चलचित्र “पूर्ण बहादुरको सारङगी” एक समीक्षा

-नारायण शर्मा
नेपालको फिल्मी बजार यतिबेला पनि चलचित्र “पूर्ण बहादुरको सारङ्गी” को चर्चा परिचर्चामा तातिरहेको छ । प्रदर्शनको चार हप्ता बित्दै गर्दा यो चलचित्रले बक्स अफिसमा झण्डै ५० करोड आम्दामी गरेको बताइएको छ । नेपाली चलचित्र जगतको इतिहासमा यो अहिलेसम्मको सर्वाधिक आम्दानी हो । यसरी यो चलचित्र सबै भन्दा बढी आम्दानी गर्ने नेपाली चलचित्रको पहिलो स्थानमा पुगेको छ । एकदिनमा सर्वाधिक धेरै कमाइ गर्ने, सर्वाधिक शो पाउने लगायतका रेकर्ड पनि यो फिल्मले राखेको छ । सामाजिक सन्जाल फेसबुक, टिकटक, ट्वीटर जताततै यो चलचित्र हेरेपछि आँसु झार्दै बनाइएका भिडियोहरु अहिले पनि छाइरहेका छन् । के चलचित्र “पूर्ण बहादुरको सारङ्गी” साँच्चै दर्शकको मन पगाल्ने खालकै छ त ? कस्तो छ यसको कथावस्तु ? यसले दिन खोजेको सन्देश खासमा के हो ? के छन् यो चलचित्रका सबल र दुर्बल पक्षहरु ? यो संक्षिप्त टिप्पणीमा तिनै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको छ ।
नेपाली समाजको यथार्थ चित्र ः
चलचित्र “पूर्ण बहादुरको सारङ्गी” ले नेपाली गाउँले समाज, त्यसमा पनि विशेष गरेर गन्धर्व समुदायको तीसको दशकदेखि साठीको दशकसम्मको कथावस्तु बोकेको छ । चलचित्रको मूल कथावस्तु गन्धर्व समुदायको एक बाउले आफ्नो छोरालाई पढाएर डाक्टर बनाउन गरेको कठिन संघर्षमा केन्द्रित छ । चलचित्रको कथावस्तु नै हृदयस्पर्शी छ । यो फिल्ममा हाम्रो नेपाली समाजको त्यो बेलाको सामाजिक संरचनाको समूल चित्र उतारिएको छ भन्दा सायद फरक पर्ने छैन । सारङ्गी रेटेर जीविकोपार्जन गर्ने गन्धर्व समुदायले समाजमा सहनु परेको विभेद र अपमानको पीडा मसिनो गरी प्रस्तुत गरिएको छ चलचित्रमा । त्यो बेलाको समाजमा मानिसहरुको चेतनाको स्तर, दलित समुदाय प्रति कथित उच्च भनिने जातिहरुले गर्ने व्यवहार, अभाव र गरिबीसँग जुध्दै एक बाउले आफ्नो छोराको सुन्दर भविष्यका निम्ति गरेको संघर्षलाई चलचित्रमा सजिब ढंगबाट उतारिएको छ । बाउ – छोरा बीचको भावनात्मक सम्बन्धलाई चलचित्रमा बडो मर्मस्पर्शी ढङ्गबाट प्रस्तुत गरिएको छ । हरेक बाउ आमाहरुले आफ्ना सन्ततिको सुन्दर भविष्यका लागि आफ्नै खाले कठिन संघर्ष गरिरहेका हुन्छन् नै । यस चलचित्रले आफ्ना छोराछोरीको लालनपालन तथा शिक्षा–दीक्षाका लागि एउटा ‘बा’ले जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन् भन्ने मूल सन्देश प्रवाह गरेको छ । त्यसैले, यो चलचित्र हेर्दा प्रत्येक दर्शकलाई आफ्नै कथा जस्तो लाग्नु अस्वभाविक होइन । यो चलचित्रले नेपाली मौलिकपन बोकेको छ । विदेशी त्यसमा पनि भारतीय चलचित्रहरुको दबदबा रहेको नेपाली फिल्मी बजारमा यो चलचित्रले त्यो दबाबको घेरा तोडेको छ, यो निकै राम्रो पक्ष हो । विदेशी फिल्मको नक्कल गर्दै तडकभडक र अश्लिलतालाई प्रश्रय दिएर होइन नेपाली समाजको यथार्थ अवस्था चित्रण गरेर चलचित्र बनाइयो भने ती पनि सफल हुने रहेछन् भन्ने मान्यता यो चलचित्रले स्थापित गरिदिएको छ ।
जीवन्त अभिनय ः
अभिनय त्यो बेला मात्रै जीवन्त देखिन्छ जब कलाकारले कथामा सिर्जना गरिएको पात्रको जीवनीमा आफुलाई पूर्वरुपमा समाहित गर्न सक्छ । कलाकारले गर्ने त अभिनय नै हो तर हेर्ने दर्शकलाई यो कथाको वास्तविक पात्र नै यही रहेछ भन्ने भान पार्न सक्नु नै त्यो जीवन्त अभिनय मानिन्छ । यसरी हेर्दा यो चलचित्रमा प्रायः सबै कलाकारहरुको अभिनय जीवन्त देखिन्छ । आफूलाई दिइएको भूमिका प्रति प्रायः सबै कलाकारहरुले पूर्णरुपमा न्याय गरेका छन् । चलचित्र होस् या नाटक मुल कलाकारको अभिनय कला जतिसुकै उत्कृष्ट खालको भएपनि उसलाई सपोर्ट गर्ने अन्य सहायक कलाकारहरुको अभिनय क्षमता कमजोर रह्यो भने त्यो मूल कलाकारको अभिनय पनि कृतिम र फिकामा परिणत हुन्छ । तर यो चलचित्रमा प्रमुख र सहायक भूमिकामा रहेका कलाकार कसैको अभिनयमा पनि खोट लगाउने ठाउँ भेट्न मुस्किल पर्छ । सामान्य सहायक भूमिकामा रहेका कलाकारहरुले पनि उत्कृष्ट अभिनय गरेका छन् । चलचित्रमा नाट्यमन्चमा खारिएर आएका कलाकारहरुको बाहुल्यता रहेका कारण पनि सबैको अभिनयमा त्यो निखारपन र जीवन्तता देखिएको हुनु पर्छ ।
मानिसका आँखाबाट आँसु त्यसै झर्दैनन, कुनै पनि कुराले उस्को भित्री मनमा छोए पछि नै मान्छेले आँसु झार्ने गर्छ । यो संवेदनाको कुरा हो । चलचित्रका धेरै दृश्यहरुले दर्शकको मन पगाली दिन्छन् । पूर्ण बहादुरको छोरा कान्छाले आमाको हात छाडी भागेर बाबासँग आइ अङ्गालो मार्दाको दृश्य, कान्छाले लगाएको कमिज हेडसरको हप्काइ पछि खोलेर फाल्दाको दृश्य, जहाँ जाँदा पनि आफ्नो बालाई हेपेको देखेपछि कान्छाले बालाई “बा किन तिमीलाई सबैले हेप्छन् ?” भनेर सोधेको दृश्य, पूर्ण बहादुरको बा बित्ने बेलाको दृश्य, छोराको पढाइका निम्ति खर्च जुटाउन गाउँदै हिंड्दाका ती दृश्यहरु, कथित धार्मिक भिरुहरुको झुण्डले पुर्णे माथि आक्रमण गर्दाको त्यो दृश्य, छोरोलाई पढाइको खर्च पठाउन पूर्ण बहादुरले घर र सारङ्गी नै बेच्नु पर्दाको त्यो कारुणिक अवस्था, जीवनको अन्तिम घडीमा छोरोको चिठी लिएर पूर्ण बदादुर भौतारिँदै हिडेको त्यो दर्दनाक दृश्य, आफ्नो बुवा बितेको थाहा पाएपछि डाक्टर कमलको त्यो रुवाइ चलचित्रका ती दृश्यहरु हेर्दा जो कोही दर्शकहरुको पनि आँसु झारिदिन्छन्, जसलाई अस्वभाविक मान्न सकिँदैन ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ’पूर्णबहादुरको सारंगी’ मा विजय बराल (पुर्ण बहादुर) सहित प्रकाश सपुत (पूर्ण बहादुरको छोरा ठूलो भएपछि– डाक्टर कमल) अन्जना बराइली (बाटुली) माओत्से गुरुङ, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, विनोद न्यौपाने र बाल कलाकार स्वम केसी (कान्छा – पुर्ण बहादुरको छोरा सानो बालावस्थामा), लगायतको अभिनय रहेको छ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् भने विनोद पौडेल र प्याट्रिक सुवेदी यो फिल्मका निर्माता हुन ।
पितृसत्तात्मक र प्रतिगामी सोच ः
हामी के कुरामा स्पष्ट हुनु जरुरी छ भने चलचित्र पूर्ण बहादुरको सारङ्गी अभिनय कला र कथावस्तुको हिसाबले उत्कृष्ट रहँदा रहँदै पनि मूलतः एउटा व्यवसायिक चलचित्र नै हो । समाजमा रहेको विभेद, गरिवी, असमानता , जातीय कुप्रथा हटाएर सुसभ्य र समुन्नत समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने यो चलचित्रको मूल उद्देश्य होइन । यो चलचित्रको मुख्य उद्देश्य पनि बढी भन्दा बढी व्यवसायिक मुनाफा कमाउनु नै हो ।
नेपाली समाजमा रहेको जातीय विभेद र असमानतालाई चलचित्रको मुख्य कथावस्तु बनाएर ल्याइएको भए तापनि यसका निर्माता तथा लेखक निर्देशकको मूल सोँच पितृसत्तात्मक र प्रतिगामी खालको रहेको चलचित्र हेर्दा प्रष्ट बुझ्न सकिन्छ । विशेष गरेर चलचित्रमा नायिका बाटुली (अन्जना बराइली) लाई जुन भूमिकामा जसरी उभ्याइएको छ त्यसले लेखक तथा निर्देशकमा रहेको पितृसत्तात्मक सोचको उजागर गर्दछ । सारङ्गी रेटेर जिविकोपार्जन गर्दै आएको गन्धर्व परिवारमा बुहारी बनेर आएकी बाटुली आफ्नो सन्तानले त्यो दुख झेल्न नपरोस्, छोरोले पढोस् र शिक्षित बनोस् भन्ने चाहान्छिन । त्यसको लागि परिवारमा उनले संघर्ष गर्छिन । त्यो उनको प्रगतिशील र विद्रोही साेंच हो र जायज देखिन्छ । तर त्यस्तो सोच राख्ने नायिकाको भुमिकालाई लेखक र निर्देशकले अन्ततः रहस्यमय पर्दाले छोपेका छन् । उनलाई निर्दयी र चरित्रहीन नारीको रुपमा गुमनाम पारिएको छ । ससुराबुवाको लास घाटमा जलाइरहेकै बेलामा शहरबाट आएको पुरानो चिनारु साथी हर्केसँग बाटुलीलाई छोरो सहित भगाइएको छ । यद्यपि बाटुलीको उद्देश्य हर्केसँग पोइला जानु नभई शहरमा गएर आफुले काम गर्ने र छोरोलाई पढाउने भएको पछि प्रष्ट त हुन्छ । तर नाबालक छोरो फर्किएर बाबासँग आएपछि र हर्केले आफुसँग पोइला आएको चिठी लेखेको रहस्य खुलेपछि पनि बाटुलीको भूमिकालाई रहस्यको पर्दाले छोपेर निर्देशकले जसरी चलचित्रमा प्रस्तुत गरेका छन् त्यसले उनमा निहित पितृसत्तात्मक सोचलाई नै उजागर गर्दछ ।
अर्को कुरा चलचित्रमा प्रतिगामी सोचलाई पनि बडो मिहिनपारामा घुसाइएको छ । गणतन्त्र प्राप्तिको राजनैतिक आन्दोलनमा विभेद र उत्पीडिनमा पारिएका जाति र वर्गको कुनै चासो र संलग्नता थिएन भन्ने सफेद झुट चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रको नायक पूर्ण बहादुर जब जीवनको अन्तिम चरण तिर पुगिरहेको हुन्छ । छोराले आफू डाक्टर बनेको जानकारी दिदै शहरबाट पठाएको चिठी पढिदिन छिमेकीले नमानेपछि त्यो वर्षात्को बेलामा रुझ्दै, लोट्दै र पल्टिदै जब पूर्ण बहादुर आफ्नो घरतिर आइरहेको हुन्छ । ठिक त्यही बेला गणतन्त्रको पक्षमा नारा लगाउँदै जुलुश अघि नेपथ्यमा देखाइन्छ । जुलुश आफ्नो बाटो अघि बढ्छ बिचरा पूर्ण बहादुर छट्पटिदै छट्पटिदै घरतिर आउँछ, उसलाई सहयोग गर्ने कोही हँुदैन ।
प्रष्ट छ यो कारुणिक दृश्य मार्फत् निर्देशकले दिन खोजेको प्रष्ट सन्देश त्यही हो – गणतन्त्र प्राप्तिको जनआन्दोलन प्रति गरिब तथा विभेदमा पारिएका वर्ग र समुदायका जनताको कुनै चासो र सरोकार थिएन । तर यो सरासर झुठ र गलत तथ्य हो । गणतन्त्र प्राप्तिको आन्दोलनमा सबै तह र तप्काका जनताको सहभागिता रहेको थियो । लाखौ लाख जनता सडकमा उत्रिएर गणतन्त्रको पक्षमा आवाज घन्काएपछि नै त्यो बेलाको तानाशाह जनताका सामु झुक्न बाध्य भएको थियो । जनआन्दोलनको त्यो बेलामा हामी रुपन्देही क्षेत्रमा क्रियाशील थियाँै । गाउँ गाउँबाट किसानहरु मात्रै होइन मठ मन्दिरबाट भजनमण्डलीहरु पनि “लैजाउ भगुमान यो ज्ञानेलाई नर्कमा” भन्दै भजन गाउँदै बुटवलमा दिनहँु जम्मा भएर प्रदर्शन गर्दथे । आन्दोलनको नेतृत्व गरिरहेका तत्कालीन सात दल पनि जनताको त्यही दबाबका कारण गणतन्त्रको पक्षमा दरिलो गरी उभिन बाध्य भएका थिए । ती राजनैतिक पार्टी र केही नेताहरु बिग्रेका भनेको गणतन्त्र प्राप्ति पछि सत्तामा गएपछि हो । अहिले ती पार्टी र नेताहरुले जनआन्दोलनमा जनताले दिएको त्यो योगदान, जनताको त्यो अपेक्षा र आफैले जनता सामु गरेका बाचाहरु बिर्सँदै गए र ती पार्टी तथा नेताहरु प्रति जनताको वितृष्णा बढ्दै गैरहेको छ । तर यसको अर्थ गणतन्त्र प्राप्तिको त्यो आन्दोलन नै गलत थियो भन्ने कदापी होइन । तर चलचित्र पूर्ण बहादुरको सारङ्गीमा गणतन्त्र प्राप्तिको त्यो आन्दोलनप्रति समाजको तल्लो तह र वर्गका पीडितजनहरुको सहभागीता थिएन भन्ने झुठ स्थापित गर्न खोजिएको छ, जुन खेदजनक छ ।
त्यति मात्रै होइन तत्कालीन माओवादी जनयुद्ध प्रति पनि चलचित्रले गलत भाष्य निर्माण गर्न खोजेको छ । स्कूलको हेड मास्टरलाई माओवादी आन्दोलनको नेता, गाउँमा जातीय विभेद र दलित जातिप्रति दमन गर्ने निर्दयी खलनायकको भूमिकामा उभ्याइएको छ । त्यो दुवै भूमिकामा एकै व्यक्तिलाई नउभ्याएको भए राम्रो हुन्थ्यो । हो, त्यो बेलाको नेपाली समाजमा शिक्षित भनाउँदा कतिपय व्यक्तिहरुको व्यवहार त्यस्तो विभेदकारी अवस्य थियो । तर ती विभेदकारीहरु राजनैतिक दलमा आवद्ध नेता कार्यकर्ता भन्दा तत्कालीन पंचायती शासन व्यवस्थाका पक्षपोषकहरु नै बढी थिए । त्यसैले चलचित्रमा देखाइएको हेडसरको उक्त भूमिका तथ्यसँग मेल खाँदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित