महत्वपूर्ण

-गौरी देवकोटा

जाग्नुपर्छ, जाग्नु महत्वपूर्ण कुरा हो
चिसो रातमा गन्तव्य समातेर
इतिहासमा जागेकाहरू
कम्ता सुन्दर थिएनन्
सूर्योदयको लाली
उम्रदै गरेको बाली
सृष्टि यात्राको सम्भाव्यता
त्यो भव्यता
त्यो आकर्षण !
सम्झनाले मात्रै पनि फुल्छ
पहरामा प्याउली

जुझारु इतिहासको समापनमा
जब उभियो, सम्भाव्यता नै सूर्यास्ततर्फ
खण्डहर भए
लहरिँदै गरेका तर्कनाहरू
विघटित भव्यता, आकर्षण
विगतको यादले
भिजिरहेको आँखा
उडिरहेको छारो
विपर्यास समय
खोटै खोटको प्रतिबिम्ब
यो वास्तविकता

वास्तविकतामा टेकेर उभिनु
महत्वपूर्ण कुरा हो
आधा बाटोमै थाकेका
आश्रय खोज्दै भागेका
सबैका बीच
खबरदारीमा निरन्तर उभिनु
झन् महत्त्वपूर्ण कुरा हो

रात चढ्दै जाँदा
चिसो बढ्दै जाँदा
थाकेकाहरू जागा हुनेछन्
न्यानोको तानातानमा
आश्रितहरू लखेटिनेछन्
खस्ने छ, सडेर
खोटी विचारहरू

अविचलित उभिनेहरूको लाममा
उभिन आइपुग्नेछन्
कोही अगाडिबाट
कोही पछाडिबाट

अविचलित उभिनु महत्त्वपूर्ण कुरा हो
सुन्दर यात्राका अनवरत यात्री बन्नु
अझ महत्वपूर्ण कुरा हो
जाग्नु पर्छ, जाग्नु जीवन हुनुको सार हो
अविचलित जाग्नु युगकै अभिभार हो
विगतका सुन्दरतामा पाइन थप्न
आरनसहित उभिनु
अझ महत्वपूर्ण कुरा हो
उभिनु मात्रै हैन दह्रोसँग उभिनु
आदर्शसहित उभिनु
र साथसाथ उभिनु
अझ अर्थपूर्ण कुरा हो
जाग्नुपर्छ, जाग्नु महत्त्वपूर्ण कुरा हो
उभिनुपर्छ, उभिनु अझ महत्वपूर्ण कुरा हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित