लोकनारायण सुवेदी
विश्वमा सामन्तवाद विरोधी पुराना क्रान्तिहरुमा फ्रान्सेली क्रान्तिलाई विश्वको सबभन्दा महत्वपूर्ण र प्रेरणादायी पूँजीवादी क्रान्ति मानिन्छ । जसले समानता, स्वतन्त्रता र भाइचारको नारा अघि सारेर सामन्तबादी निरंकुशताका बिरुद्ध क्रान्तिको विगुल फुकेको थियो र विश्व राजनीतिलाईनै ठूलो प्रभाव पारेको र आकर्षण गरेको थियो । त्यहाँ १७८९ को जनक्रान्तिदेखि लिएर अहिलेसम्म फ्रान्सले एउटा लामो राजनीतिक यात्रा गरिसकेको छ । १७९२ मा त्यहा पहिलो गणतन्त्र आयो । त्यसपछि पनि त्यहाँ दुइ दुइ पटक गणतन्त्रलाई मूलबाटोबाट किनारा लगाइयो । त्यहाँ राजतन्त्र तथा एकाधिकारबाद पटक पटक आफ्नो वर्चश्व र वैभवकासाथ फर्कियो । तर फ्रान्सेली जनताभित्र जनतन्त्रलाई लिएर प्रतिबद्धता यति बिघ्न गहिरो किसिमको थियो कि त्यसले अन्ततः राजतन्त्रलाई टिक्न दिएन । गणतन्त्र त्यहाँ प्रत्येक पटक अझ परिमार्जित र प्रष्ट भएर आयो । त्यसका साथै त्यसलाई परिष्कार गर्ने प्रकृया पनि जारी रह्यो । त्यसलाई बढीभन्दा बढी थप स्वीकार्य बनाउने प्रयत्न पनि जारी रह्यो । शायद त्यसै कारणले त्यहाँ आज पाँचौ गणतन्त्र छ र ठूलो बिचार बिमर्श र संघर्षका बीचबाट नयाँ संविधानको माध्यमबाट गणतन्त्रलाई बढीभन्दा बढी उदार, समावेशी र पारदर्शी बनाउने अभियान त्यहाँ चल्दै आएको छ र चलिरहेको छ ।
हाम्रो देशमा पनि बितेको झण्डै डेढ दशक भन्दा बढी समयदेखि संविधानलाई लिएर बहस, विचार विमर्श र संघर्ष जारी रहेको र समाजका कतिपय विरोध र असहमत विचारका बीच अहिले संविधान सभाबाट संविधान घोषणा भएको पनि ११ वर्ष बित्न लागिसके पछि पनि असन्तोष र संघर्ष जारी रहेको छ । वितेका स्थानीय र संघीय चुनावकै बेलामा पनि यो असन्तुष्टी र बिमति देखिएको हो । अहिलेको अप्रत्याशितरुपमा आइलागेको चुनाव पछि पनि यो विवाद सुल्झिएको छैन । वास्तवमा एक त यो संविधान निर्माणकोे प्रकृया र बहसले शुरुदेखि नै सही दिशा र गति पाएन । अनि अन्तिम परिणतिमा अझै पनि पाइनसकेकै स्थितिको परिचायक बनेर रहेको छ । हुन पनि देशमा एक किसिमको कोलाहल, अनिश्चितता, आशंका र अन्योलपूर्ण अवस्था अद्यपि जारी छ । यसमा कतिपय जन समुदायका जायज गुनासाहरु छन् भने कतिपय मूल्य–मान्यताका कुराहरु पनि समस्याका रुपमा छन् । कतिपय स–साना संकीर्ण स्वार्थमै हाम्रो संविधान सभाको निर्माण र अहिलेको कार्यान्वयनको क्षणमा समेत बहुमूल्य लामो समय खेर गयो र गइरहेको छ । यथास्थितिवादी आधार, त्यसको आधेय र परम्परागत प्रणालीलाई बदल्ने जन उत्थानकारी सार्थक बहस हुन अझैसम्म पनि सकिरहेको छैन वरु प्रतिगमन देखि प्रतिगमन सम्मकै गोल चक्करका वीचबाट गणतन्त्र गुज्रिरहेको छ । संयुक्त जन आन्दोलनले दिएको दिशा निर्देश, जनताले दिएको मतादेश र परिवर्तनले खोजेको मूलभूत आवश्यकता अनुरुप ब्यवस्थित सोच विचार हुन अझै नसकेकै अल्मलको अवस्थाबाटै देश गुज्रिरहेका छ । यस प्रकारको अवाञ्छित स्थिति विकासले गर्दा मुलक र मुलुकबासीको भविष्य र अस्तित्वको संकटमा परिरहेको प्रतीत हुन्छ भने एक पछि अर्को परिवर्तन ‘तावाबाट उम्केर भुँग्रोमा’ परेको जस्तो मात्रै हुने गर्दै आएको छ ।
हिजो एकातिर यो घोषित संविधानलाई विश्वकै उत्कृष्टतम् र पवित्र संविधान मानेर त्यसमा जनताका अधिकारहरुलाई सुनिश्ति गर्ने ठोस, वस्तुगत र आधारभूत बहसलाई नै गलत बताउन पनि पछि नपरेको देखिन्छ भने अर्कोतिर संबिधानलाई नै समान्य चिठ्ठाको टिकट जस्तो हलुका रुपमा लिएर यसलाई भजाउने प्रयत्न सत्ता र यसको सेरोफेरोमा रहे भएका शक्तिबाट भइरहेको गम्भीर आरोप पनि लाग्ने गरेकै छ । यस स्थितिले हाम्रो गणतन्त्रलाई कहा लिएर जान्छ र के परिणाम ल्याउँछ भन्न सकिने अवस्था छैन ।पछिल्लो स्थिति हेर्दा कतै बाह्य र आन्तरिक प्रतिकृयावादी शक्तिहरुकै चेपुवामा परेर निरर्थक बन्ने त होइन भन्ने सन्देह पनि अहिले उठिरहेको छ । यस प्रकारको स्थितिले नेपाली जनताले लडेर ल्याएको परिबर्तनका सीमित उपलब्धीहरुलाई पनि कसरी जोगाउने, बचाउने र अघि बढाउने भन्ने ठूलो प्रश्न चिन्ह र गम्भीर सन्देह परिबर्तनका सम्बाहक अगुवा र आम जनसमुदायका समक्ष खडा भएको छ ।
अहिलेको पछिल्लो चुनावी परिबर्तन पछि पनि एउटा सानो तप्काले सत्तामा खुरी खेल्ने र मोजमस्ती लिने पुरानै अवाञ्छित विकृति र र विसंगतिहरु नयाँ कलेरमा दोहोर्याउने बाहेक अरु केही हुने देखिदैन । जनताले पाएका हक अकिारको नियमन र प्रभावकारी कार्यान्यन गर्ने दिशा लिनुुका ती अधिकारहरु खोस्ने र दुइ तिहाईको दम्भ देखाउदै जन अधिकारहरु खोस्न उद्यत हुने खालका जुन हर्कतहरु देखाइदैछ त्यसले गणतन्त्रको गौरव र गरीमालाई निषेध गर्न खोजेकै प्रतीत हुन्छ । त्यसो गर्नु नै सशासन हो भन्ने गलत भाष्य तयार गर्न थालेको देखिदैछ । अनि परिवर्तनका सबै कुरा बोल्ने त्यही सानो तप्काको मात्र एकाधिकार त्यसै तप्कालाई मात्र छ भन्ने कुरा परोक्ष प्रत्यक्ष रुपमा धकेल्न सबैलाई त्यतैतिर ढाल्न खोजिरहे जस्तो देखिन्छ । गणतन्त्र, राष्ट्रियता र स्वाधीनताको लागि लामो समयदेखि संघर्ष गर्दै आएका राजनीतिक दल र जन समुदायहरुको बिचारलाई नियन्त्रण गर्न खोजिरहेको जस्तो तिनको कुटीलताको प्रतीति पनि भइरहेको छ । वास्तवमा अहिले नेपाली समाजमा जारी रहेको असन्तुष्टी र संघर्षको एउटा महत्वपूर्ण र सारपूर्ण कुरा यो नै हो । यसबाट के पनि प्रष्ट हुन्छ भने देशका सबै तह, तप्का र समुदायले गणतन्त्रमा आ–आफ्नो स्थानको खोजी गरिरहेका छन् । यो स्वभाबिक नै हो । परिवर्तित प्रणाली आफ्नो पनि हो भन्ने महसुश गर्न यो समाजको ठूलो हिस्साले अझै पनि नपाएको यो अभिब्यक्ति पनि हो । त्यसमा खेलेर उन्नत,बैज्ञानिक सोचको खोज र समानतामा आधारित समृद्धिबाटो लिनुको साटो पछिल्तिर फर्कन कुनै पनि चालबाजीले काम गर्दैन भन्ने कुरा बुझपचाउनु देश र जनतालाई फेरि धोका र भ्रममै राख्ने कुरा मा ठहरिनेछ ।
तर के पनि बिर्सनु हुन्न भने लामो समयको समर्पण, त्याग, संघर्ष र वलिदानपछि पनि परिवर्तनका सम्बाहक मानिएका शक्तिहरुको प्रवृत्ति, मनोबृत्ति, आचारण र व्यवहारले समग्र आन्दोलन, गणतन्त्रात्मक लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक तथा समावेशी पद्धतिकाप्रतिनै एक वा अर्को किसिमले ठूलो प्रश्नचिन्ह लागेको छ । यसबाट जनताको संघर्षबाट विस्थापित शक्ति तथा बाह्य प्रतिकृयावादी शक्ति समेतको सहयोगमा एक वा अर्को किसिमले नयाँ कलेबरमा पुनस्र्थापित हुन खोजिरहेको आभास पनि दिन खोजेको देखिदै आएको छ । त्यसलाई डेढ दशकयता खाशगरी ०६३ सालपछि सत्ता केन्द्रमा रहे बसेका दलहरुले कुशासन,भ्रष्टाचार, कमिशनखोरी, करछली र संगठित मानव वेचविखनका प्रकरणहरु र तस्करी लगायतका विकृत गतिविधि अवलम्वन गरेर कुनै न कुनैरुपमा योगदान गरैकै स्थिति हो । २०७२ को ठूलो भूकम्पको बेलामा होस् या कोरोना महामारीका बेलामा होस् ब्यापक भ्रष्टाचार र तज्जन्य कृयाकलापहरुले समेत यो कुरा अझ प्रष्ट पारेका हुन् । त्यसको एक मात्र परिणति जनतामा राजनीति, राजनीतिक परिवर्तन र राजनीतिक दलहरुप्रति नै बितृष्णा, अबिश्वास र सन्देह पैदा हुन र बढ्न थालेको हो र अहिलको पछिल्लो स्थिति पैदा भएको हो । परिवर्तनकामी निष्ठाबान शक्ति र दलहरुले यो गम्भीरतम विसंगतिलाई चिर्न नसकेसम्म राजनीतिक परिवर्तनबाट जनताले बोध गर्न सक्ने र गर्नुपर्ने महत्वपूर्ण कुरा नै गुम हुनपुग्ने छ । वास्तवमा यी सबै गणतन्त्रात्मक लोकतन्त्रबमा गडबडी ल्याउने गतिविधि नै हुन् । वित्तीय साम्राज्यवादको आडभरोसमा चलेका सत्ताहरुको नियति यो भन्दा अर्को हुन् पनि सक्तैन भन्ने शिक्षा विश्वभरीका घटनाक्रमले दिइरहेका छन् । यस्ता गतिविधिहरुबाट शोषित तथा उत्पीडित जनता सचेत हुनै पदर्छ । यथार्थतः सही दिशामा अर्थात स्वाधीन जन गणतन्त्रको दिशामा अघि बढ्ने प्रस्थान बिन्दू नै यही हो । यसको कुनै विकल्प छैन र हुन पनि सक्तैन । गणतन्त्र दिवसले यथार्थतः परिवर्तनका सम्वाहक सबैमा राजनीतकि, आर्थिक, समाजिक तथा साँस्कृतिक विकृति र बिसंगतिका विरुद्ध लड्न र तिनलाई चिरेर अघि बढ्न प्रेरणा दिन सकेमा मात्र त्यो सार्थक र सही दिशातर्फको प्रस्थान विन्दु हुन सक्छ ।
वित्तीय साम्राज्यवादको पछि लाग्दा उत्पन्न गणतन्त्रको गडबडी
Comments

