कविताः जीवन नै संघर्ष

कमला नेपाली
जीवन त कुनै फूलको ओछ्यान रहेनछ,
काँडामाथि नाङ्गो पैताला हिँड्ने यात्राको नाम रहेछ।
जन्मिएदेखि नै मानिस कुनै न कुनै युद्ध लडिरहेकै हुन्छ
कोही पेटसँग लड्छ, कोही अभावसँग, कोही परिस्थितिसँग, र कोही आफ्नै उत्पादन सँगै
मैले पनि धेरै पटक आफ्नै आँसुसँग सम्झौता गरेको छु
धेरै रातहरू तकिया भिज्ने गरी रोएको छु।

तर बिहान फेरि उठेर हाँस्नुपर्ने बाध्यता बोक्दै
मानिसहरूको भीडमा हराएको छु
समयले मलाई आफ्ना र पराईको फरक सिकायो
सुखमा काँधमा हात राख्नेहरू
दुःखमा नजर जुधाउन पनि डराउँदा रहेछन्
स्वार्थको बजारमा सम्बन्धहरू पनि मूल्य हेरेर बेचिँदा रहेछन्
तर म गुनासो गर्दिनँ
किनकि संघर्षले नै मलाई बलियो हुन सिकाएको छ।

घाउले नै पीडाको भाषा बुझाएको छ
अभावले नै रोटीको मूल्य सिकाएको छ
धोका दिनेहरूले नै आफ्नो मान्छे चिन्ने आँखा दिएका छन्
आज म थाकेको हुन सक्छु,
तर हारेको छैन।

आज मेरो हात खाली हुन सक्छ, तर मेरो आशा रित्तिएको छैन
किनकि मैले बुझेको छु— आकाश जति अँध्यारो भए पनि बिहानी रोकिँदैन
नदी जति थुनिए पनि आफ्नो बाटो खोज्न छोड्दैन
त्यसैले म पनि जीवनको यो कठोर उकालोमा पसिना र आँसु सँगै बोकेर अझै हिँडिरहेकै छु।

सायद यही नै जीवन हो
बारम्बार भत्किनु, बारम्बार उठ्नु, बारम्बार हार्नु, र फेरि उठेर
उठेर संघर्ष गर्नु पर्ने रहेछ
आँखामा आँखा जुधाउनु
किनकि अन्ततः
जीवन नै संघर्ष रहेछ, र संघर्षलाई जित्नेहरूको नाम नै इतिहास रहेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित