नेपाली श्रमिकहरुले संसारका विभन्न देशहरुमा श्रम बेचिरहेका छन् । नेपाली भूमिमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा नेपाली युवाहरु विदेशी भूमिमा अमूल्य पसिना बगाउन बाध्य हुनु परेको छ । कुनै देशमा श्रम सम्झौता गरेर वा कुनै देशमा विना श्रम सम्झौता नेपालीहरुले पसिना बगाउनु पर्ने बाध्यता छ । नेपाली श्रमिकहरु लुकिछिपी विभन्न देशहरुमा पसिना बगाइरहनु परेको छ । नेपाली युवाहरु रुसी सेनामा समेत राज्यले थाहा नपाइकन भर्ती हुन पुगे । अमेरिकी, फ्रान्सेली लगायतका सैनिक फोर्समा करारमा नेपालीहरु भर्ति भइरहेका छन् । तर नेपाल र ती देशहरुका बीचमा कुनै औपचारिक सम्झौता छैन ।
यहाँका वैदेशिक रोजगारदाता कम्पनीहरुको प्रलोभनमा परेर आकर्षक तलब र सुविधाको आसमा नेपाली युवाहरु विदेशिन बाध्य भएका छन् । देशमा रोजगारीको अवसर नपाउँदा, राज्यले युवाहरुलाई रोजगारी प्रदान गर्न नसक्दा युवाहरु जस्तो सुकै श्रम गर्न पनि विदेशी श्रम बजारमा पुग्ने गरेका छन् । नेपाली युवाहरु अर्धदक्ष,अदक्ष श्रमिकहरुलाई कमसल काममा लगाउने, उनीहरुलाई अत्यन्तै खराब अवस्थाको कामहरु गर्न बाध्य पार्ने, न्यूनतम मजदुर अधिकारहरुबाट समेत वञ्चित गर्ने,कम पारिश्रमिकमा काम लगाउने,उनीहरुलाई सूचनाको हकबाट वञ्चित गर्ने, अत्यधिक श्रम गर्न बाध्य पार्ने, सम्झौता भएका स्थान भन्दा फरक स्थानहरुमा काम गर्न बाध्य पार्ने, जस्ता कार्यहरु हुने गर्दछन् ।
बहुसंख्यक श्रमिकहरुले धेरै लगानीमा विदेश जान सक्दैनन् । अधिकांश युवाहरु चर्को सावाँ व्याजमा साहुबाट ऋण निकालेर थोरै लगानीमा विदेश जाने गर्दछन् । जो थोरै लगानीमा विदेशमा श्रम गर्न गइरहेका छन् , उनीहरुको गन्तव्य भनेको साउदी अरब, कतार, मलेशिया, दुवइ जस्ता मुलुकहरुमा हुने गरेको छ ।
साउदी अरबमा नेपाली युवाहरु काम गर्न थालेको आधा शताब्दी हुन थाल्यो । १९८०देखि नेपाली युवाहरुले साउदीको माटोमा अत्यधिक रगत र पसिना बगाइसकेका छन् र बगाउँदै छन् । साउदीको तातो हावामा चलिरहने नेपाली मुटुहरुले साउदीमा पसिनाको धारा मात्रै बगाएका छैनन् । साउदीको विकास र समृद्धिमा उच्च स्तरको योगदान दिँदै आएका छन् ।
नेपाल र साउदी अरबकाबीचमा सन् १९७७ मार्च १५मा कुटनीतिक सम्बन्ध स्थापित भएको थियो । कुटनीतिक सम्बन्ध स्थापित भएपनि साउदी अरबले नेपालमा २०१२मा दूताबास खोलेको थियो । नेपालले साउदीमा १९७८मा राजदूतावास खोलेको थियो । दुवै देशहरुको कुटनीतिक सम्बन्धले आपसी हित, मित्रताको रुपमा काम हुँदै आएको छ । नेपाली युवाहरुको श्रम गन्तव्यको मुलुक मध्ये साउदी अरब हो । साउदी अरवमा पछिल्लो समयमा मात्रै पनि ४ लाख युवाहरु श्रम गरिरहेका छन् ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको साउदी अरबसँग आगामी जनवरी २६ र २७ गते साउदीमा आयोजना हुने ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स’ (विश्व श्रम बजार सम्मेलन) का अवसर पारेर श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
सम्झौतामा नेपालले श्रमिकको न्यूनतम तलब, बीमा, सुविधा लगायतका विषयहरु समावेश गर्नु पर्ने आवश्यक छ । श्रम सम्झौतामा श्रमिकका हक ,अधिकार, स्वास्थ्य, सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषय लगायतका विषयहरु समावेश गरिनु पर्दछ ।
श्रम सम्झौता गर्दा नेपालले आफ्ना कामदारहरु कुन अवस्थाका छन् ? त्यो विषयलाई मध्यनजर गर्दै मजदुरको तालिम कार्यहरुको विषयमा जानकारी दिने र सो सम्बन्धी लागतको जिम्मेवारी लिनु पर्ने, दक्षता, योग्यता अनुसारको कामको व्यवस्था हुनु पर्नेमा विशेष ध्यान दिनुपर्ने हुन्छ । अहिलेसम्मको नेपालीहरुले जोखिमयुक्त क्षेत्रमा काम गर्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ । नेपाली श्रमिकहरुले ससम्मान श्रम बेच्न वातावरण निर्माण गर्न ध्यान दिनु पर्छ ।
नेपाल–साउदी श्रम सम्झौता !
Comments

