-मोदनाथ मरहट्टा
प्रकृतिमा हुने वनस्पतिमा पनि केही अस्वभाविक गुणहरु हुने गर्छन । खासगरी काँडा हुने अमिलो जातको वनस्पति सुन्तला कागती र निबुवा जातका फलवृक्षका मूलहाँगाको पेटबाट मसिना मुना निस्कन्छन् र बढ्न थाल्छन् । त्यस्ता मुना यति छिटो बढ्छन कि रुखका अरु हाँगाबिँगा भन्दा सग्ला सल्काइला र चिल्ला पात भएर हलक्कै हुन्छन । त्यस्ता हाँगालाई चोर हाँगा वा सोसाह हाँगा भनिन्छ । ती हाँगामा दाना त लाग्दैनन् तर त्यस्तो हाँगाहरु पलाएपछि रुखको उत्पादन शक्ति पनि खस्कँदै जान्छ । बाहिरबाट हेर्दा रुखको सौन्दर्य त देखिन्छ तर गुणमा भने आफ्नै कारणले कमजोर हुँदै जान्छ । केही समयपछि ती चोर हाँगाहरु टुप्पो मर्दै जान्छन । यस्ता हाँगामा बिरुवामा लाग्ने परजीवी (च्याउ) पनि पलाउँदैन र यी चोर हाँगाले विरुवाले उत्पादन गरेको खाना आफुहरुले सोसेर लिन्छन र मूल हाँगा र सहायक हाँगालाई कमजोर पार्दै लग्छन् । पारखी किसानहरुले यस्ता हाँगा पलाउने लक्षण देख्ने वित्तिकै उपचारमा लाग्छन उनीहरु रासायनिक बोडो वा प्राकृतिक गोबरमाटो दलेर क्षति हुनबाट जोगाउँछन् । चोरहाँगा पलाएर रुख झ्याम्मिएकोमा मख्ख पर्ने किसानहरु भने समयमा पहिचान हुन नसक्दा नोक्सानी व्यहोर्छन् र हिस्स पर्छन । चोरहाँगाले सिङ्गो रुख मार्न त सक्दैन तर नपुङ्सकतामा परिणत गराउँछ ।
वनस्पतिमा मात्र होइन चोरहाँगाको बिगबिगी समाजका हरेक क्षेत्रमा मौलाएको छ । खास गरेर यो प्रवृत्ति राजनीतिभित्र बढी देखिन्छ । हरेक राजनैतिक संगठनको आआफ्नो लक्ष्य हुन्छन तर त्यही संगठनभित्रबाट बिचार वा कार्यदिशालाई तोडमोड गरेर नयाँ पात्रहरु जन्मन्छन र संगठनको आदर्शलाई खस्काउँछन् । राजनीतिमा यस्तो प्रवृत्तिलाई घुसपैठ पनि भन्ने गरिन्छ । यस्ता पात्रहरुले आफुलाई अब्बल दर्जाको हुँ भन्न पनि पछि पर्दैनन । यिनीहरु झट्ट बुझ्दा आगोको धिपिधपे ज्वालामा ह्वात्त पेट्रोल खन्याउँदा हुरुरु बलेर ज्वाला उठेझैँ उठ्छन तर पेट्रोलको अंश शेष भएपछि सर्लक्क निभ्छन । यस्ता पात्रहरुको मातृ संगठनभित्रको जरा वा काण्डसँग खास सम्बन्ध रहँदैन । पिँधका समर्थकसित झन घुलमिल हुने कुरा भएन । मातृसंगठनहरुले स्थापना कालदेखि खटेको दुःख पीडा यस्ता पात्रहरुले सरोकार राख्दैनन् उनीहरुको मुख्य काम भनेको आफ्नो स्वरुपलाई अरुभन्दा उँचो देखाउनु र रस चुसेर खोक्र्याउनु मात्र हुन्छ ।
हामीले देखे भोगेका छौँ हाम्रै भूमिभित्र भोक रोग निराशालाई निमिट्यान्न पार्ने कसम खाएर जन्मिए हुर्किएका राजनैतिक संगठनहरुले विचार विज्ञानमा खार्दै लग्नुको सट्टा आफुभित्र पलाएका चोरहाँगाको लहैलहैमा लागेर स्वत्त गुमाउँदै गएका छन । आफ्नो मूल लक्ष्य र चरित्रमा अडिन नसक्नु र आफुभित्र पलाएका परजिवी चिन्न नसक्नु चोरहाँगाले डल्लिनु हो । माथि नै भनिएको छ कि चोरहाँगा र मूल हाँगाको रुप त एउटै हुन्छ तर गुणमा भने फरक पर्छ । अमिलो जातका बनस्पति त अचेतन हुन्छ र आफुसँगै जन्मिएको चोरमुना चिनेर निषेध गर्न सक्दैन तर राजनैतिक संगठनहरु भने चेतनायुक्त हुन्छन उनीहरुले बेलैमा पहिचान गर्न सक्नु पर्दथ्यो तर उनीहरु किन यसतर्फ ध्यान दिदैनन ?
चोरहाँगाहरु धर्म, संस्कृति, कला, साहित्य, र दर्शनभित्र पनि पलाएका हुन्छन । विश्वलाई बुझ्ने र बदल्ने दार्शनिक मान्यता बोकेको माक्र्सवादभित्रबाट पनि चोरहाँगाहरु पलाएर फैलिएका छन् । माक्र्सवादभित्रको एउटा अंशमा टेकेर माक्र्सवादमाथि धावा बोल्ने एउटा अंश उत्तर आधुनिकता नाम गरेको चिन्तन पनि चोरहाँगा हो । पूँजीवादभित्र बौरिदै गरेको नव उदारवाद या उपभोक्तावाद पनि चोरहाँगा नै हुन । हिन्दु संस्कृतिभित्र पनि असंख्य चोरहाँगाहरु पलाएका छन् । धर्मको नाममा विभिन्न मत र सम्प्रदायहरु सल्बलाएका छन् । हामी हिन्दु धर्मभित्र पनि यस्तो मान्यता देखिरहेका छौँ । यिनीहरु धर्मको नामका चोरहाँगा हुन ।
हामीले सुनेका छौँ कतिपय उच्च ओहोदाका कर्मचारीहरुले आफ्ना शैक्षिक प्रमाणपत्र फर्जी पेश गरेर बढुवा वा पुरस्कार लिने गरेका छन् । यो प्रवृत्ति पनि चोरहाँगे नै हो । कला साहित्यभित्रकै विवेचना गर्दा प्रगतिवादी कित्ताभित्र पनि असंख्य चोरहाँगाहरु पलाएका छन् । उनीहरु प्रगतिवादको निहुँमा पाठकहरुको विचारलाई धार लगाउनुतिर भन्दा भुत्त्याउनतिर लागेका हुन्छन् । विचारलाई केन्द्रमा राखेर सिर्जना गरेर जन चेतना विकास गराउनुको सट्टा आफू प्रचारमा आउन अनेक हर्कत गरेका हामीले देखिरहेछौँ । यस्ता विसंगत पक्षहरुले समाजलाई सपाट रुपमा अगाडि जान अवरोध गरेका हुन्छन । अब अलिकति माओवादी जनयुद्ध र त्यसभित्र पलाएका चोरहाँगाबारे छलफल गरौँ । एउटा मूल स्पीरिट बोकेर महान् अभियानमा होमिएको पार्टीभित्र अहिले चोरहाँगाहरु पलाएका छन् एउटा तप्का मुल वृक्षको रुपमा त अहिलेसम्म अडिएको छ तर माक्र्सवादको मुल मर्म नयाँ जनवादी क्रान्तिको चरण पूरा गरी वैज्ञानिक समाजवादमा उक्लने उद्देश्यलाई चटक्कै छोडेर संसदवादमा हाम फालेको एउटा तप्का चोरहाँगाको सङ्क्रमणले गाँजेजस्तै ठिँगुरिदै गएको छ । जसरी नेकपाको इतिहासमा पलाएको चोरहाँगाले तत्कालिन संगठनलाई कमजोर तुल्याएको थियो र हामी त्यसलाई रायमाझी प्रवृत्ति भनेर बुझ्दछौँ । चोर हाँगा बनेर उनीहरु मौलाए र कालान्तरमा आफै सिद्धिए । अहिलेको संसदीय खेलमा लागेका आफुलाई क्रान्तिकारी परिवर्तनकारी भन्ने मित्रहरु उही दशा व्यहोर्ने बाटोमा उभिएका छन् । यसको सबुद पटकपटकको अजातीय गठबन्धन र विगतको दश वर्षे महाअभियानको लक्ष्यबाट च्युत हुनु नै हो । यसो हुनुमा चोरहाँगे मनोवृत्ति हावी भएको ठोकुवा गर्न सकिन्छ ।
चोरहाँगाका केही गुण अवस्य हुन्छन । छोटो समय नै भए पनि आफू आश्रित वृक्षको हरियालीपन गाढा बनाउँछन । वृक्षको आयतन बढाउँछन् । यसमा फूल फुल्ने दाना लाग्ने नहुनाले रोग कीरा पनि लाग्दैन । सोझा किसानले यो वर्ष विरुवामा फल लागेन भन्ने गुनासो मात्र गर्छन र बिरुवा सुरक्षित राख्छन् तर यसो गर्नु चोरहाँगाको बेकुफिपन नबुझ्नु हो ।

