फागुन–२८, काठमाडौं । ईनिसा बिकको हत्या सम्बन्धी मुद्दा दर्ता गर्न माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । हस्पिटलको पोस्टमार्टम रिपोर्टमा पूरा समाचार नलेखिएको र सुर्खेत जिल्ला प्रशासनले २१ दिनको म्याद किन थप्यो तुरुन्तै मुद्दा दर्ता गरी मुद्दा अगाडि बढाउनु पर्छ भन्दै माईतिघर मण्डलामा प्रदर्शनकारीहरुले माग गरेका हुन् । सुर्खेत, गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
तर बिहान ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतलेअनुसन्धान गरिरहेको छ ।

