महीन्द्र मरहट्टा र उनको सहादत

-मोदनाथ मरहट्टा
नेपाली कम्युनिष्ट आन्दोलनमा गोरखा जिल्लाको महत्वपूर्ण स्थान रहेको छ । खासगरी माओवादी आन्दोलनमा सयौँ योद्धाहरुको बलिदानीले यो भनाइलाई पुष्टि गर्छ । जिल्लाका धेरै स्थानहरुमा राज्यले सामूहिक हत्या शृङ्खला चलायो । थुमिको बाँसपुर , केराबारी, गाँखु बिरेञ्चोक, छेबेटारको सिर्दी खोला यी प्रमाणहरु हुन । माओवादी जनयुद्धलाई थेग्न नसकेर तात्कालीन काङ्ग्रेसी सरकारले देशमा सङ्कटकालको घोषणा गरी निहत्था जनता मार्ने अभियान सञ्चालनमा ल्यायो ।
२०५८ साल पुसको मध्य याम धर्तीमा चिसो बढ्दै गएको छ भने गाउँ वस्तिमा एकीकृत सुरक्षा फौजको ज्यादतिको ताप बढ्दै गएको छ । गोरखा जिल्लाका गाउँगाउँमा जनसेनाको उपस्थितिको सुराक खोज्दै तात्कालिक शाही नेपाली सेना परेड खेल्दो छ । पुस १३ गतेको रात गोरखा प्रहरी हिरासतबाट पाँचजना माओवादी कार्यकर्तालाई सदरमुकाम नजिकै बिरेञ्चोकको जङ्गलमा लगेर हत्या गरिन्छ र भोलिपल्ट बिहान सरकारी सुचनामा मुठभेडमा सात आतंककारी मारिएको हल्ला गरिन्छ । त्यो नक्कली मुठभेडमा षडानन्द पाण्डे, बिनु पोखरेल , दुर्गा पोखरेल लगायत थिए । बिनु पोखरेल र दुर्गा पोखरेल मङ्सिरमा नै गिरफ्तार गरी गोरखा प्रहरीको हिरासतमा थिए भने षडानन्द पाण्डे एमालेका कार्यकर्ताको अगुवाइमा गिरफ्तारीमा परेका थिए । तात्कालिक कमाण्डो फोर्सले गैह्र न्यायिक हत्या गरेको थियो । सदरमुकामकै आँगनमा मानव अधिकारको तुल टाँगेर माओबादिको सुराक गरिरहेका कथित अधिकारकर्मी, पत्रकार र आफ्नो कब्जामा आएका थुनुवाहरुको बाँच्न पाउने अधिकारप्रति उदासिन बनेको स्थानीय प्रशासन समेत त्यो हत्याको सरकारी साक्षी ठहरिए । भनिन्छ बिरेञ्चोक हत्याकाण्ड रच्ने तात्कालिक सत्ताका जिल्लास्तरका नेताहरुको हात थियो । यो भनाइ यसकारण पनि सत्य हुन्छ कि शाही सेनाको पोशाकमा कतिपय युवाहरु गाउँमा माओवादी चिनाउदै हिँडेका थिए । यो सामुहिक हत्याले माओवादी कार्यकर्ता र समर्थकहरुमा आक्रोश पैदा ग¥यो । त्यो घटनाप्रति माओवादी पार्टीले पनि गम्भीर ढङ्गले सोचिरहेको थियो । घटनाको स्थलगत निरिक्षण र यथार्थ पत्ता लगाउने जिम्मेवारी महिन्द्र मरहट्टा (समिर)को जिम्मा आयो ।
उनी त्यतिबेला गोरखा पश्चिम इलाकाको कमिसार थिए । फुर्तिलो शरीर र तीक्ष्ण बुध्दी भएका मरहट्टा सो घटनाको बिबरणका लागि त्यस स्थानतर्फ जाँदै थिए । पुस १५ गते दरौँदी नदी तरेर छेबेटारको बगैँचामा पुग्दै गर्दा एक्कासी एकीकृत सुरक्षा फौजसित जम्का भेट भयो । उनी त्यतिबेला निसशस्त्र थिए । सुरक्षा फौजको कमाण्डरले कब्जामा लिइ सोधपुछ गर्दै गर्दा शाही सेनासित आत्म समर्पण गरेको शिव लामिछानेले “यो महिन्द्र मरहट्टा हो र माओवादी छापामार हो” भन्दै चिनाएपछि मुखमा गोली हानेर हत्या गरियो । त्यो शिव लामिछाने उनकी एकोदरकी दिदीसित बिहे गरेको भिनाजु थियो तर उसले महिन्द्रको जिम्मेवारी र हैसियत समेत एकीकृत सुरक्षा टोली प्रमुखलाई बताइदियो ।
महिन्द्र मरहट्टाको जीवनी
गोरखा जिल्लाको तात्कालीन हर्मी पञ्चायतको छ नम्बर वडामा पिता नरनाथ मरहट्टा तथा माता अयोध्याको तेश्रो सन्तानको रुपमा २०३७ पौष २७ गते उनी जन्मिएका हुन । निम्न मध्यम परिवारको त्यो परिवारमा बा, काकाहरु शिक्षण पेशामा सङ्लग्न थिए । उनको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट शुरु गरियो । उनी जहाँ अध्ययन गर्दथे सो विद्यालयमा अखिल समर्थक विद्यार्थीहरूको बाहुल्यता थियो । बाल्याअवस्थामा उनलाई निमोनियाले पटक पटक सताइरहन्थ्यो किन्तु उनी पढाइ र घरायसी काममा निकै फुर्तिका साथ लागि रहन्थे । चालिसको दशकमा उनको घर कम्युनिष्ट कार्यकर्ताको आइजाइको केन्द्र पनि थियो यसबाट उनी कम्युनिष्ट विचार र संगठनप्रति आकर्षित हुँदै गए । एकातिर उनी सानैदेखि दलितमाथि हुने गरेको छुवाछूतको विरोधी थिए भने बा तथा काका शिक्षण पेशामा आवद्ध भएका कारण पनि उनलाई विद्यालय पठनमा र प्रगतिवादी चेतना निर्माणमा थप प्रेरणा पनि मिल्यो । उनले पन्ध्र वर्षकै उमेरमा गाउँको विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन । आफ्नो पढाइको अतिरिक्त खेलकुद तथा गीत, सङ्गीतमा पनि उनको रुची थियो । गाउँमा हुने जनवादी साँस्कृतिक कार्यक्रमले लोभिएर उनी जिल्लाभित्र हुने कार्यक्रमहरु खोज्दै त्यहाँ पुग्थे । यिनै दिनहरुमा नेकपा माओवादीले सशस्त्र संघर्षको शुरुवात ग¥यो । त्यसको केही दिनमा नै गाउँको एकजना व्यापारीमाथि छापामारहरुले कार्वाही गरे । गाउँमा प्रहरीको आतंक बढ्यो । त्यो घटनालाई जोडेर उनका बा, काका लगायत शिक्षकहरु पक्राउ परे । उनलाई के विश्वास थियो भने आफ्ना बा, काका त्यो घटनामा सङ्लग्न थिएनन तर राज्यले उनका बालाई जेल सजाय सुनायो । यो घटनाले उनीभित्र राज्य व्यवस्थाप्रति घृणा पैदा ग¥यो । एसएलसी उत्तीर्ण पछि उनी सदरमुकामको मानविकी कलेजमा भर्ना भए । जिल्लाभित्र अभियान साँस्कृतिक टिमले गीति कार्यक्रम सञ्चालन गर्दै गाउगाउँ जान्थ्यो यसै सिलसिलामा ५३ चैतमा उनी लुइँटेल भञ्ज्याङ पुगेको बेला तात्कालिक कमाण्डो प्रहरीले उनलाई गिरफ्तार ग¥यो । उनी साङ्गितिक कार्यक्रममा लोभिएर त्यहाँ पुगेका थिए । उनी नाबालिग थिए तर क्रुर प्रशासनले शान्ति सुरक्षाको कानुन देखाइ उनलाई गोरखा कारागारमा राखियो । उनीमाथि लागेको अभियोगमा कानुन व्यवसायीहरुले नाबालिगको दलिल पेश गरे । अदालतले तारिखमा रिहा गर्ने आदेश दिँदा पनि प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरी पुन जेल पठायो । कारागारमा रहँदा उनले अनौपचारिक अध्ययनलाई बढाए । उनी छिटफुट कविता पनि लेख्दथे । उनका केही कविताहरु जनादेश साप्ताहिकमा प्रकाशित भएका थिए ।उनलाइ गोरखाबाट कारागार सरुवा गर्दै कहिले बिरगञ्ज कहिले भैरहवा हुँदै केन्द्रीय कारागार पुर्याइयो । उनी जुन जुन कारागार पुग्दथे त्यहाभित्र हुने बेथितिको बिरुध्द लड्थे । केन्द्रीय कारागार पुर्याइए पछि उनी सिकिस्त बिरामी परे । कारागार प्रशासनले उनको उपचारप्रति कुनै चासो देखाएन ।
यसरी जेलभित्र हुने अपमान र बिभेदले उनलाइ झन बिद्रोही बनायो । पटक पटक जेल सरुवाको कारण उनभित्र चेतनाको स्प्रीट पनि बढ्दै गयो । उनी पहिलो वार्ताकालमा जेल रिहाइ भए र पार्टी सङ्गठनको सम्पर्कमा पुगे र जिम्मेवारीमा समर्पित भए । उनको त्यो युवा जोश अध्ययनको उच्चता आफ्नो निजी घर, परिवार र ब्यबहारपट्टी नलागी पार्टी क्रान्ति र मुक्तिको लागि अर्पणहुन तयार भए । उनको क्रुरतापुर्वक हत्या गरेपछि सुरक्षा सेनाले वेवारिशे अवस्थामा उनको शव मिल्काइदियो । उनको सहादतको पन्ध्रौँ दिनमा उनकी दिदीको पनि सुरक्षा फौजद्वारा हत्या गरियो । बर्गसङ्घर्षको मैदानमा सामन्तवादसित नझुकी उनले आत्म बलिदान गरे । सङ्कट कालमा मात्र होइन गोरखा जिल्लामा २०५२ फागुन १४ मा दिल बहादुर रम्तेलको हत्याबाट शुरु भएको हत्या शृङ्खला शान्ति सम्झौतासम्म आउदा हजारौँको बलिदानी भैसकेको थियो । महिन्द्रजस्ता सयौँ युवाहरुको बलिदानले प्राप्त भएको अहिलेको राज्य ब्यबस्थामा दलालहरुको ढलिमली देख्दा ती युवाहरूको बलिदानिलाई खिज्याए झैँ लाग्छ । गोर्खाली जनता भन्छन अर्को आँधिहुरीको खाँचो छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित