
–टंकराज ढकाल ‘तितेपाती’
गण त त ज गु गु यति ५ मा
साम्राज्यवादी चलखेल छायो
ढोग्दा पराया अनिकाल छायो
सत्ता गिरायो मधुमास हा¥यो
स्वार्थी हुनाले गठजोड भड्क्यो ।१
पर्दा लगायो अनि गोद्न लाग्यो
बान्की सुनौला भलिभाँत लायो
दाना रुपौला जतिखेर पायो
स्वार्थी हुनाले गठजोड भत्क्यो ।२
बन्दा दलाली कतिदुःख पायो
मुर्दा हरामी कतिखेर आयो
नाङ्गो भुतुङ्गो पनमा रमायो
स्वार्थी हुनाले गठजोड भत्क्यो ।३
दाना र पानी उसको बुकायो
आमा र धर्ती सजिलै छकायो
के लिन्छ अर्ती छलछाम कोयो
स्वार्थी हुनाले गठजोड भत्क्यो ।४
गुण्डा नचायो अनि भोट पायो
फिट्दैछ पैसा मदमस्त छायो
किट्दैछ दाह्रा सतही घुमायो
स्वार्थी हुनाले गठजोड भत्क्यो ।५
माथा चिलायो अनिघात पायो
उन्माद नाच्यो धुलिसात छायो
सत्ता गुमायो जब चाल पायो
स्वार्थी हुनाले गठजोड भत्क्यो ।६
आली लगायो तरिका मिलायो
गर्ल्याम्म पैह्रो सबथोक खायो
खेती न बाली जलले बगायो
स्वार्थी हुनाले गठजोड सड्क्यो ।७

