दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि सैन्य आक्रमणको विरोध

काठमाडौं । दक्षिण एशियाका २२ विद्यार्थी संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएको  सैन्य आक्रमणको निन्दा गरेका छन्  । उक्त वक्तव्यमा सैन्य हस्तक्षेपको अन्तर्राष्ट्रिय रूपमा विरोध गर्न र इरानी जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न आह्वान गरिएको छ । मार्च १० मा सार्वजनिक गरिएको घोषणामा ती संगठनहरूले इरानमा भएका  आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । वक्तव्यमा मिनाबस्थित शारजाह तैय्यबेह छात्रा विद्यालयमा गरिएको बम आक्रमणमा १६० भन्दा बढी बालबालिकाको मृत्यु भएको दाबी गरिएको छ । संगठनहरूले यस घटनालाई गम्भीर मानवीय त्रासदी भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।
वक्तव्यमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यालाई पनि उल्लेख गर्दै यसलाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन  बताइएको छ । इरानभित्र जारी राजनीतिक तनावलाई स्वीकार गर्दै संगठनहरूले आन्तरिक राजनीतिक समस्या विदेशी सैन्य हस्तक्षेपबाट होइन, इरानी जनताले आफैं समाधान गर्नुपर्ने बताएका छन् । बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका २२ विद्यार्थी संगठनहरूले उक्त वक्तव्यमा समर्थन जनाउँदै विश्वभरका विद्यार्थी, युवा आन्दोलन तथा प्रगतिशील संगठनहरूलाई युद्धको विरोध गर्न र शान्ति तथा लोकतान्त्रिक अधिकारको पक्षमा उभिन आह्वान गरेका छन् ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित