहरूलाई झिकेर प्रयोग गरिएको छ ।–पृ–१९
उपन्यासका सम्बन्धमा उनले लेख्छन्–पुर्व प्रकाशित उपन्यासबाट यस उपन्यासमा आईपुगेका पात्रहरू अगिल्ला उपन्यासहरूमा जहाँ जहाँ उभिएका थिए । त्यहीँबाट हिडेर यस उपन्यासमा आईपुगेका छन् । त्यसैगरी यस उपन्यासमा आईपुग्दा कति पात्रहरूले अगिल्ला उपन्यास कै स्वाभाव र चरित्रलाई सिधै बोकेर ल्याएका छन् । भने कतिले आफ्नो बानी व्यहोरा परिवर्तन गरेका छन् । कथाका पात्रहरू उपन्यासका प्रमुख पात्र पनि बन्न आएका छन् । भिन्नाभिन्नै उपन्यासका भिन्नाभिन्नै प्रसङगका पात्रहरू यस उपन्यासमा एकै ठाउँ व्यथा भोग्न आई पुगेका छन् । पाठकहरूको सम्बन्धमा उनले लेख्छन् –पाठकहरूलाई पढदै जाँदा कति ठाउँमा न बुझे जस्तो हुने । विषयवस्तु र पात्रहरू खाप्चे पर्ने । कथावस्तु पुराण जस्तो शाखा प्रशाखा बन्दै पात्रदेखि पात्रसम्म सर्दै जाने पनि भएको छ । उपन्यासलाई यथार्थतामा ल्याउन खोज्दा धेरै अप्ठ्याराहरू पनि यसमा समावेश भएका छन् ।
उपन्यासमा वास्तविक पात्रहरूको परिचयमा नेपाली साहित्यका एक शिखरपुञ्ज–इन्द्रबहादुर राई, प्रसिद्ध भारतीय नेपाली उपन्यासकार– लिल बहादुर क्षेत्री, बर्मेली बाजे भन्ने – शनिश्चरे बजारका नरनाथ लुईटेल, शनिश्चरेकै समाजसेवी–पटवारी हरिविलाश वन, शनिश्चरेकै–लप्टन रणबहादुर बुढाथोकी, दल बहादुर थापा, रामलखन गुप्ता, शिव प्रसाद दहाल, रघुवीर बुढाथोकी, कपिल मुनि भट्टराई र तुराका सम्मानित नेपाली व्यक्तिहरूमा–कृष्णलाल उपाध्याय सुकविर राई गणेश चन्दर खत्री, छत्रमान लोहार एच एन बोरा, यसैगरी अन्य नामहरू दोर्णाचार्य खत्री, भगवान सिंह, लक्ष्मी पाण्डे, सुभाष घिसिङ, टेकनाथ रिजाल, जोगेन गजमेर, सुशील पोख्रेल, आरके बुढाथोकी, आरबि बस्नेत, रोङथोङ किन्ले दोर्जि, रिन्जेन दोर्जि, थिन्ले पेन्जोर, डिपि राना साम्पाङ, कमल मिश्र, कृष्ण हुमागाई, लेखनाथ, लोकराज ढकाल,र लेखक कृष्ण धराबासी रहेका छन् ।
शरणार्थी उपन्यासको लेखनमा उपन्यासकार धराबासीले निकै परिश्रमका साथ खोज, अध्ययन, अनुसन्धान, अन्वेषण र संवाद गरेर उपन्यास लेखेका छन् । साथै त्यसलाई ऐतिहासिक रूपमा दस्तावेजीकरण गरेर र उपन्यासमा वास्तविक पात्रहरूलाई समावेश गर्नुका साथै करिव चौध वटा उपन्यास र कथाका विषयवस्तुलाई उपन्यासमा जोडनुमा लेखकको विशिष्ट शिल्पकला झल्किन्छ जो उनको एउटा नयाँ प्रयोग पनि भन्न सकिन्छ । यसरी उनले नेपाली साहित्य आकाशमा नयाँ किर्तिमान कायम गरेको कुरामा कुनै शंका छैन । लेखक यस उपन्यासका लागि बधाईका पात्र पनि बनेका छन् ।
शरणार्थी उपन्यास २१२ पृष्ठको रहेको छ । जसमा लेखकले जम्माजम्मी आठ अध्याय राखेका छन् । ती सबै अध्यायका विषयवस्तुहरू ओझिला, मर्मस्पर्शी र पाठकलाई उद्देलित गराउनुका साथै नेपाली नै शरणार्थी बन्नुपर्ने के कुरा हो त्यस्तो ? पाठकलाई सोेंच्न विवश तुल्याउँछन् लेखकले । आज संसारभरमा आप्रवासन समस्या विकराल बन्दै गएको कुरा ध्रुव सत्य हो । तर प्राकृतिक रूपमा सम्पन्न र पौरखी वीर गोर्खाली एक छाक खान र एक आङ लाउनका लागि किन पराई मुलुक गएर रगत पसिना बगाएर बाँझो जमिनलाई उर्वर बनाएर हिरा मोति फलाएर त्यो धर्तीलाई सम्पन्न बनाउने काम गरे वापत तीन पुस्ता बसेको ठाउँ किन छोडनु प¥यो ? पाठक माझ उनले गम्भीर प्रश्न तेर्सायाएका छन् । उपन्यासको पहिलो अध्यायमा नै निकै मर्मस्पर्शी, पीडादायी र पाठकको मनलाई व्यथित बनाउने घटना विवरणका परिदृश्यलाई राखेर पाठक वर्गलाई भावुक बनाउने काम गरेका छन् ।
रामप्रसाद खनाल शीर्षक अध्यायमा उनले कथा यसरी उनेका छन् । रामप्रसाद खनाल आफ्ना नाबालक छोराछोरी र पत्नी सहित सकुशल भारतको नक्सलबाडीबाट मेची बगर हँुदै नकलबन्दा निस्के । नेपाली भूमिमा पाईला राख्नासाथ सबै का छाती हर्ष र खुशीले थामिनसक्नु भयो । नेपाली माटोमा भारी बिसाएर उनीहरू बसे । त्यहीँ लडीबुडी गरे । माटो छोए, सुंघे, जिब्रोले थोरै थोरै माटो चाटे । जानेर वा न जानेर सबैका आँखा रसाएका थिए । रामप्रसादका छोराछोरी सानै भए पनि दुःख र समस्याहरूले उनीहरू पाकिसकेका थिए । झन्डै एक महिनाको असुरक्षा र भागदौडले उनीहरूलाई वयस्क बनाईसकेको थियोे । उनको जेठो छोरो हरिप्रसादले माटो हातमा लिएर खेलाउँदै भन्यो । बुबा ! माटो त बर्माको, भारतको र नेपालको जहाँको पनि उस्तै नै छ त, फेरि किन हामीलाई उनीहरू लेखेदेको ? पृथ्वी भरि जहाँको पनि माटो त उहीँ त रहेछ नि, हैन बुबा ।,
रामप्रसादले छोराको जिज्ञासाको कुनै उत्तर दिएनन् । उनलाई छोराका प्रश्नको उत्तर भन्न नसकेर हो वा उत्तर दिन मन नभए र बोल्न मन लागेन । छोरो भाइ बहिनीहरूसँग कुरा गरिरहेको थियो ।–– बुझयौ ! अब हामी हाम्रो देश आयौं । हाम्रो हजुरबुबा जन्मेको देशमा आयौं । अब हामीलाई यहाँबाट कसैले खेदन सक्दैन । अब त हामीले कही भाग्नु पनि पर्दैन । थाहा छ, मेचीको पश्चिम किनाराको डिलमा घन्टौ बसेर उनीहरूले आफ्नो देश टेकेको अनुभव गरिरहे । खोई के भएर हो –यस माटोमा मिठो गन्ध थियोे । निस्फिक्रि थियो, न्यायोपन थियो, प्रगाढ आत्म सुरक्षाको आत्म विश्वास थियोे । अब कतै भाग्नु नपर्ने र कसैले खेदन नसक्ने दर्हाे तागत थियोे । रामप्रसादका आँखा र नाकबाट निकैबेर सम्म पानी बगिरह्यो । उनले गम्छाले नाक र आँखा धेरै पल्ट पुछे । स्वास्नी जमुनाले भनिन् अब त खुशी पो हुनुपर्छ त । हेर छोराछोरी कति खुशी छन् । कति रमाइरहेका छन् । अब त आफ्नो देशमा आईपुगेका छौं जे त होला । एउटा व्यवस्था जसरी पनि गरिएला ।
रामप्रसाद ले भने– म भोलि पर्सि के होला भनेर रोएको होइन जानु म त कसरी यहाँसम्म हामी आउन सक्यौं ? यहाँसम्म आउनलाई कति कठिन भयो ? आज आफ्ना पितृभूमिमा पाईला टेक्न पाउँदा साच्चै भनेको, आमाकै छातीमा मुन्टो लुकाएर स्वाँ स्वाँ गरी सास फेरेझै लाग्यो । मेरा आँखा भावुकताले भरिए जानू म रोएको होईन ।
रामप्रसादले यस उपन्यास मार्फत जुनसुकै देशमा गएको परदेशी नेपाली वा अन्य कोही भए पनि जब उ वर्षाै वा पुस्तौ पछि पनि जब उ आफ्नो पुर्खौली थलो फर्कन्छ तब उ कति भावुक बन्दछ । हर्षले उसको रोम रोम पुलकित हुन्छ । उसको करिब करिब शुन्यमा पुग्न लागेको आशा र आत्म विश्वास कसरी जगमगाएर बौरिन्छ यसरी उसको राष्ट्रप्रेम छताछुल्ल भए र पोखिन्छ रामप्रसाद र उनको परिवार मार्फत । उनले हरिप्रसाद मार्फत् संसार भरमा जहाँ कही जो कोही पनि आफ्नो पौरख गरेर खान सक्छ किन लखेटिनु पर्ने भन्दै बर्मा को माटो, र नेपालको माटोमा कुनै भिन्नता नभएको बताएर लेखकले अन्तर्राष्ट्रियतावादको वकालत गरेका छन् ।
वर्माबाट भागेर आउने बेलामा बस्नेत थरका एकजना व्यक्तिको बुबा बीच बाटोमा नै खुट्टा सुन्निएर जब हिंड्न नसक्ने अवस्था हुन्छ त्यतिबेला ती वृद्ध अवस्थाका मानिसलाई सबैले छाडेर अगाडि बढनु पर्ने बाध्यता हुन्छ । त्यतिबेला उनले भन्दछन्–आँखाभरी आँसु लिएर हात हल्लाउँदै भने – नानी ! बाटामा हाम्रा केटाकेटीहरूसँग जम्का भेट भयो भने अब मेरो प्रतीक्षा नगर्नु, आफुलाई जसरी पनि बचाएर यो विपत्तिबाट उम्काउनु र अब कतै नअडिनु खुरुखुरु नेपाल जानु भनेर बाले भनेको छ, भनी सुनाई दिनुहोला । वर्माबाट हिड्ने बेलामा त आसामतिरै बस्ने भन्ने सल्लाह भएको थियोे तर अब उनीहरू विदेश नबसुन र तिमीहरू पनि सरासर नेपाल जानु आफ्नै देश जानु । यसरी लेखकले बस्नेतका वृद्धअवस्थाका पितामार्फत् विदेशिएका सबै नेपालीहरू बाटोमा नअल्मलिईकन देशमै फर्केर जाने बेजोड सन्देश दिन खोजेका छन् । जो निकै मर्मस्पर्शी र हृदयविदारक वृत्तान्तहरू वर्माबाट भागेर आउँदाका विवरणहरू यस उपन्यासमा माला बनाएर उनका छन् ।
लेखकले अध्याय दुईमा जयमाया मार्फत भुटानी शरणार्थीको कथा व्यथालाई सरसर्ती साथ बयान गरेका छन् । यसमा भुटानमा नेपालीहरू कसरी कति सालमा झिकाईए, त्यहाँका वास्तविक आदिवासी को थिए ती सबै ऐतिहासिक तथ्यका साथ वर्णन गर्दै नेपाली मुलका भुटानी शरणार्थीहरूमाथि घनघोर अन्याय भएको छ भन्ने कुरा यसमा दर्शाउन खोजेका छन् । उनी लेख्छन्– भारत र चीनको बीचमा ४८०० वर्ग किमी क्षेत्रफल ओगटेको भुटान एउटा सानो मुलुक हो । करिव सात लाख जनसंख्या रहेको यो देश स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राज परम्परायुक्त मुलुक हो । सार्चाेप, ङवालाङ र लोत्सोम्पा गरी तीन जातिका मानिसहरूको बसोबास गर्ने भुटानमा ङवालाङ,–१६%, सार्चाेप३१%र लोत्सोम्पा ५३% छन् । भुटानको कुल जनसंख्याको आधा भन्दा बढी भागमा लोत्सोम्पा जातिका मानिसहरूले भरिएको छ । भुटानका यी तिनैवटा जातिहरू त्यहाँका आदिवासी होइनन् । विभिन्न समयमा विभिन्न जाातिहरू तीन तिरबाट त्यहाँ पुगेको इतिहासमा पाइन्छ । त्यहाँ पहिलोपटक सार्चाेप जाति, त्यसपछि डुक्पा जाति त्यहाँ पुगेको पाइन्छ । भुटान राज्यको स्थापना पछि त्यहाँ राजसंस्थाको स्थापना भयो र तत्पश्चात् भुटानका प्रथम राजा उगेन वाङचुकले भारतका विभिन्न स्थानमा छरिएर रहेका नेपाली मुलका मानिसहरुलाई भुटान बोलाई दक्षिण भुटानको अनकन्टार निर्जन ठाउँलाई वस्तीयोग्य र उत्पादनशील बनाउन उपयोग गरेको कुरा इतिहासमा उल्लेख गरेको पाइन्छ । यसरी रामशाहका पालामा राजा सबदु्रङ नर्वाङ नामगेलले ५० गोर्खाली परिवारलाई गोर्खाबाट झिकाई विष्णु थापाको नेतृत्वमा भुटान लगिएको थियोे । यसैगरी राजा शिवसिंहका पालामा पनि ठूलो संख्यामा नेपालीहरूलाई भुटान पठाइएको थियोे ।
लेखक कृष्ण धराबासीले आफै पनि लेखेका छन् कि यो उपन्यास पढदा पाठकलाई कही कथा जस्तो, कहींं इतिहास जस्तो, कहीं कुनै विवरण जस्तो, कहीँ पत्रकारद्वारा लिखित समाचार जस्तो त्यस्तो छैन तैपनि यो नयाँ प्रयोगले पाठकलाई वर्मादेखि ,आसाम, मेघालय, दार्जिलिङ, हँुदै भुटानसम्मको बारेमा कतै इतिहास, कतै सामाजिक, सांस्कृतिक, आर्थिक आदिको जानकारी गराउँछन् । लेखकको उपन्यासको समिक्षा गर्दै वरिष्ठ साहित्यकार दानखालिङ लेख्छन् –यस कथामा धराबासी धर्तीमै ढसमस्स बसेर साँच्चिकै धराबासी बन्न पुगेका छन् । प्रस्तुत उपन्यासभरी कृष्ण पृथ्वीमा छन् । उनी माटामा गाडिदै भासिदै गहिरिदै गएका छन् । यहाँ कहीं पनि कृष्ण आकासत्तवमा बत्तिएका छैनन्, यद्यपि उनी कवि पनि हुन् । उनले अगाडि लेख्छन्– यस पुस्तकमा नेपालीहरूको एक किसिमको जीवन छ अर्थात् पृथ्वीमा जीउनै पर्ने जीवनको विस्तृत वर्णन छ । त्यस किसिमका नेपालीहरूको जीवन तिनको संसार र बाध्यता जिउँदा छन् । दुःखलाग्दो, टिठलाग्दो । तर पुस्तक पढिसकेपछि एउटा अजङगको प्रश्न सामुन्ने ठडिन्छ । नेपाली को को हुन् । यसरी यो उपन्यासलाई पढदा एउटा तथ्यमूलक जानकारीको साथै विश्वव्यापी छरिएर रहेका नेपालीहरू बीच भातृत्व प्रेमको भावना सिर्जित हुन्छ भने यस प्रकारको परिस्थिति निर्माणमा को को जवाफदेही छ ? आदि प्रश्नहरू जाज्वल्यमान बनेर हाम्रो सामु लेखकले उभ्याउने प्रयत्न गर्दछन् । तसर्थ पुस्तक पठनीय र संग्रहणीय पनि छ । अस्तु।


