–मनु वि.क.
मेरी आमालाई परेको व्यथा कसले सुनिदिने ?
मेरो आमाको मनको कथा कसले बुझिदिने ?
मेरी आमा एकान्तमा रुन्छिन् ,
मेरी आमा हाँस्नलाई पनि एकान्त मै हाँस्छिन् ,
एक्लै मुर्छा पर्छिन्
बिउँझिन्छिन् ,फेरी मनलाई समाल्छिन्।
मेरी आमाको काखमा छैनन् प्यारा सन्तान
मेरी आमाको प्यारा सन्तानलाई व्यवस्थाले लखेटेको छ
मेरी आमाको मुटुका टुक्राहरुलाई परदेश पु¥याएको छ ।
मेरी आमाले सझिन्छिन्
प्यारा सन्तानको तोते बोली
सम्झिन्छिन् आफ्नो सन्तान
ताते ताते गराउँदै हिडाएको
को? खाई ? को? खाई ? भन्दै खुवाएको
र अलिकता ठूलो हुँदा सिकाएको संस्कार र आनीबानी ।
मेरी आमाले सन्तानको दुःख सबै बोकिन्
आफैले हज्जारौं दुःख सहेर
अनेक गाह्रोसँग जुध्दै सन्तानको दुःखलाई टार्न खोजिन
त्यसो गर्दा गर्दै उनको साथबाट उमेर गयो
समय गयो ।
मेरी आमाको अहिले बुढ्यौलीको सहारा हराउँदा
सन्तानको फिर्तीको आसमा दिन कटाउन पर्दा
कहिलेकाहीँ म्यासेन्जरमा बोल्न पनि सक्दिनन् र भक्कानिन्छिन् ।
मेरी आमाले जुनेली रातसँग सोधिन्
मेरी आमाले औंसीको अन्धकारसँग सोधिन
मेरो मुटुको टुक्रा सन्तान कहिले आउँछ ?
मेरो काखमा खेल्ने नानी
आमा ! भन्दै बोलाउन कहिले पाउँछ ?
अहिले मेरी आमा भन्दैछिन् –
बरु मेरो नानीको दुःख म आफै बोक्छु
मेरो सन्तानको पीर म आफै खेप्छु
तर म मेरो सन्तान
मेरै काखमा खेलिरहेको हेर्छु
ओ व्यस्थाका ठेकेदारहरु हो !
मेरो आँसुमा अझै मोज गर्ने मन छ ?
नाइ मलाई स्वीकार्य छैन
आफ्नो सन्तानको पखाईमा
रोइरहेका आमाहरुको आँसु ।
२०८१ पौष २४, काठमाण्डौ

