पार्टी निर्माण र देश परिवर्तनको कुरा

मनु विक
अहिले दिन दिनै जसो पार्टीहरुको एकता हुने कुरा र पार्टी फुट्ने कुरा सामान्य जस्तै भएको छ । पुराना पार्टीहरु भत्किने नयाँ नयाँ पार्टीहरु बन्ने गरेका छन् । नयाँ नयाँ पार्टीहरु निर्वाचन आयोगमा दर्ता भएका छन् । जुन समुहले पनि निर्वाचन आयोगमा दर्ता गराउन हतार गरिरहेका छन् । यो लेख तयार पार्दासम्म निर्वाचन आयोगमा १ सय २२ दल दर्ता गरेका छन् र २८ दल दर्ताको प्रक्रियामा छन् । फागुन २१ गते सरकारले निर्वाचनको घोषणा गरेको छ । निर्वाचनलाई आधार बनाएर अहिले दलहरु दर्ता गर्ने क्रम चलेको छ । अहिले आफूलाई जेनजी बताउनेहरुको समुह –समुहको दलहरु दर्ता भएका छन् । जेनजी भनेका युवाहरु सहित दलको दर्ता भएका छन् । दल निर्माण हुनु दलीय व्यवस्थाले सिर्जना गरेको बेफाइदा जस्तो भएको छ । दुइ चार जना जम्मा भयो दल दर्ता ग¥यो ।
यो अवस्थामा दलहरुले एकले अर्कोलाई छोड्ने अर्को पार्टीमा सामेल हुने भइरहेको छ । नेताहरु नयाँ पार्टी निर्माणको अभियान नै चलाएका छन् । नयाँ पार्टीबनाउने नयाँ नाम राख्ने भइरहेको छ । नयाँ पार्टीहरु बन्ने र भत्किने क्रममा आफ्नै भनेकाहरु पनि पराइ हुने र पराइ भनेकाहरु पनि आफ्ना हुने भएका छन् । लामो समय समुह बनाएर बसेका , कुनै राजनैतिक संगठनमा आबद्ध नरहेका भनिएका , विचारधारात्मक हिसाबले विचार त्यागेर के गरौं ,कसो गरौं भनेर बसेकाहरुदेखि लिएर देशमा पटक पटक प्रधानमन्त्री मन्त्री भएकाहरु ,पार्टीको नेतृत्व गरिररहेकाहरुको पनि नयाँ पार्टी बन्ने र भत्किने क्रम बढेको छ ।
देशमा जब संक्रमणकाल शुरु हुन्छ यो बेला यस्तै हुन्छ । दलहरु जुट्ने र फुट्ने भइरहन्छ । २०६२ –६३ को आन्दोलन पछि देशमा संविधान निर्माण,द्वन्द्वको व्यवस्थापन लगायतका विषयहरु थिए । देशको शान्ति प्रक्रियालाई स्थायीत्व दिनु पर्ने थियो । त्यो बेला देशी विदेशी शक्तिहरु नेपालमा खेल्न चाहेका थिए । नेपालको अन्तरिम संविधानको संशोधन गरी नेपाललाई संघीय प्रणाली मुलुक बनाइयो । त्यो बेला देशमा जातीय, क्षत्रीय मागहरु उठे । विभिन्न जात जातिको नाममा आन्दोलनहरु भएका थिए । जातीय राज्यहरुको माग उठेका थिए । नेपाली कांग्रेस नेकपा एमाले , जनमोर्चा नेपाल , नेपाल मजदुर किसान पार्टी जस्ता संसदमा प्रतिनिधित्व गरेका र जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी पार्टी बाहेक क्षेत्री समाज ,ब्राहमण समाज, हुँदै मधेशी पार्टीहरु, चुरे भावरलाई समेटेर बनाइएको पार्टी लगायत थुप्रै पार्टी अस्तित्वमा आएका थिए । राज्यको पुनरसंरचना कसरी गर्ने भन्नेमा चरम विवाद थियो । आपसमा दलहरु बाँडिएका थिए । सबैले यही मौकामा आफ्ना मागहरु राख्न पाए सफल भइन्छ कि भन्ने उद्देश्य राखेका थिए । संघका नाम जातीय अनुसार राख्ने कि क्षत्रीय अनुसार राख्ने भन्ने कुराहरु भएको अवस्थामा विभिन्न क्षत्रीय पार्टीहरुको निर्माण भएको थियो । मागहरुको व्यवस्थापन गर्न नसक्दा नयाँ संविधान निर्माण पनि पछाडि सर्दै थियो । २०६४ सालको संविधान सभा यस्तै कारणले २ वर्षको समयावधिमा निर्माण गर्ने भनिएको संविधान सभाको म्यादमा संविधान निर्माण गर्न नसकेर पटक पटक म्याद थपिएको थियो । थपिएको म्यादमा पनि संविधान निर्माण गर्न नसकेर २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो । २०७२ साल असोजमा संविधानको निर्माण भए पछि २०७४ ,२०७९ र को संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनको समयसम्म आउँदा ती संसदमा प्रतिनिधित्व गरेका दलहरु अहिले कता छन् भनेर खोज्नु पर्ने अवस्था छ ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहको क्रममा दलका नेताहरु निशानामा परे नेताहरुको घर जले ,नेताहरु कुटिए । वडा स्तरको नेताहरुको पनि घर जलाइयो, देश नै खरानी बनाइयो । दल छोड्ने क्रम जेनजी विद्रोह भएको दिनमा नै राजनीतिक दलका नेताहरुले पार्टी छोडेको घोषणा गरेका थिए । दलका नेताहरुले सांसदबाट राजिनामा गर्ने, दलको नेता तथा नेतृत्वबाट राजिनामा दिएर अन्य दलको नेताहरुसँग साँठगाँठ गर्नु पर्ने धारणाहरु दिने गरे । यो क्रम अहिले पनि जारी छ । अब पुरानोको काम छैन भन्दै नयाँ निर्माणको अभियान चलाए । जेनजी विद्रोहको केही दिनसम्म जेनजीलाई उपयोग गर्न सबै सकेको लागे । दल जुट्ने र फुट्ने अभियान जेनजीको विद्रोहको एक दुइ दिन पछि व्यापक रुप लिन थाल्यो । अहिले एकीकरणको आत्तुरी छ । एकीकरणमा राजनीति,विचार, दर्शन ,मूल्य मान्यता केही चाहिएको छैन । स्थापित नेतृत्व ,नेतृत्वमा हुनु पर्ने गुणहरु केही चाहिएको छैन। सामाजिक संजाललाई प्रयोग गरेर, स्टाटसहरु लेखेकै भरमा,स्टाटसको सेयर,कमेण्ट गरेकै भरमा सामाजिक संजालको फेक आइडीको शेयर गरेकै भरमा पार्टी निर्माणको धारणा बनिरहेका छन्। यो अवस्थामा पार्टीहरुमा निकै नै उतारचढाव आएको छ । पुराना भनिएका नेताहरु जो वर्षौंदेखि विचारबाट लैश भएका भनिएका थिए उनीहरु पनि विचार छोडेर विचारविहीनतामा पुगेको अवस्था छ । कम्युनिष्टहरु भनिएकाहरुमा झनै विचार, दर्शनको कुनै मूल्य मान्यतामा अडिग देखिएनन् । उनीहरु संसदीय राजनीतिलाई केन्द्रमा राखेर एकता प्रक्रियामा सहभागी भएका छन् । जेनजी विद्रोह पछि कम्युनिष्ट बताउने पार्टीहरु जुट्ने, फुट्ने हुँदैछ । पार्टी निर्माणको मान्यता गुणात्मक नभइ संख्यात्मकलाई लिइएको छ । गुणात्मक रुपमा दर्शन, सिद्धान्त, विचार, पार्टी र देशलाई चलाउन सक्ने नेतृत्व बिना नै संख्यात्मक वृद्धि गर्ने हिसाबले पार्टीहरुको एकता,जुट फुट हुँदैछ ।
पार्टीहरु फुटेको भन्दा जुटेको धेरै राम्रो । फुट्नुमा भन्दा जुट्नुमा जनतालाई सहजता हुन्छ । प्रतिगमनकारी, यथास्थितिवादी र परिवर्तनकारी जो जो शक्ति ,समुह र पार्टीहरु छन् तिनीहरुको बीचमा एकता भएमा जनतालाई सहजता हुन्छ । प्रतिगमनकारी प्रतिगमन कारीकाबीचमा ,यथास्थितिवादी यथास्थितिवादीका बीचमा र परिवर्तनकारी सिद्धान्त दर्शन र राजनीति बोकेकाहरु परिवर्तनकारीहरुमा एकता र ध्रुवीकरण भएको धेरै राम्रो । पार्टीहरु धेरै निर्माण नहोउन् भन्ने अवधारणाको अभ्यास पनि विगतका निर्वाचनहरुमा गठवन्धन गरेर गर्न खोजिएको थियो । गठबन्धन गरेर पार्टीहरुको संख्या खुम्च्याउन खोजिएको हो । उनीहरु जो जो निर्वाचनमा जितेर आए उनीहरुले देश र जनतालाई केही दिन सकेनन् । उनीहरुले देशलाई आश्वासन दिए । नेपाली युवाहरुलाई विदेश पठाएर शासन सत्तामा रमाए ।
नेपालमा आन्दोलन,विद्रोह हुन्छन् । नेपालको प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा पटक पटक आन्दोलनहरु भए । आन्दोलन पछि नयाँ सरकारहरु पनि बने । नयाँ संविधान पनि बने,नयाँ नयाँ पार्टीहरु पनि बने । तर नेपाली जनताको अवस्थामा कुनै परिवर्तन हुन सकेन । त्यसकारण नेपालमा जे भए पनि केही हुँदैन भने जस्तो भएको छ । जनताले जुन पार्टी आए पनि केही हुँदैन भनेर पार्टीहरुलाई विश्वास गर्न छोडेका छन् । पुराना पार्टीहरुबाट केही हुँदैन भनेर जनताले नयाँ पार्टीको खोजी गरेका छन् । अब जेनजीले देशमा केही गर्छ कि भन्दै विश्वास गर्न खोजेका छन् । जेनजी आन्दोलनको नाममा लुकेर देशलाई खरानी बनाउनेहरुले केही गर्छन् कि भनेर भ्रममा परिररहेका छन् ।
देशमा पटक पटक आन्दोलनहरु भए । कहिले एकल रुपमा, कहिले संयुक्त रुपमा, कहिले खुला रुपमा, कहिले भूमिगत रुपमा, कहिले शान्तिपूर्ण रुपमा त कहिले हतियारबद्ध रुपमा । यी सबै आन्दोलन ,विद्रोह र संघर्षहरुमा जनताको साथ सहयोग र समर्थन रह्यो । पार्टीहरु बन्ने, पार्टीहरु सरकारमा पुग्ने र पार्टी र नेतृत्वकोको अवस्था फेरिने तर देश र जनताको अवस्थामा परिवर्तन नहुने भयो ।
अहिले पार्टीहरु जुट्ने फुट्ने भएको छ । यो एकता क्रान्ति र परिवर्तनको पक्षमा भइदिएको भए नेपाली जनतालाई निकै राम्रो हुने थियो तर अहिलेको एकता कुनै क्रान्ति आन्दोलनको लागि भइरहेको छैन । जो जो जुटेका छन् ,फुटेका छन् ,उनीहरु चुनावमा केन्द्रित भएर संसदको उपयोगमा आफूहरु कहीँपछाडि परिन्छ कि अर्थात चुनाव हारिन्छ कि भन्ने मनशायका साथ एकता भएका धेरै छन् ।
जो जो संसदमा जान पाएका थिएनन् । विगतका निर्वाचमा भाग लिन पाएका थिएनन् उनीहरु निर्वाचन जितेर केही हासिल गर्न सकिन्छ कि भन्ने बाहेक केही छैन । फेरी पनि नेपाली जनताले केही पाउँदैनन् । अहिले जेनजी विद्रोह पछि नेपाली जनताले केही पाउन नसकेको कुरा आइसकेको छ । जेनजीविद्रोहमा अनाहकमा युवा विद्यार्थीहरुको ज्यान गुम्यो र अरबौंको सम्पत्ति स्वाहा भयो तर नेपाली जनताले चुनावको घोषणा बाहेक केही पाउन सकेनन् । तोकिए कै समयमा चुनाव हुन्छ कि हुँदैन भन्नेमा निश्चिन्त हुन सक्ने अवस्था छैन । चुनाव नै भइहालेमा पनि देश र जनताले चाहेको जस्तो आमूल परिवर्तन हुन सक्ने छैन। नेपालका जनताले नीति र नेता राम्रो चयन गर्न नसक्दा पटक पटक आन्दोलन र परिवर्तनमा धोका भएको छ । विदेशी शक्तिहरुले खेल्ने अवसर पाएका छन् ।नेपालले उन्नति प्रगति केही गर्न सकेको छैन ।
अहिले पार्टीहरुलाई उपयोग गर्न सकिन्छ कि भनेर ,जेनजीहरुलाई प्रयोग गर्न सकिन्छ कि भनेर सबैले दाउ हेरेर बसेका छन् । उनीहरुले नेपाललाई उपयोग गरेर यहाँका नेताहरुलाई उपयोग गरेर आफ्ना स्वार्थहरु पूरा गर्न चाहेका छन् । यहाँको साधन स्रोत माथि कब्जा जमाउन चाहेका छन् । यहाँको राजनीतिमा अस्थिरता सिर्जना गरेर देश विखण्डन सहित देश नै नामेट पार्न चाहेका छन् । आफुले जे भने पनि मान्ने मान्छेहरुको खोजीमा उनीहरु छन् । उनीहरुले दलहरुलाई विचार विहीनतामा पु¥याउन चाहेका छन् । अहिलेका जेनजीहरुलाई पनि त्यही हिसाबमा पु¥याउन चाहेका छन् । त्यसैको अभिव्यक्ति जेनजीहरुबाट आउने गरेका छन् । पार्टीहरुमा अब कुनै विचार हुँदैन । जेनजीलाई विकास निर्माण र सेवासुविधा चुस्त दुरुस्त मात्रै चाहिएको हो । देशमा भ्रष्टाचार हुनु भएन ।सुशासन हुनु प¥यो भन्ने मात्रै कुरा उनीहरु गरेका छन् । अहिले के कुराले वाइ वाइ पाइन्छ त्यही कुरा गर्ने र जनतालाई भ्रम छर्ने अभियान चलेको छ । यस्ता खालका कुराले देशलाई कता लैजाने हो र देशको भविष्य के हुने हो भन्ने चिन्ता बढेको छ ।
देशको विकास नहुनुमा ,नेपाली जनताले सुख पाउन नसक्नुमा मुख्य कुरा यहाँको उत्पादन नहुनु , उत्पादनले पनि विदेशी सामान आयातको कारण बजार नपाउनु ,विदेशबाट आयातमा भर पर्नु पर्ने , युवाहरु विदेश पुग्नु पर्ने ,दूरदर्शी नेतृत्वको अभाव , व्यक्तिगत सम्पत्तिको कुरा,भ्रष्टाचार, साधन स्रोतको असमान वितरण हुनु जस्ता कुराहरुले गर्दा हो । यो कुरामा पुराना नयाँ भनिएका कसैले ध्यान दिन सकेका छैनन् ।
जबसम्म यी कुराहरुको बारेमा गहन छलफल,विश्लेषण,निश्कर्ष र कार्यान्वयन हुँदैन तबसम्म जति नै विद्रोह भए पनि जति नै क्रान्ति र परिवर्तनको कुरा गरे पनि जति नै नेताहरुले जनतालाई आश्वासन दिए पनि र जति नै नेताहरुले चुनाव जितेर आए पनि जनताको अवस्थामा परिवर्तन हुन सक्ने छैन ।
जनताले यी कुराहरुलाई बुझ्नु परेको छ । जनताले धेरै पार्टीहरुको निर्माण भएको अवस्थामा कुन सही विचार दर्शन र राजनीतिबाट निर्देशित पार्टी हो भन्ने कुरा छुट्याउन पर्छ । कुन पार्टीले कुन वर्गको हितमा काम गर्छ ,उसको दर्शन ,सिद्धान्त केहो रु उसको नीति विदेशीको पक्षमा निर्णय गर्ने छ कि नेपाली जनताको पक्षमा निर्णय गर्ने छ रु उसको नीति देशलाई जोगाउने खालको छ कि देशलाई विखण्डन गर्न,देशमा जातीय, क्षत्रीय विग्रह ल्याउन चाहेको छ कि देशलाई एकताबद्ध गराएर मुक्ति दिन चाहेको छ त्यो कुरा राम्रोसँग बुझ्नु पर्ने भएको छ ।
उदाहरण धेरै दिइरहनु पर्दैन । देशका युवाहरुलाई विचारविहीन बनाएर आगो लगाउन उक्साउनेहरु पनि त देशमा छन् । कुनै विदेशी आएरै देश बिगार्नु पर्दैन ।उनीहरुले आफ्ना पक्षमा काम गर्ने मानिसहरु सजिलै तयार गरेका छन् । जनताले यस्तो अवस्थामा सच्चा देशभक्त र क्रान्तिकारी शक्ति कोहो रु त्यो शक्तिलाई चिन्न सक्नु पर्दछ । अहिलेको देशको आवश्यकता कुनै विचारविहीन शक्तिहरुको हैन ,कुनै प्रतिगमनकारी ,यथास्थितिवादीको पनि हैन,अहिलेको देशको माग भनेको क्रान्तिकारी परिवर्तनकामी शक्तिहरुको हो । उनीहरु को हुन् जनताले छुट्याउनु पर्दछ । हा,हु र हल्लाको पछि लाग्दा देश क्षणभर मै खरानी बनेको छ । जनताले कपाल रङ्ग्याउने र हल्लाउने हेर्नु भन्दा दर्शन, विचारमा विचार पु¥याउनेलाई साथ दिनु जरुरी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित