फागुन ८को सामाजिक न्याय दिवसःऔपचारिकतामा सीमित

– नरेन्द्रवहादुर थापा
आज फागुन ८ गते नेपालमा मनाइने “सामाजिक न्याय दिवस“ अर्थात् फेब्रुअरी २०मा अन्तर्राष्ट्रिय स्तरमा मनाइने “विश्व सामाजिक न्याय दिवस“को सर्वप्रथम नेपाल र विश्वभर रहने मानवजाति संपूर्णमा शुभकामना ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)लगायत अन्य धेरै सामाजिक न्याय सम्बन्धी कार्यमा कार्यरत संघ सँस्था र नागरिक समाजहरूको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै २६ नोभेम्बर सन् २००७ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभाले हरेक वर्ष फेब्रुअरी २० तारिखमा सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही घोषणालाई कार्यान्वयन गर्ने क्रममा पहिलो पटक सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो। त्यस हिसाबले अहिले यो दिवस नेपाल लगायत अन्तर्राष्ट्रिय स्तरमै १८आंै सामाजिक न्याय दिवसको रूपमा मनाइँदै छ।
फागुन ८ गते मनाइने सामाजिक न्याय दिवस हाम्रो समाज लगायत अन्तर्राष्ट्रिय समाजमा समानता, मानव अधिकार, समावेशिता र न्यायपूर्ण सामाजिक व्यवस्थाको महत्वलाई स्मरण गराउने महत्वपूर्ण दिनको रूपमा मानिन्छ । यस दिनले हामी समाजका सबै वर्ग, जाति, लिङ्ग, भाषा, धर्म र क्षेत्रका सबै मानिसहरुले समान अवसर सहितको सम्मान पाउनुपर्छ भन्ने सन्देश दिनेछ भन्ने अपेक्षा पनि गरिएको छ । सामाजिक न्याय भनेको केवल कानुनी मान्यता मात्र होइन, अवसर र सुरक्षाको सुनिश्चित गर्नु पनि हो,जुन कुरा अहिलेसम्म हुन सकेको छैन ।
विश्वस्तरमा पनि समाजिक न्यायलाई अत्यन्त आवश्यक र महत्वपूर्ण विषयकोरूपमा रहेको मानिन्छ। संयुक्त राष्ट्रसङ्घले सामाजिक न्यायलाई दिगो शान्ति, विकास र मानव अधिकारको आधार नै भएको मानेको छ। यही दृष्टिकोणले नेपाल जस्ता बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा सामाजिक न्यायको आवश्यकता अझ झन् गहिरो रुपमा रहेको महसुस हुँदै आएको छ ।
यसरी सामाजिक न्यायको बारेमा कुरा गर्दा सर्वप्रथम यसको अर्थ र सार स्पष्ट हुन जरुरी देखिन्छ ।सामाजिक न्याय भन्नाले समाजका सबै मानिसले कुनै पनि प्रकारको विभेदबिना समान अवसर, समान अधिकार र सम्मानित जीवन सहजरूपमा प्राप्त गर्नु हो। यसको लागि शिक्षा र स्वास्थ्य निःशुल्क , रोजगारीको शुनिश्चितता , सम्पत्तिमा समान अधिकार, निर्णय प्रक्रियामा समान सहभागिता, सुरक्षा र सम्मानको समान पहुँच र समावेशिता हुनुपर्छ ।यी सबै कुराहरु केवल कागजमा मात्र सीमित रहे ।
समाजिक न्यायको मूल सार निम्न तीन कुरामा आधारित हुन्छ । ती हुन् –
१. समानता २.समावेशिता र ३.अवसरहरुको न्यायपूर्ण वितरण
जब समाजमा रहेका कमजोर, गरीब , दलित, जनजाति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका,अपाङ्गता भएका व्यक्ति, मजदुर र सीमान्तकृत वर्गहरूलाई उचित अधिकार र अवसर मिल्छ, तब मात्र त्यो समाज साँचो अर्थमा न्यायपूर्ण भएको मानिन्छ । यस्तो मानव समाजको चाहना गर्नु प्रत्येक नागरिकको नागरिक अधिकार हुन जान्छ । तर वर्गीय समाजमा हामी नागरिकले रोजेको र खोजेको न्यायपूर्ण समाज प्राप्तगर्न सहज रूपमा सकिँदैन । त्यसको लागि वर्गसंघर्षद्वारा वर्गविहीन समाज निर्माण गर्नु पर्दछ । वर्गविहीन समाज निर्माणका लागि वर्गसंघर्ष गर्न सर्वप्रथम नागरिक सचेत हुन जरुरी हुन्छ ,जसको लागि जनसंघर्ष संचालन गर्नु यसको प्रारम्भिक चरण हो ।त्यसपछिका चरणहरुमा क्रमशः जनप्रतिरोध संघर्ष ,जनविद्रोह हुँदै सशस्त्र जनविद्रोहद्वारा नयाँ जनवादी क्रान्तिको चरण पार गरी नयाँ जनवादी गणतन्त्रको बाटो हुँदै वैज्ञानिक समाजवादतर्फ संक्रमित हुनु हो ।
अब नेपालको सन्दर्भमा समाजिक न्यायको बारेमा केही कुरा गरौं । नेपाल विविधताको सुन्दरताले सजिएर रहेको एक स्वतन्त्र मुलुक हो। यहाँ विभिन्न जाति, भाषा, संस्कृति र वर्गका मानिसहरू बसोबास गर्दछन्, तर ऐतिहासिक रुपमा केही वर्ग र समुदायले अहिलेसम्म पनि अन्याय, विभेद र बहिष्करण भोग्दै आएका छन् । यसैले सामाजिक न्याय दिवसले ती असमानतालाई पहिचान गरी सुधार गर्ने तर्फ अघि बढ्ने प्रेरणा दिओस भन्ने हामी चाहन्छौं ।
नेपालको संविधानले समानता, समावेशिता र सामाजिक न्यायलाई आधारभूत सिद्धान्तको रुपमा स्वीकार गरेको जस्तो पनि देखिन्छ । राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा मार्फत सबै नागरिकको सम्मानित जीवन सुनिश्चित गर्ने जिम्मेवारी लिएको जस्तो देखिए पनि कार्यान्वयनमा यसको विपरीत हुन गएको छ,जसको एउटा कारण यसको कार्यान्वयनमा नेपाल सरकारको भूमिका अत्यन्त कमजोर र गैरजिम्मेवारी रहेको कारणले गर्दा पनि यस्तो हुन गएको हो ।
नेपालमा सामाजिक न्याय र सुरक्षाका लागि केही वर्षदेखि यता जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका ब्यक्ति , पिछडिएको समुदाय, लोपोन्मुख, आदिवासी जनजाति, बालबालिका आदिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको अवस्था छ । यो सकारात्मक कुरा हो । तर सामाजिक सुरक्षा भत्ताले मात्र सामाजिक न्याय प्राप्त भएको ठहर हुँदैन । उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा पनि आर्थिक, सामाजिक स्तरीकरण नहुँदा जोखिममा परेका समुदाय र सबल समुदायका व्यक्तिले समान रूपमा सो सुविधा उपयोग गरेको अवस्था छ। त्यति मात्र होइन , सुबिधा प्राप्त गर्न आवस्यक जोखिम रहेकोे समुदायका ब्यक्तिले उक्त सुबिधा प्राप्त गर्न सकेका छैनन् भने , सो सुबिधा सवल समुदायका अरु छ्ट्टु र धुर्त ब्यक्तिहरुले लिएका छन,जुन यो नीतिको दुरुपयोग हो र जोखिममा परेका समुदायको घोर अपमान हो। त्यसैले नेपालका सामाजिक न्याय र सुरक्षाका कार्यक्रमलाई अनिवार्यरूपमा पुनरावलोकन गरी सामाजिक न्यायमैत्री बनाउनुपर्ने आवस्यकता रहेको देखिन्छ। यसैगरी नेपालका विकास कार्यक्रमहरूले मूलधारमा नभएका जनसमुदाय र भौगोलिक क्षेत्रलाई मूलधारमा ल्याउने गरी समावेशीतामा विकास गरेको अवस्था नदेखिँदा पनि यस विषयमा व्यापक विश्लेषण गरी विकास व्यवस्थापनमा समेत पुनरावलोकन हुनु जरुरी देखिन्छ ।
यसरी सामाजिक न्याय र सुरक्षाका कार्यक्रमहरुलाई पुनरावलोकनको आवस्यकता दर्शाउँदा, सामाजिक न्यायको आवस्यकतामाथि प्रश्न उठ्न पनि सक्छ कि किन आवश्यक छ सामाजिक न्याय ?
यस प्रश्नको उत्तर बुँदागतरूपमा प्रस्तुत गर्न सकिन्छ । यी सामाजिक न्यायका केही आवस्यकताहरु निम्नानुसार रहेका छन् ।–
१. विभेद अन्त्य गर्न सामाजिक न्याय चाहिन्छ । जात, वर्ग, धर्म, लिङ्ग वा क्षेत्रको आधारमा हुने विभेदले समाजको विकासमा बाधा पु¥याउँछ । सामाजिक न्यायले यस्तो विभेद अन्त्य गर्न मद्दत गर्दछ । त्यसैले समाज विकासमा सामाजिक न्याय अत्यन्त आवस्यक छ ।
२. दिगो विकासका लागि पनि सामाजिक न्याय आवश्यक हुन्छ। जब समाजका सबै वर्गले समान अवसर पाउँछन्, तब मात्र समग्र राष्ट्रको विकास दिगो र सन्तुलित हुन जान्छ ।
३. शान्ति र स्थायित्वको लागि सामाजिक न्याय आवश्यक हुन्छ। असमानता र अन्यायले समाजमा द्वन्द जन्माउँछ । न्यायपूर्ण समाजले शान्ति र एकताको आधार तयार गर्दछ। त्यसैले समाज विकासमा सामाजिक न्याय आवश्यक छ ।
४. मानव समाजको संरक्षण गर्न पनि समाजिक न्याय चाहिन्छ। हरेक मानिस सम्मानका साथ बाँच्न पाउने नैसर्गिक अधिकार हुन्छ । सामाजिक न्यायले यही मानव मर्यादाको रक्षा गर्छ।
वर्तमान चुनौतीहरू
सामाजिक न्याय प्राप्त गर्न वर्तमान अवस्थामा अझै पनि हाम्रो देश नेपालमा धेरै चुनौतीहरु छन्। ती हुन् – गरिबी र बेरोजगारी, जातीय र लैङ्गिक विभेद, शिक्षा र स्वास्थ्यमा असमान पहुँच, दलित, महिला, आदिवासी र सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व , भ्रष्टाचार र अनियमितताको साथै अवसरको असमान वितरण । यी समस्याहरूको समाधान नगरी “सामाजिक न्याय“ पूर्णरूपमा स्थापित हुन सक्दैन ।त्यसो हुनाले अहिलेको अवस्थामा मनाइने सामाजिक न्याय दिवस राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै औपचारिकतामा मात्र सीमित हुन पुग्छ।
सामाजिक न्याय स्थापनाको सर्वोत्तम उपाय भनेको विद्यमान दलाल संसदीय ब्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र पूर्णरूपमा सामाजिक न्याय प्राप्त हुन्छ । तर त्यो चाहना भर्खर एकैचोटी पूरा गर्न सकिने कुरा होइन । जसको लागि चरणवद्ध रूपमा संघर्ष गर्नुपर्छ र नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्नुपर्दछ ।त्यसपछि मात्र वैज्ञानिक समाज्वादी व्यवस्थामा संक्रमणको बाटो खुल्दछ ।
यही दलाल संसदीय व्यवस्थामा पनि केही थोरै मात्रामा भएपनि सामाजिक न्याय स्थापनाका लागि केही उपायहरू छन् , जस्तैः
१. गुणस्तरीय शिक्षा सबैका लागि उपलब्ध गराउने
२. रोजगारीका समान अवसरहरू सिर्जना गर्ने ३.लैङ्गिक समानता र महिला सशक्तिकरण सुनिश्चित गर्ने
४.दलित, आदिवासी, जनजाति र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने
५.कानुनको निष्पक्ष कार्यान्वयन र सुशासनको सुनिश्चित गर्ने
६.भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्ने
यी उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने हो भने हाम्रो जस्तो विद्यमान दलाल संसदीय ब्यवस्था भित्र पनि केही मात्रामा सामाजिक न्यायको लक्ष्य हासिल गर्न केही सहज हुन सक्छ कि भन्ने झिनो आसा गर्न त सकिएला। तर देश र जनताको आवश्यकता र चाहना अनुसार पूर्णरूपमा सामाजिक न्याय स्थापित गर्न वैज्ञानिक समाजवादी ब्यवस्थाको नै प्रतीक्षा गर्नु पर्दछ ।
निष्कर्ष
फागुन ८ को सामाजिक न्याय दिवस न्यायपूर्ण, समान र समावेशी समाज निर्माणको प्रतिबद्धता व्यक्त गर्ने दिन भनिए पनि, यो केवल औपचारिक उत्सवको रूपमा मात्र सीमित भएको छ । सामाजिक न्याय भनेको कमजोरलाई सहानुभूति देखाउनु मात्र होइन, उनीहरुलाई सहजरूपमा अधिकार र अवसर दिलाएर सम्मानका साथ उभ्याउने प्रक्रिया हो।तर यो हुन सकेको छैन ।
समानताविना शान्ति सम्भव हुँदैन। न्यायविना विकास सम्भव हुँदैन। त्यसैले सामाजिक न्यायको स्थापना नै सभ्य र समृद्ध मानवीय समाजको आधार हो।
यस दिवसले हामी सबैलाई एउटा सन्देश दिन्छ– “समाज तब मात्र न्यायपूर्ण हुन्छ, जब सबै नागरिक समान अधिकार र सम्मानका साथ बाँच्न पाउँछन्।“
माथि जति कुरा गरिए पनि सामाजिक न्याय अहिलेकै अवस्था र ब्यवस्थामा पूर्णरूपमा समाजमा स्थापित गरी हामी नागरिकले प्राप्त गर्न सकिंदैन । त्यसको लागि नयाँ जनवादी गणतन्त्रको बाटो हुँदै वैज्ञानिक समाजवादी ब्यवस्थामा नै पुग्नुपर्छ । त्यो दिशातर्फ समाज अघि बढोस । अन्त्यमा सामाजिक न्याय दिवसको पुनः सबैलाई शुभकामना !
मिति ः२०८२, फागुन ८ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित