कृष्णराज पौडेल
एकातर्फ सरकारले सामाजिक संजालहरुमा लगाएको रोकले जेन–जी पुस्तामाथि गम्भीर असर पारेको थियो । अर्कोतर्फ देशलाई भ्रष्टाचारले आक्रान्त बनाएको छ । यी दुइ विषयहरुलाई उठाएर ०८२ भाद्र २३ गते आन्दोलनको घोषणा गरियो । आन्दोलनका आयोजक जेन्जीका प्रतिनिधिहरुले हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर सिडियोलाई पत्र लेखेको पनि बाहिर आयो । सँगसँगै केही जेन्जीहले आन्दोलनमा घुसपैठ गरेर आन्दोलन भड्काउन सक्ने सम्भावना पनि औल्याएका थिए ।
भाद्र २३ गते बिहान ११ बजेतिर स्कूल कलेजका विद्यार्थीहरुलाई ठूलो संख्यामा माइतीघर मण्डला जम्मा गरियो । विशाल जुलुश नयाँ बानेश्वरतर्फ अगाडि बढ्यो । नयाँ वानेश्वरमा रहेको संघीय संसद भवनको गतेट तोडेर प्रदर्शनकारीहरु संदद भवन भित्र प्रवेश गरे । उत्तेजनात्मक अवस्था श्रृजना गरी अन्धाधुन्ध गोली बर्साइयो । भाद्र २३ गते साँझसम्म काठमाण्डौ वानेश्वरमा १९,सुनसरीमा २ जनाको मृत्यु भएको र ४०० जना भन्दा बढी घाइते भएको समाचार बाहिरयो । साँझ गृहमन्त्री रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिए ।
गोलीकाण्डले थप आक्रोश र उत्तेजना बनायो । २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्री निवासमा आगो लगाएर खरानी बनाइयो । २४ गते २ बजेतिर प्रधानसेनापतिले प्रधानमन्त्रीसँग सुरक्षा दिन सक्दैनौं, तपाईले प्रधानमन्त्री पदबाट राजीनामा दिन प¥यो भनेर प्रधानमन्त्रीको राजीनामा लिएपछि केपी शर्मा ओलीलाई शिवपुरी व्यारेकमा र मन्त्रीपरिषद्का अन्य मन्त्रीहरु, प्रतिपक्षी दल दलका नेताहरुसमेतलाई सेनाले सुरक्षित स्थानमा राख्यो । उता राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि प्रधानसेनापतिले राष्ट्रपति पदबाट राजीनामा मागे । तर राष्ट्रपतिले राजीनामा दिन मानेनन् । राष्ट्रपति सेनाका परमाधिपति हुन् । परमाधिपतिको राजीनामा प्रधानसेनापतिले मागेपछि यो विध्वंसात्मक गतिविधिपूर्ण योजना र तयारी साथ भएको रहेछ भन्ने कुरा दुनियाले थाहा पाए ।
भाद्र २५ गते प्रधानसेनापतिको संयोजनमा जेन–जीका प्रतिनिधिहरुसँग समस्या समाधानकालागि राष्ट्रपति पौडेलले जेन्जीका प्रतिनिधिहरुलाई सैनिक मुख्यालय भद्रकालीमा बोलाएर प्रारम्भिक वार्ता गरे । प्रधानसेनापतिले दुर्गा प्रसाई र रवि लामिछाने पनि स्टेक होल्डर हुन उनीहरुलाई पनि वार्तामा राख्नुस् भनेर जेन जेडका प्रतिनिधिलाई भने पछि जेनजेडका प्रतिनिधिहरु मध्ये केही दुर्गा प्रसाई र रवि लामिछानेसँग हामी बस्दैनौं भनेर बाहिर गए ।आन्दोलनका क्रममा भाद्र २४ गते नै नख्खु जेलबाट रवि लामिछाने र अन्य देशैभरिका कारगारबाट १४००० भन्दा बढी कैदीबन्दी जेलबाट बाहिर निस्किए । भाद्र २३ गतेदेखि असोज १ सम्ममा ७४ जनाको मृत्यु भएको हजारको हाराहारीमा घाइतेहरु भएका थिए ।
२४ गतेको तोडफोड र आगजनी खाली काठमाडौंमा मात्र भएन देशभरी नै भयो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र अन्य दलका पार्टी कार्यालयहरु, सरकारी कार्यालयहरु प्रहरीका कार्यालयहरु, कांग्रेस, एमाले र माओवादी र अन्य दलका “नेता” का घरहरु र सम्पत्ति भाटभटेनी सुपरस्टोर्सहरु, चन्द्रागिरी केवलकार हजारौंको सम्पत्ति सरकारी र निजी सवारी साधनहरु, हिलटन होटल, गाउँ तथा नगरपालिका भवन, आन्दोलनका शहिदहरुका शालिकहरु सहित सरकारी, सार्वजनिक र निजी सम्पत्ति समेतखरानी बनाउने काम भयो । प्रधान सेनापतिले आयोजना गरेको जेन्जी समूहको वार्ता अगाडि बढ्दै गएपछि जेन जेडका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको लागि अगाडि सारे । धरान नगरपालिकाका मेयर हर्क साङपाङ पनि प्रधानमन्त्री बन्न धरानबाट काठमाडौं आइपुगे । बालेन्द्र शाह प्रधानमन्त्री बन्न तयार भएनन् । उनले पूर्व प्रधानन्यायधीस सुशिला कार्कीलाई प्रधानमन्त्रीकोलागि प्रस्ताव गरे । हर्क साङपाङलाई सहमति जुटेन र उनी झोंक्किएर वार्ताबाट बाहिरिए । अन्ततः सुशिला कार्की प्रधानमन्त्री बन्न तयार भइन । संसद विघटन गर्ने र ६ महिनामा संसदको निर्वाचन गर्ने सहमति भएर सुशिला कार्की प्रधानमन्त्री बनिन् ।
अहिले नेपाली समाजको हरेक क्षेत्रमा एउटा नयाँ बहस शुरु भएको छ ।
१) जेन जेडहरुको एउटा पक्ष पिठयूँमा स्कूले झोला छातीमा स्कूलको परिचय भिरेर सरकारले रोक लगाएको मोवाइल एपहरु खुुुलाउन गए ।
२) अर्काथरी मोबाइल एपका साथै देशमा चुलिएको भ्रष्टाचार, बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका बेथिति, महंगी, सरकारका सेवा क्षेत्रमा कर्मचारीको हेपाइ, अपमान, घुसखोरी, सरकारी पार्टीहरुका माथिदेखि तलसम्मका मान्छेको दम्भ हेपाइ देखेर आजित भएकाहरु पनि जुलुशमा आए ।
३) रवि लामिछाने, बालेन्द्र शाह, हर्क साङपाङ जस्तै कुनै दर्शन राजनीति, दृष्टिकोण केही नभएकाहरुलाई महान् नेता मानेर उनीहरुको खट्नपटनमा चल्ने समूह पनि आन्दोलनमा आए ।
४) विदेशीहरुको एनजिओ आइएनजीओकोबाट खर्च पाएर जान अन्जान परिचालित हुने समूह त्यो जुलुशमा आए ।
५) अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद जस्ता शक्तिकेन्द्रबाट परिचालित घुसपैठियाहरु पनि संलग्न भए ।
६) सरकारको काम कार्वाहीमा रुष्ट भएका विभिन्न राजनीतिक दलहरुमा आबद्ध भएका कार्यकर्ताको पनि सहभागिता रह्यो ।
७) जेनजेड यो समूह नेपालमा मात्र प्रयोग भएको शब्द होइन । प्रतिपक्षीहरुको बैठक बसिरहेको बेला निजीघरमा आगजनी भएको खबर आएपछि भाद्र २४ गते ११ बजेतिर बैठक टुंग्याएर प्रतिपक्षी दलका नेताहरु बाहिरिएका थिए । त्यसपछि सिंहदरबार आगजनी भएको थियो । त्यही सिंहदरबारको रक्षाको लागि खटाइएको नेपालीसेनाले जल्नबाट जोगाउन सकेन । करिव २,३ बजेतिर देशभर आगजनी गरेर देश जलिरहेको थियो । त्यसपछि सेनाले आफ्नो सक्रियता बढाएको देखिन्छ । यसले नेपाली सेनाको भूमिकाबारे सर्वत्र विरोध भएको छ ।
८) कांग्रेस एमाले र माओवादी नेताहरुको घर र सम्पत्ति ध्वस्त भएकोमा धेरै मान्छेहरु खुशी देखिन्छन् । यिनले पद र शक्तिको दुरुपयोग गरेर देशलाई कंगाल बनाएर व्यक्तिगत सम्पत्ति जोडेकोमा आम जनता कति रुष्ट रहेछन् भन्ने पनि प्रष्ट देखियो ।
९) आफ्नो परमाधिपतिको कार्यालय राष्ट्रपति भवनको सुरक्षा गर्ने दायित्व सेनाको हो कि कस्को हो ?
१०) सबै वहालवाला मन्त्री, पूर्व प्रधानमन्त्री लगायतको सुरक्षाको लागि सेना खटाएको देखिन्छ । ती सेनाको काम के हो ?
११)स्वतन्त्र तिब्बतका धर्मगुरु दलाल लामाले सुशीला कार्कीको सरकारलाई बधाई दिएका छन् । अहिलेसम्म नेपालका सरकार प्रमुखहरुलाई बधाई दिएको पाइँदैन । यसमा दलाइ लामा मार्फत् अमेरिकीकाको सन्देश आएको बुझ्न सकिन्छ ।
१२) नेपाली सेनाद्वारा व्यवस्था ‘कु’भएकै हो । राष्ट्रपतिको सुझबुझ र शाहसले संविधान बचेको छ । सेनाले व्यवस्था कु गरी प्रतिगमन गराएर राजतन्त्र फिर्ता ल्याउने वा देशमा गृहयुद्ध भड्काएर संयुक्त राष्ट्रसंघीय सेना वा बहुराष्ट्रिय अमेरिकी सेनाभित्र्याउने वा सैनिक कु द्वारा सैनिक शासन लागु गर्ने मध्ये कुन प्रयोजनतर्फ उद्धत भएको छ भन्ने कुरा भोलिका दिनमा स्पष्ट हुँदै जानेछ ।
१३) अहिलेको विकास अस्थायी मात्र हो । राजावादीको तयारी पूरा नभएकोले अस्थायी चुनावी सरकार गठन भएको हो र चुनाव हुँदैन । केही महिनापछि फेरि सैनिक कु को प्रयास हुन सक्ने सम्भावनालाई असवीकार गर्न सकिन्न ।
१४) बालेन्द्र शाहको नकाव खुलेको छ । काठमाडौंमा अप्रत्यासित ढंगले महानगरको मेयर जितेका वालेन्द्रका पछाडिको रहस्य पनि खुलेको छ । उनले विगतमा सिंहदरबारमा आगो लगाउने कुरा गरेका थिए । कुनै दार्शनिक चिन्तन र देश बनाउने एजेण्डा नभएका वालेन देश खरानी भएपछि प्रधानमन्त्रीका लागि प्रस्तावित हुनु कुनै आकस्मिकता होइन । यस्ता व्यक्तिबाट देश बन्छ भन्ने भ्रम जेनजी पुस्तामा पर्नु विडम्वना नै हो ।
१५) श्रीलंकाको र वंगलादेशको घटना र त्यसको विकसित रुप अहिलेको नेपालको घटनालाई जोडेर हेर्दा खास खास शक्तिकेन्द्रहरु देशमा अस्थिरता कायम गराउने र आफ्ना कठपुतलीहरुको सरकार बनाएर स्वार्थसिद्धि गर्ने दाउपेज भएको नै देखिन्छ ।
१६)२०५८ सालको दरबारहत्याकाण्डको अर्को रुप अहिलेको ०८२ भाद्र २३–२४ गतेको हत्याकाण्डमा सम्बन्ध हुनसक्छ ।
देश र जनतालाई स्वाधीन, समृद्ध र अग्रगामी राजनीतिक व्यवस्था नयाँ जनवादी गणतन्त्र, समाजवाद हुँदै विश्व साम्यवादी व्यवस्था चाहिएको छ । तत्काल त्यो व्यवस्था लागू हुनका लागि आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक धरातल कायम भएको छैन । त्यो मात्रामा बारम्बार अवरोध खडा हुँदै गैरहेका छन् । अग्रगमनकारी शक्तिहरु यी कठिनाईहरुलाई छिचोल्दै अगाडि बढ्नु पर्दछ ।
जेन–जी आन्दोलनपछि देशको राजनीतिक अवस्था
Comments

