– लिला पुन
आज माघेसक्रान्ति अर्थात माघको १ गते पहिलो दिन । ज्योतिष शास्त्र अनुसार आजको दिनबाट सूर्य धनुराशीबाट मकर राशीमा प्रवेश गर्दछन् । आजको दिनलाई जाति, ठाउँ, संस्कार अनुसार विभिन्न नामले पुकार्ने र मान्ने चलन छ । जस्तोः मगरहरुमा माघे सक्रान्ति, तराईको थारु जातिमा नयाँ बर्ष माघिपर्व, अन्य जातिहरुमा मकर सक्रान्ति, नेवार जातिहरुमा, घिउचाकु, सल्हुँ नामले बाँडने यो दिनलाई पर्वको रुपमा मनाइन्छ । अन्य जातिहरुमा मकर सक्रान्तिको नामले पनि मनाउने चलन छ । भुटेको तिलको पिठो र चिनी मिसाई बनाएको लड्डु बाँड्ने चलन भएको हुँदा यस दिनलाई तिलुवा सक्रान्ति पनि भनिन्छ ।
आफ्नो इष्टमित्र , दाजुभाइ, दिदीबहिनी अर्थात चेलीबेटीहरुलाई वन तरुल, घर तरुल, सखरखण्ड, कबली, पिडालु उसिनेर प्रसादको रुपमा यो पर्वको नामबाट बाँडेर खाने चलन छ ।
क्षेत्री, बाहुनहरुले हाँसी, खुसी यसै पर्वको नाममा अरुलाई खिचडी खुवाएर मनाउँछन् । विहान सबेरै उठी नुहाइ–धुवाइ गरी चोखो कपडा लगाएर ब्राह्मण तथा छोरी चेलीहरुलाई दान दिने पनि चलन छ । आजकै दिन विभिन्न घाँटहरु, नदीहरु, पवित्र स्थलहरुमा नुहाएमा बर्षदिन भरि गरेको पाप पखालिने, शरिरमा लाग्ने विभिन्न खाले रोगव्याधिहरु हराउने जन विश्वास छ । त्यसैले गर्दा नवलपरासीको देवघाट, प्यूठानको गौमुखी, सुनसरीको चतरा, काली गण्डकीको किनार, पर्वतको सेतीवेनी, काठमाण्डौको सङ्खमूल, बागमतीको किनार आदि ठाउँहरुमा श्रद्धालु भक्तजनहरुको भीड हुन्छ । यसरी माघिसक्रान्तिको दिन नुहाएमा बर्ष दिनभरिमा गरेको पाप कटनी हुन्छ भन्ने आम मानिसको धारण बनेको छ ।
आजकै दिनमा नुहाई–धुवाइ गरी घिंउ, चाकु, तिलको लड्डु, सागपात, वन तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विषेष फल प्राप्त हुने भविष्यवाणी उल्लेख गरिएको छ ।
मधेशमा भने जहाँ मैथिली भाषा बोल्नेको बाहुल्य छ र थारु समुदायको बाहुल्य छ ती समुदायहरुमा आजको चाड धुमधामले मनाउँछन् । थारु जातिहरुमा माघीको दिन आपसी सहमतिबाट एकबर्षको लागि पद र कामको बाँडफाँड गर्छन् । यस जातिमा आजको दिनमा गरिएको सहमति एकबर्षको लागि पक्का हुन्छ । बीचमा फेरबदल गर्न पाइदैन । यस प्रथालाई माघी देवानी भनिन्छ । विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन छ । विवाह, वसाइँ सराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले वि।स।२०५७ सावन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै बर्ष माघ १ गतेदेखि कार्यान्वय गरेको हुँदा यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।
माघेसक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वको रुपमा सरकारले मान्यता दिएको हुँदा यस दिनलाई धुमधामका साथ विशेष किसिमले मनाउँछन् । मगर समुदायमा आजको दिनमा तारो हान्ने, छेलो खेल्ने अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगर समुदायले छोरी चेलीलाई टिका लगाएर दान दिने, निस्रो उठाउने नाममा १ माना चामल दिने संस्कार छ । माघे संक्रान्तिमा मगर जातिहरुमा वन तरुलको ज्यादै महिमा छ । त्यसले गर्दा वनबाट आपै खोजेर खनेर वा किनेर भएपनि पहिलो दिनमै जोरजाम पारेर अर्को दिन उसिनी अर्थात माघको १ गते सबै चेलीबेटी तथा इष्टमित्र, दाजुभाइहरु सबैलाई बाँडने चलन छ । त्यस माघिसंक्रान्ति दिन पुरुषहरुले धनुष, काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् ।
माघेसक्रान्ती अर्थात माघिपर्वको उपलक्ष्यमा सबैमा शुभकामना ।

