बीर बहादुर पुन , सचिव,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , जिल्ला समिति प्यूठान
० तपाईहरुलाई प्रहरीले कहिले कहाँबाट गिरफ्तार गरेको थियो ?
– म र टिकाराम पौडेललाई फागुन १३ गते करीब ३ बजे प्यूठान नगरपालिकाको टिकुरीबाट गिरफ्तार गरेकोे थियो ।
० तपाईहरुको हिरासत अनुभव कस्तो रह्यो?
– हाम्रो गिरफ्तार पछि हिरासतको अवधिभर सामान्य नै रह्यो । पुस्तक पढ्ने ,समाचार सुन्ने , विश्व कप क्रिकेटको लाईभ हेर्ने , त्यहाँ भित्र रहनु भएका अन्य साथीहरूसँग निर्वाचनका विषयमा छलफल गर्ने गर्यौ । हामी निर्वाचनको बहिस्कारको क्रममा गिरफ्तार परेका थियौ भने अन्य साथीहरू गाडी दुर्घटनामा परेका ड्राइभर , मोटरसाइकल दुर्घटनामा परेका मोटरसाइकल चालक , ज्यान केसमा परेका थुनुवा हुनुहुन्थ्यो । उहाँहरूसँग हाम्रो बहिष्कारको बारेमा किन बहिष्कार गर्ने , आज सम्म भोट हालेर हामीले के पायौं ? देश जनताले के पायो ? अहिलेको चुनाव कसले गराउदै छ र भोलि के हुदै छ ?देश कता जाँदै छ? भन्ने बारे छलफल चलायौ ।यो व्यवस्था भनेको ठगहरूको तपाईं हामीलाई लुटिखानेको ब्यवस्था हो यसको विरूद्व संघर्ष गर्नुपर्छ भन्ने कुराहरू छलफल गर्यौ। त्यहाँ भित्र पुलिसहरूले उसका हाकिमले हामीलाई फरक र सम्मानित व्यबहार देखे पछि ती साथीहरूले पनि राजनीति गर्नु पर्दो रहे छ भन्ने महसुुस गरायौ र अब हामी पनि बाहिर गयौं भने राजनीति गर्नेछौं भन्ने सम्म गरायौ।
० थुनुवाहरु सितको थप सम्बन्ध कस्तो रह्यो ?
–हिरासत भित्र धेरै खालका थुनुवा थियौं । उहाँहरू विभिन्न परिवेश परिवन्दले आउनु भएको थियोे । कोही अलि लामो दिन वर्ष जेल बस्नु पर्ने कोही केही दिनमा छुट्ने खालको हुनुन्थ्यो ।आफ्नो कारणले भन्दा पनि अरूको कारले घटना घटन पुगेको हुनुहुन्थ्यो भने कोही आफ्नै कमजोरीले भएको हुनुहुन्थ्यो उहाँहरूलाई हतोत्साहित नहुन साथै आफ्नो कमजोरीलाई महसुस गरेर कानुनी समय प्रक्रिया पुरा गरेर अनावश्यक धेरै रकम कसैलाई नखुवाएर निस्कन सकिन्छ । पैसा खर्च गरे पनि कानुनी समय पुरा गर्नै पर्छ भनेर सम्झाउने आत्मविस्वास दिलाउने जस्ता कुराहरू गरियो ।
० गत फागुन २१ को निर्वाचनको मूल्यांकन कसरी गर्नु हुन्छ ?
– निर्वाचन सम्पन्न भएर पनि निर्वाचन परिणाम आई सकेको छ । रास्वपालाई करिब दुई तिहाइको मत नेपाली जनताले दिएका छन्। जनताको चाहाना भनेको देशमा सुशासन कायम गर्ने , हिजोका ठूला दलका भ्रष्टाचारीलार्इ कार्वाही गर्ने, जेल हाल्ने र देशमा रोजगारी सृजना गरि विदेशिएका जनतालाई स्वदेश फर्काउने हो, त्यो गर्ने काम गर्छ कि गर्दैन हेर्ने समय आएको छ । रास्वपाको परीक्षाको दिन आएको छ । ठूलो खतरा एसपिपि पास गरेर देश रणमैदान बन्ने सम्भावना बढेर गएको छ ।
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरु अबको दिनमा कसरी अगाडि बढ्नु पर्छ भन्ने ठान्नु हुन्छ ?
– अबको दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत छरिएर रहेको सम्पूर्ण वामपन्थी क्रान्तिकारी शक्तिहरू बीच एक भएर यो दलाल तथा नवउदारवादी संसदीय व्यवस्थाको विरूद्वमा जनतालाई सचेत र संगठित गर्दै जनवादी व्यवस्था हुँदै समाजवादी व्यवस्थाको लागि संघर्ष गर्ने समय झनै नजिक आएको छ । त्यसको लागि जनसंघर्ष गर्ने , भ्रष्टाचारीलाई गाउँ गाउँबाट कार्वाही गर्ने, जनसंघर्षलाई उच्च स्तरमा विकास गर्ने र जनसंगठन व्यापक रूपमा विकास र विस्तार गर्नुपर्ने समय आएको छ । नत्र हाम्रो संगठन गाउँमा भेट्न गाह्रो हुनेछ ।

