सी.पी गजुरेल “गौरव”
कार्यवाहक महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
० गत भाद्र २९ देखि आश्विन १ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको बैठक सम्पन्न भएको थियो । पोलिटव्यूरो बैठकको मुख्य उद्देश्य के थियो ?
–यहाँलाई थाहा नै छ गत भाद्र २३ र २४ गते नेपालमा जेन जी आन्दोलन भयो । त्यस आन्दोलनमा कैयौं युवाहरुले सहादत प्राप्त गरे । देशव्यापी रुपमा जनधनको ठूलो क्षति भयो । हाम्रो पि.वि.को बैठकको मुख्य उद्देश्य भनेको जेनजी आन्दोलनको मूल्यांकन गर्नु थियो । त्यसबाहेक सांगठनिक र अन्य विषयमा पनि बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ ।
हामीले जेनजी आन्दोलनकै बेलामा पार्टीको तर्फबाट प्रेस वक्तव्य जारी गरेर पार्टीको धारणा स्पष्ट गर्दै आएका थियौं । तर घटना घट्यो भनेर मात्र वा वक्तव्य प्रकाशित गरेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । जेनजी आन्दोलनका विभिन्न पाटा पक्षका बारेमा विस्तृत रुपमा छलफल गरी स्पष्ट दृष्टिकोण बनाउनु पर्ने र त्यस सम्बन्धमा पार्टीको भूमिकालाई पनि स्पष्ट गरेर जानु पर्ने आवश्यकता भएकाले हामीले बैठकमा जेनजी आन्दोलन, त्यसले सिर्जना गरेको पछिल्लो राजनीतिक अवस्था र बदलिंदो परिस्थितिमा पार्टीको धारणाबारे हामीले व्यापक छलफल ग¥यौं र प्रष्ट धारणा बनायौं ।
० जेनजी आन्दोलनका बारेमा पछि कुरा गरौंला । म भर्खरै सम्पन्न पि.वि. को बैठकले कार्यनीतिका सम्बन्धमा लिएको निर्णयबारे सोध्न चाहान्छु । बामपन्थी देशभक्त र क्रान्तिकारी, जनवादी पार्टी, समूह र व्यक्तिहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गर्ने, जनसंघर्षमा जाने, जनसंघर्षको प्रक्रियामा स्वाधीन संयुक्त सरकार निर्माण गर्ने र त्यस स्वाधीन सरकारबाट जनगणतन्त्रात्मक संविधान घोषणा गर्ने । यो कार्यनीतिक श्रृंखला तय गरेको पाइयो । अब यस सम्बन्धमा सबैभन्दा पहिले म सोध्न चाहन्छु कि वामपन्थी, देशभक्त र क्रान्तिकारी जनवादी पार्टी, समूह र व्यक्ति भनेर कसलाई बुझ्ने ?
–महत्वपूर्ण प्रश्न गर्नुभयो । यहाँ कम्युनिस्ट नाम राखेका धेरै पार्टीहरु छन् । यदि कुनै पार्टी कम्युनिस्ट पार्टी छ भने त्यो स्वतः वामपन्थी देशभक्त, जनवादी पनि हुन्छन् । नेपालमा कुन पार्टीलाई वामपन्थी भन्ने कुन पार्टीलाई, दक्षिणपन्थी मान्ने र कुन पार्टीलाई प्रतिध्रुवको मान्ने बारेमा हाम्रो पार्टीको गत राष्ट्रिय एकता महाधिवेशनबाट आफ्नो दस्तावेजमा प्रष्ट गरेको छ ।
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालदेखि एमालेसम्म धेरै पार्टीले नाम कम्युनिस्ट पार्टी राखेका छन् तर काममा कम्युनिस्ट पार्टी थोरै छन् । हामीले हाम्रो दास्तावेजमा संसदमा भाग लिएमा ठूला तीन वटा पार्टीलाई हामीले वामपन्थी भनेका छैनौं । तिनीहरुले यही व्यवस्थालाई संसदीय प्रणालीलाई जोगाउने, संस्थागत गर्ने भनेका छन् । विप्लवजीको लाइनले पनि अग्रगामी बाटो लिंदैन । हाम्रो देशमा यस्तै पार्टीहरु छन् । नभाको चीज कहाँ खोज्ने ? तर ती पार्टीहरु भित्र पनि देशभक्त, जनवादी र वामपन्थी सोंच बोक्ने व्यक्ति, समूहहरु छन् । तिनीहरुलाई खोज्ने र तिनीहरुसित छलफल गर्ने, अनि कार्यगत एकता, संयुक्त मोर्चा के गर्न सम्भव हुन्छ । ती कार्य गर्दै जाने हामीले नीति तय गरेका छौं । विभिन्न पार्टीहरुसित इस्यु वेशमा कार्यगत एकता पनि गर्नुपर्छ । जस्तै हामीले लिपुलेकको सम्बन्धमा धेरै पार्टीहरु सित कार्यगत एकता ग¥यो ।
राष्ट्रिय राजनीतिक सम्मेलनमा जानु भन्दा पहिले हामीले छलफल गर्छौं । भन्दा वित्तिकै राष्ट्रिय राजनीतिक सम्मेलन भइ हाल्ने होइन । त्यसका लागि विभिन्न राजनीतिक दल, समूह, व्यक्तिहरुसित छलफल गर्छौं र मात्र हामी राष्ट्रिय राजनीतिक सम्मेलनमा जान्छौं । स्वतः हाम्रो कुरा मानेर त कोही पनि आउँदैन । स्वतः हाम्रो कुरा मान्ने भए त एउटै पार्टी भइहाल्थ्यो । उनीहरु र हाम्रो पार्टीमा के कति फरक छ ? छलफल गर्दै र विभिन्न समसामयिक वा देश र जनताका सरोकारका विषयमा कार्यगत एकता पनि गर्दै गएर हामी राष्ट्रिय राजनीतिक सम्मेलनमा पुग्छौं । जस्तो नेकपाका साथीहरु लोकनारायण जीहरुले हाम्रो पार्टीलाई अन्तक्र्रियामा बोलाउनु भयो, हाम्रो प्रतिनिधि त्यहाँ गएर बोल्नु भयो । हाम्रो पार्टीले पनि अन्तक्र्रिया कार्यक्रम राखेको छ । हामीले लोकनारायण, ऋषि कट्टेल, धर्मेन्द्र, विप्लव, मसाल, आहुति लगायतलाई कार्यक्रममा बोलाएका छौं । यसरी एक आपसमा छलफल पनि गर्दै कार्यगत एकता गर्दै, हामीहरु रुपान्तरित हुँदै गएर राष्ट्रिय राजनीतिक सम्मेलनको स्वरुप तय गर्ने ठाउँमा पुग्दछौं ।
० यसको अर्थ राष्ट्रिय राजनीतिक सम्मेलनमा को को सहभागी हुन्छन् ? त्यो सम्मेलन कहिले हुन्छ भन्ने कुराको टुंगो गर्नु भएको छैन ?
–यसले एउटा कोर्स पूरा गर्नुपर्ने हुन्छ । हामीले अहिले नीति प्रष्ट गरेका हौं । अहिले हामीले खासगरी पूर्व माओवादी धार, मसाल धार र पुष्पलालजीले नेतृत्व गर्नु भएको पार्टीबाट विकसित धारका विभिन्न पार्टीहरुसित छलफल र कार्यगत एकता बढाइरहेका छौं । यस्तै सहकार्य र छलफलका क्रममा हामी राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने तहमा पुग्ने छौं । राष्ट्रिय राजनीतिक सम्मेलनमा कुन कुन पार्टी, समूह,व्यक्तिहरु सहभागी हुनेछन् । त्यसको स्वरुप कस्तो हुनेछ भन्ने कुरा छलफलबाट नै टुंगो लाग्नेछ ।
० कांग्रेस, एमाले, माओवादी, राप्रपाका प्रतिनिधि त्यस राजनीतिक सम्मेलनमा सहभागी हुँदैनन्, ती पार्टीभित्रका समूह वा व्यक्ति राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन सक्छन्, हो ?
–राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा, जनसंघर्ष र स्वाधीन सरकारको नारामा सहमत हुने पार्टी, समूह, व्यक्ति त्यससम्मेलनमा सहभागी हुन सक्दछन् । अहिलेकै अवस्थामा माओवादी केन्द्र र एमाले त्यस सम्मेलनमा सहभागी हुन सक्दैनन् किनभने उनीहरुले यही संविधान, यही संसदीय व्यवस्थालाई रक्षागर्ने, संस्थागत गर्ने नीति कार्यक्रम बनाएका छन् । त्यसकारण अहिलेकै अवस्थामा एमाले, माओवादी राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन सक्ने कुरा हुँदैन । तर ती पार्टीभित्रका समूह, व्यक्तिहरु राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन सक्दछन् । पार्टीगत रुपमा पनि हामी राजनीतिक, कार्यदिशा र कार्यक्रमका बारेमा छलफल गर्न तयार नै छौं । विभिन्न पार्टीहरुले आफ्नो विचार बदल्न पनि सक्दछन् । त्यस अवस्थामा हामी फेरि कार्यगत एकता, संयुक्त मोर्चामा जान सक्छौं ।
० राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन तयार हुने र त्यो सम्मेलनमा सहभागी नहुने दल वा समूहका बीचमा राजनीतिक द्वन्द्व हुने भयो त हैन र ? अर्थात् वर्तमान सत्ता जोगाउने र सत्ताको विरोध गर्नेहरुका बीचमा कन्फ्रोन्टेशन हुने भयो, हैन ?
–राजनीतिक विषयमा आ–आफ्ना कुरा राख्ने अधिकार सबैलाई नै हुन्छ । उनीहरुले आफ्नो राजनीतिक मत राखेकै भरमा हामी भौतिक रुपमा द्वन्द्वमा उत्रने काम गर्ने छैनौं । वैचारिक, राजनीतिक छलफल गर्छौं । हामीले वैचारिक रुपले नै स्पष्ट पार्ने कोशिस गर्नेछौं ।
० राष्ट्रिय राजनीतिक सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गर्ने भनिएको छ । संयुक्त मोर्चाको स्वरुप कस्तो हुन्छ? माओले नयाँ जनवादी क्रान्ति कालमा रणनीतिक संयुक्त मोर्चाको अवधारणा सार्नु भएको थियो । त्यस्तै हो ?
–संयुक्त मोर्चा कस्तो हुनेछ भन्ने कुरा देशको परिस्थिति, आपसी छलफलले निर्धारण गर्ने कुरा हो । कार्यनीतिक मोर्चामा बस्नेहरुका बीचमा पनि सबै राजनीतिक कुरा मिल्नैपर्छ भन्ने छैन । जस्तै चीनमा च्याङकाइ सेक र माओ एक अर्कामा प्रतिद्वन्द्वी नै थिए । माओले जापान विरुद्ध संयुक्त मोर्चाको नीति अगाडि सार्नुभयो । सुरुमा च्याङकाइसेकले त्यो कुरा मानेनन् । पछि च्याङकाइसेकका सैनिक कमाण्डरहरुले कम्युनिस्टसित मिलेर जापानका विरुद्ध संयुक्त मोर्चा बनाउनुपर्दछ । नत्र सैनिक विद्रोह हुन्छ भने पछि च्याङकाइसेक जापानी साम्राज्यवादका विरुद्ध कम्युनिस्ट पार्टीसित संयुक्त मोर्चा बनाएर युद्धमा जान तयार भएको थिए र जापानी साम्राज्यवादलाई परास्त गर्न सम्भव भएको थियो । निश्चित कार्यनीतिक मुद्दामा अन्य प्रतिक्रियावादी वा अवसरवादी समूहमा लागेका व्यक्ति, समूहलाइृ पनि आफ्नो मागमा कन्भिन्स गर्ने कोशिश गर्दै अगाडि बढ्नुपर्दछ ।
० संयुक्त मोर्चा निर्माणपछि जनसंघर्षमा जाने कुरा छ । कसरी ?
–संयुक्त मोर्चाले तय गरेको साझा कार्यक्रम लिएर जनसंघर्षमा जानुपर्दछ । प्रतिक्रियावादी सत्ताका विरुद्धमा संयुक्त मोर्चा निर्माण गर्ने कुरा सामान्य मिहेनतले हुँदैन । हामीले त्यसतर्फ हाम्रो पर्याप्त ध्यान दिन नसकेको हामीले महशुस गरेका छौं । संयुक्त मोर्चाका आधारहरुलाई दस्तावेजीकरण गर्नुुपर्ने हुन सक्दछ । त्यसका लागि समय लाग्दछ तर समय लाग्दछ भनेर यसै बसिरह्यौं भने त कहिले पनि हुँदैन ।
० जनसंघर्षकै क्रममा राष्ट्रिय स्वाधीन सरकार निर्माण गर्ने भनिएको छ । त्यो सरकार नयाँ जनवादी क्रान्ति भन्दा पहिलेको सरकार हो कि नयाँ जनवादी क्रान्तिपछिको सरकार हो ?
–नयाँ जनवादी क्रान्ति भन्दा पहिलेकै सरकारलाई हामीले राष्ट्रिय स्वाधीन सरकार भनेका हौं । नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि बन्ने सरकार त नयाँ जनवादी सरकार भइहाल्छ नि । नयाँ जनवादी सरकार त समाजवाद तर्फ अगाडि बढ्ने सरकार हुन्छ ।
० विगत जनयुद्धकालमा बाबुराम भट्टराईको नेतृत्वमा जनपरिषद् गठन गरिएको थियो । त्यसलाई एउटा सरकारको रुपमा हेरिएको थियो । राष्ट्रिय स्वाधीन सरकार विगतको जनपरिषद् जस्तै हो कि फरक छ ?
–फरक छ । जनपरिषद् भनेर हामीले हाम्रै पार्टीभित्रका मानिसहरुलाई कार्यविभाजन गरेर गरिएको थियो । अहिले हामीले अन्य पार्टीका साथीहरु समूह व्यक्तिलाई समेत राखेर संयुक्त मोर्चा हुँदै राष्ट्रिय स्वाधीन सरकार बनाउने तहसम्म पुग्ने भनिएको छ । त्यसकारण विगतको जनपरिषद् र अहिले हामीले परिकल्पना गरेको राष्ट्रिय स्वाधीन सरकारमा फरक छ । नयाँ जनवादी सरकार बनेको हुँदैन । तर नयाँ जनवादी सरकारमा पुग्नका लागि यप्रकारको स्वाधीन सरकारले सजिलो बनाइदिन्छ ।
० जनपरिषद् घोषणा गर्दा खम्बुवान राष्ट्रिय मोर्चाका नामबाट सशस्त्र गतिविधि गरिरहेका गोपाल खम्बु (किराँती) पनि रोल्पा पुग्नु भएको थियो । उहाँले रोल्पाबाट फर्किएपछि ५१ प्रतिशत म माओवादी भएँ, यस्तै कुरा गर्नुभएको थियो । जनपरिषद्मा अरु पार्टीकालाई पनि ल्याइएको थिएन र ?
–हैन । गोपालजी जनपरिषद् घोषणा गर्दा नेकपा (माओवादी) मा आइसक्नु भएको थियो ।
० तपाईहरुले राष्ट्रिय स्वाधीन सरकार घोषणा गर्दा अर्कोतर्फ संसदीय बुर्जुवा गणतन्त्रको सरकार रहिरहने होला । के देशमा द्वैध सत्ता संचालनको स्थिति आउने हो ?
–हुन सक्छ । केहीसमयसम्म देशमा द्वैध सत्ताको स्थिति रहन सक्छ । तर द्वैध सत्ताको स्थिति लामो समयसम्म नरहन सक्छ ।
० द्वैध सत्ता कायम रहँदा दुई सत्ता ÷दुई सरकारका बीचमा द्वन्द्वको स्थिति आउला नि ?
–आउन सक्छ । तर हामीले आम देशभक्त, जनतान्त्रिक प्रगतिशील शक्तिहरुलाई एकीकृत गर्दै राष्ट्रिय स्वाधीन सरकारको पक्षमा गोलबन्द गर्दै जान्छौं र अन्ततः त्यो संघर्षमा जनताको विजय हुनेछ । राष्ट्रिय स्वाधीन सरकारले जनगणतन्त्रात्मक संविधान निर्माणको दिशामा अगाडि बढ्ने गरी काम गर्नेछ ।
० राष्ट्रिय स्वाधीन सरकार भनेपछि त्यो त एक प्रकारको सत्ता होला । त्यो सत्ताको प्रदेश र स्थानीयस्तरको पनि त संरचना बन्ला नि ?
–हो । बन्नुपर्दछ । स्थानीय सत्ता पनि निर्माण गर्नुपर्ने हुन्छ ।
० नेकपाको चौथो महाधिवेशनकालमा पनि देशभक्त र जनतान्त्रिक सरकारको नारा दिइएको थियो । पार्टीले १०÷१२ वर्षसम्म देशभक्त र जनतान्त्रिक सरकारको नारा दिएर अन्त्यमा गलत भयो भनेर मूल्यांकन गर्नु परेको थियो । त्यतिबेलाको देशभक्त र जनतान्त्रिक सरकारको नारा र स्वाधीन सरकारको नाराका बीचमा के भिन्नता छ ?
– कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्दछ भन्ने मात्र तर व्यवहारमा नआउने भए पछि देशभक्त र जनतान्त्रिक सरकारको नारा रणनीति जस्तो भयो । हाम्रो रणनीति नयाँ जनवादलाई ओझेलमा पार्ने काम ग¥यो । त्यस्तैले हामीले देशभक्त र जनतान्त्रिक सरकारको नारा छाडेको थियौं । यसपटक हामीले राष्ट्रिय स्वाधीन सरकारको नारालाई कार्यनीतिका रुपमा प्रयोग गर्ने सोंच बनाएका छैन । चौथो महाधिवेशन कालको त्यस नाराबाट पाठ सिक्दै यसलाई कार्यान्वयनमा लानुपर्छ ।
० राष्ट्रिय स्वाधीन सरकारको घोषणा गरेर अगाडि बढ्दा विदेशी साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप हुन सक्छ । त्यतिबेलाको सम्भावित स्थितिबारे के सोच्नु भएको छ ?
– हामीले अहिलेदेखि नै देशभित्र देशभक्त र जनतान्त्रिक शक्तिहरुलाई गोलबन्द गर्दै जाने र देश बाहिर विभिन्न कम्युिनस्ट, वामपन्थी शक्तिहरुसितको सम्बन्धलाई बलियो बनाउने अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्ने काममा लाग्नु पर्ने हुन्छ । यदि विदेशी हस्तक्षेप भयो भने प्रधान अन्तर्विरोध बदलिन्छ । अन्तर्विरोधको मूल पक्ष साम्राज्यवाद र राष्ट्रिय मुक्तिकामी जनता बीचको संघर्ष हुनेछ ।
० तपाईहरुको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेको जनसंघर्ष, जनप्रतिरोध संघर्ष र सशस्त्र विद्रोहको कार्यदिशा एकातर्फ र अर्कोतिर राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा र स्वाधीन सरकारको कार्यनीतिमा के सम्बन्ध छ ।
–पहिलो हाम्रो पार्टीको कार्यदिशा हो भने दोस्रो चाहिं संयुक्त मोर्चा मार्फत् गरिने अन्य शक्तिहरुसित मिलेर लागु गर्ने कार्य नीति हो ।
० गत असार ५ गतेदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरुद्धको आन्दोलन संचालन गरेको थियो । त्यस सम्बन्धमा के भइरहेको छ ?
–हाम्रो आन्दोलन जारी छ । हामीले भ्रष्टाचारका विरुद्धमा विभिन्न कार्यक्रम संचालन गरिरहेका थियौं । पछि जेनजीहरुको आन्दोलन भयो । अन्य पक्षले पनि भ्रष्टाचार विरुद्धमा जाने भनेका छन् । हामीले भ्रष्टाचारीहरुलाई कार्वाही होस् भनेर आन्दोलन अगाडि बढाउँछौं ।
० जेनजी आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा जुन सरकार बन्यो । यो त देख्दा एक्कासी बने जस्तो देखिन्छ । तर यसका लागि शक्ति केन्द्रहरुको पूर्व तयारी थियो होला ?
–केही पहिलेदेखि सुशिलाजी युवाहरुको पक्षमा बोलिरहेको समाचार आइरहेको थियो । विदेशी शक्ति केन्द्रहरुले आफ्नो नेतृत्व स्थापित गर्न विभिन्न व्यक्तिहरुलाई चर्चामा ल्याउने गर्दछन् ।
० अव फेरि जेनजी आन्दोलनको सन्दर्भमा कुरा गरौं । भर्खरै सम्पन्न तपाईहरुको पार्टीको पि.वि.को बैठकले जेनजी आन्दोलनको कसरी मूल्यांकन ग¥यो ?
–जेनजी आन्दोलनमा युवाहरुले दुईवटा माग राखेका थिए । एक, सरकारद्वारा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइनु पर्दछ । दुुई, भ्रष्टाचारको अन्त्य हुनुपर्छ । भाद्र २३ को जेनजी आन्दोलनमा सिधा सोझा विद्यार्थीहरु सामाजिक सञ्जाल खुलोस् र भ्रष्टाचार पनि अन्त्य होस् भन्ने पवित्र भावनाले आन्दोलनमा आएका थिए । उनीहरुले आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भनेका थिए । तर त्यहाँ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका एजेण्टहरुको घुसपैठ गराइयो । राजावादीहरुको पनि घुसपैठ भयो । विभिन्न राजनीतिक दलका असन्तुष्ट पक्षहरुको पनि त्यहाँ घुसपैठ भयो र आन्दोलन शान्तिपूर्ण हुन्छ भन्दा भन्दै पनि हिंसात्मक बन्ने अवस्था आयो । न्यूनतम सुरक्षाको प्रबन्ध गर्न नसक्ने, परिस्थिति ठीक आंकलन गर्न नसक्ने र २३ गते नै युवा विद्यार्थीहरु माथि गोली हान्ने ओली सरकारको ठूलो गल्ती भएको छ । निर्दोष बच्चाहरु मार्ने काम भयो । त्यस घटनाको मुख्य दोषी ओलीले नेतृत्व गरेको कांग्रेस एमाले गठबन्धन सरकार हो ।
० जेनजी आन्दोलनमा सेनाको भूमिका सकारात्मक भएन भन्ने तपाईको पार्टीले मूल्यांकन गरेको रहेछ, किन ?
–वास्तवमा सेनाले आफ्नो जिम्मेवारी पूरा गरेन । सिंहदरबार संरक्षण गर्नको लागि सिंहदरबारको चारैतिर पर्खालमा सेनालाई ड्युटीमा राखिएको छ । दरबारभित्र नै सेनाको एउटा टुकुडी राखिएको छ । त्यसले सिंहदरबार जोगाउन सकेन । सर्वोच्च अदालत, जिल्ला अदालत, संघीय संसद भवन सबै सरकारी कार्यालयहरु जल्दा समेत सेना चुपचाप बस्यो । महत्वपूर्ण कार्यालयहरु खरानी भएपछि २४ गते राति १० बजेपछि बल्ल सेना सडकमा आयो । प्रधान सेनापतिले आफ्नो हैसियत नै बिर्सिएर आन्दोलनकारी जेनजी युवाहरुलाई वार्ताका लागि आह्वान गरे । आफै वार्ता गर्न अगाडि पनि सरे ।
सामान्यतया सरकारले वार्ताका लागि आह्वान गर्नुपर्दछ । प्रधानमन्त्रीले आन्दोलनकारीलाई वार्तामा बोलाउनु पर्दछ । प्रधानमन्त्री नरहेको अवस्थामा राष्ट्रपतिले गर्नुपर्ने हुन्छ । सबैलाई बिर्सिएर आफैले वार्ताका लागि वक्तव्यवाजी गरे । जताततैबाट प्रधानसेनापतिले सत्ता हातमा लिन खोजेको “कु” गरेको भनेर विरोध भएपछि वार्ता राष्ट्रपतिसित हुन्छ, आफूले सहजीकरण र मिडियटरको भूमिका मात्र खेलेको भनेर गल्तीलाई ढाकछोप गर्न खोजे । जेनजीका प्रतिनिधिहरुलाई आन्दोलनको स्टेक होल्डर रासवपा र दुर्गा प्रसाई पनि हुन् भनेर सेनाले नै भनेको थाहा भयो । जेनजीहरुले विरोध गरे पछि उनले कसलाई अगाडि बढाउन खोजेका हुन् भन्ने पनि थाहा भयो र सेनाको नेतृत्वको नियत ठीक देखिएन । प्रधानसेनापतिले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन र परिस्थिति सबै आफूले सम्हाल्ने भनी दवाव दिएका थिए । त्यो कुरा बाहिर आएपछि सेनाको भूमिका सर्वत्र विरोध भयो । राष्ट्रपतिले राजीनामा दिएपछि राजालाई अगाडि ल्याउने वा सेना राजनीतिमा सर्वेसर्वा हुन खोजेको बुझ्न सकिन्छ । सेनाको त्यो प्रतिगामी खतरा ट¥यो तर सुशिला कार्कीलाई जो अगाडि सारिएको छ । त्यो पनि पूर्व नियोजित हो भन्ने नै बुझिन्छ ।
० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भूमिकालाई लिएर पनि थुप्रै टिप्पणी भइरहेको छ ?
–हो । यो आन्दोलनमा उनको वास्तविक चरित्र पनि उदाङ्गियो । उनले बेला बखतमा सिंहदरबार जलाउने कुरा गर्थे। सिंहदरबार लगायत जलिरहँदा, ती ऐतिहासिक धरोहरको संरक्षण गर्ने कार्यमा उनको भूमिका रहेन । उनी मुकदर्शक बने । बच्चाहरु मराउनमा र यति ठूलो विध्वंस मच्चाउनमा उनको हात छ भनेर बजारमा चर्चा चलेकै छ । आगामी अध्ययन, अनुसन्धान र घटनाक्रमले उनको वास्तविक स्थिति के हो भन्ने कुरा उजागर हुँदै जाने छ ।
० विद्रोहको नेतृत्व गर्न नसक्नु क्रान्तिकारी कम्युनिस्टहरुको असक्षमता हो भन्ने टिप्पणी प्रति तपाईको भनाई के छ ?
–सबै विद्रोहहरु सही हुँदैनन् । जेनजीहरुले उठाएको भ्रष्टाचार विरोधी आन्दोलन प्रति हाम्रो समर्थन नै थियो र छ । तर त्यो आन्दोलनमा अन्य तत्वहरुको घुसपैठ भयो । कम्युनिस्ट पार्टीले आफ्नो योजना र उद्देश्य अनुसार विद्रोहलाई संगठित गर्नु पर्ने हुन्छ । जस्तोसुकै विद्रोहलाई नेतृत्व गर्नुपर्छ भन्ने कुरा सही हुन सक्दैन ।
० माओवादी केन्द्रका नेता प्रचण्डले जेनजी विद्रोह आफ्नो पनि विद्रोह भनेको सुन्नुभयो ?
–सामान्यतया जेनजीले सुरुमा राखेको भ्रष्टाचार अन्त्यको माग सही छ । त्यसको विरोध गर्नुपर्ने छैन । तर प्रचण्डले जेनजीको लोकप्रियतालाई पक्रिएर संसदीय स्वार्थपूर्ति गर्न खोजेका छन् ।
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आगामी कार्यक्रम के छ ?
– छिटै नै हामी पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छौं ।
० अन्त्यमा थप केही छ कि ?
– हाँक साप्ताहिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यापक, सशक्त र क्रान्तिकारी बनाएर लानु पर्ने आवश्यकता छ । त्यसका निम्ति सम्पूर्ण जनतामा गएर क्रान्तिकारी विचारले मात्र देशको समस्या समाधान गर्न सक्छ भन्ने विचार लानु पर्नेछ । त्यसका निम्ति सबै कमरेडहरुलाई एक ढिक्का भएर जुट्न आग्रह गर्दछु ।

