पश्चिम १ नं. स्ववियु (काठमाडौं) को पर्चा

अ.ने.रा.स्व.वि.यु. भित्रका दक्षिणपन्थीहरु र वक्तव्यबाज क्यारिरिष्टहरु विरुद्ध संघर्ष चर्काउँ !
चैत्र महिनामा सम्पन्न हुने आठौं राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौं ! !
अ.ने.रा.स्व.वियु.ले आठौं राष्ट्रिय सम्मेलन आगामी चैत्र महिनामा सम्पन्न गर्दैछ । प्रगतिशील विद्यार्थीहरुको संगठन अनेरास्ववियु अनेकन टेडामेडा, अड्चनहरु सामना गर्दै विद्यार्थी हकहित तथा अन्य जनवर्गीय हकहितको लागि काँधमा काँध मिलाएर अगाडि बढिरहेको सर्वविदित कुरा नै हो ।
यसै परिप्रेक्ष्यमा प. १ नं. स्वतन्त्र वि.यु. ले प्रकाशनार्थ पठाएको पाठ निम्नानुसार छ । “आज सामन्ती अधिनायकवादी फासिष्ट पंचायती व्यवस्थाले नेपाली जनताहरुलाई कुल्चिन तीब्र दमन र आक्रमणको क्रम संचालन गरेको छ । महंगी, अभाव, कालोबजार, भ्रष्टाचार र अत्याचारले नेपाली जनताहरु छटपटाइरहेका छन् । फासिष्ट शासकहरु आफ्नो स्वार्थ पूर्तिको निम्ति देशको राष्ट्रिय सम्पत्ति सखाप पारिरहेका छन् । साम्राज्यवादसँग मिलेमतो गरी राष्ट्रियताको खुलेआम बेचविखन गरिरहेका छन् । नेपाली जनताहरुलाई सामान्य मौलिक हक र अधिकारबाट बञ्चित गरिरहेको भर्खरै प्रेस नियमावली (२०४०) ल्याएर प्रेस अभिव्यक्तिलाई कुण्ठित पार्दै प्रेस जगतको गला रेटिएको छ । अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउने न्यायप्रेमीहरुलाई बुट, लाठी र गोलीका पर्राद्वारा दबाउने दुष्प्रयास फासिष्ट शोकहरुले गरिरहेका छन् । केही महिना अघि हेटौंडाका न्यायप्रेमी भक्तबहादुर श्रेष्ठलाई विनाकारण गिरफ्तार गरि जेलको कालकोठरी भित्र यातना दिइरहेको छ । अनेरास्ववियुकेसका सदस्य कृष्णसेन अझै जेलको चिसो छिडिमा यातना भोग्दै हुनुहुन्छ । राजबन्दी रिहाई गर्नुका सट्टा देशभरीका जेलहरु राजबन्दीले भरिएका छन् । सिन्धुपाल्चोकको पिस्कर धार्मिक मेला माथि हस्तक्षेप गरी नागरिक हत्या गरिएको छ । गोर्खामा पञ्च कांग्रेसी गठबन्धनद्वारा आम धरपकड र गिरफ्तारी गरिएको छ । ड्राइभर गणेश श्रेष्ठको षडयन्त्रमूलक तरिकाले हत्या गरिएको छ । यसरी आज फासिष्ट शासकहरुले नेपाली जनताका छातीमाथि दौडिरहेका छन् । यतिले मात्र नपुगि सैनिक विधेयक पास गरी देशलाई सैनिकीकरण गदै गइरहेको छ । यसरी हाम्रो देशको राष्ट्रिय स्थितिलाई अत्यन्तै संकटमय अवस्थाबाट गुजारिरहेको छ भने अन्तर्राष्ट्रिय स्थिति पनि निकै संकटकालीन अवस्थामा छ । साम्राज्यवादीहरुले निमोठ्दै गैरहेका छन् । चीनमा प्रतिक्रान्ति भएपछि झन यो क्रम तीब्र बन्न पुगेको छ ।
विश्वभरी नै माक्र्सवादी, लेनिनवादी र माओ विचारधारा माथि साम्राज्यवादी र प्र्रतिक्रियावादीहरुले तीब्र आक्रमण गरिरहेका छन् । जसको ज्वलन्त प्रमाण सिराहा जिल्लामा दक्षिणपन्थी तत्वबाट गरिएको क्रान्तिकारी किसान बासुदेव ठाकुरको हत्या हो । यस्तो जटिल र संकटमय राष्ट्रिय अवस्थामा क्रान्तिकारीहरुको अत्यन्तै प्रतिकुल र दक्षिणपन्थीहरुको निम्ति अत्यन्तै अनुकूल स्थिति हुन्छ । त्यसकारण नै आज विश्वभरी दक्षिणपन्थी अवसरवादको बोलबाला भैरहेछ । यसबाट हाम्रो देश पनि अछुतो रहन सकेको छैन । यसको मूलकारण बाह्य नभै आन्तरिक अवस्था नै हो । यसको फलस्वरुप नै आज, हिजोको कतिपय वामपन्थीहरुले व्यवस्थाको अगाडि आत्म समर्पण गर्ने विभिन्न प्रतिक्रियावादीसँग एकता गर्ने जस्ता पलायनको बाटो समात्ने क्रम तीब्र भएर गएको छ । यस्तो परिस्थितिमा विद्यार्थीहरुको एक मात्र क्रान्तिकारी संगठन अ.ने.रा.स्व.वि.यु.भित्र पनि दक्षिणपन्थी अवसरवादको प्रवाहमा केही व्यक्ति परेका छन् । यो कुनै नौलो कुरा होइन । यस्तै अवस्थामा नै क्रान्तिकारी संगठनभित्रका दक्षिणपन्थीहरु खुला रुपमा देखा पर्दछन् । फलतः हाम्रो संगठन भित्रका दक्षिणपन्थीहरु खुला रुपमा देखा परिरहेका छन् । यस्ता तत्वहरुले प्रथमतः संगठनको क्रान्तिकारी परम्परालाई अलमलाई संगठनलाई दक्षिणपन्थी भासमा जाकेर प्रतिक्रियावादीको सेवा पु¥याउन खोजेका छन् । द्वितीय, या षडयन्त्र पूरा नभए उनीहरुको कार्यका रोडाको रुपमा रहेका क्रान्तिकारीहरुको चरित्र हत्या गर्ने, धम्की, हत्या र कुटपिट गर्ने आदि क्रियाकलाप संचालन गर्नुको साथै संगठनलाई तहसनहस पार्ने दुष्प्रयास गर्दै छन् । निश्चय पनि यो उनीहरुको पतनको सूचक हो ।
कुनै पनि संगठनभित्र मतभिन्नता हुँदैन भन्ने होइन, मतभिन्नता हुन्छ । तर त्यसलाई संचालन गर्ने परिपाटी के त ? त्यो हो जनवादी केन्द्रियता तर दक्षिणपन्थी तत्वहरुले यसो नगरी संगठनमा मतभिन्नतालाई नचलाई सडक र गल्तीमा खुलेआम रुपले उत्रिनुको रहस्य के त ? स्पष्ट छ संगठनलाई तहसनहस पार्नु । त्यसकारण नै आज उनीहरु खुलेआम रुपमा गई रहेका छन् । जनवादी केन्द्रियतालाई पालना गर्नु पर्दछ भन्ने बहुमत नेतृत्वलाई षडयन्त्रकारी तत्वहरु फुटप्रिय र तानाशाह भन्दै आफ्ना काला कर्तुतलाई लुकाउने दुस्प्रयास गर्दै छन् । षडयन्त्रकारी तत्व को ? जो संगठनको क्रान्तिकारी परम्पराप्रति दृढ संकल्पबद्ध छन् । तिनीहरु वा जसले संगठनको क्रान्तिकारी परम्परालाई नजोगाएर संगठनको नीति र धारणा विपरीत पंचायती चुनावमा भाग लिनुपर्छ, प्रमुख अन्तरविरोध सामन्तवादसँग मात्र, २००७ साललाई असफल पुँजीवादी क्रान्ति भन्दै प्रचारप्रसार गर्ने षडयन्त्रकारी ? संगठनको अनुशासनमा बस्नुपर्छ भन्ने षडयन्त्रकारी वा अुनशासनको उल्लंघन गर्दै बहु केन्द्र स्थापना गर्न खोज्नेहरु ? संगठनभित्र आफ्नो तर्क राख्ने आँट गर्न नसकि बाहिर मञ्चमा ल्याउने षडयन्त्रकारी ? संगठन भित्र अराजक स्थिति उत्पन्न गरी फुटाउन प्रयास गर्ने षडयन्त्रकारी वा यसो हुन नदिने षडयन्त्रकारी? प्रगतिशील संगठनभित्र कुनै पनि विषयमा निस्कर्ष वा निर्णय कसरी गरिन्छ ? छलफलद्वारा बहुमतको आधारमा वा अल्पमतको आधारमा । बहुमत अल्पमतको अधिनस्थमा हुन्छ वा अल्पमत बहुमतको अधिनस्थमा ? यो सम्बन्धमा माओले भन्नु भएको छ –“व्यक्ति संगठनको अधिनस्थमा हुन्छ । अल्पमत बहुमतको अधिनस्थमा हुन्छ । (सं.र.स.२.पृ.३६२) यो एउटा संगठनको सामान्य नियम हो । त्यसको विपरीत ज्ञानले संगठनका एकतालाई भंग गरिरहेका हुन्छन् । कस्तो निर्णय स्वीकृत गर्ने त अल्पमतको वा बहुमतको यस सम्बन्धमा माओ पुनः भन्नु हुन्छ, अल्पमतको विचार अस्वीकृत गरिएको छ भन्ने यसले बहुमतले स्वीकृति गरेको निर्णयलाई समर्थन गर्नुपर्दछ । आवश्यक परे अर्को बैठकमा पुनः छलफलको लागि यस विषयलाई उठाउन सक्दछ तर त्यस बाहेक कुनै किसिमबाट पनि यसले निर्णयको विरुद्ध काम गर्नु हुँदैन । (स.र.ग.१, हि.पू. १७८) अब भन्नोस् अनुशासनको उल्लंघन गर्दै माओको शिक्षालाई समेत नकार्दै बहुमतको तानाशाही भन्ने कुरा कुन माक्र्सवादीको उत्पादन हो । यो कुराहरुबाट को षडयन्त्रकारी र को फुटप्रिय भन्ने स्पष्ट हुँदैन र ?
दक्षिणपन्थीहरुले आफ्ना फोहोरी अनुहार लुकाउनको निम्ति व्यक्तिगत आक्षेप चरित्र हत्या गर्नुको साथै के.स.को छैठौं बैठकलाई अवैध र लिलामणि पोख्रेल अध्यक्ष नै रहेका जस्ता विभिन्न भ्रमहरु सिर्जना गर्ने दुस्प्रयास गरिरहेका छन् । यो उनीहरुको मानसिक र नैतिक पराजयको शुरुवात हो । भ्रमका जालाहरु धेरै दिन टिक्न सक्दैनन् । तिनीहरु च्यातिन्छन् । जनतालाई सधैभरी भ्रममा अलमलाई रहन सकिंदैन ।
उनीहरुले एकैदिन वास्तविकता बुझ्दछन् भन्ने कुरा, सायद दक्षिणपन्थीहरुले बुझेका छैनन् । बुझेका भए पनि केही दिन आफ्नो स्वार्थ पूर्ति गर्ने यो बाहेक अर्को उपाय छैन । हैन भने कसैले तपाई भनोस वा नभनोस स्वयं आफै मपाई भन्ने जस्तो धृष्टता गरी संगठनले अध्यक्षबाट हटाई अध्यक्ष होइन भन्ने कुरा जनसमक्ष ल्याई सकेपछि आफू अध्यक्ष नै रहेको भनी वक्तव्य र भाषण गर्दै हिंड्ने हद दर्जाको निच कार्य गर्न पुग्ने थिएनन होला । गलत राजनीति बोकेकाहरुको पतन यसरी नै हुन्छ । आज दक्षिणपन्थीहरुले अ.ने.रा.स्व.वि.यु.माथि तीब्र आक्रमण गरी संगठनको गरिमा र क्रान्तिकारी परम्परालाई चकनाचुर पार्न खोजिरहेका छन् भने अर्कोतिर यस्तो संकटमय अवस्थाको मौका छोपी अनुशासनविहीन र वक्तव्यबाज, क्यारिरिष्टहरु वक्तव्य दिन पछि नपरी आम जनसमुदाय र विद्यार्थीहरुको बीचमा फुट भएको भ्रम सिर्जना गर्दै फाइदा उठाउने दुष्प्रयास गर्दैछन् । यी तत्वहरुले पनि दक्षिणपन्थीहरुको स्वरमा स्वर मिलाउँदै बहुमत नेतृत्वलाई षडयन्त्रकारी तत्वहरुको रुपमा रहेको अवसरवादको विल्ला भिराई संघर्षको आह्वान गरेका छन् । यिनीहरुको यस्तो क्रियाकलापले कसलाई सहयोग पुग्छ त ? स्पष्ट छ अन्ततः दक्षिणपन्थीहरुलाई नै फाइदा र सहयोग पुग्छ । उनीहरुको दक्षिणपन्थी सितको विरोधको लागि मात्र विरोध हो । त्यो त भ्रम सिर्जना गरी आफ्नो प्रभाव जमाई पुनः नेतृत्व कब्जा गर्ने दाउ मात्र हो । यदि यिनीहरुसित सचेत भइएन भने यी तत्वहरुले दक्षिणपन्थीहरु भित्रको संघर्षलाई कमजोर बनाइदिनेछन् । बनाई पनि रहेका छन् । तसर्थ यस्ता तत्वहरुबाट समेत सावधान रहनु जरुरी छ । तब मात्र हामीले निर्मम संघर्ष गर्न सक्छौं ।
अन्तमा यस्ता तत्वहरुको विरुद्ध डटेर मुकाविला गर्दै विगतमा झै क्रान्तिकारी परम्परालाई कायम राख्न यही २०४० चैत्र महिनामा सम्पन्न हुन गैरहेका अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलनलाई विगतमा जस्तै आर्थिक र भौतिक रुपले सहयोग गरी सफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई अ.ने.रा.स्व.वि.यु.(काठमाडौं) हार्दिक अनुरोध गर्दछ ।
(पश्चिम १ नम्बर स्वतन्त्र विद्यार्थी युुनियन (काठमाडौं ) ।
(नोटः ने.क.पा.चौथो महाधिवेशन धार सम्बद्ध विद्यार्थी संगठनको २०३६ र २०३७ को राष्ट्रिय सम्मेलनबाट लिलामणि पोख्रेल अध्यक्ष भएका थिए । विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यु.को आठौं राष्ट्रिय सम्मेलनका बेला नेकपा चौथो महाधिवेशन धार विभाजन भई नेकपा (मशाल) र नेकपा (चौ.म.) दुई वटा पार्टी बनिसकेको थियो । निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौ.म.) लाई नेकपा (मशाल) पक्षले दक्षिणपन्थी भनेर विरोध गरेको थियो । त्यही सन्दर्भमा बेलामा नेकपा (मशाल) पक्षको अ.ने.रा.स्व.वि.यु. को आठौं राष्ट्रिय सम्मेलनका बेला प्रकाशित यस पर्चालाई हाँक साप्ताहिक, वर्ष १, अंक १८ फाल्गुण १७ मा प्रकाशित गरिएको थियो)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित