क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

 

मनु वि.क.
काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८२ कार्तिक २७ गतेदेखि पुुस ११ गते सम्म, संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो पार्टीले संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । संघर्षको कार्यक्रम सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले  राजनैतिक क्रान्ति पूरा भयो भन्नेहरुलाई जेनजी विद्रोहले पाठ सिकाएको धारणा राख्नुभयो । जेनजी विद्रोह दलाल संसदीय व्यवस्थाले सिर्जना गरेका भ्रष्टाचार ,वेथिति, विसंगति ,असमानताको कारण भएको धराणा राख्दै वहाँले विद्रोहलाई देशी विदेशी शक्तिहरुले हाइज्याक गरेको विचार व्यक्त गर्नु भयो । गजुरेलले जेन्जी विद्रोहका क्रममा ७६ जनाको ज्यान तथा ९५ खर्ब भन्दा बढीको सम्पत्ति ध्वस्त भएपछि त्यसबाट बनेको सरकार पनि जनताको समस्या समाधान गर्न नसक्ने कुरा औंल्याउनुभयो । विद्रोहबाट बनेको सरकारबाट पनि देशले निकास पाउने नदेखिएकाले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई अग्रगामी परिवर्तनको दिशामा लैजानुपर्ने  आफ्नो पार्टीले निर्णय गरेको बताउनुभयो ।

वहाँले देशमा आफूहरुको पार्टीले मात्रै क्रान्तिकारी विचारको रक्षा गरेको र सैद्धान्तिक विद्रोहको झण्डा उठाइरहेको कुरा पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफको क्रममा बताउनुभयो । सिद्धान्तको रक्षाको लागि विद्रोहको झण्डा उठाउनु पनि क्रान्ति नै हो भन्नुहुुँदै नेता गजुरेलले संसारलाई बदल्ने काम हाम्रो हो ,हामीले संसारलाई मुक्त गर्ने सपना देख्नुपर्छ भन्नुभयो ।

देशमा जनयुद्धले नेतृत्वले आत्मसमर्पण गरेका कारण धक्का खाएको कुरा बताउनुभयो । वहाँले जनयुद्धकालीन समयको स्मरण गर्दै जनयुद्ध उत्कर्षमा पुगेको अवस्थामा नेतृत्वले आत्मसमर्पण गरेको भन्दै जनयुुद्धले धक्का खाए पनि क्रान्तिकारी आन्दोलन नरोकिने भन्दै विद्रोह ,क्रान्तिकारी आन्दोलन , नयाँ ढंगले अगाडि बढिरहेको कुरामा विश्वास व्यक्त गर्नु भयो । आफूहरुले जनताको पक्षमा आन्दोलन संघर्षको कार्यक्रम संचालन गर्दै आइरहेको र अब घोषणा भएको कार्यक्रम पनि जनताको हितको खातिर भएकोले सबैको साथ सहयोगको आशा पनि महासचिवले व्यक्त गर्नु भयो ।
पार्टीका स्थायी समिति सदस्य हेमनत प्रकाश ओली‘शुदर्शन’को संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा स्थायी समिति सदस्य रामसिङ श्रीस , हरिभक्त कंडेल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

वक्तव्यमा लेखिएको छ,

“ (१) नेपालको इतिहासमा थुप्रिएर बारुद बनेको भ्रष्ट्राचार, जनअसन्तुष्टी, तत्कालीन केपी ओली सरकारद्वारा बन्द गरिएको सामाजिक सन्जालको मुद्दालाई लिएर जेनजेड विद्रोह विस्फोट भयो । तर यो विद्रोह पराई शक्तिद्वारा अपहरित भयो । १० बर्षीय महान् जनयुद्धमाथि विध्वंश र आतंकको बिल्ला भिराउने देशी–विदेशी प्रतिक्रियावादीहरुले दुई दिनमै ९५ खर्ब भन्दा बढीको सम्पत्ति तथा सम्पदा विध्वंश गरे र ७६ जना जनताका छोराछोरीहरुको रगतमाथि होली खेल्दै कठपुतली सुशीला सरकार खडा गरे । हाम्रो पार्टीले आफ्नो राष्ट्रिय एकता महाधिवेशनमा नेपाल अर्थ –सामाजिक हिसाबले नवऔपनिवेशिक देश हो भनी गरेको संश्लेषण यस घटनाले अझै दिनको घाम जस्तै छर्लङ्ग पारेको छ । यो अर्थ –सामाजिक अवस्थाका आधारमा खडा भएको दलाल पूँजीवादी राज्यसत्ताको तमासा पनि यो अस्थायी सरकारका रुपमा अभिव्यक्त भएको छ । यसले नेपाली जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र संचारका समस्याहरुलाई अझ विकराल बनाएको छ । यो नवऔपनिवेशिक जंजीरलाई चक्नाचूर पारेर सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र समुन्नत देश बनाउन यो कठपुतली सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार बनाउनुपर्दछ भन्ने हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रस्ताव रहेको छ । यसको लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी , जनवादी र वामपंथी पार्टी, समूह र व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गरी संयुक्त मोर्चा निर्माण गर्नुपर्दछ । यो संयुक्त मोर्चाले जनसंघर्ष तथा जनआन्दोलन अघि बढाएर नेपाली शोषित–उत्पीडित जनताको घनिभूत सहयोग र समर्थनबाट स्वाधीन संयुक्त सरकारको गठन गर्नुपर्दछ । यो सरकारले एउटा जनगणतन्त्रात्मक संविधान बनाई देशलाई जनआकांक्षा अनुसार अघि बढाउनुपर्दछ ।

२) तत्काल माथि उल्लेखित लक्षलाई अघि बढाउन हाम्रो पार्टीले निम्न अनुसार संघर्षको कार्यक्रम घोषणा गर्दछ ।
क) पार्टीले ‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !’ भन्ने मूल नारा तय गरेको छ ।
ख) २०८२ कार्तिक २३ गते पत्रकार सम्मेलन गर्ने ।
ग) २०८२ कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने ।
घ) मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने ।
ङ) मंसिर ७ गते महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बाग्लुङ बजार, पोखरा, भरतपुर, विदुर, काठमाडौँ, धुलिखेल, विरगन्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरु गर्ने ।
च) मंसिर महिनाभरी भ्रष्ट्राचारी र दलालहरुको भण्डाफोर गर्ने ।
छ) पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने ।
पत्रकार मित्रहरु, विभिन्न तह र तप्काका जनसमुदायहरु ! यी संघर्षहरुमा तपाईहरुको समर्थन र सहयोगको अपेक्षा गर्दछौं । माथि उल्लेखित कार्यक्रमको समीक्षा पछि हामी आगामी कार्यक्रम तय गर्नेछौं ।”

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित