विश्व फार्मासिस्ट दिवसः स्वास्थ्यको मेरुदण्ड

– नरेन्द्रबहादुर थापा
गत भदौ २३ गते हाम्रो देश नेपालमा अन्याय , अत्याचार , भ्रस्टाचार र कुशासनको विरुद्धमा भएको जेन् जी आन्दोलनको क्रममा ठूलो संख्यामा मानवीय क्षति भएको आज अठारौं दिन पुगेको छ । सहिदहरु प्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । दोश्रो दिन २४ गते भएको आगजनीबाट असी अरबको राष्ट्रिय सम्पत्तिको संरचना ध्वस्त भयो ।अझै पनि जेन्जी आन्दोलनका माग पुरा नहुने देखिएको छ ।शाहीदको रगत खेर जाने निस्चित भयो । यस सम्बन्धमा दुख व्यक्त गर्दै धेरै लेख लेखियो ।तर आज स्वास्थ्यको मेरुदण्ड मानिने विश्व फार्मासिस्ट दिवसको बारेमा छोटो चर्चा गरौं ।

आज २०८२ साल भदौ ९ गते तदनुसार सेप्टेम्बर २५,२०२५ इ।, विश्व फार्मासिस्ट दिवस। सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसको रुपमा विश्वभर मनाइन्छ । हरेक वर्ष सेप्टेम्बर २५ तारिखमा मनाइने विश्व फार्मेसिस्ट दिवसले हामीलाई स्वास्थ्य प्रणालीमा फार्मासिस्टहरूको भूमिका बारे गम्भीर ढंगले सोच्न बाध्य बनाउँछ। औषधि केवल उपचारको साधन मात्र होइन । यो त जीवन र मृत्यु बीचको संवेदनशील सेतु पनि हो । त्यसलाई सुरक्षित, प्रभावकारी र वैज्ञानिक ढङ्गले प्रयोग गर्न सक्ने व्यक्तिहरू फार्मासिस्ट नै हुन्। ती फार्मासिस्टहरुको सम्मानार्थ यो दिवस सबैले मनाउने गरिन्छ। यो केवल औषधि व्यवसायी वा प्राविधिकहरूको चाड मात्र होइन । यो सम्पूर्ण स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने एक अभियान पनि हो।
सन् २००९ मा तुर्कीको स्तानबुलमा बसेको इन्टरनेसनल फार्मासटिकल फेडरेसनको बैठकले २५ सेप्टेम्बरलाई विश्व फार्मासिस्ट दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। सन् २०१० देखि यो दिवस मनाउन सुरु भएको हो। त्यो हिसाबले अहिले १६औं विश्व फार्माशिष्ट दिवस मनाइँदैछ। यो दिनले औषधि उत्पादनदेखि वितरण र बिरामीसम्म पुग्ने र पुर्‍याउने सम्पूर्ण फार्मासिस्टको योगदानलाई स्मरण गराउँछ ।

यस वर्ष सन् २०२५ को विश्व फार्मासिस्ट दिवसको नारा‘थिङ्क हेल्थ, थिङ्क फार्मासिस्ट’रहेको छ। यो नाराले विशेषगरी औषधि व्यवसाय र फार्मेसिस्टहरूको भूमिका स्वस्थ प्रणालीको सबै तहका अस्पताल , सामाजिक स्वास्थ्य सेवा, औषधि वितरण ,स्वास्थ्य साक्षरता , आदिमा कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिन खोजेको छ ।
अझ सरल अर्थमा यस नारालाई यसरी पनि बुझ्न सकिन्छ कि– स्वास्थ्य भन्ने कुरा सम्झँदा सबैभन्दा पहिला फार्मासिस्टलाई पनि सम्झनुपर्छ भन्ने सन्देश यस वर्षको यो नाराले दिएको छ।

विस्तृत रूपमा यो नाराको अर्थ हो कि स्वास्थ्य केवल अस्पताल, डाक्टर वा उपचारसँग मात्र जोडिएको छैन। औषधि व्यवसायसँग पनि प्रत्यक्ष सम्बन्धित छ। बिरामीले कुन औषधि कुन मात्रामा कुन समयमा प्रयोग गर्ने भन्ने कुरा सही र सुरक्षित बनाउन फार्मेसिस्टको भूमिका अत्यन्तै जरुरी हुन्छ।
औषधिको गुणस्तर जाँच, उत्पादन वितरणदेखि बिरामीलाई दिने परामर्श सम्म फार्मासिस्टको भूमिका स्वास्थ्य प्रणालीमा अनिवार्य छ। त्यसैले जब हामी स्वास्थ्यको कुरा गर्दछौँ फार्मासिस्टलाई पनि त्यसकै महत्त्वपूर्ण अङ्गका रूपमा सोच्नुपर्छ भन्ने मुख्य सन्देश यस नाराले दिन्छ। यस अर्थमा यो नारा फार्मेसिस्टलाई स्वास्थ्य प्रणालीको अदृश्य, तर अपरिहार्य आधार स्तम्भको रूपमा स्वीकार गर्न प्रेरित गर्ने प्रयास हो।

औषधि मानव जीवन बचाउने महत्त्वपूर्ण हतियार हो। तर औषधिको प्रयोग, मात्रा र सावधानीबारे जनतालाई मार्गदर्शन गर्ने प्रमुख भूमिका फार्मासिस्टको हो। रोगको उपचारमा चिकित्सकले बाटो देखाउछन् भने फार्मासिस्टले त्यो मार्गलाई सुरक्षित यात्रा बनाउन मद्दत गर्छन्। विशेषगरी कोभिड (१९ महामारीको समयमा औषधि आपूर्ति, परामर्श र भ्याक्सिन वितरणमा उनीहरुको योगदानले यो पेशालाई अझ सम्मानित र मर्यादित बनाएको छ ।

नेपालमा भने यो पेशा अझै उपेक्षित छ। धेरै ठाउँमा प्राविधिक दक्षता बिना औषधि व्यवसाय भइरहेको छ। कारण पर्याप्त मात्रामा राज्यले फार्मेसिस्ट उत्पादन गर्न नसक्नु नै हो। प्राविधिक दक्षता बिनाको औषधि व्यवसायले बिरामीको जीवनलाई नै खतरामा पुर्‍याउन सक्दछ। त्यसैले राज्यले औषधि नीति मजबुत बनाउनु पर्दछ । जसको लागि देशको आवश्यकता पहिचान गरी आवश्यकताअनुसारको संख्यामा दक्ष फार्मासिस्ट उत्पादन गर्नुपर्दछ र तिनको सम्मानजनक प्रयोगमा ध्यान दिन जरुरी छ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा अझै पनि औषधि दुरुपयोग, नक्कली औषधि कारोबार, गलत प्रेस्क्रिप्सन र आत्म(औषधोपचार ९सेल्फ मिडिकेसन० जस्ता विषयहरु गम्भीर समस्याको रूपमा देखिएका छन्। यसै सन्दर्भमा फार्मासिस्टको भूमिका अझ महत्वपूर्ण हुन्छ। उनीहरुले औषधि वितरण मात्र गर्दैनन् बिरामीलाई उचित परामर्श दिन्छन् ।औषधिको गुणस्तर सुनिश्चित गर्दछन् र स्वास्थ्य प्रणालीलाई वैज्ञानिक र उत्तरदायी बनाउन सघाउँछन्। तर विडम्बना के छ भने हाम्रो समाजमा फार्मासिस्टको योगदानलाई अझै आवश्यक सम्मान र पहिचान मिलेको देखिँदैन। औषधि बेच्ने सामान्य व्यापारी भनेर सीमित दृष्टिकोण राखिन्छ। तर वास्तवमा उनीहरु प्रशिक्षित स्वास्थ्यविज्ञ हुन् ।
यस वर्षको विश्व फार्माशिष्ट दिवसले हामीलाई स्मरण गराउँछ कि औषधि सजिलो तरिकाले प्रयोग गर्न मिल्ने सामान्य चिज होइन ।फार्मासिस्टको सल्लाह बिना औषधि सेवन स्वास्थ्यको लागि खतरनाक हुन सक्छ। स्वास्थ्य प्रणालीलाई पारदर्शी , सुरक्षित र प्रभावकारी बनाउन फार्मासिस्ट समाजका अविभाज्य र अनिवार्य अङ्ग हुन् । यिनीहरूलाई केवल औषधि बेच्ने व्यक्ति नभई स्वास्थ्यको मेरुदण्डका रूपमा स्वीकार गर्नुपर्ने समय आएको छ।

अतस् आजको दिनले जेन्जी पुस्ताको आन्दोलनबाट स्थापना भएको अन्तरिम सरकारलाई र भवि सरकारलाई औषधि नीतिमा कडाई र जिम्मेवार प्रयोगतर्फ सचेत बनाओस् र फार्मासिस्ट समुदायलाई अझ सशक्त तथा सम्मानित स्थान दिलाओस् । यही हो विश्व फार्मेशिष्ट दिवसको सन्देश । विश्व फार्माशिष्ट दिवसको सबैलाई शुभकामना ।
मिति ः२०८२ असोज ९ गते

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित