सुभाष भट्ट
आउ हामी सबै मिलेर देश बनाउ
देश बनाउने गफ दिएर देश बनाउँ
कामको नाममा सिनको नभाचेर देश बनाउँ
एकअर्कालाई आरोप प्रत्यारोप गरेर देश बनाउँ।
अधिकारका कुरा गरेर देश बनाउँ
कर्तव्य सबै बिर्सिकन देश बनाउँ।
आउ हामी सबै मिलेर देश बनाउँ।
देश बनाउने यो महान अभियानमा
भविष्यका कर्णधार ए विद्यार्थीहरू हो।
नपढेरै यो देश बनाउन उठ
नपढेरै उत्कृष्ट नतिजाको आस गर
विदेशीने सपना देखेरै यो देश निर्माण गर
देश बनाउने यो महान अभियानमा
यो देशका मार्गदर्शक शिक्षकहरू हो।
नपढाएरै यो देश बनाउन उठ
पदीय मर्यादा बिर्सेरै देश बनाउन उठ
चाकडी चाप्लुसी सिकाएरै देश बनाउन उठ
अर्थतन्त्रका खम्बा ए व्यापारीहरू हो।
देश बनाउने यो अभियानमा जुट
लुट्न पाउनुपर्छ भन्दै देश बनाउन उठ
सरकारलाई कर नतिरिकनै देश बन्छ भनेर उठ
ए कानुनका ज्ञाता वकिलहरू हो
देश बनाउने यो अभियानमा जुट
कानुनको अपव्याख्या गरेरै देश बनाउन जुट
आफू अनुकूल कानुनको व्याख्या गरेरै देश बनाउन जुट
विकासको नक्सा कोर्ने इन्जिनियरहरू
पैसामा नक्सा पास गरेरै देश बनाउन उठ
कागजमा विकास सीमित गरेरै देश बनाउन उठ
ए भगवानको रूप कहलाउने डाक्टरहरू हो।
बिरामीहरूलाई ब्रमलुट गरेरै देश बनाउन उठ
कमिसनको लोभमा
बिरामीहरूलाई औषधि भिडाएरै देश बनाउन उठ
भगवान भनेको दलाल हो प्रमाणित गरेरै देश बनाउन उठ
समाजसेवीको पर्याय भन्ने यी राजनीतिज्ञहरू हो।
झुट्ठो आश्वासन दिएरै देश विकास गर्न उठ
बकवास बोलेरै देश विकास गर्न उठ
भ्रष्टाचारीलाई प्रसय दिएरै देश विकास गर्न उठ
सात पुस्तालाई पुग्ने अकुत सम्पत्ति
कमाएरै देश विकास गर्न उठ
ए यो देशका किसान मजदुरहरू हो।
रमिता हेरेरै देश विकास गर्न उठ।
अमूल्य भोट बिक्री गरेरै देश विकास गर्न उठ
खाडी मुलुक गएरै देश विकास गर्न उठ
विप्रेषण पठाएर देश विकास गर्न उठ
ए यो देश चलाउने कर्मचारीहरू हो।
रिति तिथि बिगाडेरै यो देश विकास गर्न उठ
भ्रष्टाचार गरेर देश विकास गर्न उठ
पैसा कमाउनकै लागि जागिर खाएर
यो देश विकास गर्न उठ
संविधान, ऐन, नियम, कानुन, नियमावली
आफू अनुकूल बनाएरै देश विकास गर्न उठ
ए यो देशका पहरेदार सुरक्षाकर्मीहरू हो।
नियम कानुन खल्तीमा हालेरै देश विकास गर्न उठ
सर्वसाधारण जनता लुटेरै देश विकास गर्न उठ
भ्रष्टाचारी, चोर, डाकु, बलात्कारी, हत्यारा
सलाम ठोकेरै देश विकास गर्न उठ
ए यो देशका बेरोजगारहरू हो।
टिकटक बनाएरै देश विकास गर्न उठ
भाइरल हुने होडबाजी गरेरै देश विकास गर्न उठ
ए यो देशका तटस्थ भन्ने जत्थाहरू हो।
तटस्थ रहेरै देश विकास गर्न उठ
रमिता हेरेरै देश विकास गर्न उठ
ए यो देशका युवा भनिनेहरू हो।
चाकडी चाप्लुसी गरेरै देश बनाउन उठ
दल अनि कथित नेताको झोला बोकेरै उठ
झोले भएरै देश बनाउन उठ
परनिर्भरता स्वीकार गरेरै उठ
गुलामी स्वीकार गरेरै देश बनाउन जुट
आउ सबै
विद्यार्थी, शिक्षक
वकिल, डाक्टर
इन्जिनियर, व्यापारी
राजनीतिज्ञ
किसान, मजदुर
तटस्थ जत्था र समर्थक जनताहरू
अनि बेरोजगारहरू
यो देश बनाउन जुटौँ
त्यसैले आउ हामी सबै मिलेर देश बनाउँ।

