मनु वि.क.
हेर्ने एकजोडी आँखा जे पनि हेर्न सक्छन्
देख्ने एक जोडी आँखा छन् जे पनि देख्न सक्छन्
यो आँखाले हेरेको सबै सुन्दर नलाग्न सक्छन्
आँखाले देखेको सबै उत्तम नलाग्न सक्छन् ।
उत्तम र सुन्दर छुट्याउने दिमागले हो
जब दिमाग सही हुन्छ
जब दिमागले सही र गलत छुट्याउन सक्दैन
कमजोरी त दिमागको हो ,
कतिले आँखाले देखेपछि पनि नदेखेझैं गर्न सक्छन्
भरसक आँखाहरुले हेर्न खोज्दैनन् हेर्नै पर्नेहरुलाई पनि
आँखाहरुले हेर्न नखोजेपछि नदेखेझैं गर्न पनि पाइयो
आँखाले नदेखेझैं गरेपछि उन्मुक्त भइयो जिम्मेवारीहरुबाट
जिम्मेवारी लिन नखोजेपछि निकै गाह्रो हुने नै भयो भोग्नेहरुलाई
भोग्नेहरु भोगिरहेकै छन् आँखाहरुको वेवास्तापन
भोग्नेहरुको दिमागले सहिरहेको छ वेवास्ता गर्नेहरुको हेराइ
हेराइ मात्र होइन भोगाइ पनि
जब वेवास्ता गर्नेहरुमाथि आउँछ यस्तै व्यवहार
अनि सम्झन पुग्छन् आफ्नै समस्या ठूलो
संसारमा आफ्नो मात्रै लाग्छन् समस्या भारी ।
कैयौं भारीहरु बोकेर पनि हिँड्न सक्छन् संसारमा तनहरु
कैयौं वज्रको प्रहार सहेर पनि बाँचिरहेका छन् मनहरु
कसको आँखाले हेर्छर यो संसारमा रोएका मनहरु
कसको दिमागले सम्झन्छर यो संसारमा रोएकाहरुको उपचार ?
मुटुभित्रै पोको परेर, मुटु भित्रै गाँठो पर्छ समस्याका चाङहरु
सहाराको आशा, मायाको न्यानो कल्पनामा झुरैझुरा छन् यात्राहरुमा
समस्याका चाङहरुमाबाट बिन्दै ,निफन्दै हटाउनु छ आफै एक्लै
छोटो जिन्दगीको लामो कथा
छोटो जिन्दगीको लामो व्यथा
जिन्दगीका कथा र व्यथाहरु समेट्दा समेट्दै
उकाली र ओराली दौडदा दौडदै भोग्नु पर्छ आँखाहरुको हेराइ
जिन्दगीका अनेक मोडहरुमा सहनु पर्छ आँखाहरुको वेवास्तापन
आँखाहरुको वेवास्ताको उपचार खोज्नु छ यात्राहरुमा
संवेदनशीलता र मानवीयता जगाउनु छ हृदयहरुमा
हृदयबाटै निस्कन्छ मायाका थुँगाहरु
थुँगाहरुको माला उन्नुछ यो संसारमा
मायाका माला लगाएर देखाउनु छ विश्वमा मनहरुलाई । २०८२÷फागुन ५ काठमाण्डौ

