न्यायको प्रतीक्षा (लोकछन्द)

के पी भुसाल ‘अजसझ’

फलामे सिक्री जुताको माला लाउनेहरू झन्,
ढाकाको खादा फूलको माला लाएर हिंड्दैछन् ।
झोले नै गर यिनको स्वागत् अरूता मान घिन्,
लाउने भन्दा लगाइ दिने मूर्ख धर्तीले भन्दैछिन्।।

शहीदको रगत अपमान गर्ने पापी र धूर्त झन्,
निधारभरी अविर घसी विजय भन्दैछन् ।
कालो र मोसो यिनला किन घसेनौं भनेर,
सराप दिन्छन् पीडाले हो कि सहिद रोएर ।

इज्जत भए इज्जत जान्छ नभए के जान्छ ?
लाज नि भए लाग्ने हो लाज लाछीला के लाग्छ ?
बाटोमा फोहर गर्नेला हैन देख्नेला श्रम हो,
जे गर्छ पापी पापनै गर्छ आशा नै भ्रम हो ।

जन्मिए कंश पवित्र भूमि नेपाल देशमा,
दया र माया सेवा र धर्म छैन कि यिनमा ।
नखाने खाँदै आफन्त पोस्दै जाल बुन्छन् अनेक,
उनायो फुल्ला रसाउला पत्थर राख्दैनन् विवेक ।

नखरा काम जो गरे यिनले बाँकी जो केही छैनन्,
हजार जिभ्रे शेषनाग पनि गनेर भ्याउ्दिनन् ।
दुष्कर्म यिनले के कति गरे आफैले जान्दछन्,
धर्तीमा अरू जान्दैन कोही दुःखी नै जान्दछन् ।

विकासका काम यिनले गर्ने भाषणै मात्र हो,
हात्तीको दाँत बाहिरी दाह्रा देखाउने जस्तो हो ।
चुनाव आउँदा गाउँ घर डुल्दै जाल धेरै बुन्दछन्,
विकास गर्ने लेखेर लिष्ट कापी नै भर्दछन्।।

घरघर डुल्दै टिकेट माग्दै चेपारो पार्दछन्,
झोले र घोर्ले सुरक्षा दिदै दशैं पो मान्दछन् ।
दारु र मासु के कुरा गर्नु कनीका छर्दछन्,
निरिहहरू खुशीले मक्ख कनीका टिप्दछन् ।

के गर्नु अझै बखान यिनका गरेर भ्याइन्न,
धर्तीको आँशु पुछेर हिड्ने खै किन देखिन्न ।
आशाता गरौं क्वै दिन होला न्याय र निसाफ,
जनताको हक दिलाइ छाड्ने गर्लानी विकास ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित