काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजकमा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला चयन हुनुभएको छ ।
२०८३ वैशाख २१ गते बसेको केन्द्रीय संयुक्त संघर्ष समितिको बैठकले बास्तोलालाई संयोजकमा चयन गरेको हो । चक्रिय प्रणालीमा आधारित विधि मुताबिक केन्द्रीय संयुक्त सङ्घर्ष समितिको संयोजकको जिम्मेवारी बास्तोलाले पाउनु भएको हो । यस भन्दा पहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजक हुनुहुन्थ्यो । २०८३ वैशाख २४ गते केन्द्रीय संयुक्त सङ्घर्ष समितिको संयोजक धर्मेन्द्र बास्तोलाले जारी गरेको वक्तव्य यस प्रकार छ –
१.क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,
नेपाल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ हालै सरकारले काठमाडौँका विभिन्न स्थानमा सुकुम्वासी जनतामाथि
गरेको फासीवादी प्रकारको दमन र विस्थापनको घोर निन्दा र भत्सर्ना गर्दछ । सुकुम्वासी र गैरसुकुम्वासीको पहिचान
नगरी र वैकल्पिक उचित बसोबासको ग्यारेन्टी नगरी सुकुम्वासी जनतालाई शक्ति प्रयोग गरी बलात्उठीबास लगाउने
काम कदापि स्वीकार्य हुन सक्दैन भन्ने अडान हामीले सधैँभरी राख्दै आएका छौँ । अहिले सरकारले सुकुम्वासीमाथि
चलाएको राज्य आतंकका विरुद्ध देशव्यापी रुपमा सुकुम्वासी जनता, क्रान्तिकारी शक्तिहरु र नागरिक समाजले प्रतिरोध
सुरु गरेपश्चात तत्काल सरकार पछि हट्न बाध्य भएको छ । केन्द्रीय संयुक्त संघर्ष समिति सुकुम्वासी जनताको देशव्यापी
संघर्षलाई दृढ समर्थन र ऐक्यबद्धता प्रकट गर्दै कार्यकर्ता पंक्ति र आम जनसमुदायलाई त्यस संघर्षमा सामेल हुन अपिल
गर्दछ ।
२.राजधानीमा उठीबास लगाई बिचल्लीमा पारिएका सुकुम्वासीलाई तुरुन्त उचित बसोबासको व्यवस्था गर्न, बच्चाहरूको
पठनपाठनको प्रबन्ध गर्न, होल्डिङ सेन्टरमा निर्वाध सञ्चारकर्मीलाई प्रवेश दिन र सुकुम्वासीहरूलाई क्षतिपूर्तिको व्यवस्था
गर्न केन्द्रीय संयुक्त सङ्घर्ष समिति माग गर्दछ ।
३.राष्ट्रिय स्वाधीनतामाथि झन्झन्खतरा बढेको निष्कर्षसहित केन्द्रीय संयुक्त सङ्घर्ष समिति एमसीसी सम्झौता लागु
गर्ने प्रक्रिया तुरुन्त रोकी त्यसलाई खारेज गर्न माग गर्दछ । त्यसैगरी षड्यन्त्रपूर्वक नेपालमाथि लाद्न खोजिएको एसपीपी
कार्यक्रमतिर अघि नबढ्न सरकारलाई चेतावनी दिन चाहन्छ ।
४.हालै लिपुलेक पास हुँदै भारतले मानसरोवर यात्रा सुरु गर्नु नेपालको सार्वभौमिकतामाथि ठाडो प्रहार हो । भारत र
चीन दुवैको सहभागितामा यो कार्य हुनुले नेपाली देशभक्त जनतालाई गहिरो गरी झस्काएको छ । नेपाली देशभक्त
जनता यस कदमलाई ठाडै अस्वीकार गर्दछन्। लिम्पियाधुरासम्मको नेपाली सार्वभौमिकताको रक्षाको निम्ति दृढतापूर्वक
कुटनीतिक कदम चाल्न र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय मुद्दा बनाउन केन्द्रीय संयुक्त सङ्घर्ष समिति सरकारसँग माग
गर्दछ ।
५.अकासिएको महङ्गीले जनजीवन निकै नै कष्टकर बनेको छ । तर नियन्त्रणको कदमप्रति सरकार पुरै बेखबर छ ।
केन्द्रीय संयुक्त सङ्घर्ष समिति महङ्गी नियन्त्रणको ठोस रणनीति तयार गरी व्यवहारमा लागू गर्न जोडदार माग गर्दछ ।
६.सुकुम्वासी जनतामाथिको राज्य आतंक, महङ्गीको अत्याचार र राष्ट्रिय स्वाधीनतामाथिको खेलबाडका विरुद्ध आगामी
वैशाख ३० गते राजधानीसहित देशव्यापी आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिन सबैलाई हार्दिक अपिल गर्दछ ।
७.सरकारको विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने दृष्टता संविधानको मौलिक हक र अन्तराष्ट्रिय
मान्यताको समेत खिलाफमा छ । यसले राज्यलाई फासीवादीकरण गर्नेछ । केन्द्रीय संयुक्त संघर्ष समिति सरकारले यो
कदम तत्काल फिर्ता लिन र दशकौंको बलिदानबाट प्राप्त अधिकारमाथि खेलबाड नगर्न चेतावनी दिन चाहन्छ ।
८.चक्रिय प्रणालीमा आधारित विधि मुताबिक केन्द्रीय संयुक्त सङ्घर्ष समितिको अबको संयोजकको जिम्मेवारी कमरेड
धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले पूरा गर्नु हुनेछ । ”

