जन सम्बन्ध विस्तार अभियानको छैटौं दिन कुन टोलीद्धारा के कार्यक्रम भयो ?

 

चैत्र – ९,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नम्बर १ः
भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोली छैटौं दिनमा बेलुकीपख धनकुटाको सिंधुवा बजार आइपुगेको छ । तेहथुमको सदरमुकाम म्याङलुङ बजारबाट आज विहान हिंडेको यो टोली तेह्रथुमको बसन्तपुर बजारमा कोण सभा सम्पन्न गरेको थियो । बसन्तपुरको कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य डिल्ली बोहोरा र अर्का केन्द्रिय सदस्य डोर्जी शेर्पाले सम्बोधन गर्नु भएकोथियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य धनमाया निरौला (अनु ) ले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । यस अभियान टोलीले बसन्तपुर बजारमा कोण सभा गरी धनकुटाको सिंधुवासम्म पैदल मार्च गरेको छ। पाँचथरको फिदिम ,याशोक,तेह्रथुमको आठराई , म्याङ्लुङमा यस टोलीले यस भन्दा पहिले नै कार्यक्रम सम्पन्न गरिसकेको छ ।

टोली नम्बर २ ः
भारतको सिमाना झापाको काँकडभिट्टाबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज मोरङको पथरी क्षेत्रमा कार्यक्रम गरेकोछ । यो अभियान टोली आज मोरङको बेलबारीमा बास बसेको छ ।छैटौं दिन अर्थात चैत्र ९ गते बिहान पथरी शनिश्चरे वडा नम्बर ९ को पुलचोकमा कोणसभा सम्पन्न भएकोथियो । कार्यक्रमको संचालन रत्न पराजुलीले गर्नुभयो भने अभियानबारे बिमल निरौलाले आफ्ना भनाइहरु राख्नुभएको थियोे नारायण शर्माले जनवादी गित राख्नुभयो । छ वटा भित्तेलेखन पछि पथरी शनिश्चरे को वडा नम्बर ७ कीर्तिपुर बजारमा कोणसभा भएको थियो। जसको रत्नले संचालन गर्नुभएको थियोे भने अभियानबारे सुमन पराजुली बादलले विचार राख्नुभयो । गीत नारायण शर्मा ले प्रस्तुत गर्नु भयो । पथरी शनिस्चरे बुद्ध चोकमा कोणसभा भयो । सभाको सन्चालन रत्न पराजुलीले गर्नुभयो र अभियानबारे पार्टीको पोलिटब्युरो सदस्य हरिभक्त कँडेल प्रतिकले मन्तव्य राख्नुभयो । त्यहाँ पनि अखिल नेपाल जनसाँस्कृतिक महासंघका सचिवालय सदस्य तथा रक्तिमका अध्यक्ष नारायण शर्मा गीत प्रस्तुत गर्नु भयो । । मोरङ बेलबारी नपा वडा नम्बर ३ मा कोणसभा संचालन जितेन्द्र फुयाल ,जिल्ला कमिटी सदस्यले गर्नुभएको सभामा मन्तव्य पार्टीका पि बि एम कृष्ण देव सिंह दनुवारले राख्भयो। गीत नारायण शर्माले प्रस्तुत गर्नुभएको हो । बेलबारी नगरपालिका २ लालभित्ती बजारमा कोणसभा भयो ।सभाको संचालन बादलले गर्नुभयो । सभालाई सम्बोधन प्रतिकले गर्नुभयो भने गीत नारायण शर्माले राख्नुभयो । दिनमा ३१ वटा ठाउँमा भित्ते लेखन गरिएको थियो । ।

टोली नम्बर ३ः
भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ८ गते दिउँसो कञ्चनपुरकोे बेलौरी ,पुनर्वास क्षेत्रमा कार्यक्रम गर्दै हिजो नै कैलाली जिल्ला प्रवेश गरेको थियो । आज चैत्र ९ गते विहान धनगढी उपमहानगरपालिका –१७ डुमौलियामा बिन्तीराम चौधरीको घरबाट चिया खाएर हिडी टोलीले कैलालीको गौरीगंगा नगरपालिका –३ को कुचैनी बजारमा कोणसभा गर्यो। उक्त कोणसभामा अभियान टोली सदस्य तथा पार्टीका केन्द्रिय सदस्य दिपक बिष्टले मन्तब्य राख्नु भएको थियो। उहाँले जनसम्बन्ध विस्तार अभियानको उद्श्यको बारेमा बोल्नु भयो र ूसंसदवादी दलहरू सत्ता स्वार्थ मिल्दा घाटी जोडेर बस्ने र स्वार्थ न मिल्दा तथानाम गर्ने प्रबृति सर्वसत्तावादी प्रबृति होू भन्नुभयो।हामीले यसप्रकारका प्रबृतिको भण्डाफोर गर्दै नेपाली जनतालाई सचेत बनाउने बिषयमा ध्यान दिनुपर्छू भन्नु भयो।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका –६ बनबेहडा बजारमा कोणसभा सम्पन्न भएको छ। उक्त कोणसभामालाई अभियान टोली सदस्य तथा केन्द्रीय सदस्य दिलबहादुर कठायतले सम्बोधन गर्नु भएको थियो। जनसम्बन्ध विस्तार अभियानको क्रममा हामी हरेक गाँउ वस्ति र बजारका चोक चोकमा पुगेर जनतालाई जागरुक गराउने र नेपाली क्रान्तिको कार्यभार पुरा गर्ने छौ भन्नु भयो।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वार्ड नं –६ को मोयामा जनसम्बन्ध विस्तार अभियान टोलीले श्रमदानमा सहभागी भयो। टोलीले मोया बस्ने पटुवारी रानाको खेतमा पाकेको मसुरो निकाल्ने काम गरेको थियो। जनश्रमदान पछि हरीनारायण राना को घारमा खाना खायो।

खाना पछि कैलाली जिल्लाको गोदावरी नगरपालिका –८ को स्याउले बजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम जितामित्र सुनारले सम्वोधन गर्नुभएको थियो। ज्ञानेन्द्र शाहले भारतको हिन्दू फासिस्ट आर एसएसको उक्साहट , नरेन्द्र मोदीको ग्रान्ड डिजाइनमा र प्रतिगमनकारी तत्वको उक्साहटमा पुनः राजा बन्ने दुष्प्रयास गरे भने फ्रान्सका लुई सोह्रौ राजालाई २१ जनवरी १७९३ मा जनताले अन्ततः गिलेटिनबाट मृत्युदण्ड दिएको ईतिहास नेपालमा पुनरावृत्ति हुने हेक्का ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने हुन्छ भन्नु ‌भएको थियो। कोणसभाको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो।

गोदावरी नगरपालिका –७ लालपुर टेकुलामा सभा सम्पन भएको छ। उक्त सभालाई प्रमुख वक्ताका रुपमा स्थाई समिति सदस्य कृष्ण पौडेलले सम्बोधन गर्नु भएको थियो। सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो क्रान्तिकारीहरुको मुख्य दायित्व नेपालको कम्युनिस्ट आन्दोलनलाई विभिन्न भड्काव र दक्षिणपन्थी संशोधनवादी धाराबाट बचाउँदै सही क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नु हो र यस्को लागि सम्पुर्ण क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनु आजको आवश्यकता हो भन्नु भयो । २ नम्बर ब्यूरो सचिव रामबहादुर के सी डायमण्डले जनसम्बन्ध विस्तार अभियानको उद्श्यका बारेमा बोल्नु भएको थियो। पार्टीका पिबिएम सिपि शर्माले पनि उक्त सभालाई सम्बोधन गर्दै भन्नु भयो, ज्ञानेन्द्र संग देश वनाउने योजना के छ ? राजाको वंशनास हुदा अहिलेका राजाबादीहरु कहाँ थियौ भनेर सोध्नु पर्ने बताउदै कामरेड विप्लव पनि संसदवादमा पतन हुदैछन् र उन्को मिसन ०८४ मा संशोधनवादमा पतन हुदै छ भन्नु भयो। सभालाई पिबिएम अम्विका मुडभरीले पनि सम्बोधन गर्नु भएको थियो भने अभियान टोली सदस्य नारायण योगीले मन्तब्य सहित सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रमको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो।

गोदावरी नगरपालिका अत्तरिया बजारमा पनि अभियान टोलीले पर्चा बितरण गर्नुका साथै महेन्द्रनगर रोडको पिपलबोटमा कोणसभा सम्पन्न गरेको छ। उक्त कोणसभालाई पार्टीका पिबिएम तथा अभियान टोली सदस्य सीपी शर्माले सम्बोधन गर्नुभएको थियो। सञ्चालन रुद्र कडेलले गर्नुभएको थियो। अभियान टोली साँझ लालपुर टेकुलामा खाना खाएर किसानहरुको घरमा विकेन्द्रित भएर वास वसेको छ।

टोली नम्बर ४ ः
भारतको सिमाना बैतडीको झुलाघाटबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज डडेल्धुरा छाडेर डोटी प्रवेश गरेकोछ । डडेल्धुराको घटालबाट विदाई भएर यो टोली डोटी जिल्ला प्रवेश गरेको हो । यस टोलीले भोलि डोटीको दिपायलमा बिहान ८ बजे पत्रकार सम्मेलन गर्ने छ ।यस टोलीले घटाल देखि डोटीको दिपायल सम्मका विभिन्न ठाउँमा वालपेन्टिङ गरेको छ ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित