अशोक शर्मा
भृकुटी मण्डपमा आयोजित विप्लव नेतृत्वको नेकपाको सभामा विप्लवको भाषण सुनियो। वर्तमान सुशीला कार्की नेतृत्वको सरकार लाई विस्तार गरेर सर्वपक्षीय सरकारको रूप प्रदान गर्नुपर्छ भन्ने विप्लवको भाषणको चुरो कुरो थियो। भाषणमा एकातिर विप्लवले सुशीला कार्की नेतृत्वको सरकार देशी विदेशी शक्ति केन्द्रको योजना अनुसार देशका संघर्षशील राजनीतिक शक्तिहरुलाई बेवास्ता गरेर बनाईएको बताउनु र अर्कातिर यही सरकारलाई सरोकारवालाहरूको सर्वपक्षीय सरकारको रूपमा विकास गर्न अनुरोध गर्नु आफैमा अन्तरविरोधी कुरा हो। समग्रतामा आजको कार्यक्रम मार्फत विप्लवले एकातिर मास ग्यादरिङ मार्फत संसदीय राजनीति भित्र प्रवेश गर्नको लागि बार्गेनिङ पावरको विकास गर्न खोजेको देखिन्छ भने अर्कोतर्फ वर्तमान सरकारमा निशर्त सहभागी हुन चाहेको समेत देखिन्छ । सुशीला कार्की नेतृत्वको सरकारलाई सरोकारवालाहरू बीचको सर्वपक्षीय सरकारमा विकास गर्ने अभिव्यक्ति दिनुको पछाडिको वास्तविकता यो भन्दा फरक हुन सक्दैन ।
वर्तमान व्यवस्था अन्तर्गत रहेर सर्वदलीय सहमतिको सरकार गठन गर्ने वा सरकारवालाहरू बीचको सर्वपक्षीय सहमतिको सरकार गठन गर्ने भन्ने विषयमा यतिबेला अन्तरविरोधपूर्ण बहस सिर्जना भइरहेको छ। सर्वपक्षीय सहमतिको सरकार र सर्वदलीय सहमतिको सरकार बीच निकै ठूलो अन्तर रहेको पाइन्छ। सरोकारवालाहरू बीचको सर्वपक्षीय सरकार सरोकारवालाहरूकै बीचबाट गठन हुन्छ। अहिले गठन भएको सरकार पनि जेन्जी आन्दोलनसँग जोडिएका सरकारवालाहरूकै बीचको सरकार भएको कुरामा कुनै दुईमत छैन। अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेसन, समता फाउन्डेसन र फ्रीतिब्बत मुभमेन्टसँग सम्बन्धित समूहहरूलाई राज्यसत्ताले सरोकारवाला पक्ष ठानेको छ। अझ यसमा दुर्गा प्रसाईको राजावादी समुह र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत जोड्ने प्रयत्न भएपनि त्यसले सर्वदलीय सरकारको मान्यतालाई स्थापित गर्न सक्ने डरले यी दुई पक्षलाई तत्कालको लागि होल्ड गरिएको कुरा स्पष्ट छ। तसर्थ यो सरकार जेन्जी आन्दोलनका सरोकारवाला पक्षहरू बीचको सर्वपक्षीय सहमतिको आधारमा गठन गरिएको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ ।
विप्लवले यसरी सुशिला कार्की नेतृत्वको सरकारको निरन्तरताको कुरा गर्नु र त्यसलाई सर्वपक्ष सहमतिको सरकार बनाउने कुरा सँग आफ्नो उपस्थिति प्रति संकेत गर्नुले विप्लवको राजनीतिक दृष्टिकोण के हो भन्ने कुरा छर्लङ्ग हुन आउँछ। अर्थात् उनी राजनीतिक सत्ता स्वार्थको लागि वर्तमान सुशिला कार्की नेतृत्वको सरकार र त्योसँग जोडिएका सरोकारवाला पक्षहरूसँग समेत सहकार्य गरेर अगाडि जान तयार छन् भन्ने कुरा स्पष्ट हुन आउँछ। निसन्देह यो बाबुराम भट्टराईको पछिल्लो राजनीतिक लाइन हो।
हामीले बुझ्नुपर्ने कुरा के छ भने जेन्जी आन्दोलन जुन फर्मुला र रिमोट कन्ट्रोलबाट अगाडि बढ्यो यसका पछाडि अमेरिकी साम्राज्यवाद र उनीहरूद्वारा लगानी गरिएका विभिन्न एनजीओ आईएनजीओ सम्मिलित विजातीय तत्वहरू सहित नेपाली सेना समेतको संलग्नतामा विध्वंसात्मक कार्य मार्फत साम्राज्यवादीहरूले देशको राजकीय र सार्वभौमसत्ता आफ्नो हातमा लिन सफल भए। साम्राज्यवादी योजना उद्देश्य र लक्ष्य बमोजिमको राजनीतिक व्यवस्थाको माध्यमबाट देशलाई प्रत्यक्ष नवउपनिवेशीकरण गर्ने अन्तर्निहित स्वार्थ बमोजिम सुशीला कार्की नेतृत्वको सरकार उनीहरूले खडा गरे। एमसीसी परियोजना अन्तर्गत एमसीए बोर्डका सदस्य कुलमान घिसिङ, बरबरा फाउन्डेसनका बोर्ड मेम्बर जगदीश खरेल, एमसीसी परियोजनासँगै अभिन्न रूपमा जोडिएका पात्र पूर्व अर्थमन्त्री रामेश्वर खनाल, युएसए आइडी मार्फत लगानी गरेको संस्था समता फाउन्डेसनका अध्यक्ष डाक्टर मदन परियार, देखि बब्लु गुप्तासम्मका पात्र र प्रवृत्तिहरू हेर्दा यो सरकार अप्राकृतिक जनविरोधी र जेन्जी आन्दोलनको समेत मर्म र भावना विपरीत ढङ्गबाट गठन भएको र हिँडिरहेको सहजै देख्न सकिन्छ।
उपयुक्त प्रकारको परिस्थितिमा यो सरकारको निरन्तरता र त्यहाँभित्र आफ्नो संलग्नताको खोजी गर्नु भनेको साम्राज्यवादको कठपुतली बन्ने लाइनमा पंक्तिबद्ध हुनु बाहेक अरु केही पनि होइन। वर्तमान व्यवस्थालाई मान्ने नै हो भने, यो व्यवस्था दलीय व्यवस्था हो। दलीय व्यवस्थामा दलहरू बीचको आपसी सहमति र समझदारीमा सरकार गठन हुन्छ। यो स्थितिमा संसदभित्र रहेका वा नरहेका सबै दलहरूको सर्वदलीय सहमतिको सरकार अहिलेको सरकारको तुलनामा तुलनात्मक रुपले एक कदम प्रगतिशील हुन् सक्छ। यो अर्थमा सरकारकै कुरा कसैले गर्ने हो भने पनि सरोकारवालाहरूको सर्वपक्ष सरकार(एनजीओ आइएनजीओ हरूको सरकार) भन्दा सर्वदलीय सहमतिको सरकारको कुरा उठाएको भएदेखि त्यो अलि बढी नैतिक र जायज हुन सक्थ्यो।
विप्लवले जे कुरा उठाए उनको राजनीतिक दृष्टिकोण अनुसार नै उठाए । यसमा खाली विप्लव मात्रै दोषी छन् भन्ने ठान्नु हुँदैन । त्यो भन्दा ठूलो दोष त विषयवस्तुको अध्ययन नै नगरी यस प्रकारका दृष्टिकोणमा आधारित खुल्ला अभिव्यक्ति लाई ताली बजाएर समर्थन गर्ने उनका सहयात्री, सहकर्मी र कार्यकर्ताहरू समेत हुन्। जसले आलोचनात्मक चेतसहित आफ्ना विषयहरू राख्नुभन्दा पनि नेतृत्वको हनुमान चालिसा पढ्ने कुरालाई राजनीतिको सर्वश्रेष्ठ कर्म ठान्दछन्। राजनीति राजनीति जस्तो नहुनका पछाडि यो पक्षको निर्णायक भूमिका छ भन्ने कुरा भुल्नु हुँदैन। विप्लव नेकपाको हकमा पनि यही कुरा सत्य हो।

